ओलम्पियनलाई मासिक नगद पुरस्कारको व्यवस्था गर्ने
काठमाडौं: राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले विश्व खेलकुदकै सबैभन्दा ठूलो खेल महोत्सव ओलम्पिक खेलकुदमा सहभागी हुने नेपाली ओलम्पियनलाई मासिक नगद पुरस्कारको व्यवस्था गर्ने बताएका छन् ।
ओलम्पियन खेलाडीहरुको सम्मानार्थ राखेपले आयोजना गरेको चन्द्रागिरी हिल्स अवलोकन÷भ्रमण कार्यक्रमलाई चन्द्रागिरीमा सम्बोधन गर्ने क्रममा सदस्य–सचिव विष्टले पहिलो ओलम्पियनलाई मासिक रुपमा नगद उपलब्ध गराउदै आएकोमा बाँकी ओलम्पियनलाई पनि मासिक नगद पुरस्कार उपलब्ध गराउने बताएका हुन् ।
‘हामीले पहिलो ओलम्पियनलाई मासिक १० हजार उपलब्ध गराउदै आएका छौं । बाँकी ओलम्पियनलाई पनि सम्भवतः आगामी माघ-फागुनदेखि आन्तरिक व्यवस्था गरी मासिक तीन हजार उपलब्ध गराउने तयारीमा छौं । आउने आर्थिक वर्षदेखि मासिक ५ हजार दिने गरी व्वयस्था मिलाउने छौं । साथै दक्षिण एसियाली खेलकुदका रजत र कांस्य पदक विजेतालाई मासिक नगद पुरस्कारको व्यवस्था समेत गर्ने छौं ।’
सदस्य–सचिव विष्टले अवलोकन-भ्रमण कार्यक्रम त्यत्ति ठूलो नभएपनि उपत्यकामा उपलब्ध सबै ओलम्पियनलाई एकै थलोमा भेटघाट गराउने उद्देश्यले आयोजना गरिएको बताउदै कार्यक्रम सानो-ठूलो भन्दा पनि खेलाडी प्रति सदभाव राख्नु र खेलाडीहरुलाई सम्झिनु पनि महत्वपूर्ण कुरा भएको बताए । उनले उपत्यका बाहिरका ओलम्पियनको सम्मान पनि उनीहरुकै क्षेत्रमा यस्तै कार्यक्रमको आयोजना गरिने जानकारी दिए ।
कार्यक्रममा उपत्यकामा उपलब्ध पुराना पुस्ताका ओलम्पियन नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीदेखि नयाँ पुस्ताकी ओलम्पियन जुडोकी फुपुल्हामु खत्रीलगायत गरी ३० ओलम्पियन उपस्थित थिए ।
राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पाले एसियाली खेलकुदका लागि शीघ्र तयारी थाल्नु पर्ने बताउदै गरिब भनिएका मुलुकले पनि खेलकुदमा ठूलो फड्को मार्न सक्ने क्षमता रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा ओलम्पियनलाई चन्द्रागिरी हिल्स अवलोकन-भ्रमण कार्यक्रममा सहुलियत प्रदान गरेको चन्द्रागिरी हिल्स लि। लाई राखेपले प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको थियो । अवलोकन-भ्रमण कार्यक्रमअघि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा ओलम्पियनलाई ट्रयाकसुट वितरण गरिएको थियो भने राष्ट्रिय टिम तयारीमा रहने खेलाडीका लागि राखेपले खरिद गरेको बसको पनि सदस्य–सचिव विष्टले उद्घाटन गरेका थिए ।
राष्ट्रिय टिम तयारीमा रहने खेलाडीको सुविधालाई ध्यानमा राखि बस खरिद गरिएको बताउदै सदस्य–सविच विष्टले हाल १ बस मात्र खरिद गरिए पनि थप ३ बस खरिदका लागि प्रकृया अगाडि बढाइने बताए ।