नेपाललार्इ पहिलो अन्तर्राष्ट्रिय ह्विल चेयर क्रिकेटकाे उपाधि


२ पुष २०७४, आईतवार
winner nepali cricket

काठमाडौं : नेपालले अन्तर्राष्ट्रिय टी ट्वेन्टी त्रिदेशीय ह्विल चेयर क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । नेपालमा पहिलो पटक आयोजना भएको अन्तर्राष्ट्रिय टीट्वेन्टी त्रिदेशीय ह्विलचेयर क्रिकेट प्रतियोगिता शनिबार भएको फाइनलमा बंगलादेशलाई ५४ रनले हराउँदै नेपालले उपाधि जितेको हो ।  winner nepali cricket
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाउँदै एक सय ६० रनको योगफल खडा गरेको थियो। नेपालीको पालीमा दुवै प्रारम्भिक ब्याट्सम्यानले अर्धशतक बनाए।

टोलीका उपकप्तान समेत रहेका डिगमसिंह चेमजोङले अविजित ७९ रन बनाए। ६२ बलको सामना गरेका उनले १० चौका हिर्काए। यसैगरी अर्का प्रारम्भिक ब्याट्सम्यान नविन राईले पनि ५९ रन बनाए। दुवै प्रारम्भिक ब्याट्सम्यानले एक सय ४९ रनको साझेदारी गरेका थिए । नेपालका डानबहादुर थिङले खाता खोल्न सकेनन् भने जंगबहादुर थापा चार रन बनाउँदा विपिन पौडेल एक रनमा अविजित रहे। बंगलादेशका रिपोन उदिनले दुई तथा मोर्सेद आलमले एक विकेट हात पारे।
एक सय ६१ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश १८।२ ओभरमा एक सय ६ रनमा समेटियो। बंगलादेशलाई कम योगफलमै समेट्न विपिन पौडेलले तीन विकेट लिए। यसैगरी विष्णु अधिकारी, रामबहादुर तामाङ र कप्तान हिमाल अर्यालले एक एक विकेट लिए। बंगलादेशका मोर्सेद आलमले सर्वाधिक २० रन बनाए। यसैगरी उज्वल बैरागीले १७, मोहमद मिथलेु १३ र रोजेन हुसेनले ११ रन बनाए। बंगलादेशले २४ रन अतिरिक्तमार्फत पाएको थियो ।
फाइनल खेलको म्यान अफ दि म्याच डिगमसिंह चेमजोङ चुनिए। प्रतियोगितामा नेपालका नविन राई बेस्ट ब्याट्सम्यान, विपिन पौडेल बेस्ट बलर, राजु गुरुङ बेस्ट विकेटकिपर र नेपालकै डिगमसिंह चेमजोङ प्लेयर अफ दि सिरिज चुनिए। विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले पुरस्कार प्रदान गरे।
प्रतियोगितामा भारतको पनि सहभागिता रहेको थियो। नेपालले भारत र बंगलादेशविरुद्धको दुवै खेल जितेर फाइनलमा पुगेको हो। बंगलादेशले भारतले स्तब्ध बनाउँदै नेपालसँगको फाइनल भिडन्त पक्का गरेको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७