मानवता नभएको फिरंगीको देश

- जगदीश घिमिरे

नेपालका चर्चित लेखक तथा समाजसेवी जगदीश घिमिरेले मदन पुरस्कार प्राप्त आफ्नो पुस्तक अन्तर्मनको यात्रा को एक अंशमा आफ्नो स्वास्थ्योपचारको लागि बेलायत जान बेलायती सरकारले भिसा नदिएको प्रति आक्रोश पोखेका छन् । उनले यसमा बेलायतले उनकै देश बचाइदिने गोरखा र तिनका देशका नागरिकलाई कसरी हेय र विभेद गर्छन् भन्ने उल्लेख गरेका छन् । घिमिरेको स्वास्थ्योपचारकै क्रममा निधन भयो । गोरखाहरूकै बारेमा लेखिएको उनको त्यो पुस्तकांश लेखलाई उनीप्रति श्रद्धाञ्जली स्वरुप शीर्षक हेरफेर गरी यहाँ साभार गरिएको छः

 

चार महिना खाने किमोे उपचार चलेपछि पूरा जाँच गर्न र हुने भए स्टेमसेल ट्रान्सप्लान्टसमेत गर्न युरोपको सबभन्दा ठूलो र गतिलो क्यान्सर उपचार केन्द्र मानिएको लन्डनको ¥वायल मार्सडन अस्पताल जाने सल्लाह भयो । मैले बेलायती भिसाका लागि निवेदन दिएँ । उपचार खर्चको प्रमाणका लागि मैले आफ्नो स्वास्थ्य बीमा गर्ने लन्डनस्थित एएक्सए–पीपीपी नामक विश्वप्रसिद्ध स्वास्थ्य बीमा कम्पनीको आधिकारिक पत्र पनि नत्थी गरेँ । अमेरिका र क्यानाडा बाहेक कुनै पनि देशमा गरेको मेरो सम्पूर्ण उपचार खर्च सो कम्पनीले वार्षिक दश लाख बेलायती पाउन्ड, त्यस बेलाको सटही दरमा करिब बाह्र–तेह्र करोड रुपियाँसम्म बेहोर्ने कुरा आफ्नो आधिकारिक पत्रको पेटबोलीमा खुलाएको थियो । भिसा दिनेले चाहेको भए फोन, फ्याक्स गरेर सत्यतथ्य जाँच्न सक्थे ।
मेरो श्रीसम्पत्ति, मेरो खेती, घरबहाल र अन्र्राष्ट्रिय जागिरबाट डलरमा नेपालको ब्यांकमा महिनापिच्छे जम्मा हुने र त्यसरी ब्यांकमा सञ्चित भएको डलर रकमलगायत, सबै वार्षिक आयहरूको प्रामाणिक विवरणमा आफ्ना सबै गोप्यतालाई निर्वस्त्र नाङ्गै उदाङ्गै पारेर फिरंगीलाई देखाइदिएको थिएँ, तर फिरंगीले मसँग अन्तर्वाता नै नगरी तलका कारण दिएर मेरो भिसा निवेदन अस्वीकृत गर्योः
१. प्रस्तावित उपचार निश्चित अवधिका लागि हो भन्ने प्रमाण पेश गर्नुपर्छ ।
२. निजी खर्चमा डाक्टरी सल्लाह र उपचारको व्यवस्था गरेको छ भन्ने सन्तोषजनक प्रमाण पेश गर्नुपर्छ ।
३. डाक्टरी सल्लाह वा उपचारका लागि अनुमानित खर्चको सन्तोषजनक प्रमाण पेश गर्नुपर्छ । (मेरो सेभिङ र बेलायतको बीमाले मेरो शारीरिक रोग र मलाई भिसा नदिने त्यो बैदारको मानसिक रोगको उपचार गर्न पुग्थ्यो भन्ने कुरा उसले बुझेनछ ।)
४. भ्रमणको सम्भावित अवधिको सन्तोषजनक प्रमाण पेश गर्नुपर्छ ।
यी मध्ये कुनै पनि प्रश्नको जवाफ दिन मैले बेलायतकै विशेषज्ञलाई जँचाएर उसको लिखित सल्लाह लिएको हुनुपथ्र्यो, जसका लागि पहिले भिसा पाउनुपथ्र्यो । मलाई लन्डन जानै नदिई ती कुराको जवाफ खोज्नु कुनियत थियो । मेरो सामाजिक–आर्थिक पृष्ठभूमि जस्तो भए पनि र उपचारको औचित्य र उपचार गर्न सक्ने हैसियतको जतिसुकै प्रमाण भए पनि म उसको भाडाका सेना भर्ती गर्ने देशको नागरिक थिएँ । म फिरंगीका आँखामा मान्छे थिइनँ ।
प्रस्ट छ– फिरंगीसँग मानवता छैन । केवल स्वार्थ छ । त्यसको साक्षी तिनले संसारैभरि गरेका अत्याचार, शोषण र तिनको मानवहत्याको इतिहास हो । बलियो छु भनेर निर्धालाई किच्न–मिच्न नचाहिँदो अत्तो थापेर गरेका युद्ध र करकापमा पारेर नेपालको तृतीयांश भू–भाग लुटेर लगेको सुगौली सन्धिपछि नेपालका पहाडे तन्नेरीहरूलाई आफ्ना सिपाही बनाउन थालेदेखि नै फिरंगीहरूले नेपालीहरूको सबभन्दा ठूलो शोषण गरिरहेका छन् ।

पहिलो र दोस्रो दुवै विश्वयुद्धमा फिरंगीले. लाखौँ नेपाली सैनिकलाई संसारैभरि लड्न, मर्न पठायो । त्यस बेलाको नेपालको युवा जनसंख्याको अनुपातमा त्यो ज्यादै ठूलो संख्या थियो । त्यस बेला नेपालका कति गाउँठाउँका जम्मै युवाले तिनको सेनामा भर्ती भएर गाउँघर छाडेका थिए । उनीहरूका लागि हजारौँ हजार नेपालका छोरा शहीद भएका छन् । बाँचेका पनि धेरै उतै बिलाए । नेपालका ती गाउँमा खेती गर्ने युवाशक्तिको अभावमा अनिकालको स्थिति आयो । आजसम्म पनि नेपालीहरू तिनै फिरंगीका लागि मर्दैछन् ।  तर यत्रो सामाजिक–आर्थिक विचलन सहेर पनि उनीहरूका लागि त्यत्रो बलिदान गर्ने यस देशका नागरिकप्रति फिरंगीको कुनै कृतज्ञताभाव छैन । हामी तिनीहरूका लागि भाडाका ट्टटु मात्र हौं । काम सकियो; सम्बन्ध सकियो । तिनकै लागि ज्यानको बाजी थापेर लड्दा भिक्टोरिया क्रस पाउने नेपालीलाई समते सकेसम्म भिसा दिँदैनन् ।

भिक्टोरिया क्रस पाउने पोखराका तुलबहादुर पुनले उपचार गर्न बेलायत जाने भिसा नपाएको समाचार २०६४ साल असारका छापाहरूमा आएको थियो भने म जस्ता निरीह प्राणीको के कुरा ? मुद्दा चलेपछि कृतघ्न फिरंगीहरू पछि तुलबहादुरलाई भिसा दिन बाध्य भए । भिसा मात्र होइन, फिरंगी सरकार उनलाई बेलायत टेक्नेबित्तिकै गार्ड अफ अनर सलामी समेत दिन बाध्य भयो । देशले गार्ड अफ अनर दिनुपर्ने सम्मानित व्यक्तिलाई समेत भिसा नदिने दुश्चेष्टा गर्ने निर्लज्ज फिरंगीहरूको कुरा गरेर आफ्नै मूल्य कति घटाउनु !

लन्डनको मुटुमा च्यारिङ क्रस र एम्बैङ्कमेन्ट भन्ने सुरुङ्गे रेल स्टेशनहरू छन्, तिनमा र अरु अनेक त्यस्ता रेल स्टेशनहरूमा चौबीसै घण्टा हाम्रा मन्दिरहरूमा जस्तै बथानका बथान घरहीन गोरा र काला फिरंगी माग्नेहरू बस्छन् । तिनै मागेर गुजारा गर्ने फिरंगीहरू पनि नेपाल आउन चाहे भने उनीहरूले उहीँबाट नेपालको भिसा लिएर आउनुपर्दैन । आफ्नै बाबुको बिर्तामा जस्तो गरी सुइँसुइँ आए हुन्छ । त्रिभुवन विमानस्थलमा तिनका लागि रातो गलैँचा ओछ्याइएको हुन्छ । ज्वाइँको जस्तो मान पाउँछन् । हामीले फिरंगीका पाउमा नाङ्गेझार भएर देखाइ दिएको जस्तो सामाजिक–आर्थिक पृष्ठभूमिको लाजमर्दो विवरण पनि पेश गर्नुपर्दैन । यो मुलुकमा जहिले र जसरी पसे पनि पस्तापस्तै उनीहरूका करकमलमा नेपालको भिसा हाजिर हुन्छ ।

समानताको यस युगमा यो चरम असमानता हो । यो सच्याइनुपर्छ । यस विषयमा अरु कति देशहरूको नीति राम्रो छ । जाने देशका नागरिकलाई जुनजुन देशमा भिसाको जेजे नियम लागू हुन्छ, सम्बन्धित देशबाट आउनेहरूलाई पनि भिसाको त्यही नियम लागू गरिन्छ । कुनै विभेद हुँदैन । पर्यटक आकर्षण गर्ने नाउँ र निहुँमा कुनै पनि देश यस्तो हीन मनोवेश्यावृत्तिमा लिप्त हुनुपर्दैन । नेपालीको अलिकति पनि आत्मसम्मान छ भने नेपालले पनि आत्मसम्मानपूर्वक पर्यटक आकर्षित गर्ने अन्य देशको सिको गर्नुपर्छ ।

ओ, नेता हो, हामीहरूलाई नेपाल भाडाका टट्टु र माग्नेहरूको मुलुक हो भन्ने पहिचान र हीनताभावबाट कहिले मुक्ति दिन्छौ ? मंसिरमा म फेरि सिंगापुर गएँ, जहाँ नेपालीले एअरपोर्टमा नै भिसा पाउँछ । त्यसको कारण हो सिंगापुरको प्रहरीमा नेपालीहरूले गरेको सेवा । यो सुविधा सिंगापुरले भारतीयहरूलाई दिँदैन । गुन मान्नु भनेको त्यस्तो हुन्छ । माउन्ट एलिजावेथका उनै डाक्टरले जाँचेर तिमी पूरा रेमिशनमा छौ भने । सिंगापुरका दुवै उपचार यात्रामा ब्यांककमा जस्तै सहयोगी अर्का एक जोर देवदूत फेला परे– अभय कुमार र अर्चना । मेरो सिंगापुरका दुवै उपचारका क्रममा उनीहरूले गरेको माया, सेवा र सहयोगको रिन–वगुन तिर्न सम्भव छैन । उनीहरूको सदा कल्याण होस् ।

यसमा तपाईको प्रतिक्रिया