नेमकिपाको आफ्नै पक्कडमा धरौटी जफत


२६ मंसिर २०७४, मंगलवार

काठमाडौं: भक्तपुरमा पक्कड जमाएका नेपाल मजदूर किसान पार्टीबाट क्षेत्र नं. २ का प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारको धरौटी जफत भएको छ ।
क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेमकिपाकी अनुराधा थापामगर तथा प्रदेशसभा सदस्य क का उम्मेदवार सरोजराज गोसाई र ख का उम्मेदवार प्रेमजन थापा श्रेष्ठको धरौटी जफत भएको हो ।

anuradha thapa magar अनुराधा थापामगर 2
निर्वाचनमा सहभागी दल र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्दाको धरौटी रकम फिर्ता लिन कूल सदर मतको १० प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेर राईले जानकारी दिएका छन् । १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी जफत हुने उनले बताए ।
जिल्ला निर्वाचन कार्यालय भक्तपुरका अनुसार क्षेत्र नं. २ मा कूल मतदाता ८३ हजार ९३० रहेको र तीमध्ये कूल ६४ हजार ४५३ मत गणना भएका थिए । गणना भएका मतमध्ये नेमकिपाका थापा मगरले जम्मा ५ हजार ४७१ मत मात्रै प्राप्त गरेका छन् । यसक्षेत्रमा प्रतिनिधिसभातर्फ एमालेका महेश बस्नेत र प्रदेशसभा सदस्य क मा शशीजंग थापा र ख मा राजेन्द्रमान श्रेष्ठ विजयी भएका छन् ।
नेमकिपासँगै विवेकशील साझा, नेकपा माले, राप्रपा राष्ट्रवादी, नयाँ शक्ति, जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टीले पनि धरौटी बचाउन सकेनन् । जसमध्ये नेमकिपा र विवेकशील साझाबाहेकका दलले ३०० मत पनि कटाउन सकेनन् ।
सोहि क्षेत्र प्रदेशसभा सदस्य क मा कूल ४४ हजार ८६ मतदाता रहेको र तीमध्ये ३३ हजार ९०१ मत गणना भएको थियो । मत गणनाको परिणामलाई हेर्दा नेकपा एमाले र नेपाली काँग्रेसबाहेक अन्य दलले धरौटी बचाउन सकेनन् ।
प्रदेशसभा ख मा पनि एमाले र काँग्रेसले मात्रै धरौटी बचाएका छन् । उम्मेदवारी दिने दलहरूमध्ये नेमकिपा, विवेकशील साझा, संघीय समाजवादी फोरम, राप्रपा, देशभक्त गणतान्त्रिक मोर्चा, र नेपाल दलित पार्टीको धरौटी जफत भएको छ ।
क्षेत्र नं. १ प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य क र ख मा नेमकिपा, एमाले र काँग्रेसको मात्रै धरौटी बचेको छ । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नेमकिपाका प्रेम सुवाल, तथा सोहि क्षेत्रको प्रदेशसभा सदस्य क मा एमालेका हरिशरण लामिछाने र ख मा नेमकिपाकै सुरेन्द्रराज गोसाई विजयी भएको छ ।
प्रतिनिधिसभातर्फ विवेकशील साझा, एराप्रपा राष्ट्रवादी, नयाँ शक्ति, चुरेभावर लोकतान्त्रिक पार्टी, जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्र्चाले धरौटी बचाउन सकेनन् । जसमध्ये नेमकिपा र विवेकशिल साझाबाहेकका दलले ३०० मत पनि कटाउन नसकेको कार्यालयका प्रमुख राईले जानकारी दिए ।
प्रदेशसभा सदस्य क मा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका डिपी ढकालले ७८३ मत मात्रै प्राप्त गरेका छन् भने ढकालसँगै विवेकशील साझा, राप्रपा, नेपाली काँग्रेस वि.पि. नयाँ शक्ति र देशभक्त गणतान्त्रिक मोर्र्चाले ५०० मत पनि कटाउन नसकेपछि धरौटी जफत भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७