निर्वाचन परिणामको समीक्षा : यसकारण आयो जनलहर


२८ मंसिर २०७४, बिहीबार
jhalnatha khanal 1
jhalnatha khanal 1
झलथान खनाल : पूर्वप्रधानमन्त्री तथा एमाले नेता ।

काठमाडाैं : लामो समयदेखि एमालेले राष्ट्रियताको पक्षमा आफूलाई दृढतापूर्वक उभ्याउँदै आएको छ । एमाले जहिल्यै देशको स्वाधीनता, देशको स्वाभिमान र सार्वभौमसत्ताको पक्षमा उभिएको इतिहास जोकसैलाई थाहा छ । परिणामतः देशभक्त शक्ति भनेको यही रहेछ भनेर जनताले बुझे र भर्खरै सम्पन्न निर्वाचनमा जनताले एमालेको पक्षमा आफ्नो अभिमत प्रकट गरे ।

हामी जन्मँदादेखि नै तानासाह, अधिनायकवाद, निरंकुशताविरुद्ध लड्दै आयौँ । जनताले नागरिक अधिकार, मौलिक अधिकार पाउनुपर्छ भनेर सबैभन्दा पहिला नारा लगाउने पार्टी नेपाल कम्युनिस्ट पार्टी हो । हामीले निरन्तर लोकतन्त्रको पक्षमा संघर्ष गर्दै आयौँ । यसैलाई मनन गर्दै नेपाली जनताले वास्तविक रूपमा लोकतन्त्रको पक्षमा लड्ने पार्टी भनेको एमाले नै रहेछ वा कम्युनिस्ट नै रहेछन् भन्ने राम्ररी बुझे ।

हामी निरन्तर जनजीविकाको पक्षमा लड्दै आयौँ । जनताको समस्या समाधान हुनुपर्छ, गरिबी उन्मूलन हुनुपर्छ, रोजगारी सिर्जना हुनुपर्छ, औद्योगिकीकरण हुनुपर्छ, देशको स्रोतसाधनको उच्चतम प्रयोग गरिनुपर्छ, भ्रष्टाचार अन्त्य हुनुपर्छ भनेर हामी निरन्तर लड्दै आयौँ । हामी जनहितको पक्षमा निरन्तर आवाज उठाउँदै आयौँ । यथार्थमा यो नेपाली जनताको आवाज थियो । त्यसकारण हाम्रो आवाज उठाउने शक्ति भनेको वाम गठबन्धन नै हो भन्ने कुरा जनताले बुझे । विभिन्न क्षेत्रमा जनताका माग, राष्ट्रका माग, चाहनालाई प्रतिबिम्बित गर्दै आएको हुनाले हामीलाई जनताले विश्वास गरे । यी र यस्तै जनपक्षीय एजेन्डा र कामका कारण वाम गठबन्धनले राष्ट्रव्यापी रूपमा ऐतिहासिक विजय हासिल गरेको हो ।

वाम गठबन्धन बनाएर चुनावी तालमेल गर्ने प्रक्रिया अगाडि बढेपछि त्यसले जनतालाई थप उत्साहित ग¥यो । मतदातालाई व्यापक रूपमा एकताबद्ध हुन मद्दत गर्‍यो । मूलमा एमालेजस्तो शक्ति जसरी विकसित भएर आयो, राष्ट्रव्यापी रूपमा आफ्नो शक्ति सञ्जाल फैलाएर आयो, त्यसैको उपज हो पछिल्लो परिणाम । तीसौँ लाख जनता एमालेमा संगठित छन् । जनताले बुझे–हामीलाई संगठित गर्ने, अधिकार सम्पन्न पनि बनाउने र विकास निर्माणको बाटो देखाउने, ज्येष्ठ नागरिक, महिलाको सम्मान गर्ने, युवा र बालअधिकारको पक्षमा लड्ने पार्टी यही हो । त्यही निचोडका आधारमा जनताले हामीलाई सहयोग गरेका हुन् ।

संविधान कार्यान्वयन
ऐतिहासिक निर्वाचन सम्पन्न भएसँगै संविधान कार्यान्वयन भएको छ । संविधान स्थापित भयो । नेपाली जनताले बनाएको संविधान भएकाले जनता थप बलिया भएका छन् । अब कसैले पनि यो संविधानलाई तलमाथि गर्न सक्दैन । दुईतिहाइविना संविधानको ‘अल्पविराम’सम्म पनि परिवर्तन हुन सक्दैन । हिजोसम्म नयाँ संविधान कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने जुन अन्योल र अप्ठ्यारोमा थियो, आज त्यो हटेको छ । निर्वाचनसँगै संविधान कार्यान्वयन भइसकेको छ ।

ठूलो अवसर
स्वाभाविक रूपले वाम गठबन्धनले ठूलो अवसर प्राप्त गरेको छ । हाम्रा सामु चुनौती पनि छन् । चुनौतीभन्दा पनि बृहत् अवसर सिर्जना भएको छ । अब मुलुकको आर्थिक विकासमा केन्द्रित भएर जाने, विद्यमान गरिबी उन्मूलन गर्ने, बेरोजगार उन्मूलन गर्ने, राष्ट्रिय स्रोत र साधनको विकास र उपयोग गर्ने, ठुल्ठूला उद्योग स्थापना गर्ने, राष्ट्रव्यापी रूपमा ठूला पूर्वाधार निर्माण गर्ने, बाटाघाटा निर्माण गर्ने, अन्तर्राष्ट्रिय कनेक्टिभिटीलाई उपयोग गरेर लैजाने अवसर हाम्रा सामु आएका छन् । अवसरलाई ठीक ढंगले उपयोग गर्दै र हाम्रा सामु भएका चुनौतीको तालुमा टेक्दै अगाडि बढ्नुपर्छ ।

धैर्य नगुमाऔँ
हामीले चुनावी तालमेल गर्दै पार्टी एकतासम्म गर्ने कार्यक्रम अगाडि सारेका छौँ । निर्वाचन सम्पन्न भइसकेपछि अब हामी पार्टी एकीकरण प्रक्रियामा जान्छौँ । र, त्यो प्रक्रिया एक वर्षभित्रै टुंग्याउनुपर्छ भन्नेमा हामी दृढ छौँ । निर्वाचन सम्पन्न भयो । निर्वाचनमा जुन तालमेल गर्ने नीति हामीले लियौँ, त्यो नीति अत्यन्त सफलतासाथ कार्यान्वयन भएको छ । एकाध साना मसिना कमी–कमजोरी भए होलान्, मूलभूत रूपमा तालमेलको कार्यनीति राम्रो ढंगले कार्यान्वयन भएको छ । अब हामी पार्टी एकताको दिशामा जानुपर्छ । पार्टी एकीकरणको दिशामा जाँदा हामीले पूरा गर्नुपर्ने दायित्व धेरै छन् । त्यसका लागि वैचारिक एकरूपता कायम गर्नुपर्छ । राजनीतिक एकरूपता कायम गर्नुपर्छ । संगठनात्मक एकरूपता कायम गर्नुपर्छ । कतिपय विषयमा बहस छलफल गरेर टुंग्याऔँ भन्न पनि सकिन्छ । कतिपय विषयमा पहिले नै एकरूपता कायम गरेर जानुपर्ने हुन्छ । यस्ता धेरै विषयलाई पद्धतिपूर्वक समाधान गरेर अगाडि जानुपर्ने अवस्था छ । त्यसका लागि अलिकति समय लाग्छ । धैर्य गुमाएर जानु हुँदैन । एकताको नाममा लतारपतार काम पनि गर्नु हुँदैन । सबै कुरा मिल्नुपर्छ भन्ने नाममा एकताका लागि वर्षौं लगाउने काम पनि हामीले गर्नु हुँदैन ।

सामूहिक निर्णयमा पद बाँडफाँड
वाम गठबन्धनले छलफल गरेर अब को प्रधानमन्त्री बन्ने भन्ने विषय टुंगो लगाउँछ । गठबन्धनमा हामी दुइटा पार्टी छौँ भन्ने कहिल्यै भुल्नु हुँदैन । एमाले र माओवादी केन्द्र सहमति र समझदारी बनाएर प्रधानमन्त्री कसलाई बनाउने, मन्त्री ककसलाई बनाउने, नीति तथा कार्यक्रम के बनाउने भन्ने हिसाबले अघि बढ्नेछन् । सामूहिक निर्णयसाथ अगाडि बढ्दा साथीहरूले उपयुक्त जिम्मेवारी पाउनुहुनेछ । अहिले नै यो पद यसलाई, ऊ पद उसलाई भन्ने हिसाबले जानु उपयुक्त हुँदैन । जे हुन्छ, सामूहिक निर्णयका आधारमै हुन्छ ।

कांग्रेसको पराजय
कांग्रेससँग यसपटक एजेन्डा नै थिएन । कांग्रेसले कुनै भिजन पनि दिन सकेन । पटक–पटक कांग्रेसले बहुमत ल्यायो, सरकार सञ्चालन गर्‍यो, तर भ्रष्टाचारबाहेक जनतालाई केही पनि दिएन । देशलाई विकास निर्माणको दिशामा अगाडि बढाउन, बेरोजगारी घटाउन, उद्योगधन्दा खोल्न उसले सकेन । भएका उद्योगधन्दा पनि कांग्रेस नेतृत्वको सरकारले बेचबिखन गर्ने काम गर्‍यो । निजीकरणले नेपाललाई अनौद्योगीकरणको दिशातर्फ लग्यो । कांग्रेसका नेताले यसमा सिंहावलोकन गर्लान् । राज्यको भूमिकालाई शून्य बनाउने हिसाबले कांग्रेसले काम गर्‍यो । हाम्रो जस्तो विकासोन्मुख देशमा मात्र होइन, विकशित देशमा पनि राज्यको ठूलो भूमिका हुन्छ । युरोपमा ठूलो आर्थिक संकट आयो, त्यो संकट अन्त्यका लागि राज्यको भूमिका नभएको भए कैयौँ देशको अर्थतन्त्र टाट पल्टने थियो । स्वयं अमेरिका आर्थिक संकटबाट गुज्रिएर आयो । आर्थिक संकट समाधान गर्न राज्यले भूमिका नखेलेको भए ती देश डामाडोल भइसक्ने थिए । राज्यको भूमिकालाई समाप्त पार्ने हिसाबले कांग्रेसले भूमिका खेलेकै कारण उद्योगधन्दा टाट पल्टिएका हुन् । दर्जनौँ उद्योग बन्द भए । बाँसबारी छालाजुत्ता कारखाना, कागज कारखाना, कपडा कारखानाजस्ता कारखाना नेपालका लागि अत्यन्त हितकर थिए । ती सबै समाप्त भए । यिनै कारणले गर्दा कांग्रेसले ठूलो मात्रामा जनमत गुमायो ।

अन्त्यमा
हिमाल, पहाड, तराईमा रहेका आमनगारिकका साथै प्रवासमा रहेका नागरिक पनि जुन मिहिनेतसाथ, चासो र उत्साहसाथ, जिम्मेवारी र दायित्वसाथ निर्वाचनमा सहभागी बन्नुभयो र वाम गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउनुभयो, त्यो एउटा ऐतिहासिक काम हो । यो इतिहास निर्माण गर्ने निर्णायक काम हो । ऐतिहासिक काम सम्पन्न गर्नुभएकामा सिंगो पार्टीका तर्फबाट पार्टीको वरिष्ठ नेताको हैसियतले सम्पूर्ण जनसमुदायलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु । यो हामी निर्वाचित प्रतिनिधिको मात्र जित होइन, सम्पूर्ण नेपाली जनताको जित हो, त्यसकारण सम्पूर्ण नेपाली जनतालाई बधाई पनि ज्ञापन गर्न चाहन्छु ।

-नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७