प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्न कांग्रेस तयार छ: मन्त्री यादव


२८ मंसिर २०७४, बिहीबार
MKK 1394

काठमाडौं: खानेपानी तथा सरसफाईमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले मुलुकलाई निकास दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मात्रै सक्ने भएकाले दाहाललाई प्रधानमन्त्री स्वीकार्न आफूहरु तयार रहेको स्पष्ट पारेका छन् ।MKK 1394

राजधानीमा आयोजित साक्षात्कारमा मन्त्री यादवले मुलुक अग्रगमनको बाटोमा अघि बढिसकेकाले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने परिवर्तनका उपलब्धिहरु सबै गुम्नसक्ने आरोप लगाए ।

उनले भने, ‘निर्वाचन भएर मुलुक संविधानको पूर्ण कार्यान्वयनको चरणमा छ, यो अग्रगमनको बाटो अब अघि बढिसक्यो, अब पछि हट्ने कुनै सम्भावना छैन, उत्ताउलो भएर केही चल्दैन, परिवर्तनका एजेण्डाहरुलाई संस्थागत रुपमा कार्यान्वयन गर्न माओवादी केन्द्रले अब ‘गार्जियन’ को भूमिका निर्वाह गर्नुपर्छ, उहाँहरुकै कारणले संघीयता, गणतन्त्र, समावेवशीजस्ता परिवर्तनका मुद्दाहरु स्थापित भएका छन्, माओवादी एमालेको पीछलग्गु हुनुहुँदैन, किनकी एमाले त यी सबै उपलब्धिहरु गुमाउने तरखरमा छ ।’

मन्त्री यादवले एमालेले उपलब्धिलाई गुमाउन सक्ने आरोप लगाउँदै त्यसबाट बचाउनका लागि देशको अभिभावकको भूमिकामा माओवादी केन्द्रका अध्यक्ष दाहाल आउनुपर्ने धारणा राखे । ‘प्रचण्डजी प्रधानमन्त्री बन्नुभयो भने सबैलाई समेटेर लैजान सक्नुहुन्छ, परिवर्तनकारी उपलब्धिहरु संस्थागत हुन्छन्, उहाँबाट मात्रै यी उपलब्धिहरु रक्षा हुन सक्छन्, उहाँ आँफै प्रधानमन्त्रीको रुपमा अघि बढ्नुपर्छ, हाम्रो पूर्ण समर्थन रहन्छ ।’

उनले एमाले अध्यक्ष ओलीलाई भड्काउ नेताको रुपमा चित्रण समेत गरे । यादवले थपे,‘ओलीजी अतिवादी कुरा गर्ने नेता हो, उहाँ दुई वटा कुरा गर्नुहुन्छ, देशलाई त अहिले सबैलाई मिलाएर लैजान सक्ने नेता चाहिएको छ, त्यो भनेको प्रचण्ड हो, उहाँलेमात्रै सबैलाई मिलाएर लैजान सक्नुहुन्छ भन्ने हाम्रो विश्वास हो ।’

उनले विगतमा प्रचण्डको भूमिकाले पनि सबैलाई समेटेर लैजान सक्ने विश्वास पैदा गरिसकेकाले मुलुकलाई उनकै नेतृत्वमा वा अभिभावकीय भूमिकामा प्रचण्ड नै आउनुपर्ने जिकिर गरे । यादवले भने,‘प्रचण्डजी सहनशील, अनुभवी, स्थिर, नआँत्तिने र मुलुक र जनताप्रति अति नै संवेदनशी र जिम्मेवार नेता हुनुुहुन्छ, त्यसैले उहाँ गार्जियन बन्नुपर्छ, प्रधानमन्त्री बन्नुपर्छ ।’

यादवले निर्वाचनमा कांग्रेसले पराजय भोग्नुको प्रमुख कारण नै आफूहरुले हिमाल, पहाड र तराईलाई मिलाएर लैजान खोज्नुले भएको उल्लेख गर्दै भने,‘कांग्रेस हार्नुको प्रमुख कारण भनेको नै हामीले सबैलाई मिलाएकोले हो, हामीले कतैपनि अतिवादी कुरा गरेनौं, एमालेले पहाडको अतिवादी कुरा गर्यो, मधेशवादी दलहरुले मधेशको अतिवादी कुरा गरे, तर हामीले सबैलाई मिलायौं, यही कारणले पराजय भोग्यौं, सबैलाई मिलाउनुपर्छ भन्ने कांग्रेसको हार भयो, तर अतिवादीहरुको विजयी भयो, हामी आँत्तिएका छैनौं ।’

नेता यादवले कांग्रेसभित्र अहिले बाहिर चर्चा भएजस्तो कुनै विवाद र मतभेद नरहेको समेत जिकिर गरे । ‘पार्टी सभापति शेरबहादुर देउवाजीको विकल्प छैन, त्यतिमात्रै होईन अहिले कुनै विशेष महाधिवेशनको पनि आवश्यक नै छैन’–उनले थपे।

मन्त्री यादवले चुनावको समिक्षा र भावी रणनीति तय गर्नेबारे बरु छिट्टै महासमिति बैठक बस्ने र उक्त बैठकले पार्टीलाई कसरी सुधार गरेर लैजाने भन्नेबारे छलफल हुने जानकारी दिए ।

युवा नेता गगन थापाप्रति लक्षित गर्दै यादवले भने,‘युवा भनाउँदा कुनै पनि नेताहरुले भनेजस्तो अहिले नेतृत्व परिवर्तन हुँदैन, यो उनीहरुको व्यक्तिगत विचार हो, पार्टीमा अहिले देउवाको विकल्प नै छैन, म दाबाका साथ भन्छु, अर्को महाधिवेशन नहुँदासम्म देउवाजी नै सभापति हो, गगन थापाले एक्लै हटाउने हो र रु गगन थापामात्रै युवा होइन, म पनि त युवा नै हो नि ।’

अहिलेको चुनावमा कुनैपनि दलको स्पष्ट बहुमत नआएको उल्लेख गर्दै यादवले भने,‘कुनैपनि दलको स्पष्ट बहुमत आएको छैन, एमालेको बहुमत आयो भनेर हल्ला फैलाईएको छ, बाम गठबन्धनको वा कम्युनिष्टहरुको दुई तिहाई आएको भनिएको छ, समानुपातिक मतपरिणामको रुझान हेर्दा कांग्रेस नै दोस्रो ठूलो दल बन्छ।’

यादवले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बनेको वाम गठबन्धन धेरै लामो समयसम्म नटिक्ने समेत दाबी गरे । उनले थपे,‘अहिले नै हेर्नुभयो भने थाहा हुन्छ, अब बन्ने प्रधानमन्त्री केपी ओली कि प्रचण्ड भन्ने विवाद छ, त्यसैले उहाँहरुको गठबन्धन धेरै लामो जाँदैन ।’

मन्त्री यादवले एक–दुई दिनभित्रै गभर्नर र प्रदेश प्रमुख तोक्ने समेत जानकारी दिए । उनले भने,‘यो सरकारले अन्तिम दिनसम्म पनि काम गर्छ, निर्णयहरु गर्छ, यहाँ कसैले केही भन्दैमा र विरोध गर्दैमा काम रोकिँदैन्, हामीले गरेका निर्णयहरु कसैलाई मन परेन भने भोलि आउने सरकारले उल्टाउन सक्छ नि, उल्टाए भइगयो नि ।’ उनले सरकार संविधान अनुसार नै नयाँ प्रधानमन्त्री बनेपछि ह्याण्डओभर हुने भन्दै कसैलाई पनि चिन्ता नलिन आग्रह गरे ।

उनले थपे,‘संविधान अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभा कुल मिलाएर एक केन्द्रिय संसद बन्छ, यो पूर्ण हुनको लागि नै ४५ दिन लाग्छ, त्यतिका दिनसम्म के चुप लागेर बस्ने हो तरु’ उनले कसैको विरोधका कारण गर्भनर नियुक्ती नरोकिने समेत स्पष्ट पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७