‘छिटो मार्गप्रशस्त गर्नुस्, हामी सरकार बनाउँछौँ’


३ पुष २०७४, सोमबार
oli dahal pc

काठमाडाैँ  : वाम गठबन्धनका प्रमुख नेता केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले ताजा जनादेशको सम्मान गर्दै नयाँ सरकार गठनका लागि छिटो मार्गप्रशस्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।oli dahal pc

पार्टी एकता संयोजन समितिका तर्फबाट आइतबार संयुक्त पत्रकार सम्मेलन गर्दै ओली र प्रचण्डले कामचलाउ प्रधानमन्त्रीको हैसियतमा नियुक्ति, सरुवा–बढुवालगायतमा हात हालेर असंवैधानिक काम नगर्न तथा बखेडा झिकेर सत्ता लम्ब्याउने खेलमा नलाग्न देउवालाई सचेत गराए ।

दुवै नेताले गठबन्धन सरकार र पार्टी एकता राजनीतिक स्थायित्व र समृद्धिका लागि भएको दोहो¥याउँदै निर्वाचन आयोगले परिणाम सार्वजनिक गरेलगत्तै संविधानअनुसार नयाँ सरकार गठन प्रक्रिया सुरु हुनेसमेत स्पष्ट पारे । निकट भविष्यमै पार्टी एकताले पूर्णता पाउने उनीहरूले बताए ।

पत्रकार सम्मेलनमा एमाले वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा बादललगायतका नेताहरू सहभागी थिए । निर्वाचन आयोगले आइतबार समानुपातिकतर्फको मतगणना सम्पन्न गरेलगत्तै गठबन्धनले पत्रकार सम्मेलनमार्फत संयुक्त सन्देश सार्वजनिक गरेको हो ।

ओलीले भने : अध्यक्ष र प्रधानमन्त्रीका लागि एकता होइन

अहिले हामी निर्वाचनको सन्दर्भमा छौँ । पार्टी एकता हामीले भनेको मात्र होइन, निकट भविष्यमा गर्दै छौँ । यसभित्र मलाई अध्यक्ष नै चाहिने भए म छँदै छु, प्रचण्डजी हुँदै हुनुहुन्छ । एकता नगर्दा त दुवैको अध्यक्ष पद सग्लै छँदै छ । हाम्रो ध्यान अध्यक्ष पद र प्रधानमन्त्रीतिर भन्दा देशले भोगिरहेको समस्याको समाधान र जनताको आकांक्षा कसरी पूरा गर्ने भन्नेमा छ । हामीले निर्णय गरेका वेला लिखित, मौखिक, श्रव्य–दृश्यसहित सबै थाहा पाइहाल्नुहुन्छ, अहिल्यै को–के हुन्छ भन्दैनौँ ।

निर्वाचन परिणामलगत्तै नयाँ सरकार

अहिलेसम्म ढिलो भयो भन्ने होइन, मतगणना हुँदै थियो । अब ढिलोमा सात दिनभित्र निर्वाचन आयोगले परिणाम सार्वजनिक गरेपछि प्रक्रिया बढ्छ । कुनै संवैधानिक र व्यावहारिक अस्पष्टता छैन । गर्न खोजियो भने समस्या सिर्जना गर्न सक्छ । अहिले कामचलाउ सरकारले दूरगामी महत्वका निर्णय गर्न खोजिराखेको छ, निर्वाचन सकिएर परिणाम आइसकेपछि अब अहिलेको त सत्ता हस्तान्तरण गर्ने सिलसिलाको सरकार हो । यस्तो सरकारले दुनियाँमा कतै पनि ठूला निर्णय, सरुवा–बढुवाका दूरगामी महत्वका निर्णय गर्दैैन ।

अध्यादेश संविधानसम्मत हुनुपर्दैन ?

सरकारले अध्यादेश पेस गरेपछि केहीकेही कानुन पढेका मान्छेका कुरा सुन्ने गर्छु–सरकारले राष्ट्रपतिकहाँ अध्यादेश पठाएपछि घोषणा गर्दिनुपर्छ । जसको जति मत आए पनि राष्ट्रिय सभामा मौजुदा सरकारको नेतृत्व गरिरहेको प्रधानमन्त्रीले सबै सदस्य आफ्नै नियुक्त हुन पाउनुपर्छ भन्ने अध्यादेश पठाउनुभयो भने के हुन्छ ? संविधान, कानुन र नैतिक मूल्य–मान्यताअनुसार हुनुपर्छ कि पर्दैन ? अथवा यो राजनीतिक महत्वको विषय हो भने प्रमुख दलसँग, जसले जनादेशअनुसार सरकारको नेतृत्व गर्दैछ, ऊसँग परामर्श हुनुपर्छ कि पर्दैन ?

खेल सुरु भएपछि नियम बनाउन पाइन्छ ?

हामीले संसद् छँदै छिटो विधेयक पास गरौं भनेको भन्यै ग¥यौं । परिणाम आएपछि अर्कै कुरा । खेल सुरु भएपछि नियम परिवर्तन गर्ने ? खेल सुरु भइसक्यो, बल हान्न लाग्यो, अनि किपरले समाउन नपाउने अबस्थामा बल हान्नै पाइँदैन भन्न पाइन्छ ? खेलको बीचमा नियम बनाउने ? मतभार पछि निर्धारण गरियो । खेल चलिसकेपछि बीचमा यसरी नियम परिवर्तन गरिँदैन । सांसद मनोनीत गर्ने काम गएको सरकारले गर्छ कि आउने सरकारले ? जाने बेला खाली भए जति ठाउँमा आफ्ना मान्छे भरेर जाने हो ? हस्तान्तरण गर्ने होइन ? राजनीतिमा नैतिकता, जनमतको कदर हुन्छ कि हुँदैन ?

प्रधानमन्त्रीको कुर्चीमा बसेर राष्ट्रपतिलाई उक्साउने ?

प्रधानमन्त्रीले राष्ट्रपतिलाई असंवैधानिक काम गर्न नलगाइयोस् भन्नुभएको छ । म प्रधानमन्त्रीलाई भन्न चाहान्छु– प्रधानमन्त्रीको कुर्चीमा बसेर उहाँले राष्ट्रपतिलाई असंवैधानिक काम गर्न दबाब दिने, उक्साउने काम गर्नु हुँदैन । संविधानको पालक र रक्षकको हैसियतमा संविधानअनुसार छ कि छैन, विचार गर्नुपर्छ ।

विद्वानलाई प्रश्न– परिणामबिना राष्ट्रिय सभा कसरी बन्छ ?

संविधानको धारा ८६ को २ ले राष्ट्रिय सभा गठनसम्बन्धी स्पष्ट व्यवस्था गरेको छ । निर्वाचन परिणाम सार्वजनिक भएपछि प्रदेशसभा नियुक्त हुन्छ । सपथ ग्रहणपछि सांसद बनेर राष्ट्रिय सभा सदस्य चुन्ने इलोक्ट्रोल मेम्बर बन्छ । परिणाम नै नआईकन, समानुपातिकको परिणाम नपठाईकन प्रदेशसभाको सदस्य कसरी नियुक्त हुन्छ ? नियुक्त नभईकन कसरी सपथ ग्रहण हुन्छ ? शपथ नगरीकनै इलोक्ट्रोकल सदस्यको हैसियतमा राष्ट्रिय सभाको सदस्य छान्छन् कसरी ? विद्वान मित्रहरूलाई मेरो प्रश्न छ– बीएल त पढ्नुभएकै होला, लाइसेन्स लिनुभएकै होला । अनि यति सारो राजनीतिमा नांगो वकालत– असंवैधानिक र गैरकानुनी हिसाबले ?

शेरबहादुरजीले राजीनामा दिएको मलाई थाहा छैन

लोकतान्त्रिक अभ्यासलाई सहज बनाउनुपर्छ । मैले त्यही गरेको छु, उहाँ (प्रचण्ड,झलनाथ) ले पनि त्यही गर्नुभएको छ । बखेडा निकाल्ने, म गर्दै गर्दिनँ भन्ने कुराले अलिकति शोभा दिँदैन । हामीलाई त छाड्न केही जस्तो भएन, अभ्यास गरेका हौं । सबैले राजीनामा ग¥यौं । शेरबहादुरजीले अहिलेसम्म राजीनामा गर्नुप¥यो कि परेन मलाई थाहा छैन ।

भारतको वक्तव्यपछि किन कथा बुन्नू ?

खासगरी परराष्ट्र परराष्ट्र भनेर भारतको चर्चा गरिन्छ । भारतले आधिकारिक रूपमा के स्टेटमेन्ट दिएको छ ? भारतले अस्ति जवाफ दिइसक्यो, प्रश्न आज गर्दै हुनुहुन्छ । तपाईंहरू(मिडिया) ले छापेको पढेका छौं । हामी अहिलेको जनादेशलाई कदर गर्छौं । अहिलेको बहुमतले स्थायित्व र स्थिरता दिने विश्वास गर्दछौं । खुसी व्यक्त गर्दछौं र नयाँ सरकारसँग मिलेर काम गर्न आत्तुर छौं । अनि कथा बुन्नेहरूको कथाको पछि कुद्ने किन ?

प्रधानमन्त्रीको होइन, स्थायित्व र समृद्धिको चिन्ता छ : प्रचण्ड

– सबै कुरा केपीजीले राख्नुभएको छ, मेरो सबैमा सहमति छ । दोहो¥याई राख्नुपरेन । एउटा कुरा छुटाएको दोहो¥याएर भन्छु– अध्यक्ष त हामी छँदै छौँ भन्नु भो । उहाँले सोच्दा प्रधानमन्त्री पनि सोच्नुभएको थियो । प्रधानमन्त्री पनि हामी भइसकेका छौँ, हामीलाई त्यसको चिन्ता छैन । हामीले सजिलै प्रधानमन्त्री छाडेका छौँ । हाम्रो चिन्ता र चासो अब देशमा राजनीतिक स्थायित्व, सुशासन, विकास निर्माण र समृद्धि, त्यो कसरी गर्ने भन्ने हाम्रो चासो हो भन्ने प्रस्ट गर्न चाहन्छु ।

– प्रधानमन्त्रीजीसँगको भेटमा राष्ट्रिय सभाबारे पनि कुरा भएको थियो । संविधानको व्यवस्थाअनुसार राष्ट्रिय सभाको निर्वाचन गर्न प्रदेश सभा र प्रतिनिधिसभा सदस्य मात्र होइन, गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहने र मतभार फरक–फरक हुने कुरा गरिएको छ । तर, संविधानले एकल संक्रमणीय प्रणालीको व्यवस्था गरेको छैन । त्यसैले पार्टीहरूको बीचमा एउटा समझदारीका आधारमा छिटो टुंग्याउनुपर्छ भन्ने ध्यानाकर्षण गराएको छु ।

नयाँ पत्रिका देनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७