प्रदेश २ सत्ता समीकरणका विकल्प : कसकाे बन्ला प्रदेश सरकार ?


२ पुष २०७४, आईतवार
upendra yadav

राजविराज : मुलुकभर वाम लहर देखिए पनि तराई÷मधेसका ८ जिल्ला समेटिएको प्रदेश नम्बर २ का मतदाताले भने संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा)को मधेश गठबन्धनको पक्षमा अभिमत जाहेर गरेका छन् । २ नम्बर प्रदेशमा सरकार गठनका लागि फोरम–राजपा गठबन्धनले प्रत्यक्ष निर्वाचनबाट बहुमत पाइसकेको छ । कुनै एउटा दललाई मात्र प्रादेशिक सत्ता चलाउने जनमत भने प्राप्त छैन । समानुपातिक निर्वाचनतर्फको नतिजा आउन बाँकी छ ।upendra yadav
‘प्रादेशिक सरकारभन्दा पहिला केन्द्रमा सरकार गठन हुने भएकोले यहाँको प्रदेश २ को सत्ता समीकरणलाई काठमाडौंको राजनीतिले हदैसम्म प्रभावित गर्ने सम्भावना छ ।’
प्रत्यक्षतर्फ प्रदेशसभाका ६४ सिटमध्ये फोरम २०, राजपा १५, एमाले १४, नेपाली कांग्रेस ८ र माओवादी केन्द्र ६ स्थान जितेका छन् । समानुपातिकतर्फ (शनिबार दिउँसोसम्म) ३ लाख ४१ हजार ८ सय ६ मतसहित कांग्रेसको अग्रता छ । त्यस्तै २ लाख ८६ हजार ६ सय ७७ मतसहित राजपा दोस्रो, २ लाख ७१ हजार ४ सय ३७ मतसहित फोरम तेस्रो र २ लाख ३४ हजार ७ सय १३ मतसहित एमाले चौथो स्थानमा रहेको अवस्था छ ।
प्रत्यक्षतर्फ ६४ र समानुपातिक ४३ गरी १ सय ७ सदस्यीय प्रदेशसभाको बहुमत ५४ सिट हो । हालसम्मको चुनावी परिणामअनुसार कुनै एउटा दलको बहुमत पुगेको छैन । यस्तो अवस्थामा पहिलो र भरपर्दो विकल्प भनेको फोरम–राजपाको ‘मधेस गठबन्धन’ ले नै सरकार बनाउनुपर्ने राजनीतिक विश्लेष्क खुशीलाल मण्डलको भनाइ छ । तर, उनको पछिल्ला अनुभवका आधारमा यो गठबन्धन धरमराउन सक्छ । ‘राजनीतिक दलहरूमा राजनीति संस्कारको निकै अभाव भइसकेको अवस्था छ’, उनी थप्छन्, ‘सत्ता स्वार्थ र उन्मादमा मधेस केन्द्रित दलका नेताहरू विचलित हुन सक्छन् । विगतले यस्तो देखाएको छ । यस्तो भएन भने पहिलो र भरपर्दो विकल्प फोरम–राजपा गठबन्धन नै हो ।’
केन्द्रको सत्ता समीकरणले पनि प्रभाव पार्न सक्छ
केन्द्रमा हुने सत्ता समीकरणले पनि प्रदेश २ मा राजपा–फोरम गठबन्धनको भविष्य निर्धारण गर्ने मण्डलको बुझाइ छ । ‘प्रादेशिक सरकारभन्दा पहिला केन्द्र सरकार गठन हुने भएकाले प्रदेश २ को सत्ता समीकरणलाई काठमाडौंको राजनीतिले हदैसम्म प्रभावित गर्ने सम्भावना छ’, उनी भन्छन्, ‘मधेस मुद्दालाई कमजोर पार्न र विश्व समुदायलाई देखाउनसमेत वाम गठबन्धनले बनाउने केन्द्रीय सरकारमा मधेसका शक्तिहरूलाई सहभागी गराउने प्रयास हुन्छ, त्यतिबेला फोरम र राजपामध्ये कुनै एकको इमान डगमगायो भने अवस्था अर्के हुन सक्छ ।’
फोरम वाम गठबन्धनको केन्द्रीय सरकारमा सहभागी हुने अवस्था आए प्रदेश २ मा फोरम–एमाले–माओवादीको सरकार बन्न सक्छ । त्यस्तै वाम गठबन्धनको केन्द्रीय सरकारमा राजपा सहभागी भए प्रदेशमा राजपा–एमाले–माओवादी गठबन्धनको सरकार बन्न सक्ने सम्भावनालाई नकार्न सक्ने अवस्था नरहेको मण्डल बताउँछन् ।
फोरमको राजनीतिक संस्कार र विचारधार निकै हदसम्म एमाले, माओवादी जस्ता वामपन्थी दलसँग मेलखाने भन्दै मण्डल राजपाभन्दा फोरम वाम गठबन्धनका समीकरणमा सहभागी हुन सक्ने सम्भावना बढी देख्छन् । ‘फोरमको चुनावी घोषणापत्रकै कतिपय मुद्दा वाम गठबन्धनका मुद्दासँग मिल्दाजजुल्दा छन्, फेरि फोरमले राजपासँग प्रदेश नम्बर २ मा मात्रै गठबन्धन गरेको रहेछ’, उनले भने, ‘यस्तो अवस्थामा फोरम राजपालाई छाडेर केन्द्रीय सत्ता समीकरणमा वाम गठबन्धनसँग मिल्दा उसलाई खासै नैतिक दबाब पनि हुँदैन ।’
फोरम अध्यक्ष उपेन्द्र यादवले आफ्नो राजनीतिक जीवनको प्रारम्भ पनि वाम विचारधाराबाटै गरेका थिए । फोरमभित्र वामविचारधारासँग रुझान राख्ने नयाँ तथा पुरानो पुस्ताका नेताहरू पनि थुप्रै छन् । जसका कारण फोरम नेपाललाई वाम गठबन्धनमा मिल्न सहज हुने कतिपयको बुझाइ छ ।
चुनावी प्रयोजनका लागि बनाइएका अहिलेका कुनै पनि गठबन्धन सम्मिलित दलहरूमा सैद्धान्तिक एकरुपता नदेखिएकाले समेत गठबन्धनको भविष्य अन्योलग्रस्त देखिएको अर्का जानकार डा। हेमकुमार मिश्रको भनाइ छ । ‘राज्य पुनर्संरचना, शासकीय स्वरुपजस्ता गम्भीर मुद्दामा समेत एकमत नदेखिएका दलहरूको गठबन्धन दीर्घकालीन हुन्छ भने सोच्नु पनि हाँस्यास्पद हो’, मिश्रले भने, ‘चुनाव सँगै लडे पनि सरकार बनाउने बेला आफूलाई अधिकतम फाइदा पुग्ने विकल्पतर्फ लम्किने राजनीतिक परिपाटी हाम्रोमा हाबी छ ।’
फोरम नेपालको तराई÷मधेस प्रादेशिक समितिका मुख्य सचिव शम्भु झा २ नम्बर प्रदेशमा राजपा–फोरम गठबन्धनकै सरकार बन्ने सम्भावना अधिक रहेको बताउँछन् । तर उनले आफ्नो दलले कोसँग मिलेर सरकार बनाउने भनेर आधिकारिक निर्णय गरिनसकेको उनको भनाइ छ । ‘समानुपातिकतर्फको मतगणना समेत सकिएको अवस्था छैन’, उनले भने, ‘मतगणनापछि दुवै दलका शीर्ष नेतृत्वले यस विषयमा अन्तिम टुंगो लगाउने हो तर हालसम्म सत्ता समीकरणबारे निर्णय हुनसकेको छैन ।’

नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७