हङकङका एक्ला ‘होलटाइमर’ नेपाली पत्रकार

शहरमा चर्चा छ, दुई ‘प’ मा टिकिराख्न मुस्किल छ भन्ने । त्यो हो, पत्रकारिता र प्रेम । नेपाली भाषाको पत्रकारिता खासगरी आर्थिक र भौतिक दुवै रुपले असुरक्षित मानिन्छ । प्रेममा ‘फास्टफुड’ प्रवृत्ति बढेको छ । विहान प्रेममा डुबेर बेलुका किनारमा सुक्ने संस्कृति हाबी हुँदै गएको छ । असुरक्षित हुँदा–हुँदै पनि पत्रकारितालाई प्रेम गर्नेहरूको संख्या पनि ह्वात्तै बढेको छ । पत्रकारिताको आकर्षण देखेर विहान पत्रकार भएर हिँड्नेहरू बेलुका अरु नै पेशामा लागिसकेका हुन्छन् । आर्थिक उपार्जनको हिसाबले नेपाली भाषाको पत्रकारिता अपवाद बाहेक लगभग समाजसेवाकै अवस्थामा गुज्रिरहेको छ । नेपालमा रहरले संवाददाता वा सम्पादक हुने खोज्नेहरू धेरै छन्, तर टिकिराख्ने कम ।

नेपालमै नेपाली भाषाको पत्रिका टिकाउन गाह्रो छ । झनै विदेशमा नेपाली भाषाको पत्रिका कसरी टिक्ला ? नेपाली भाषामा पत्रकारिता गर्ने पत्रकारहरू कसरी टिक्लान् ? उत्तर सकारात्मक छैन, ‘विदेशमा नेपाली भाषाको पत्रकारिता गरेर टिक्न गाह्रो छ ।’ हङकङमा नेपाली भाषामा पत्रकारिता गरिरहेका किसन राई यस्ता अपवाद हुन्, जो विशुद्ध नेपाली भाषाको पत्रकारिता गरेर विगत १५ वर्षदेखि हङकङमा टिकिरहेका छन् । एभरेष्ट साप्ताहिक भन्दा उनको अर्को पेशा छैन । उनी हङकङका एक्ला पूर्णकालीन पत्रकार हुन् । भन्छन्, ‘यो पत्रिका भन्दा मेरो अन्य पेशा छैन, मेरो सबथोक यही हो ।’ सायद विदेशमा नेपाली भाषाको पत्रिका चलाएर मात्रै बस्ने एकदमै कम मध्येका एक हुन् उनी ।

भारतीय लाहुरेका यी सन्तान हङकङ छिर्नु अघि पत्रकारितामा थिएनन्, न त उनको सपनाको विषय नै थियो । उनी धरानमा एक बोर्डिङ स्कुलका सञ्चालक थिए । विद्यार्थीकालमा अखिलका आशा लाग्दा विद्यार्थी नेता । १६ वर्षअघि धरानलाई विदा गरेर हङकङ जाँदै गर्दा उनको सपना पत्रकारिता गर्ने थिएन । अरुहरू जस्तै धन कमाउने सपनाले ठेलिएर उनी हङकङ पुगेका थिए । ‘पत्रकारिता गरिन्छ भन्ने त कल्पना समेत गरेको थिइनँ ।’ तीन साता अघि जोर्डन शहरको लक्की हाउसमा बसेर उनी सुनाउँदै थिए, ‘कमाउँ भनेर हङकङ छिरेको पत्रकार भइयो ।’ भनिन्छ, ‘जीवन योजनामा होइन आकस्मिकतामा चल्छ ।’ उनको पनि भइदियो त्यस्तै । विलियम सुब्बा लगायत ६ जना समूहले प्रति व्यक्ति ६० हजार हङकङ डलर संकलन गरेर पत्रिका प्रकाशन गर्ने उेद्दश्यले एभरेष्ट मिडिया नामको कम्पनी दर्ताको तयारी गर्दैरहेछन् । उनीहरू सातौँ लगानी कर्ताको खोजीमा थिए । संयोगले सातौँ लगानीकर्ताको रुपमा उनी पुगे । हङकङ पुगेको करिब दुई वर्षपछि उनी मिडियातिर संयोगले लागे । त्यही संग्लनता ‘युटर्न’ जस्तै भयो । डलर कमाउने छिरेका यी लक्का जवान समाचार सम्पादन, लेखनतिर लागे । उनको दैनिकी फेरियो, फेरिए सपना र बाटाहरू ।

थोरै नेपालीभाषीहरू भएको शहरमा नेपाली भाषाको दैनिक पत्रिका निकाल्नु सजिलो काम थिएन । एउटा सामान्य प्रेस किनेर दैनिक पत्रिका प्रकाशनमा जुटेका थिए उनीहरू । लगानीकर्ता ७ जना मध्ये पत्रिका प्रकाशन र वितरण बारेमा सबै नयाँ थिए । अरु ६ जनालाई भन्दा बरु उनलाई पत्रिका छपाई सम्बन्धी केही जानकारी थियो । अरु ६ जनालाई चाहिँ पत्रिका प्रकाशन गरेपछि तुरुन्तै नाफा आउँछ भन्ने लागेको थियो, तर पत्रिकाबाट त्यस्तो सम्भव भएन । पत्रिका प्रकाशनको एक महिनामा नै अरु ६ जना पत्रिका बन्द गर्ने निष्कर्षमा पुगे । ‘साथीहरूले मेसिन ल्याएपछि फ्याट–फ्याट पत्रिका छापिन्छ, खुरुखुरु पैसा आउँछ भन्ने सोचेका रहेछन्, तर त्यसो भएन ।’ उनले सुनाए, ‘साथीहरू एकै महिनामा हत्सोसाही हुनुभयो, पत्रिका नै बन्द गर्ने निष्कर्ष भयो ।’ उनकै आग्रहमा तीन महिनासम्म सामूहिक लगानीमै दैनिक पत्रिका प्रकाशन भयो । त्यसपछि पनि नाफा नभएपछि उनका साथीहरूले कम्पनी नै बन्द गर्नुपर्छ भन्नेतिर लागे, तर उनी हारेनन्, र साथीहरूलाई भने, ‘अहिले सम्मको हिसाबकिताब गरौँ, अनि म पत्रिकालाई निरन्तता दिन्छु ।’ उनको आँटलाई अर्का एक जनाले सघाए, तर उनी पनि ६ महिना भन्दा बढी टिक्न सकेनन् । सबै सहयात्रीहरू अन्यत्र लागे पनि उनले पत्रिकालाई निरन्तरता दिने अठोट गरे, र साप्ताहिक रुपमा रङ्गीन पत्रिका प्रकाशन शुरु गरे । अहिलेसम्म पत्रिका नियमित प्रकाशन गरिरहेका छन् ।

तीन करोड बढी नेपालीभाषी भएको नेपालमा पनि पत्रिका निरन्तर प्रकाशन गर्न फलामको चिउरा चपाउनु जस्तै हुन्छ । हङकङमा करिब ४० हजार जति नेपाली छन् । ती सबै पत्रिका पढ्नमा अभ्यस्त छैनन् । सानो समुदायमा कसरी टिकेको छ त पत्रिका ? ‘दुःखसुख टिकेको छ’ भन्छन्, ‘पत्रिका बिक्री र विज्ञापनबाट आउने पैसाले धानिएको छ ।’ हङकङ नेपालीहरूको सपनाको शहर हो । त्यहाँ जाने धेरैजसो नेपालीहरूको सपना हुन्छ, ‘रातरात धनी हुने ।’ हङकङमा जाने नेपालीहरूको चाहना हुन्छ, चाँडै डलर कमाएर सबै दुःखहरू ढाल्ने, तर उनी चाहिँ दुःख ढाल्ने शहरमा पुगेर पनि १५ वर्षदेखि समाचार सम्पादन र लेख्ने दुःखमा लागेका छन् । किन त ? ‘विदेशमा बसेर पनि नेपाली भाषा र समुदायको सेवा गर्न पाएको छु, मेरो सुख यही हो ।’

हङकङमा नेपाली भाषाको अन्य पत्रिकाहरू प्रकाशन नभएका होइनन्, तर नियमित छैन । त्यसो त नेपालबाट प्रकाशन हुने पत्रपत्रिकाहरू पनि समयमै आइपुग्छन् । किन पढ्छन् त एभरेष्ट साप्ताहिक ? ‘स्थानीय विषयवस्तु र समाचार सामग्रीका कारण’ उनले सुनाए, ‘मेरो पत्रिकाले हङकङमा भएका नेपाली गतिविधि र विषयलाई पहिलो प्राथमिकता दिन्छ ।’ पत्रिका र पत्रकारले स्याबास मात्रै पाउँदैन कहिलेकाही अरुको तारो पनि बन्नुपर्छ । नेपालमा पत्रकार कुटिएका र पत्रिका जलाइएका घटनाहरू दोहोरिरहने गर्छन् । हङकङमा चाहिँ नेपाली भाषाको पत्रिकाले त्यस्तो सास्ती भोग्नु परेको छ कि छैन ? ‘किन नहुनु’ उनी भन्छन्, ‘समाचार प्रकाशनको विषयलाई लिएर एक पटक मेरो पत्रिकाको कार्यालयमा तोडफोड गरियो । कुट्ने, मार्ने धम्की त सामान्य हुन्छन् ।’ नेपालमा एउटा पत्रिकाको सम्पादकले व्यहोर्नु पर्ने समस्या उनले पनि व्यहोरी नै रहेका छन् । उनको उद्देश्य हङकङमा नेपाली समुदायले गर्ने गतिविधिहरूको कभरेज गर्ने हुँदोरहेछ, तर कहिलेकाही सम्पर्क, सम्बन्ध र स्रोत साधनको अभावले सबै कार्यक्रममा उनी पुग्न सक्दैनन् । यी कारणले समाचार कभरेज हुन नसक्दा कहिलेकाहीँ पत्रिका माथि अनेक आरोप लाग्ने गरेको छ । भन्छन्, ‘सूचना, समय र स्रोतको अभावले सबै कार्यक्रमको कभरेज गर्न नसक्दा कुनै क्षेत्रको, कुनै समुदायको पत्रिका भनेर आरोप पनि लगाइन्छ, तर सकेसम्म सबैको कभरेज गर्ने मेरो उद्देश्य छ ।’

हङकङमा नेपालीहरूको संख्या बढ्दो नै छ, तर नेपाली भाषाको पत्रिकाको पाठकको संख्या भने घट्दो छ । पुराना पुस्ताको मृत्यु र बसाइसराई जारी छ । नयाँ पुस्ता अंग्रेजी र चिनियाँ भाषामा अभ्यस्त हुुँदै गएका छन् । हङकङमा नेपाली भाषाको पत्रकारिताको भविष्य उनी पटक्कै देख्दैनन् । भविष्य विनाको क्षेत्रमा किन त ? ‘अहिले त छ नि’ उनी भन्छन्, ‘अहिलेको पुस्तामा भविष्य छ ।’ भनिन्छ, वर्तमान सुन्दर हुनेहरूको भविष्य पनि सुन्दर हुन्छ ।

प्रतिक्रिया दिनुहोस्