मेरो विरुद्ध फिल्मी शैलीमा षड्यन्त्र भइरहेको छ : नवराज सिलवाल


११ पुष २०७४, मंगलवार
Nawraj Silwal

नवराज सिलवाल, पछिल्लो समय निरन्तर चर्चामा छन् । प्रहरी प्रमुख बन्नबाट रोकिएपछि राजनीतिमा आएका नेपाल प्रहरीका पूर्व डीआईजी सिलवाल ललितपुर क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् । नेपाली राजनीति र न्यायिक संरचनाको शिकार बनेका सिलवालको प्रहरी प्रमुख बन्ने सपना त पूरा भएनन् नै त्यो दौड र दाबी छोडीसक्दा पनि त्यो दुःखबाट मुक्त हुन सकेका छैनन् । प्रहरी प्रमुख बन्ने सपनालाई थाँती राखेर एमालेमा आएका सिलवाललाई त्यो काण्डले अझै छोडेको छैन । सांसद भइसक्दा पनि अदालत र शेरबहादुर देउवा नेतृत्वको सरकारले उनको पिछा छोडेको छैन । ‘कार्यसम्पादन मूल्याङ्कनको कागजात कीर्ते’ गरेको आरोप लगाईरहेका छन् । पछिल्लो प्रकरणबारेमा के भन्छन् त सिलवाल ? नयाँ पेजले गरेको कुराकानी :

Nawraj Silwal

१) चुनाव सकियो, विजयी हुनुभएको छ, कस्तो महसुस भईरहेको छ ?
ललितपुर क्षेत्र नम्बर–१ का आम मतदाताले जुन विश्वासका साथ मत प्रदान गर्नुभो । विजयी गराउनु भयो, मतदाता र सिङ्गो वाम गठबन्धनका पार्टीपंक्तिलाई धन्यवाद दिन चाहन्छु । देशव्यापी रुपमा बाम गठबन्धनप्रति आशा र भरोसा गरेका सम्पूर्ण मतदाता र ललितपुर क्षेत्र नं १ का मतदाताहरुप्रति यहाँहरुको विश्वासमा कमी नआउने गरी मुलुक र आम नागरिकको हित र समृद्धिको लक्ष्यमा नचुक्ने गरी क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्छु ।

२) जनताले तपाईलाई मत दिएर सांसद बनाएका छन् तर, तपाईको मुद्धाको विवाद आइरहेको छ नि ?
मेरो विषयमा जुन किसिमले हल्लाहरु गराइएका छन्, प्रोपोगाण्डाहरु मच्चाइएका छन्, त्यो जनमतको उपहास हो । नेपाली कांग्रेस र मेरो प्रतिष्पर्धी उम्मेद्वारले चुनावी परिणाम स्वीकार्न नसकेको परिणाम पनि हो यो । प्रहरी महानिरीक्षक हुने बेलामा जसरी अन्यायपूर्ण ढङ्गबाट मलाई हटाइयो, जसरी मेरो पूर्ववत सार्वजनिक कार्यसम्पादन मूल्याङ्कनभन्दा फरक पारेर अर्को फाइल पेस गरेर मलाई नबनाएर अरुलाई नियुक्ति गर्ने काम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्नुभो । त्यही अवस्थामा फाइल कीर्ते गरेर पेस भयो, छानवीन गरिपाउँ भनेर मैले नै माग गरेको हुँ । उहाँहरु जसले त्यो फाइल राख्नुहुन्छ, जसले नम्बर राख्नुहुन्छ उहाँहरुले फाइल साट्नुभो वा बदल्नुभो, त्यो छानवीन गर्न अदालतको आदेश आएको हो । त्यो निष्पक्ष छानवीन हुनुपर्छ । जसले नवराज सिलवाललाई देख्न नै नसक्ने गरी हात धोएर लागेको छ, उसले छानवीन गर्दा कुनै सत्य–तथ्य आउँदैेन । नवराज नै दोषी हुनुपर्छ भन्ने कुरा मस्तिष्कमा बोकेर छानवीन गर्नेहरुबाट प्रतिशोधपूर्ण व्यवहारको नतिजा बाहेक केही आउँदैन ।

३) शेरबहादुर देउवा र तपाईकै लडाई भए जस्तै छ, खास किन यस्तो भईरहेको छ ?
शेरबहादुरजी किन यसरी लागिरहनु भएको छ मैले बुझ्न सकेको छैन । म एउटा सिपाही । राष्ट्रको लागि लामो समयदेखि सेवा गरिरहेको मान्छे । मैले फोर्सको गरिमामा आँच आउने कामलाई रोकेको थिएँ । राष्ट्रको स्वाभिमान गिर्ने कामहरुलाई नियन्त्रण गरेको थिएँ । तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले पनि कासमुमा म नै पहिलो भएकाले मलाई नै आईजीपी बनाउने गरी तयारी पनि थियो । तर, म आईजीपी भएपछि धेरैका अपराधहरु छताछुल्ल हुने कुराले क–कसको मनमा घण्टी बज्यो कुन्नी एकाएक मलाई रोक्ने कुराको योजना बुनिएछ । अरुलाई नै आइजीपी बनाउने तयारी भयो । त्यसका विरुद्ध अदालत गएँ ।

अदालतले कासमुकै आधारमा मलाई नियुक्त गर्न फैसला पनि गर्यो । तर सरकारले मानेन । त्यसपछि सरकार र अदालतबाटै न्याय नपाएर जनतामाझ गएँ, यी सबै अवस्थामा एउटा समूह यो मुलुकमा अस्थिरता चाहने, भ्रष्टाचार चाहने, धमिलो पानीमा माछा मार्ने तप्का छ, त्यसको सल्वलाहटमा असर पुग्ने ठानेर नवराज सिलवाललाई रोक्न लाग्यो । मैले मेरो मिसनका लागि रुट बदलें । राजनीतिमा आएँ । संसद पुगेर त्यस्ता अपराधको जालो तोड्ने मेरो मिसन रोक्न फिल्मी शैलीमा मेरोविरुद्ध षड्यन्त्रहरु भइरहेका छन् । राजनीति र पेशा–व्यवसायको आवरणमा अपराध गर्नेहरु मलाई जसरी पनि रोक्ने एकल एजेण्डामा लागेका छन् । विशेष गरी कांग्रेस पार्टी र केही अपराधमा संलग्नहरु हात धोएर मेरो विरोधमा लागेका छन् ।

 

nawaraj silwal
४) तपाईले निर्वाचन क्षेत्रलाई प्राथमिकता दिन्छु भनेर भोट जित्नु भएको छ, अबको ध्यान केन्द्रीय सरकार र संसदमा कि आफ्नो निर्वाचन क्षेत्रमा ?
स्वाभाविक रुपमा मेरो हिजोको व्यावसायिक क्षमता, ज्ञान र सीपका आधारमा र विधायिकी अधिकारसहितको केन्द्रीय संसदको सदस्य भएका नाताले केन्द्रीय राजनीति, संसद र सरकारलगायतका क्षेत्रमा ध्यान दिनुपर्ने जिम्मेवारी त छँदैछ । म आफ्नो निर्वाचन क्षेत्रका मतदातामाझ गरेका बाचा पूरा गर्न समर्पित हुनेछु । ललितपुर जिल्ला भए पनि दुर्गम जिल्ला जस्तै रहेको यहाँको भौतिक विकास मेरो पहिलो प्राथमिकता हो । नियमित ढङ्गले राज्यको जिम्मेवारीमा भएका कामहरुको कार्यान्वयनमा पनि पर्याप्त ध्यान नगएको फेला पारेको छु । राजधानीको जिल्लामा पनि थुप्रै समस्याहरु देखिएका छन् । राज्य संयन्त्रको कामप्रति विश्वास गुमेको अवस्था छ । जनतामा निरासा छन् । ती निरासालाई आशामा परिणत गर्नेछु । राज्य संयन्त्रमा विश्वास गर्ने अवस्थाको निर्माण गर्ने काम गर्नुछ । खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत पक्षकै अस्त–व्यस्तताले मन थिलथिलो पारेको छ । म पूरै ती काममा केन्द्रित हुनेछु ।

५) जनतामा समृद्धिको सञ्चार कसरी गराउन हुन्छ ?
हाम्रो मुलुक कृषि, पशुपालन, पर्यटनका क्षेत्रमा विशाल सम्भावना बोकेको मुलुक हो । ललितपुर दूध उत्पादनमा देशकै चौथो सम्पन्न जिल्ला हो । कृषिलाई प्रविधिसँग जोड्ने, कृषिमा आधुनिकीकरण गर्ने, कृषि र पर्यटनमा आधारित उद्योग धन्दा स्थापना गरेर आम नागरिकलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने अभियान मेरो प्राथमिकताको विषय हो । गाउँ छोडेर काठमाण्डौं पसेका, विदेश भासिएकाहरुलाई गाउँ फर्काएर केही काम गर्ने, आत्मनिर्भर बन्ने र समृद्धिको अभियानमा लाग्ने प्रेरणा दिनुपर्ने दायित्व छ । गाउँमा बसेर डलर भित्र्याउन सक्ने अवस्था बनाएर मध्यपूर्व, खाडीमा भएका युवाहरुलाई फर्काउने अपेक्षामा छौं । स्थानीय सरकार परिचालनबाट आम नागरिकको सहभागितामा विकास अभियानको नेतृत्व गरेर आम जनतालाई समृद्ध बनाउन लाग्छु ।

६) तपाईलाई भावी गृहमन्त्रीको रुपमा हेरिएको छ नि ?
समयको आवश्यकता र मेरो क्षमताका आधारमा हिजो पनि मुलुकको सेवा गरेको थिएँ । अहिले फरक भूमिकामा छु । मेरो सीप क्षमता, पार्टीले दिएको जिम्मेवारी अनुसार मुलुकलाई सेवा गर्ने हो । मेरो माग यही भन्ने छैन । जुनसुकै जिम्मेवारीमा बसेर पनि देशको सेवा गर्नेछु ।

) जसले तपाईलाई आइजीपी हुन दिएनन् उनीहरुको विषयमा के छ तपाईको प्रतिक्रिया ?
जसले मलाई आइजीपी बनाउन हुँदैन भनेर पहल गरे । हुन दिएनन्, उनीहरुलाई धन्यवाद । मलाई फोर्सको चीफ भएर भन्दा सिङ्गो राष्ट्रको नीति निर्माता भएर योगदान गर्न सक्ने ठाउँको अवसरका लागि पठाएका रहेछन् । आज नेकपा एमालेले मलाई न्याय दिएर उम्मेद्वार बनायो, जनताले अमूल्य मत दिएर संसद सदस्यमा विजयी गराई दिए ।

८) चुनावी अभियानमा तपाईप्रति कस्तो रह्यो प्रतिष्पर्धीको व्यवहार ?
प्रतिष्पर्धी एउटा व्यक्ति भन्दा पनि धेरै तवरले लागेका थिए । म व्यक्तिसँग लडेको भन्दा पनि सिङ्गो राज्य मेराविरुद्ध परिचालित बन्यो । खुलमखुल्ला स्रोत साधन परिचालन गरेर सिङ्गो राज्यशक्ति नै मेराविरुद्ध दुरुपयोग भयो । तर, पनि जनताले मलाई जिताई दिए । मप्रतिको भरोसाले जनताले जिताएका छन् । त्यसबाट आत्तिएर ममाथि अरु षड्यन्त्रहरु गर्न लागेका छन् । यसरी ममाथि गरिएका प्रताडनाहरुबाट मैले सिक्छु तर प्रतिशोध देखाउँदिन । मुलुकलाई केन्द्रमा राखेर काम गर्न चाहन्छु । नेपाली कांग्रेसका सभापतिलाई प्रयोग गरेर मोहरा बनेर मेराविरुद्ध, सुशीला कार्कीविरुद्ध लाग्नुभो । त्यसले उहाँहरुलाई ठूलो सेडव्याक भईसकेको छ । जनताले नै सजाए दिइससकेका छन् । हामीले प्रतिशोध लिनुपर्ने आवश्यकता छैन ।

९) तपाईलाई नै किटेर कार्वाही गर्नु भनेर महान्यायाधिवक्ताको फाइल प्रहरीकोमा आइपुगेको समाचार आइरहेका छन्, अदालतले पनि कासमु कीर्ते प्रकरणको छानवीन गरेर कार्वाही गर्नु भन्ने आदेश दिएको छ, के हुन्छ अब ?
हाम्रो अंकभारसहितको सामग्री कसरी अनलाइनहरुमा गयो ? त्यो छानवीन होस् भनेर हामीले नै भनेका हौं । अदालतले छानवीन गर्न आदेश दिएको छ छानवीन हुनुपर्छ । तर, नवराज सिलवाललाई जसरी पनि फसाउन पर्छ भन्नेहरु बसेर भएको छानवीन निष्पक्ष छानवीन हुन सक्दैन । जसले प्रतिशोधपूर्ण व्यवहार देखाएका छन्, प्रतिष्पर्धामा रहेका, विवादमा जोडिएका व्यक्तिहरु बसेर गरिएको छानवीन सत्य–तथ्य हुन सक्दैन । त्यसैले निष्पक्ष छानवीन हुन जरुरी छ । दोषीलाई कार्वाही हुनुपर्छ । संवेदनशील डकुमेन्टहरु कसरी मिडियामा पुग्छन ? यस्तो अवस्थामा त्यस्ता निकायहरुको छानवीन गर्न कुनै विशेष संयन्त्र बनाइनु पर्छ ।

१०) तपाईको राजनीतिक आगमनसँगै जनताले विशेष गरी अपराध नियन्त्रणका पक्षमा धेरै आशा गरेका छन्, कस्तो होला यहाँको योगदान ?
विशेष गरी हाम्रो देश संगठित अपराधको शिकार भएर अस्त–व्यस्त भएको छ । भ्रष्टाचार, गुण्डागर्दी, अवैध कामहरुलाई अर्थोपार्जनको स्रोत बनाएको छ । यसलाई रोक्न जरुरी छ । यसले युवाहरुलाई विकृत बनाएको छ । समाज विकृत बनाएको छ । देशको इज्जत बदनाम बनाएको छ । यी सम्पूर्ण अपराधलाई नियन्त्रण गर्नुपर्छ । सभ्य, सुसंस्कृत र सुरक्षित समाज निर्माण गर्नुपर्छ ।

११) चुनावअघि धान काटेर, धाराको पानी पिएर, जनताको घरमा मकै छोडाएर सहानुभूति पाउनु भएको थियो, चुनावपछि घोडा चढेर मतदाताकोमा गएको भनेर आलोचना भएको छ नि ?
प्रतिष्पर्धी पार्टीका साथीहरुले जे गरे पनि आलोचना गर्ने बानी नै बसाल्नु भएको छ । मतदाताहरुको सुख र दुःखमा साथ दिनु जनप्रतिनिधिको हो । मत माग्न जाँदा उहाँहरु खेतमा काम गर्दै हुनुहुन्थ्यो, काममा सघाएर उहाँहरुको साथमा छु भन्ने सन्देश दिएको हुँ । विजयपछि मतदातालाई धन्यवाद दिन जाँदा उहाँहरुले त्यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि घोडचढीको प्रवद्र्धन योजनासहित घोडा पालेका छौं घोडामा स्वागत गर्छौं भनेर ल्याउनु भो । त्यसैले घोडा चढेका हुँ । त्यसमा कोही आत्तिनु पर्ने कारण छैन । घोडचढी खेल र पर्यटन दुबै हो । यसमा राम्रो सम्भावना छ । म घोडचढी संघको केन्द्रीय अध्यक्ष पनि हुँ । घोडचढीको प्रवद्र्धनलाई ललितपुरका काठ क्षेत्रसँग जोडेर समृद्धिको योजना बनिरहेको छ । म त उहाँहरुलाई घोडा चढेर यहाँका डाँडाथुम्कामा पुगेर भ्याली हेर्न निम्तो गर्न चाहन्छु । आउनुस् एकै ठाउँबाट तराई, हिमाल र काठमाण्डौं भ्याली हेरौं । स्वर्गको अनुभूति गरौं । पर्यटन प्रवद्र्धन गरौं ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७