विजय कुमार गच्छदार: अभागी नेता, भाग्यमानी भविष्य


२ भाद्र २०७४, शुक्रबार

dev limbu

काठमाडौं : वर्तमान समयमा वैकल्पिक राजनीति शक्तिले ठुलो आकार लिएको छ । प्रोपोगाण्ड नगरी ती शक्तिले ठुलो आकार विस्तार गरिसकेका छन् । समावेशी र समानतालाई जोड् दिएका छन् । हिमाल, पहाड र तराई जोड्ने नीति अपनाएको छ । आफ्नो शक्ति र पहुँच देशव्यापी रूपमा फैलिएका छन् । त्यो हो ‘नेपाल लोकतान्त्रिक फोरम नेपाल’ । केही शक्तिहरू देशलाई विभाजन गन सक्रिय भएका छन् । जनतालाई जातीय आधारमा विभाजन गर्न लागिपरेका छन् । देशमा स्थिरता ल्याउन वैदेशिक शक्तिलाई गुहारेका छन् । देशको अस्थिरतालाई रोक्न शक्ति नेपाल लोकतान्त्रिक फोरम भन्दा अन्य पार्टीले गर्नै सक्दैन । यो शक्तिको पहिचान गर्न अत्यवश्क छ ।

इतिहाँसलाई फर्केर हेर्दा
२०६३ सालमा मधेस आन्दोलन सुरु भयो । मधेस आन्दोलनलाई अनियन्त्रित बनाउने प्रयास भएको थियो । त्यो आन्दोलन अनियन्त्रीत हुन सशक्त नेताविजय कुमार गच्छदारले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नु भएको थियो । अतिवादी शक्तिहरूको हातमा गइरहेको मधेस आन्दोलनमा लोकतान्त्रिक व्यक्तित्वको उपस्थिति समयको माग थियो । गच्छदारले सो माग पूरा गर्नु भयो । अतिवादको छायाँबाट मधेस आन्दोलनलाई मुक्त गरेर उपलब्धीमूलक आन्दोलन गर्न गच्छदारले योगदान गर्नु भयोे । गच्छदारको उपस्थिति थिएन भने मधेस आन्दोलन चकनाचुर हुनसक्थ्यो र अतिवादीहरुको नयाँ युग सुरु हुन सक्थ्यो ।

मधेस आन्दोलनकै बलमा तत्कालीन मधेसी जनअधिकार फोरमले आफूलाई देशको चौथो र मधेसको पहिलो ठुलो शक्तिका रूपमा उभ्याए। फोरमलाई त्यति सशक्त बनाउने गच्छदारले गर्नुभयो । यो कुराको पुष्टि दोस्रो संविधानसभाको चुनावले छर्लङग पारेको छ । पहिलो चुनावपछि फोरम विभाजित भयो । उपेन्द्र यादवको नेतृत्वमा एउटा र गच्छदारको नेतृत्वमा अर्काे पार्टी बन्यो । दोस्रो संविधानसभा चुनावमा गच्छदार नेतृत्वको पार्टी मधेसमा सबैभन्दा ठुलो पार्टी बन्यो । मातृपार्टीभन्दा विभाजित भएर गएको पार्टी ठुलो रूपमा स्थापित भएको नेपालको यो पहिलो घटना थियो ।

त्यसपछि कुरा आउँछ १६ बुँदे सम्झौताको । संविधान निर्माण धरापमा परेको बेला गच्छदार अगाडि सरे । उनले तीनतिर मुख फर्काएर बसेका काँग्रेस, एमाले र माओवादीलाई एक ठाउँ ल्याए । १६ बुँदे सम्झौता गराए जो संविधान जारी गर्ने आधारशिला बन्यो । संविधानले मधेसी, थारु, जनजाति लगायतको अधिकार सुनिश्चित ग¥यो । आन्दोलनको मैदानमा मात्र जनतालाई होमेर हुँदैन, उपलब्धि हासिल गर्नुपर्छ भन्ने गच्छदारको वैचारिक लाइनमा टेकेर संविधान जारी भयो ।
अहिलेको संविधान संशोधन प्रकरणलाई हेरौं । गच्छदार संविधान संशोधनको पक्षमा छन्, संविधान भनेको निरन्तर संशोधन हुनसक्ने दस्ताबेज हो भन्ने गच्छदारले विचार दिनु भएको छ । तर, संविधान संशोधनका लागि जनताले मर्नुपर्छ भन्ने विचारको गच्छदार विरोधी हुनुहुन्छ । संविधान संशोधनको थलो संसद् हो, सडक होइन भन्ने विचार गच्छदारले दिनुलाई नेपालको अहिलेको राजनीतिक परिदृष्यमा सामान्य ठानिनु हुन्न । संविधानको उपलब्धिको उपयोग गर्दै संसदभित्रबाट संविधान संशोधन हुनुपर्छ, संशोधनको नाममा जनतालाई सताउनु हुँदैन भन्ने गच्छदारको धारणाबाट सबैले पाठ सिक्न जरुरी छ ।

अभागी नेता
संविधान जारी भएपछि नेपालमा नयाँ युग सुरु भएको छ । संविधान जारी हुनासाथ भारतले नाकाबन्दी लगायो । नाकाबन्दीको विरोध गर्दै सहमतिको राजनीतिक वातावरण बनाउन, अन्तर्राष्ट्रिय रूपमा छलफल अगाडि बढाउन गच्छदारले नै भूमिका निर्वाह गर्नु भएको हो । तर, नेपाली राजनीतिमा कहिले जस नपाउने अभागी नेता हुनुहुन्छ गच्छदार । काम ठूलाठूला गर्नुभयो, राष्ट्रिय राजनीतिलाई निर्णायक मोड दिनुभयो, ठूलाठूला उपलब्धिको ‘लन्चिङ प्याड’ बन्नु भयो । तर, त्यस अनुरूप जस पाउनु भएनन् ।

नाकाबन्दीको बेला सबैभन्दा तार्किक र व्यवहारिक अडान गच्छदारले नै लिनु भएको थियो । तर, त्यस अनुरूप जस पाउनु भएनन् । भौतिक योजना मन्त्रीका रूपमा उत्तरी नाका खोल्न गर्नुभएकोे योगदानको कुनै चर्चाको विषय बनेन् । नत संविधान जारी हुन नै सक्थे । किनभने मुख्य दलहरूको साथमा मधेसका शक्ति थिएनन् । एक्लो वृहस्पती बनेर गच्छदार उभिनु भएको थियो । तैपनि जस पाउनु भएनन् ।

गच्छदार नेतृत्व नेपाल लोकतान्त्रिक फोरमका नेता कार्यकर्ताहरू भन्ने गर्छन्– ‘हाम्रो पार्टी अभागी शक्ति हो, किनभने हामीले काम अनुसार जस पाएनौं ।’ वास्तवमा यो सत्य हो तर अब सत्य बदलिने निश्चित छ । हुन त गच्छदारलाई धेरै पटक मन्त्री भएको भाग्यमानी नेता भन्नेहरु पनि कम छैनन् । धेरै पटक मन्त्री बनेकाले आलोचना गर्नेहरु कम छैनन् । के धेरै पटक जिम्मेवारी पाउनु अपराध हो ? काँग्रेस एमालेका एकथरी नेताहरू जहिलेतहिले सरकारमा छन् । काँग्रेस एमाले नेताहरू सरकार बाहिर रहँदा पनि सरकारमा भए सरह सत्ता र सुविधा उपभोग गरिरहेका छन् । गच्छदार एकजनाले चाहिँ बारम्बार मन्त्री बन्न हुँदैन भनेर कहीँ लेखिएको छैन । मन्त्री बनेर गच्छदारले गरेको विकास निर्माणमा योगदान र राजनीतिक समस्या समाधानका लागि गरेको योगदानको चाहिँ किन चर्चा हुँदैन ? के गच्छदारले चाहिँ राजनीतिबाट सन्याश लिनुपर्ने हो ? हो भने काँग्रेस एमाले सहित मधेसवादी भनिने दलहरूका दर्जनौं नेताहरूले एकसाथ सन्याश लिए हुन्छ ।

नेपाली राजनीतिमा जस लिने खास तरिका हुँदो रहेछ । जस्तो कि– काठमाडौँको सडक विस्तारको जस डा. बाबुराम भट्टराईले लिने गरेका छन् । सत्य के हो भने बाबुराम प्रधानमन्त्री हुँदा सडक विस्तारको सबै कार्ययोजना गच्छदारले बनाएका थिए, विस्तारको काम गच्छदारले गरेका थिए, कार्यान्वयन गच्छदारले गरेका थिए । तर, जस नखोज्ने उनको बानी छ, जस लिन जान्दैनन् पनि । थोरै काम गर्ने धेरै हल्ला गर्ने शैली गच्छदारले अपनाएनन् । बरु, काम गर्ने अनि हल्ला नगरी बस्ने शैली अपनाए ।

नयाँ स्वरूपमा नेपाल लोकतान्त्रिक फोरम

नेपालमा नयाँ र वैकल्पिक राजनीतिक शक्तिको चर्चा हुन थालेको दशकौं भयो । कस्तो शक्तिलाई नयाँ र वैकल्पिक भनिन्छ भन्ने अष्पस्ट छ । आआफ्नो परिभाषा छ । तर, अहिले नेपाललाई कस्तो नेता र राजनीतिक शक्ति चाहिएको भन्ने चाहिँ स्पष्ट छ । यसलाई बूँदागत रूपमा यसरी भन्न सकिन्छ–

– जाति र पार्टीभन्दा माथि उठेर देश भन्ने
– कुनै एक जातिको मात्र कुरा नगरेर सारा नेपालीको भलाइको कुरा गर्ने
– जातीय विग्रह होइन, जातीय एकता भन्ने
– हिमाल पहाड तराईका जनतालाई जोड्ने
– संविधान कार्यान्वयन गर्दै जनअधिकार सुनिश्चित गर्ने
– परम्परागत ठुला राजनीतिक शक्तिहरूलाई चुनौती पनि दिने र उनीहरूलाई एक ठाउँमा पनि ल्याउने
– सन्तुलित वैदेशिक सम्बन्ध स्थापित गर्दै नेपालको राष्ट्रियतालाई प्रवद्र्धन गर्ने

यी गुणहरू भएको शक्ति नेपालको अहिलेको र भविष्यको पनि आवश्यकता हो । यी गुण गच्छदार नेतृत्व नेपाल लोकतान्त्रिक फोरममा मात्रै छ । पार्टीलाई हिमाल पहाड सबैतिर विस्तार गरेको छ । गच्छदारले कहिले कुनै जातीय समुदायलाई गाली गर्नु भएको छैन । जातीय गाली दिनु खास किसिमका नेताहरूको विशेषता नै भएको छ । गच्छदार तथा लोकतान्त्रिक फोरमले कहिले पनि अतिवादलाई स्वीकार गरेको छैन र गर्दैन पनि । बरु समभावको कुरा गर्छन् ।

अर्काे पक्ष

यति व्याख्या गरिनुको खास अर्थ छ । नयाँ शक्तिका रूपमा देशलाई कस्तो शक्ति चाहिएको हो भन्ने तथ्यको व्याख्या गर्दा अर्काे महत्त्वपूर्ण पक्षलाई बिर्सन मिल्दैन । अब देश जोड्ने शक्तिको नेतृत्व कुन जातीय समुदायको हुन्छ भन्नेले पनि खास अर्थ राख्छ । पहाडी र मधेसी समुदाय, जनजाति र गैरजनजाति समुदाय, दलित र गैरदलित समुदाय, थारु र गैर थारु समुदायका रूपमा समाजलाई विभाजित गर्ने प्रयास भइरहेको छ । यो विभाजनलाई रोक्न देशलाई तराईबाट यस्तो समुदायको नेतृत्व चाहिएको छ जसले जाति र पार्टीभन्दा माथि उठेर देश भन्ने भावना बोलोस् । त्यस्तो समुदाय थारु हो । थारु समुदाय नेपालको मध्यस्थ समुदाय हो । यो समुदाय पहाडी पनि होइन, मधेसी पनि होइन । पहाडी र मधेसी समुदायबी सेतुको रूपमा रहेको छ थारु समुदाय । तसर्थ, देशमा आगामी दिनमा थारु समुदायका नेता कार्यकारी प्रमुखका रूपमा स्थापित हुनु नेपालको राष्ट्रिय हित तथा एकताका लागि अपरिहार्य आवश्यकता बनेको छ ।

थारु समुदायका धेरै नेता छन् तर उनीहरूले देश बोक्न सक्ने राजनीतिक दलको नेतृत्व गरेका छैनन् । विजय गच्छदार मात्र हुन् जसले देश बोक्न सक्ने राजनीतिक दलको नेतृत्व गरिरहनु भएको छ । राजनीतिक अनुभव, उमेर, परिपक्वता र भिजनका दृष्टिले थारु समुदायका नेताहरुमध्ये सबैभन्दा माथि हुनुहुन्छ गच्छदार । त्यति मात्र होइन, देशका राष्ट्रिय नेताहरुसँग दाजिन सक्ने, दरिन सक्ने र जुध्न सक्ने गच्छदार हुनुहुन्छ । भावी दिनमा पहाडी समुदाय बाहिरका नेता कसैले कार्यकारी प्रमुख बन्ने ल्याकत राख्छ भने विजय कुमार गच्छदार नै हुन् । र, मुलुक त्यस्तो सम्भावनाको संघारमा आइपुगेको छ ।

भविष्यको चाबी
विजय कुमार गच्छदार तथा फोरम लोकतान्त्रिकले देश जोड्ने विचार ल्याइरहेको छ । मधेसमा जन्मिएर पहाड हिमालमा फैलिने तथा त्यहाँका जनताको विश्वास जित्ने नेपालको पहिलो पार्टी नेपाल लोकतान्त्रिक फोरम नै बन्ने छ । यसको अर्थ के हो भने वैकल्पिक र नयाँ राजनीतिक शक्तिका रूपमा फोरम लोकतान्त्रिकले जरा हालेको छ । यो पक्षलाई सबैले गम्भीरतासाथ लिन जरुरी छ ।

अर्थात्, अभागी नेता विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकको भाग्योदय हुन थालेको छ । फोरम लोकतान्त्रिकको भाग्योदयले देशकै भाग्योदय हुने विश्वास गरौँ ।
युवा नेता देव लिम्बु
नेपाल लोकतान्त्रिक फोरम

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७