न्यू योर्कमा ८/१० हजार नेपाली उतार्नु चानचुने कुरा होइन : लुइसाङ वाइबा


२० मंसिर २०७४, बुधबार
luisang waiba america

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) न्यूयोर्कमा २००५ मा स्थापना भएको सामाजिक संस्था हो । लुइसाङ तामाङ व्यक्तिका हिसाबले १८ वटा जातीय संस्था सदस्य रहेको फिप्नाका तेस्रो अध्यक्ष हुन्। नेपालमा हुँदा तामाङ विद्यार्थी घेदुङ र आदिवासी जनजाति विद्यार्थी महासंघको नेतृत्व गरेका उनी त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका विभिन्न क्याम्पसमा समाजशास्त्र अध्यापन गराउँथे । त्रिविबाट मानवशास्त्रमा स्नात्तकोत्तर गरेका उनले न्यूयोर्कस्थित सिटी कलेजबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पनि स्नात्तकोत्तर गरेका छन् । महासंघ अध्यक्षको दोस्रो कार्यकाल अन्त्यमा रहेका उनी अहिले नयाँ नेतृत्व चयन गर्ने अधिवेशनको चटारोमा छन् । त्यही चटारोका बिच अधिवेशन र महासंघको गतिविधिका सम्बन्धमा तामाङसँग गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ ।

luisang waiba america
१. कुनै पनि संस्था स्थापना गर्नुको उद्देश्य हुन्छ । अमेरिकामा फिप्ना स्थापना गर्नुभएको १२ वर्ष नाघ्न लाग्यो । खासमा यो संस्था किन स्थापना गर्नुभएको हो ?
मुलत: नेपालको आदिवासी आन्दोलनलाई टेवा पु¥याउनका लागि प्रवासबाट नैतिक एक्वेवद्धता जनाउने र प्रवासमा रहेका आदिवासी जनजातिलाई गोलबद्ध गर्ने उदेश्यले फिप्ना स्थापना भएको हो । फिप्नालाई नेपालको आदिवासी जनजातिको आन्दोलनसँग जोडेर हेरेका छौँ । फिप्ना नेपालका आदिवासी जनजातिहरूको मुद्धालाई प्रवासबाट सहयोग गर्न सङ्गठित भएको संस्था हो ।

२. नेपालमै आदिवासी जनजातिको आन्दोलन कमजोर बन्दै गएको छ, राजनीतिक दलहरूले पनि आदिवासी जनजातिका मुद्दा छाड्दै गइरहेका छन् यस्तो परिस्थितिमा अमेरिकाबाट फिप्नाले खेल्ने भूमिकाले कति महत्त्व राख्छ ?
हामीले प्रवासबाट होस्टेमा हैंसे गर्ने हो । मुख्य रूपमा नेपालकै आदिवासी जनजाति आन्दोलन सशक्त र सबल हुनुपर्छ । हामीले बाहिरबाट एक्वेवद्धता जनाउने हो । सहयोग गर्ने हो ।
हामीले प्रवासमा बसेर अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आदिवासी जनजाति आन्दोलनबारे बताउने हो । अन्तर्राष्ट्रिय मञ्चमा उपस्थित भएर नेपालका आदिवासी जनजाति आन्दोलन के भइरहेको छ, हाम्रा मुद्दा कहाँ पुगेका छन्,सरकारले हाम्रो मुद्धालाई कसरी हेरेको छ, राजनीतिक दलले हाम्रो मुद्धामा कस्तो दृष्टिकोण राख्छ भनेर अन्तर्राष्ट्रिय समुदायलाई बताउने हो । विश्वभरका आदिवासी जनजाति समुदायलाई सुनाउने हो र उनीहरूलाई एक्वेवद्धता जनाउन आह्वान गर्ने हो । फिप्ना आफैँ चाहिँ आन्दोन हाँक्ने प्रमुख संयन्त्र होइन । प्रमुख संयन्त्र नेपालको आदिवासी जनजाति महासंघ नै हो । हामीले प्रवासबाट सहयोगीको भूमिका खेल्ने मात्र हो ।

३. फिप्ना हालै न्यु योर्क सिटी कम्प्ट्रोलरबाट सम्मानित भएको छ । त्यसलाई चाहिँ नेपालको आदिवासी जनजातिका मुद्दा अन्तराष्ट्रियकरण गर्ने वा नेपालको आदिवासी जनजाति आन्दोलनलाई प्रवासमा पहिचान दिलाउने कदमसँग जोडेर हेर्न मिल्छ ?
अवश्य पनि मिल्छ । विश्वभरका आदिवासीको समस्या भनेको के हो भने हामी आफ्नै देशभित्र, आफ्नै भूमिभित्र सीमान्तकृत भएका छौँ । मुलधारमा हामीले हामीलाई कसरी समावेश गराउने भन्ने हाम्रो आन्दोलन हो । त्यसो हुँदा हामी प्रवासमा रहेका आदिवासी जनजातिहरुले जन्मभूमीमा रहेका आदिवासी जनजातिहरुलाई मूलधारमा ल्याउन समर्थन र सहयोग गर्ने हो । न्यु योर्क सिटी कन्ट्रोलरको सम्मान हामीले गरिरहेका यस्तै प्रयासहरुको पनि सम्मान हो । हामीले यहाँ मूलतः आदिवासी जनजातिलाई गोलबद्ध बनाएर नेपालका आदिवासी जनतातिहरु र आदिवासी जनजातिहरुका संस्कृतिहरुलाई चिनाउने काम गरिरहेका छौँ ।

४. नेपालका आदिवासी जनजातिको आन्दोलनमा सहयोग पु¥याउँछौं त भन्नुभयो, तर अमेरिकामा फिप्नाले काम चाहिँ के गरिरहेका छ ?
मेरो कार्यकालमा सन् २०१६ मा अमेरिकामा पहिलो पटक फिप्नाको नेतृत्वमानेपाल डे परेड कार्यक्रम ग¥यौं । फिप्नाको यो एउटा सिग्नेचर प्रोग्राम पनि हो । नेपाली समुदायका अगुवा र बौद्धिक वर्गले २० औँ वर्षदेखि यस्तो खाले कार्यक्रम गर्ने इच्छा राखेका थिए । योजना पनि बनाएका थिए । तर, त्यो व्यवहारिक रूपमा कार्यान्वयन गर्न सकिरहेका थिएनन् । नेपाल परेड डे एउटा ऐतिहासिक कार्यक्रम हो । यो कार्यक्रम मेरो फिप्ना अध्यक्षको दोस्रो कार्यकालको पहिलो वर्ष गरियो ।
नेपाल डे परेड आदिवासी जनजातिका लागि मात्र नभएर सारा नेपालीले गर्व गर्ने कार्यक्रम हो । विश्वको राजधानी मानिने न्यू योर्क सहरमा ८÷१० हजार नेपाली एकै दिन उतार्यौं । मानव सहभागिताका हिसाबले यति धेरै मान्छे उत्रिनु भनेको एउटा ऐतिहासिक घटना पनि हो । विदेशमा यो स्तर नेपालीहरूको जमात उत्रेका आजसम्म कहीँ कतै छैन ।
सन् २०१५ मा नेपालमा महाभुकम्प गयो । हामीले भूकम्प पीडित नेपालीहरूलाई आर्थिक सहयोग गर्न रकम सङ्कलन ग¥यौं । एनआरएनमार्फत हस्तान्तरण ग¥र्यौं । फिप्ना र यसअन्तर्गतका सदस्य संस्थाले भूकम्प पीडित नेपालीलाई लगभग २ करोड रुपैयाँ राहत सहयोग गरेको छ ।
भूकम्प जस्ता प्राकृतिक प्रकोपको अवस्थामा र देशमा कुनै किसिमको राष्ट्रिय सङ्कट आएको बेला पीडितलाई अमेरिकी सरकारले टेम्पोरेरी प्रोटेक्टेड स्टाटस अर्थात् टिपिएस दिन्छ । त्यस्तो संकटकालीन अवस्थालाई हरेर अमेरिकी सरकारले सदभावस्वरुप टिपिएस प्रदान गर्छ । टिपिएस पाएको अवधिभर पीडित आफ्नो देश फर्किन बाध्य हुँदैन । भूकम्प पीडित नेपालीले पनि टिपिएस पाउनुपर्छ भनेर माग राख्ने अग्रपङ्क्तिमा फिप्ना थियो । टिपिएस प्राप्तिका लागि फिप्नाको भूमिका अग्रपङ्क्तिमा छ । हाम्रो माग अनुरूप पहिलो पल्ट टिपिएसको अवधि थपिएको पनि छ ।

५. टिपिएसका लागि दबाब दिन वा अमेरिकी सरकारलाई प्रभाव पार्न कस्ता काम गर्नुभयो ?
फिप्नाको टोली यहाँको कंग्रेसम्यान र सिनेटरकहाँ डेलिगसन गएको छ । नेपालीले टिपिएस किन पाउनुपर्छ भनेर आफ्नो कुरा राखेको छ । लबिङ गरेको छ । वकालत गरेको छ । टिपिएस नवीकरण (समय थप्न) का लागि पनि हामीले त्यसरी नै वकालत गरेका छौँ । डिपार्टमेन्ड अफ होमल्याण्ड सेक्युरिटी र स्टेट डिपार्टमेन्टसम्म पुग्ने नेपालीहरूको सांगठनिक मोर्चामा फिप्ना आफैँ सरिक भएको छ । अमेरिकी सङ्घीय सरकार, अमेरिकी सिनेटर, कंग्रेसम्यानसँग र नेपाल सरकारको महामहिम राजदूतसँग यसबारेमा फिप्नाले वकालत गरेको छ । त्यसमा फिप्ना सफल पनि भएको छ ।

मेरो आफ्नो कार्यकालमा फिप्नाको अर्को सिग्नेचर प्रोग्राम भनौं, २०१७ देखि हामीले इन्डिजिनियस फिल्म फेस्टिभल भनेर न्यू योर्क भनेर सुरु ग¥र्यौं । यसको मूल उद्देश्य आदिवासी चलचित्रकर्मीलाई प्रोत्साहन गर्नु हो । र, चलचित्रको आयाम प्रयोग गरेर आदिवासी जनजाति आन्दोलनलाई टेवा पु¥याउनु पर्छ र जनताको चेतनाको स्तर वृद्धि गर्नुपर्दछ भन्ने हाम्रो उद्देश्य हो । यसको अन्तरनिहित उद्देश्य निकट भविष्यमा नेपालमा मातृ भाषाको वैकल्पिक चलचित्र उद्योगको विकास हुनुपर्छ भन्ने पनि हो ।

म अध्यक्ष भइसकेपछि हाम्रो काम गर्ने शैली तीन वटा आयामबाट अघि बढ्नुपर्छ भनेर साथीहरूलाई भन्दै आएको छु । हाम्रो आन्दोलन, रणनीति र कार्यक्रमलाई त्रिकोणात्मक रूपमा अघि बढाउनुपर्छ भन्दै आएको छु । पहिलो, राष्ट्रिय आयामलाई लिएका छौँ । यो भनेको नेपालको आदिवासी आन्दोलनलाई, आदिवासी जनजातिको सरोकारका विषय र मुद्धालाई हामीले प्रवासमा बसेर परोक्ष र अपरोक्ष रूपमा कसरी प्रभाव पार्न सक्छौँ, कसरी प्रोत्साहन गर्न सक्छौँ र कसरी ऐक्वेवद्धता जनाउन सक्छौँ भन्ने हो । त्यो खालको गतिविधि र कामहरू राष्ट्रिय आयाम दीर्घकालीन रूपमा अघि बढाउने भनेर फिप्नाले रणनीति बनाएको छ ।
अर्को अन्तर्राष्ट्रिय आयाम । सौभाग्यवश फिप्नाको कार्यालय पनि न्यू योर्कमा छ । संयुक्त राष्ट्रसंघको हेडक्वाटर पनि न्यू योर्कमा छ । फिप्नाले संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय फोरममा प्रतिनिधित्व गरेर, त्यहाँ सहभागी भएर नेपालका आदिवासी जनजातिका मुद्धालाई, सरोकारका विषयलाई अन्तराष्ट्रियकरण गर्न सक्छ । विश्वका अन्य आदिवासी जनजातिहरुबाट एक्वेद्धता प्राप्त गर्न भूमिका खेल्न सक्छ । नेपाल सरकारले आदिवासी जनजातिप्रति गरिरहेको विभेद पर्दाफास गर्न सक्छ ।
अर्को स्थानीय आयाम हो । अमेरिकालाई कर्मभूमी बनाएर यसलाई दोस्रो घरका रूपमा विकास गर्दै जाँदा हामीले हाम्रो समुदायका लागि, आप्रवासीका लागि, आप्रवासी अधिकारका लागि के कस्तो भूमिका खेल्न सक्छ? यहाँको स्थानीय सरकारसँग, सङ्घीय सरकारसँग कहाँ के कुरामा लबिङ गर्न सकिन्छ ? र हाम्रो स्थानीय आवश्यकताहरू सम्बोधन गर्न सकिन्छ भन्नेतर्फ पनि रणनीति बनाएर काम गर्दैछौं । जबसम्म प्रवासमा रहेका आदिवासी जनजाति साथीहरूले हामीमाथि विश्वास गर्नुहुन्न, उहाँहरूले एक्वेबद्धता जनाउनुहुन्न हाम्रो उद्देश्य पूर्ति हुँदैन । उहाँहरूलाई हामीले एक ढिक्का बनाउन नसकेसम्म फिप्नाको औचित्य नै पुष्टि हुँदैन । त्यसका लागि आप्रवासी नेपाली आदिवासी जनजातिहरूको स्थानीय आवश्यकताका क्षेत्रमा पनि काम गर्ने हो । त्यसो हुँदा आप्रवासी साथीहरुबाट माया र सद्भाव प्राप्त गर्न सकिन्छ । उहाँहरूले पनि हामीलाई सहयोग गर्ने हामीसँग सङ्गठित हुँदै आउने आधारहरु सिर्जना गर्नको लागि फिप्नाले यहाँ स्थानीय कोणबाट पनि कार्यक्रम गरिरहनु पर्छ भनेर लागि परेका छौँ ।

६. नेपाल डे परेडका विषयमा अलि विस्तृतमा बताइदिनुहोस् न । यो कस्तो कार्यक्रम हो ?
नेपाल डे परेड नेपालमा गणतन्त्र दिवसको अवसर पारेर हरेक वर्ष आयोजना गरिन्छ । सजिलो भाषामा भन्नुपर्दा यो प्रवासमा गणतन्त्र दिवस मनाएको हो । गणतन्त्रलाई संस्थागत गर्न प्रवासबाट मान्यता प्रदान गरेको हो यो । मुलुक गणतन्त्र भएकाले हामी सारा नेपाली उत्साहित छौँ, हामी नेपाल गणतन्त्र भएकोमा गौरव महसुस गर्छौँ भनेर भन्न नेपाल डे परेड गरेका हौँ । न्यू योर्क आप्रवासीका लागि अनुकूल सहर हो । न्यू योर्कलाई सारा संसारको प्रतिनीधिमुलक सहरको रूपमा हेर्न सक्नुहुन्छ । यहाँ ठुला ठुला परेड झाँकीहरु प्रदर्शन हुने गर्छन् । यहाँ आइरिस परेड, कोलम्बियन परेड, इन्डियन परेड, पाकिस्तानी परेड हुन्छ । नेपालीहरूलाई पनि अन्तर्राष्ट्रिय जगतमा चिनाउनका लागि, हाम्रो पहिचान, नेपाली राष्ट्रियता, नेपाली संस्कृति, नेपालीपन चिनाउनका लागि हामीले नेपाल डे परेड नाम गरेर गणतन्त्र दिवसको अवसरमा आयोजना गर्न सुरु गरेका हौँ ।

७. आठ दश हजार मासिन सडकमा निकाल्नु भनेको सुरक्षाकै हिसाबले पनि यहाँको सरकारका लागि पनि टाउको दुःखाइको विषय हो । कार्यक्रम व्यवस्थापन चाहिँ कसरि गर्नुहुन्छ ?
नेपाल डे परेड आयोजना गर्न ६ महिना अघिदेखि काम गर्नुपर्छ । यो ४÷५ दिन वा हप्ता दिनमा हुने काम होइन । छ महिना अघि यहाँको सरकारसँग अनुमति लिनुपर्ने हुन्छ । स्थानीय प्रहरी, स्थानीय सरकार, स्थानीय गुप्तचर विभागसँग ४÷५ चरणमा छलफल गरेपछि मात्रै कार्यक्रम अनुमोदन हुन्छ । गृहकार्य छ महिना अघिदेखि हुन्छ । प्रचार प्रसार भने २ महिना अघिदेखि गर्छौँ । परेड ५ घण्टा हुन्छ, दिउँसो १२ बजेदेखि बेलुकी ५ बजेसम्म । परेडका बेला म्यानहटन सहरको १५÷२० ब्लक ठप्प हुन्छ । म्यानहटनजस्तो ब्यबस्त सहरको ट्राफिक ५ घण्टा बन्द हुनु भनेको चानचुने कुरा होइन । नेपाल डे परेड एक दिन हेर्न सजिलो छ । तर त्यसलाई व्यवस्थापन गर्ने, तालमेल मिलाउने त्यति सजिलो छैन ।  नेपाल डे परेडलाई यहाँको सिटी मेयरले मान्यता दिएको छ ।

८. संस्था कसरी धानिरहनु भएको छ ?
यत्रो कार्यक्रम गर्दा खर्च त हुन्छ नै । फिप्नाको आर्थिक स्रोत भनेकोसदस्यता शुल्क नै हो । त्यसबाहेक शुभचिन्तक आदिवासी जनजाति साथीहरूले पनि आर्थिक सहयोग गर्नुहुन्छ । फिप्नाले अहिलेसम्म यहाँको सरकारबाट आर्थिक सहयोग प्राप्त गरेको छैन । तर, यस पटक देखि यहाँको स्थानीय सरकारबाट केही परियोजनाहरुमा आर्थिक सहयोग प्राप्त गर्ने कोसिसमा लागिपरेका छौँ । अहिले सम्मको आर्थिक स्रोत भनेको कार्यसमितिमा रहनु भएका साथीहरूको मासिक लेभी, सदस्य संस्थाहरूको सदस्यता शुल्क र सहयोग हो ।
९. फिप्ना आकारका हिसाबले कत्रो संस्था हो ?
न्यू योर्कमा करिब ६० हजार नेपाली छन् भन्ने हाम्रो अनुमान छ । फिप्नाको सदस्य संस्थाहरूमा २० हजार जति नेपाली आबद्ध छन् ।

१०. महासङ्घको छैठौं महाधिवेशनको तयारी कस्तो छ ?
महासङ्घको छैठौं महाधिवेशन डिसेम्बर १७ मा न्यू योर्कस्थित शेर्पा किदुकको भवनमा हुँदैछ । हाम्रा १८ वटा सदस्य संस्थाका प्रतिनिधि र पर्यवेक्षक महाधिवेशनमा सहभागी हुनुहुनेछ । प्रत्येक संस्थाबाट ५ जना प्रतिनिधि र ४ जना पर्यवेक्षक सहभागी हुनुहुनेछ ।
त्यसबाहेक विभिन्न च्याप्टरबाट पनि प्रतिनिधि र पर्यव्ेक्षक आउनुहुनेछ । हामीसँग लस एन्जेलस, न्यू हेमशायर, बोस्टन, क्यालिफोर्नियासहित ४ वटा च्याप्टर छन् । हरेक च्याप्टरबाट ३ जना प्रतिनिधि ३ जना पर्यवेक्षक आउनु हुनेछ ।
महाधिवेशनका लागि निर्वाचन आयोग गठन भइसकेको छ । निर्वाचन आयोगमा भरत मोक्तान तामाङ प्रमुख आयुक्त हुनुहुन्छ । आयोग शर्मिला शेरचन र प्रशान यलुङ राई आयुक्त हुनुहुन्छ ।
त्यसै गरी, महासङ्घ कार्यसमितिले विधान मस्यौदा कमिटी गठन गरेको छ । मस्यौदा कमिटी महासङ्घको कार्य समिति नै हो । कार्य समितिले विधानको मस्यौदा तयार गरिरहेको छ ।
अहिले हाम्रा केही सदस्य संस्थाहरू विभाजित हुनुहुन्छ । एउटै समुदायका २÷२ वटा संस्थाहरू छन् । विभाजन दुरुत्साहित गर्न र हाम्रा सदस्य संस्था एक ढिक्का बनाइ राख्न र महासङ्घको उद्देश्य प्राप्तिमा सहजता ल्याउन अर्को एउटा उच्चस्तरिय जाँचबुझ समिति गठन गरेका छौँ । संयोजक लकेन लामा हुनुहुन्छ । सलस्य नरेन्द्र थापा मगर र तेन्जिङ उक्याब हुनुहुन्छ । महासंघका एउटा समुदायबाट दुईवटा जातीय संस्था सदस्य हुन पाउँदैन । जुन समुदायको संस्था सदस्य हुनुहुन्छ, त्यो संस्था फुटेर गयो भने नयाँ संस्थालाई सदस्यता प्रदान गर्दैनौं ।

११. संस्था खोल्न पाउनु प्रजातान्त्रिक अधिकार हो । जति धेरै संस्था भयो त्यति धेरै लोकतन्त्रको अभ्यास हुन्छ । मान्छे सक्रिय हुन्छ । महासंघले चाहिँ एउटा समुदायमा एकभन्दा बढी संस्था खोल्न दुरुत्साहित गरेको भएन र ?
संस्था धेरै हुनु राम्रो हो । सामाजिक संस्थाले समाज चलायमान बनाउँछ । तर, महासङ्घको अवधारणा र सैद्धान्तिक विकासको पाटो फरक छ । संघहरु मिलेर महासङ्घ बन्ने हो । कुनै एउटा समुदायबाट एउटा संस्था सदस्य भइसके पछि त्यही समुदायको अर्को संस्थालाई सदस्यता प्रदान गर्नु भनेको सदस्य संस्था टुक्रिनका लागि प्रोत्साहित गर्नु हो । यसले महासङ्घको उद्देश्य प्राप्तिमा सहयोग पु¥याउँदैन । सदस्य संस्था जति सबल र सक्षम बन्छ, महासङ्घ त्यति बलियो बन्ने हो । सदस्य संस्था टुक्रिएर महासङ्घ बलियो हुन सक्दैन । एउटा समुदायका मानिस एउटै संस्थामा संगठित भएर बस्नु भयो भने त्यो सदस्य संस्था बलियो हुन्छ । सदस्य संस्था बलियो हुनु भनेको महासङ्घ बलियो हुनु हो । सदस्य संस्था कमजोर हुनु भनेको महासङ्घ कमजोर हुनु हो । हामीले त्यसरी हेरेका छौँ । साना तिना असमझदारी भयो भन्दैमा सदस्य संस्था टुक्रिने अवस्था नआओस भन्ने उदेश्यले महासङ्घ अघि बढाइरहेका छौँ ।

१२. तर, महासंघभित्र सदस्य संस्थाका कारण ठुलै विवाद छ भन्ने सुनिन्छ नि ?
महासंघभित्र कुनै खालको विवाद छैन । महासंघसँग आबद्ध केही समुदायमा भने विवाद छ । राई, गुरुङ र नेवार समुदाय २/२ वटा संस्थामा विभाजित हुनुहुन्छ । त्यही विभाजनकै कारण महासंघमा पनि विवाद छ कि भन्ने परेका मात्रै हो । महासङ्घको विधानले एउटा समुदायबाट एउटा संस्थाले मात्र प्रतिनिधित्व गर्न पाउने स्पष्ट व्यवस्था गरेको छ । यो अवस्थामा एउटा समुदायबाट दुईवटा सदस्य संस्था प्रतिनिधित्व गर्न पाउँदैन । तर, अहिलेको विवाद भनेको हाम्रा सदस्य संस्थाबाट टुक्रिएर गएका साथीहरूले संस्था खोलेर महासङ्घमा आवद्धता खोजिरहनु भएको हो । विधान अनुसार उहाँहरूलाई आबद्धता दिनु मिल्दैन । आवद्धता नपाउनु भएका साथीहरूको गुनासो मात्र हो जसलाई विवादका रूपमा हेरिएको होला । खासमा विवाद छैन ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७