इलामकी ‘अचार दिदी’


१० पुष २०७४, सोमबार
Usha Niraula

इलाम : ठूलो परिश्रम र लगानीमा अदुवा खेती गरेका इलामका अधिकांश किसान बेच्ने बेलामा अदुवाको भाऊ नआउँदा समस्यामा छन् ।
तर, यहि अदुवाको भाऊ नआउँदा इलाम नगरपालिका–७ धोबीधाराकी उषा निरौला उर्फ अचार दिदीलाई भने झन फाइदा भइरहेको छ । अदुवा र अकबरेको अचार बनाउने उद्योग चलाइरहेकी उषालाई अदुवा–अकबरेको भाऊ कम हुँदा व्यवसायमा बढी फाइदा हुन्छ । किसानबाट अचारका लागि चाहिने कच्चा पदार्थ अदुवा–अकबरे सस्तोमा पाइँदा बढी नाफा हुने गरेको उनी सुनाउँछिन् ।Usha Niraula

भाऊ नआएकै कारण किसानको अदुवा बारीमै कुहिंदै गरेका बेला उषाको आम्दानी भने बढेको छ । अदुवा प्रशोधन गरेर विभिन्न प्रकारका अचारका परिकार बन्ने उषाको घरेलु उद्यमको आम्दानी वर्षेनी बढ्दो छ । ६ वर्षअघि खुलेको उषाको उद्योगमा अदुवाबाट क्यान्डी, तितौरा, मिक्चर, सर्बत, सुठो र अचार बन्ने गरेको छ । योसँगै उनको उद्योगले अकबरे खोर्सानीका विभिन्न प्रकारका अचार उत्पादन गर्ने गरेको छ ।

यो वर्ष अकबरे उत्पादनको मुख्य सिजनमा भारतको दार्जिलिङ्गमा आन्दोलन चर्कियो । जसको फाइदा पनि उषा निरौलालाई भयो । नेपालको अकबरे भारतको दार्जिलि, मिरिकसम्म पु¥याएर बेच्ने किसानले जिल्लामै प्रशस्त अकबरे बेच्न ल्याएपछि अचार बनाउन सजिलो र लागत सस्तो परेको उषाले बताइन् । उषाको उद्योगमा उत्पादित अचार जिल्ला र जिल्ला बाहिर मात्र होइन विदेशसम्म जाने गरेको छ । वर्षमा ४० लाखसम्मको अदुवाको अचारका ‘आइटम’ बेच्ने उषा सहयोगीको तवल, लागत खर्च कटाउँदा वर्षमा १५ लाख जति आम्दानी हुने सुनाउँछिन् । आफ्नो उद्योगमा अर्गानिक अदुवा–अकबरे मात्र प्रयोग हुने भएकाले लामो समयसम्म उत्पादन टिक्ने गरेको उषा निरौलाले बताइन् । उनले भनिन्–‘कामका लागि विदेश जानेहरु धेरैले मेरो उद्योगको अचार बोकेर जानु हुन्छ । पछि फोन गरेर मैले बनाएका अचारको प्रशंसा गर्नु हुन्छ ।’ आफूले उत्पादन गरेका परिकार विषादीरहित भएका कारण डेढ वर्षसम्म राख्दा पनि नबिग्रने निरौला सुनाउँछिन् ।

उषाको यहि उद्यमले इलाम सदरमुकाममा घर–घडेरी जोडेको छ भने काठमाण्डौं बसेर बढ्ने छोरीको खर्च पनि धानेको छ । उषाको उद्योगमा मासिक १० क्विन्टल जति अदुवाको विभिन्न अचारका परिकार बन्छन् । आफू एकल महिला रहेको र व्यवसाय शुरु गर्दाताका धेरैले हतोत्साहित बनाउन खोजेको विगत सुनाउँदै उषाले अनुभव सुनाइन्–‘कसैको कुरा नसुनी थोरै लगानीमा व्यवसाय शुरु गरेर लागिरहें, अहिले यसै उद्यमबाट सबैतिर चिनिन थालेको छु ।’

उषाले आफू मात्रै उद्यमी नबनि दुई जना महिलालाई रोजगारी पनि दिएकी छन् । ‘आफू मार्केटिङमा हिडिंरहनु पर्छ । त्यही भएर मान्छे राखेकी छु’–उनले थपिन्–‘सरकारी क्षेत्रबाट सहयोग पाएदेखि थप अचारका परिकार उत्पादन गर्ने थिएँ ।’ आफूले अचारको उद्यम चलाएपछि अहिले सबैले ‘अचार दिदी’ भनेर चिन्ने गरेको सुनाउँदै उषा उत्साहित बन्छिन्–‘उद्यमकै कारण सबैले चिन्न थाल्नु भएको छ, खुशी लाग्छ ।’ जिल्लामा वार्षिक ४५ हजार मेट्रिक टन अदुवा उत्पादन भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । इलामका अधिकांश किसानले अदुवा बिना प्रशोधन कच्चा रुपमा नैबेच्ने गरेका कारण पनि जहिल्यै मूल्यको मारमा पर्नुपर्ने अवस्था रहेको कार्यालयले बताएको छ । अदुवालाई प्रशोधन र विभिन्न परिकार बनाई विक्री गरेको खण्डमा आम्दानी बढाउन सकिने कृषि विकास कार्यालयको सुझाव छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७