महिनावारीमा किन दुख्छ पेट, डाक्टरलाई कतिखेर जँचाउने ?
काठमाडौँ: महिलाहरूमा महिनावारी हुनु एउटा सामान्य प्रक्रिया हो। तर, महिनावारीको समयमा खपिनसक्नु दुखाइ हुनु भनेको समस्या हो। महिनावारीको समयमा महिलामा सामान्य ढाड दुख्ने तथा थकानको महसुस हुने हुन्छ। चिकित्सकीय हिसाबमा केही क्षण वा समयको हल्का दुखाइ सामान्य अवस्था नै हो।
तर, महिनावारी हुूदा धेरैलाई खपिनसक्नु पेट दुख्ने, वाकवाकी लाग्ने, ढाड र कम्मर जोडले दुख्ने, खान मन नलाग्ने र नियमित दैनिक कामसमेत गर्न गाह्रो हुन्छ भने त्यो एक किसिमको समस्या हो। उमेर पुगेका पाका वा विवाहित महिलामा भन्दा यस्तो समस्या भर्खरै महिनावारी सुरु भएका युवतीमा, अविवाहितमा धेरै देखिने गर्दछ। चिकित्सकीय भाषामा महिनावारीको समयमा हुने पीडालाई डिस्मेनोरिया भनिन्छ।
वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा। भोला रिजालका अनुसार यो समस्या विवाहित र अविवाहित दुवै महिलामा देखिन्छ। तर, अविवाहितमा विवाहितको तुलनामा धेरै पाइन्छ। उनका अनुसार महिनावारीमा हुने यस्तो समस्या प्रामरी र सेकेन्डरी गरी दुई किसिमका छन्। प्राइमरी डिस्मेनोरिया प्रायः अविवाहित तथा वयस्क महिलालाई हुने गर्छ। सेकेन्डरी डिस्मेनोरिया भने २० वर्ष माथिको उमेर समूहका महिलालाई हुने गर्छ। यो प्रायः विवाहित महिलामा देखिने समस्या हो।
डिस्मेनोरियाले सताएका महिलाहरूलाई लामो समयसम्म दुखाइले सताइरहन्छ। कतिपय अवस्थामा त दुखाइ लगातार ८-१० घण्टासम्म पनि हुन सक्छ। दुखाइ अत्यधिक हुँदा महिलाले पेन किलरको सेवन गर्छन्। निश्चित मात्रामा पेन किलर सेवन गर्नु उचित भए पनि जथाभावी पेन किलर सेवन गर्नु झन् घातक हुने चिकित्सकहरू बताउँछन्। त्यसकारण दुखाइ बढी हुने महिलाले चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्ने डा रिजालको सुझाव छ।
स्त्रीरोग विशेषज्ञहरूका अनुसार प्राइमरी डिस्मेनोरियामा महिनावारीको बेलामा तल्लो पेट, कम्मर र ढाड दुख्छ। बिस्तारै महिलामा दुखाइ बढ्दै गएर खुट्टा र टाउको दुख्ने, वाकवाकी लाग्ने समस्या देखिने गर्दछ। केही महिलालाई भने पखालासमेत लाग्न सक्ने चिकित्सक बताउँछन्। चिकित्सकहरूका अनुसार कम उमेरमा महिनावारी हुनु, इस्ट्रोजन र प्रोजेस्टेरोन हर्मोनको असन्तुलन हुँदा महिलामा यस्तो समस्या देखिने गर्छ। साथै, महिनावारी हुूदा पाठेघर खुम्चने र तन्किने हुनाले पनि तल्लो पेट जोडले दुख्ने स्त्रीरोग विशेषज्ञ डा। विमल थापा बताउँछन्।
महिनावारीमा यौनांगमा कुनै बाधा आयो अथवा रगत बग्ने यौन नली साघुरो भयो भने पनि प्राइमरी डिस्मेनोरियामा हुन सक्छ, उनले भने, यो समस्या केहीमा वंशाणुगत कारणले पनि देखिन्छ। उनका अनुसार यस्तो समस्या अत्यधिक मोटा र सुखमय जीवनशैली बिताउने युवतीलाई बढी हुने गर्दछ।
विवाहपश्चात् बच्चाको सामान्य जन्म भएपछि निराकरण हुने यस्तो समस्या ठ्याक्कै के कारणले हुन्छ भन्ने स्पष्ट नभए पनि अनियमित प्रकारको पाठेघरको खुम्चाई र पाठेघरमा अक्सिजनको कमीका कारणले हुने बताइन्छ।
चिकित्सकका अनुसार सेकेन्डरी डिस्मेनोरिया २० वर्ष माथिको उमेर समूहका महिलालाई बढी हुने गर्छ। यो प्रायः विवाहित महिलामा देखिने समस्या हो। यस्तो समस्या भएका महिलामा महिनावारी समयमा नहुने र हूदा रगत धेरै बग्नु, यौनसम्पर्क गर्दा यौनांग दुख्नु, बाँझोपना र अत्यधिक सेतो पानी बग्ने हुन्छ। यस्तो अवस्थामा औसधिको सेवन गर्दा पनि दुखाइ कम नहुन सक्छ। प्रजनन् रोग, अण्डाशय वा अण्डवाहिनी नलीमा समस्या देखिनु, लामो समयसम्म आईयूसीडी तथा कपर–टी को प्रयोग, अनियमित औसधिको प्रयोगका कारण पनि यस्तो समस्या आउछ। यस्तो डिस्मेनोरिया आफैँमा रोग नभई अन्य रोगको लक्षण भएकाले समयमा नै रोगको पहिचान गरी पीडाबाट छुटकारा पाउन सकिने चिकित्सकहरू बताउँछन्।
डा थापाका अनुसार डिस्मेनोरियाको दुखाइबाट छुटकारा पाउन चिकित्सकको सल्लाहमा पेन किलर खानुसँगै घरमै समेत उपचार गर्न सकिन्छ। विशेषगरी महिलाले तल्लो पेटमा हलुका मालिस गर्ने, पेटमा रबरको थैली वा बोतलमा तातोपानी राखेर वा बाक्लो कपडा तातोपानीमा भिजाएर सेक्ने गर्दा धेरै राहत पाउन सकिन्छ। यस्तै ढाड र खुट्टासमेत सेकाउन सकिन्छ। अदुवा पानी तताएर खाने, गेडागुडीको तातो झोलको सेवन गर्दा पनि दुखाइबाट छुटकारा पाउन सकिन्छ। यस्तै आफूलाई केही व्यस्त राख्दासमेत राहत हुनेछ।
डाक्टरलाई कतिखेर जँचाउने ?
पेट दुख्ने समस्याबाट हरेक पीडित हुने गर्दछन् । सामान्यतः पेट किन दुख्छ भन्ने कुराको यकीन कारण थाहा हुँदैन । कतिपय बेला यस्तो दुखाई सामान्य लाग्छ भने कतिपय बेला यो गम्भीर रोगको लक्षण पनि हुन सक्छ ।
पेट किन दुख्छ र कस्तो अवस्थामा चिकित्सककहाँ जानुपर्छ त भन्ने विषयमा जान्नु जरुरी छ ।
पेट दुख्नु
पेटको दुखाई करंगको मुनिदेखि यौनाङ्गको माथिल्लो भाग जहि पनि हुन सक्छ। सानो र बुझ्न नसक्ने बच्चाले दुखेको भागमा हात लैजान्छ भने बुझ्ने बच्चाले पेट दुखेको भाग छुट्टयाई दुखेको भाग देखाउन सक्दछ ।
के कारणले पेट दुख्छ ?
- पेटको दुखाई बच्चा जन्मेको १० दिन देखि ३ महिनासम्म देख्न देखिन्छ। यसको सहि कारण अहिलेसम्म थाहा हुन सकेको छैन। आन्द्राको द्रुतगति र उग्र संकोचनको कारण बच्चामा दुखाइ पैदा हुन्छ। बच्चामा दुखाई दिउसो र साझतिर बढी देखिन्छ। यस्तो भएको बेला बच्चा धेरै रुन्छ , खुट्टा फ्याकदछ , हावा बढी फ्याक्दछ र आलस्य हुन्छ। यसको समाधानको लागि बच्चालाई थुम्थुमाउने र बोकेर डुलाउने जस्ता कार्य गर्न सकिन्छ।
- अपच धेरै खानेकुरा खानाले वा खाना नपचेमा हल्का पेट दुख्न सक्छ।
- संक्रमण कुनैपनि किटाणुको संक्रमणले पेट काट्न सक्छ। यस्तो भएमा बच्चालाई झाडा बान्ता लाग्न सक्छ।
- विषाक्त खाना फ्रिजमा नराखेको बासी खाना खानाले पेट दुख्नुको साथै झाडाबान्ता लाग्न सक्छ।
- कब्जियत कब्जियत भएमा तल्लो पेट दुख्न सक्छ।
- घाटिको सुजन घाटीको सुजन भएको बेला पेट दुख्न सक्छ।
- तनाब बच्चालाई बारम्बार पेट दुखाइ देखिराखेको छ भने त्यो उसको तनावको कारण हुन सक्दछ । त्येसैले बच्चालाई तनावबाट मुक्त राख्नु पर्दछ। घरपरिवारमा दैनिक हुने सामान्य असहज क्रियाकलापले पनि बच्चालाई तनाब पर्न सक्दछ। परिवारमा हुने आपसी असमझदारी, बच्चाको जीवनमा हुने परिबर्तनबाट पनि तनाब उत्पन्न हुन सक्दछ। तनाबको कारणले हुने पेटको दुखाई प्राय नाइटोमा केन्द्रित हुन्छ।
- गम्भीर कारणहरु : गम्भीर प्रकारका पेट दुखाइ सल्यक्रिया गर्नुपर्ने रोगहरु हुन सक्छन। गम्भीर प्रकारका पेट दुखाइ पनि आकस्मिक र गैर-आकस्मिक गरि २ प्रकारले बर्गिकरण सकिन्छ। आकस्मिकमा अपेण्डिसाइटिस (Appendicitis ), इनटसससेप्सन (intussusception), अडकिएको हर्निया (obstructed hernia), बटारिएको अण्डकोश (Testicular torsion), आन्तरिक रक्ताश्राब (Internal Bleeding ) आदि पर्दछन जुन जतिसक्दो चाडै अप्रेसन गर्नु पर्दछ भने गैर-आकस्मिकमा पत्थरी, टयूमर, सिस्ट,जुका आदि पर्दछन जुन समय मिलाएर अप्रेसन गर्न सकिन्छ।
पेट दुखेको बिरामीलाई कहिले चिकित्शक कहा देखाउने ?
- बच्चा सार्हैनै सिकिस्त देखिएको छ भने
- यदि बच्चाले बिषालु बिरुवा, औषधि, रसायन चलाएको छ भने
- हिड्न सक्दैन वा हिड्दा शरीर निहुराएर हिड्छ भने
- दायापट्टी तल्लो भागमा बढी दुखेको छ भने
- दुखाइ संगै अन्डकोश सुनिएको छ भने
- कुनै पनि भागमा बढिनै दुखेको छ भने
- दुखाइ संगै बिरामी बढिने रोइरहेको छ भने
- दिसा वा बान्तामा रगत देखिएको छ भने
- बान्ता पहेलो वा हरियो छ भने
- केहि पहिला कुनै दुर्घटना भएको छ भने
- २ वर्ष भन्दा मुनिको बच्चा छ भने
- ज्वरो १०४ भन्दा माथि छ भने
- महिनावारी भईसकेको र गर्भवतीको लक्षण देखाउछिन भने
- दुखाई झन् बढ्दै गएको छ भने
- २ घण्टा सम्म पनि दुखाई कम हुदैन भने
- २४ घण्टामा दुखाई आउदै जादै गर्छ भने
घरमा गर्न सकिने उपचार :
- पेटमा हावा भरिएर वा बढी खानाको सेवन गरेर हल्का पेट दुख्न सक्छ। यस्तो भएमा पेटबाट हावा निकाल्ने कुराहरु खुवाउन सकिन्छ। यसको लागि बजारमा पाईने राम्रो किसिमको हावा बाहिर निकाल्ने औषधि/पाचक प्रयोग गर्न सकिन्छ। बच्चालाई खान धेरै भएर पेट दुखेको छ भने सौचालय जान प्रोत्साहित गर्नु पर्दछ। पेटबाट दिसा बाहिर निस्किएपछि धेरै नै राहत हुन्छ।
- बच्चालाई पेट थिचेर केहि बेर सुत्न लगाउदा आराम हुन्छ।
- पेटको दुखी रहेमा तरल पदार्थ मात्र खान दिनुहोस।
- बच्चालाई बान्ता गर्न प्रोत्शाहित गर्न सकिन्छ। यसबाट पनि निकै राहत मिल्छ।
- लामो समय देखि कब्जियतले दुख दिईरहेको छ भने पेट दुखाइको कारणनै पेटमा जम्मा भएको दिसाले गर्दा हुन्छ। त्येसैले सकेसम्म बच्चालाइ दिसा गर्न प्रोत्साहित गर्नु पर्दछ। यसको लागि बच्चालाई सौचालयमा लगेर बसाउन सकिन्छ। बस्दा खेरि दिसा गर्न गाह्रो भएको छ भने बच्चालाई मनतातो पानीमा बस्न लगाउनु पर्दछ। यसरी पानीमा बस्दा मलद्वारलाई आराम पुग्दछ र दिसा बाहीर सजिलै निस्कन्छ।
- खानपानमा बिशेष ध्यान दिनु पर्दछ। बजारमा पाईने रेडिमेड प्याकेटको खाना (Junk Food) बच्चालाई खान दिनु हुदैन। यसमा प्रयोग हुने रशायनले पेटको अल्सर भएको पाईएको छ।
- पेट दुखेको बेला बच्चाले बान्ता गर्न सक्ने हुनाले बांताको लागि तयार भएर बस्नु पर्दछ।
- कुनै पनि दुखाई कम गर्ने औषधी बच्चालाई दिनु हुदैन। दुखाइ कम गर्ने औषधि (जस्तै :ब्रुफ़ेन)ले पेटको भित्रि भित्ता खिईयाउने भएकोले दुखाई झन् बढी हुन सक्दछ। ज्वरो १०२ भन्दा माथि छ भने सिटामोल चाही दिन सकिन्छ।
- गम्भीर प्रकारको पेट दुखाई छैन भने यसको समयसीमा २ घण्टा भन्दा बढी हुदैन। २ घण्टा पछि पनि दुखाई कम भएन वा झन् बढ्दै गयो भने गम्भीर कारण छ भन्ने बुझ्नु पर्दछ।