होलीमा हराउँदो रौनक, बढ्दो बिकृति

युवा भन्छन्, ‘जे गर्दा रमाइलो र आनन्द आउँछ त्यसरी मनाउने हो होली’


६ चैत्र २०७५, बुधबार
holi 1

गलेश्वर, ६ चैत । केही वर्षअघिसम्म शहर बजार र गाउँघरमा फागु पूर्णिमा भनेर बोलिने रङ्ग र आत्मीयताको पर्व अहिले होली भएसँगै परम्परागत महिमा र रौनक हराउँदै गएको छ ।

holi 1
फागु पूर्णिमाका दिन बुधबार वसन्तपुर दरबार क्षेत्रमा विभिन्न रंगको होली खेलेर रमाउदै स्वदेशी तथा विदेशी पर्यटक । तस्वीर :, रासस ।

हिन्दी भाषाबाट आगन्तुक शब्दको रुपमा ‘होली’ नेपाली भाषामा भित्रिई जनजिब्रोमा बसेपछि शब्दमा मात्रै होइन, फागुपूर्णिमा पर्व मनाउने चलन र तरिकामा पनि परिवर्तन आउनुका साथै गाउँघरमा साथीभाइ, आफन्त जम्मा भई घरघरमा मौलिक गीत गाउँदै नाच्दै फागु खेल्ने चलन पछिल्लो समय हट्दै गएको हो ।

फागु पूर्णिमामा रङ्ग दलेर आत्मीयता साट्ने प्रचलन ‘होली’ खेल्ने भनेर जथाभावी लोला हान्ने र मनपरी गर्ने पर्वमा रुपान्तरण भएपछि नेपाली परम्परागत प्रचलन र संस्कृति हराएको स्थानीय बुद्धिजीवीको भनाइ छ । आफ्नो मौलिक परम्परा, प्रचलित संस्कार र संस्कृतिभन्दा विपरीत किसिमले खर्चिलो र भड्किलो ढङ्गले यो पर्व मनाउने प्रचलन बढ्दै गएपछि सांस्कृतिक विरासत र धार्मिक महत्वका दृष्टिले पनि अत्यन्त गर्विला यस्ता पर्वमा विकृति भित्रिन थालेको हो ।

‘पहिले–पहिले फागु पूर्णिमा आउनुभन्दा दुई–तीन दिन अघिदेखि नै मादल, झ्याली, मुर्चुङ्गा, खैंजडीलगायतका विभिन्न परम्परागत वाद्यवादनका तालमा होली गीत गाउने र नाच्ने गरिन्थ्यो’, बेनी नगरपालिका–२ का ८१ वर्षीय वेदप्रसाद उपाध्यायले भने, ‘अहिले दुई–चार दिन अघिदेखि नै लोला हान्ने र होलीको नाउँमा पानी र के–के भरेर बन्दुक जस्तैबाट गोली हान्ने गर्छन् ।’

शहर बजारमा मात्रै होइन, गाउँघरमा समेत फागु पूर्णिमाको परम्परागत रौनक हराउँदै गएको छ । भाका हालेर होरी गाउने, हात गाँसेर नाच्ने, रचनाको रङ्ग प्रयोग गर्ने, केशरी र अबिर घोलेर रङ्ग लगाई दिने जस्ता प्रचलन हराउँदै गएको स्थानीय वृद्धवृद्धाहरुले बताएका छन् ।

‘गाउँघरमा पनि पाश्चात्य संस्कृतिको प्रभाव परिसकेको छ, शहरबजारको हावा गाउँमा छिरिसकेको छ’, पण्डित नीलकण्ठ आचार्यले भने, ‘अब भक्तप्रल्हाद र फुपू होलिकाको जीवन चरित्र कसले गाओस्, अग्निमा फालिदिँदा पनि प्रल्हादलाई आगोले जलाउन नसकेको प्रसङ्ग कसले पत्याओस् ।’

उमेर ढल्केका र वृद्धवृद्धामा फागु पूर्णिमाको कुनै रौनक देखिँदैन । यस पर्वलाई विशेष गरी शहर बजारमा साथीभाइ, आफन्तबीच रङ्ग खेलेर धुमधामका साथ मनाइन्छ । त्यसैको प्रभाव गाउँघरमा पर्न थालेपछि होलीको विशेष मौलिकता नै हराउन पुगेकामा वृद्धवृद्धाले चिन्ता व्यक्त गरेका छन् । पहिले मनाइने ‘फागु पूर्णिमा’ र अहिले मनाइने ‘होली’ मा निकै फरक रहेको स्थानीय वृद्धवृद्धाको भनाइ छ ।

‘पहिले पहिले गाउँघरमा साथीभाइ जम्मा भएर कसैले फागु गीत झिक्ने, कसैले भट्याउने, कसैले मादल, झ्यालीलगायतका वाद्यवादनका सामग्री बजाउने, कोही नाचेर रमाइलोसँग होली खेलिन्थ्यो’, सिङ्गाका ७२ वर्षीय गणनाथ पौडेलले भने, ‘अहिले मोबाइलमा हिन्दी र अङ्ग्रेजी गीत घन्काउने, अण्डादेखि लिएर बन्दा र आलुले हान्ने, फोहर पानी खन्याई दिने, होलीको नाममा जे गरे पनि हुने जमाना आयो ।’ ‘अहिले होली संस्कार, संस्कृति जोगाउने भन्दा पनि रमाइलो गर्ने, फ्रेस हुने, साथीभाइ भेट भएर वनभोज खाने पर्वको रुपमा मनाइने गरिन्छ’, २२ वर्षीय युवा धिरज घिमिरेले भने, ‘जे गर्दा रमाइलो हुन्छ, आनन्द आउँछ, अहिलेका युवा त्यसैबाट छिटो प्रभावित भइन्छ ।’

रौनक हराउँदो होली
महोत्तरीसहितका मिथिला क्षेत्रमा रङ, अबिर र उमङ्गको पर्व होली (फागु) को रौनक हराउँदै गएको छ । पर्वको मुख्य आकर्षण जोगिरा गीत बज्न छाडेपछि होली आए–नआएको पत्तै पाइन छाडेको यहाँका बूढापाकाले बताएका हुन् ।

श्रीपञ्चमी (वसन्तपञ्चमी) देखि नै अबेर रातिसम्म गुञ्जने जोगिरा (फागु विशेष गीत) अब यहाँ सुन्न छाडिएको छ । वसन्त उत्सव मनाइएसँगै मृदङ्ग, हारमोनियम र डम्पूm (जोगिराका वाद्यवादन) का तालमा प्रत्येक रात मिथिलाका बस्ती–बस्तीमा गाइने जोगिरा हराउँदै गएपछि पर्वको मौलिकता हराएको बूढापाकाको भनाइ छ ।

श्रीपञ्चमीदेखि फागुन पूर्णिमासम्म गवैया (गायक) का समूहले गाउने गीतले दिने होली पर्वको सन्देश अब सुन्न छाडिएपछि पर्व आएको पत्तै पाइन छाडिएको महोत्तरीको भङ्गाहा–४ का पुराना जोगिरा गवैया ७५ वर्षीय रामनन्दन महतो बताउँछन् । ‘बौवा, जमाना छल, हमसभ जोगरा गवैछलि त पुरे बस्ती डेढ महिनाधैर उमङ्गित होयत छल’ (बाबु, एक जमाना थियो, हामी जोगिरा गाउन थालेपछि डेढ महिनासम्म पुरै बस्ती उमङ्गमा हुन्थ्यो) महतोले विगत सम्झँदै भन्छन्, ‘आब जोगिरा सुनलेल मोन तर्सैय’ (अब जोगिरा सुन्न मन व्यग्र हुन्छ) ।

भक्ति, ख्यालठट्टा, प्रेमयुक्त भाव र रउस मिसिएका शब्दावलीको संयोजनका जोगिरा सुन्न छाडिएपछि फागु पर्वको रौनक हराउँदै गएको यहाँका आम बूढापाका बताउँछन् । ‘देखु बौवा, होली त काइले अई, मुदा बुझाइते नई अई जे पावैन नजदिक अई’ (हेर्नोस् बाबु, फागु पर्व त भोलि नै हो, तर पर्व आएको भान नै पर्दैन) बर्दिवास नगरपालिका–९ पशुपतिनगरका ८० वर्षीय नथुनी महतोले दुखेसो पोखे । पुराना जोगिरा गवैया धेरैजसोको मृत्यु भएको र कतिपय बुढ्याइँले घरको कुनामा थन्किएसँगै नयाँ पुस्ताले यो संस्कृतिबारे चासो नदिएपछि अब यो लोपकै अवस्थामा पुगेको महतोकै छिमेकी ७० वर्षीय बालेश्वर ठाकुर बताउँछन् ।

‘किनका के हाथ में कनक पिचकारी, किनका के हाथ में अबिर झोरी ? रामजी के हाथ में कनक पिचकारी, सीयाजी के हाथ में अबिर झोरी…!! जोगिरा..सररर..!!’ (कसको हातमा सुनौला पिचकारी र कसको हातमा अबिरको झोली छ ?) भन्ने प्रश्नमा ‘रामजीके हातमें कनक पिचकारी..सीयाजी के हातमें अबिर झोरी..हो खेलैय होली’ (श्रीरामका हातमा सुनौलो पिचकारी र सीताजीको हातमा अबिर झोली..खेलौँ है होली) गवैया समूहले सवालजवाफ शैलीमा गाइने जोगिराका यी स्वर सुन्न छाडिएपछि पर्वको रौनक हराएको पाका मैथिल (मिथिलाका बासिन्दा) बताउँछन् । सांस्कृतिक यस्ता गीत हराएर अब चर्को स्वरका डिजेबाजामा छाडा गीत संस्कृति हुर्केको बूढापाकाको आरोप छ ।

‘तिथि मिति सम्झना नराख्नेका लागि पनि होली आउन लागेछ भन्ने सन्देश दिने मृदङ्ग, हारमोनियम र डम्पूmका तालमा सुनिने जोगिरा लोप भएको आँखाभरि हेरिरहँदा मन अड्याउन सकस पर्ने गरेको गौशाला नगरपालिका–१२ का लक्ष्मी महतोले बताए । आपसी सद्भाव, भातृत्व र उमङ्गको प्रतीक मानिने होली पर्वमा हास–परिहास, ठट्टा गरिनेहरुबीच गीतबाटै गरिने छेडखानी, प्रेमयुक्त भाव र रउसको संयुक्त प्रतिबिम्ब हुने जोगिरा..सुन्न छाडिएपछि यो पर्व आउँदै गरेको छनक नै हुनछाडेको भङ्गाहा–३ का बासिन्दा नेपाली काङ्ग्रेसका नगर सभापति ७० वर्षीय रुपनारायणसिंह थारू बताउँछन् ।

संस्कृतिको सम्झना मात्र नभई त्यो प्रतिको समर्पणभाव, भक्तिका लय मात्र नभई रतिराग, दुःख र जीवनका तीता अतित बिर्साउने रउस र अबिर एवं रङको महिमा एकसाथ सुन्न पाइने जोगिरा लोप हुँदै गएपछि होलीको रौनक पनि घटेको यहाँका पाका मैथिलको दुखेसो छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७