आफ्नै नजरमा लालबाबु पण्डित 


१५ पुष २०७४, शनिबार
lalbabu pandit 1445

लालबाबु पण्डित, नेपाली राजनीतिमा एउटा लोकप्रिय नाम । उनले सामान्य प्रशासनमन्त्रीको जिम्मेवारीमा छदा गरेका काम कारण उनी चर्चित मात्रै भएनन् सम्मानित नेताका रुपमा स्थापित पनि भए । सांसद भए, मन्त्री भए । फेरि सांसदमा निर्वाचित भएका छन् । तर, उनमा कुनै त्यस्तो रवाफ छैन । सामान्य नागरिक जस्तै सार्वजनिक गाडीबाट यात्रा गर्छन् । काठमाडौंमा डेरामा बस्छन् । घर, गाडीको कुनै योजना र सपना छैन उनको । सपना छ त, ‘देश र जनताको समृद्धिको ।’ देश बनाउन सकिन्छ, समाज रुपान्तरण गर्न सकिन्छ भन्ने उनमा दृढ विश्वास छ । भन्छन्,‘अब छोटो समयमै समृद्धि र रुपान्तरण सम्भव छ । हामीले गरेर देखाउनुपर्छ । देखाउँछौं ।’ नेकपा (एमाले)का नेता पण्डितलाई आम मान्छेले हेर्ने दृष्टिकोण त छदैछ । तर, लालबाबु पण्डित आफैले आफैलाई चहिँ कसरी हेर्छन् ? लालबाबुको व्यक्तिगत स्वभाव, शैली, सपना र अभिरुचीको बिषयमा नयाँ पेजका लागि राजेश राईले गरेको कुराकानी :-

 Lal babu pandit for 55 question
१)  तपाई कहाँ जन्मिनु भयो ?
 म २०१५ साल मंसिर १९ गते सर्लाहीको धनागडी गाविसमा जन्मिएको हुँ ।
२)  कस्तो परिवारमा जन्मिन्नु भयो ?
म निम्न परिवारमा जन्मिएको हुँ । मेरो बाबा–आमा किसान हुनुहुन्थ्यो ।
३) बाल्यकाल कसरी बित्यो ?
मैले शिशु कक्षा सर्लाहीमा पढें । त्यसपछि एक बर्ष १ देखि ५ सम्मको किताब घरैमै पढें । त्यपछि एकैचोटी ५ कक्षामा पाल्पाको तानसेनमा पद्ममा पब्लिक बहुउद्देश्यीय स्कुलमा भर्ना भएर एलएलसीसम्म  पढेर पास गरें ।
४)  राजनीतिमा कसरी आउनु भयो ?
२०३५ सालको मजदुर आन्दोलनबाट राजनीतिमा आएको हुँ । अहिलेको जिफन्ट, त्यतिखेरको नेपाल स्वतन्त्र मजदुर युनियन मेरो कोठामा हामी साथीहरु मिलेर जन्म दिएका हौं  ।
५) नेता बाहेक अरु केही बन्ने सपना थियो कि ?
शुरुमा मलाई मेडिकल लाइनतिर जाने इच्छा थियो । टिचिङ हस्पिटलमा हेल्थ अस्सिटेन्टको पढाइ हुन्थ्यो । मैले त्यसका लागि  लिखितमा नाम निकालें तर, मौखिकमा एडमिसन गर्न दिइएन् । त्यसपछि म इन्जिनिरिङमा गएँ । मेकानिकल इन्जिनिरिङ गरें । पछि आन्दोलनमा जेल परें । त्यसपछि जेल र बाहिर गरी डिपिए (डिब्लोमा इन पब्लिक एडमिनिट्रेशन) प्राइभेटबाट गरें । एउटा विषय बाँकी थियो, २०४७ सालमा सांसद भइसकेपछि त्रिचन्द्र क्याम्पसबाट परीक्षा दिएर पास गरें ।
६) तपाई राजनीतिमा कसरी स्थापित हुनु भयो, संर्घषबाट या सजिलै ?
पहिला संर्घषबाट स्थापित भएँ । पछि पार्टीले खोज्दै आयो । पहिले नै मलाई नेता बनाएको होइन ।
७)  तपाई आफ्नै नजरमा चाहीं के हो ? को हो ?
म नेपालको तराईमा जन्मेको थोरै भए पनि असल चिताउने एक नेपालीे नागरिक हुँ ।
८) तपाईलाई मान्छेहरुले कसरी चिनुन् जस्तो लाग्छ ?
थोरै भए पनि समाज परिवर्तनका निम्ति भूमिका खेलेको व्यक्तितका रुपमा चिनुन् जस्तो लाग्छ ।
९) आफ्ना सवल पक्ष केलाई ठान्नु हुन्छ ?
म कहिले पनि कोहीदेखि डराउँदिन् । म राम्रो काम गरौं । मबाट नराम्रो काम नहोस् भन्ने चाहना राख्ने व्यक्ति हुँ ।
१०) अनि कमजोरी चाहिँ नि ?
मैलें धेरै कुरामा अरु सहयोग र विश्वास लिएरै अगाडि बढ्छु । कसैले विश्वास घात ग¥यो भने वा झुटो बोल्यो म रिसाउछे । अनि तुरुन्तै सम्बध तोड्न पनि पछाडि नपर्ने खालको मान्छे हुँ ।
११) कसैलाई हेर्ने धारणा कसरी बनाउनु हुन्छ ?
सकारात्मक र नकारात्मक कुरालाई हेरेर, उसमा सकारात्मक कुरा बढी छ भने सकारात्मक रुपमा र नकारात्मक कुरा बढी छ भने सोही रुपमा धारणा बनाउँछु ।
१२) तपाईको आफ्नो स्वभावमा कुन–कुन पक्ष हावी छन् ?
मेरो अठोट जुन छ । त्यही बढी हावी छ ।
१३)  तपाईलाई कतिबेला रिस उठ्छ ?
मलाई एउटै कुरा बढी दोहोर्‍यायो भने अथवा सहज तरिकाले गर्न सकिने काम पनि बिगा¥यो भने बढी रिस उठ्छ । समयमा इमान्दारीपूर्वक काम गरेन भने पनि रिस उठ्छ ।
१४) कतिखेर भावुक बन्नु हुन्छ ?
धेरै चाहीं राष्ट्रमा ठूला दुःखद घटना घट्दा । अनि एउटा गीत ‘सुन साइँली ४० कटेसी रमाउँला’ गीतले भावुक बनाउँछ, साइला होस् या साइली ४० कटेसी होइन युवा अवस्थामै रमाउने हो । रमाउने वातावरण बनाउनु पर्छ ।
१५) तपाईलाई कस्तो स्थितिले उत्तेजित तुल्याउँछ ?
कसैले बढी नकारात्मक कुरा गर्‍यो भने उत्तेजित बनाउँछ ।
१६) तपाई कतिको संयमित हुनुहुन्छ ?
म सकेसम्म संयमित हुन्छु र मैले राजनीतिलाई सहनशिलता र धैर्यताको एक रुपमा पनि लिन्छु ।
१७) अनि कतिखेर खुशी हुनुहुन्छ ?
मेरो एजेण्डाहरु पारित भएका बेला अथवा कुनै काममा सफल भएका बेला । मैले उठाएका एजेण्डाले पार्ने  प्रभाव हेरेर जनता खुशी भएका बेला नै म पनि खुशी हुन्छु ।
१८) तपाईका दुःखहरु के–के हुन् ?
दुःख भनेको अनावश्यक रुपमा मलाई घचेट्ने, ठेल्ने, पिरोल्ने, समाप्त गर्न खोज्ने, गलत काम मबाट गराउन खोज्ने जो हुन्छ । त्यसबेला म धेरै दुःखी हुन्छु ।
lalbabu pandit 1
१९) अहिलेसम्मको तपाईको सबैभन्दा दुःखद क्षण कुन हो ?
दुःखद क्षण त मलाई एकचोटी म भूमिगत हुँदाखेरी २०४३ सालतिर त्यतिखेर पञ्चायतको अवस्था थियो । त्यतिखेर मेरो एउटा हात र एउटा खुट्टा काट्न चाहीं डाक्टरले सिफारिस गरेका थिए । त्योबेला चाहीं मलाई सबैभन्दा बढी दुःख लागेको थियो । अर्को म आफ्नो निर्वाचन क्षेत्रमा गएको बेला, जननेता मदनभण्डारी खोलामा खसेको भनेर जब मैले समाचार पाएँ, त्योबेला धेरै दुःख लागेको थियो ।
२०) अनि तपाईको अहिलेसम्मको सुखद क्षण चाहीं ?
सबभन्दा सुखद क्षण चाहीं मैले अनुभूति गरेको,जबम मन्त्री थिए । १७ महिनापछि मेरो विधेयक संसदबाट पारित भयो । संसदबाट पारित भएर पनि सम्माननीय राष्ट्रपतिकहाँ पुग्यो । त्यतिबेला पनि मैले सम्माननीय राष्ट्रपतिसँग पनि कुरा गरेको थिएँ । उहाँले प्रत्येक पाना हेरेर यो लालबाबु पण्डितको विधेयक हो भनेर सही गर्नुभयो । जब सही कम्प्लिट भयो भन्ने लाग्यो त्यो दिन चाहीं सबैभन्दा बढी खुशी भएँ । कस्तो लाग्यो भने युद्ध मैले जितें ।
२१) तपाईको जीवनको सबैभन्दा अप्ठ्यारो मोड कुन थियो ?
सबैभन्दा अप्ठ्यारो मोड भन्दा सबैभन्दा पहिला मेरो राजनीति नै गर्ने चाहना थिएन । तर, विस्तारै विस्तारै राजनीतितिर धकेलिएँ । निजी जीवन चाहीं अहिले आफ्नो केहि पनि छैन । जे छ सार्वजनिक जीवन भएकोले कहिले काहीं चाहीं निजी जीवन कमजोर भयो कि भन्ने लाग्छ । तर, सार्वजनिक जीवन सवल भएकाले निजी सवाललाई पन्छाएर अगाडि बढिरहेको छु ।
२२) तपाई जीवनको अप्ठ्यारो मोडहरु के को बलले पार गर्नुहुन्छ ?
म चाहीं अप्ठ्यारो बेला मेरो आत्मबलले साथ दिइरहेको हुँदा र मेरो परिवारबाट पनि मैले साथ पाइरहेको हुँदा म सफल भइरहेको छु । र, मेरा असल मित्रहरु छन्, ती असल मित्रहरुको सहयोगले म सफल भएको छु । म मन्त्री हुँदा पनि मेरा मुख्य सल्लाहकार कोही पनि पार्टीभित्रका मान्छे थिएनन् । सबै बाहिरका विज्ञहरु थिए ।     उनीहरुकै सहयोगमा म सफल भएँ ।
२३) अहिलेसम्म तपाईले गर्नु भएको सहि निर्णय ?
म मन्त्री भएको बेला जे–जे विषयमा निर्णय लिए र भन्ने गर्छु म मर्ने  बेलामा पनि पछुताउने छैन ।
२४) अनि गलत चाहीं ?
गलत निर्णय मेरो अनुभूतिमा त्यस्तो लाग्दैन । तर, चाहीं अरुले औंल्याई दियो भने म स्वीकार्छु ।
२५) सबैभन्दा पछुतो लागेको क्षण ?
अहिले पछुतो केहि पछुतो लागेको छैन । निजी कुराहरु कहिले काहीं हुँदाखेरी म हेर्छु सार्वजनिक जीवन माथि भएपछि निजी जीवन गौण हुन्छ । तर, कहिलेकाहीं निजी कुरामा सामान्य यस्तो हुन्छ ।
२६) अहिलेसम्म सबैभन्दा बढी रुनु भएको क्षण ?
मैले सपनामा आमालाई देखेर रोएको छु ।
२७) तपाई अन्तिम पटक कहिले रुनुभयो ?
म अन्तिम  पटक, मलाई लाग्छ दुई वष अगाडि, म मन्त्री भएको बेला आमालाई नै सम्झिएर रोएको थिएँ ।
२८) तपाईलाई कस्तो मान्छे मन पर्छ ?
मलाई सादा, इमान्दार, केहि नयाँ सोच भएको र काम गर्ने खालको मान्छे मन पर्छ ।
२९) अनि कस्तो चाहीं मन पर्दैन ?
मलाई झुट बोल्ने, ठग्ने र केहि पनि नगरीकन सुखी जीवन बाँच्न खोज्नेहरु जो छन् प्यारासाइटको रुपमा त्यस्तो मान्छे मन पर्दैन ।
३०) तपाई कस्ता मान्छेलाई घृणा गर्नु हुन्छ ?
मैले सबभन्दा बढी घृणा चाहीं कसलाई गरें भन्दाखेरी म जेल परेको बेला जेलमा तीन जना मान्छे थिए । जसले आफ्नै छोरीबाट बच्चा जन्माएका थिए । उनीहरु मेरो छेउमा आउँथे, म चाहीं उनीहरुको अनुहार पनि देख्न नपरोस् भन्थे । अर्को देशलाई घात गर्ने, जसले राष्ट्रघात गरिरहेको छ । त्यो मेरो नजरम गिरेको मान्छे हो । त्योसँग साइनो सम्बन्ध गाँस्नु पर्छ भन्ने नै लाग्दैन ।
३१) फूर्सदको समय कसरी बिताउनु हुन्छ ?
प्रायः त फूर्सद नै हुँदैन । फूर्सद भयो भने कहिलेकाहीं परिवारलाई लिएर यसो तरकारी सरकारी किन्न चोकतिर भन्ने मात्र हुन्छ । नत्र त्यो समय पनि कम हुन्छ ।
३२) राजनीति बाहेकको रुचीको क्षेत्र ?
अब, राजनीति बाहेकको अहिले केहि काम गरिरहेको छैन त ।
३३) तपाईलाई मन पर्ने पुस्तक ?
म पुस्तक चाहीं, समाज र राजनीतिक परिवर्तनसम्बन्धी पुस्तक पढ्छु । तर, मलाई अध्ययन् अनुसन्धान, खोजविनवाला पुस्तक मन पर्छ । अझै भन्नु हुन्छ भने कहिलेकाहीं सिरियल हेर्नु प¥यो भने सिआइडी जस्तो सिरियल हेर्न मनपर्छ । अर्थात    अपराधको अपराधी खोज्ने जुन छ नि, त्यस्ता चाहीं मन पर्छ ।
३४) अहिले कुनै पुस्तक पढिरहनु भएको छ कि ?
चुनावको व्यस्तताले अहिले केही पढीरहेको छैन ।
३५) तपाईले दोहोर्‍याएर पढ्नु भएको पुस्तक ?
मैले चाहिं पटक–पटक लक्ष्मीप्रसाद देवकोटाको मुना मदन धेरै वटा किनें तर, क–कसले लग्यो । पढें । पहिला–पहिला मैले अग्नीदीक्षा, युवाहरुको गीत, आमा जस्ता पुस्तक र त्यसपछि म पटक–पटक पढ्थे पनि एउटा फेरि कहिले यस्तो नहोस् भन्ने पुस्तक छ । र, अर्को नेपालको महाभारत भन्ने किताव छ, त्यो पनि पटक–पटक पढेको छु ।
३६) तपाई कतिको फिल्म हेर्नुहुन्छ ?
मैले ४८ सालदेखि सिनेमा हलका गएको छैन । तर, कहिले काहीं क्यासेटमा पायो  भने वा युट्युवमा छ भने हेर्छु ।
३७) तपाईलाई मन पर्ने फिल्म कुन हो ?
अँ मैले चाहीं बलिदान पनि हेरें । मलाई चाहिं मन पर्ने फिल्मी भनेको समाज परिवर्तनसँग जोडिएको ।
३८) तपाई फिल्म हेरेर रुनु भएको छ ?
रोएको छु । म मन्त्री भएकै बेलामा डढेल्धुराका भिमदत्त पन्तको फिल्म हेर्दा हलभित्रै रोएको छु ।
३९) तपाईलाई मन पर्ने हिरोइन ?
अब हिरो–हिरोइनको म त्यति उ नै गर्दिन । तर, खासखास बेलामा हुँदाखेरी चाहिं, हिजोअस्ती भर्खर दाइजो र बालविवाहसँग जोडिएर मेरो घर छेउमै केकीजी पुग्नु भएको थियो । त्यहाँ नाचे भनेर कतिले सकारात्मक लिए, कतिले नकारात्मक लिए । त्यो अलग कुरा हो । तर, म सबै क्षेत्रबाट मानिसहरु लागेको चाहीं सम्मान गर्छु ।
४०) तपाईलाई मन पर्ने गीत कुन हो ?
मैले मन पर्ने गीत छ, ‘बनेको छ पहराले यो छाती मेरो ।’ अब राष्ट्रिय गीत त सँधैं गाउने हो ।
४१) गायक–गायिका ?
अब गायक–गायिकातिर म त्यति ध्यान दिन्न ।
४२) तपाईलाई बढी मन पर्ने पोसाक के हो ?
पोसाकमा म सादा पोसाक रुचाउँछु । म बढी सेतो वा क्रेर कलर रुचाउँछु ।
४३) तपाईलाई मनपर्ने नेपालका नेता ?
मदन भण्डारीसँगै काम गर्न पाएको कारण उहाँको धेरै माया पाएको थिए ।
४४) आफैंप्रति तपाईलाई केही गुनासो छ की ?
म निर्णयहरु झ्वाटै लिन्छु । कहिलेकाही झ्वाटै निर्णय नलिए हुन्थ्यो जस्तो अरुलाई लाग्छ ।
४५) तपाईको पार्टी र नेपाली समाजप्रति केही गुनासो छ ?
गुनासो गरेर केही काम छैन । म चहान्छु, पार्टी भित्र सबै देश र जनताप्रति इमानदार भइदिउन् । र, काम गरुन् । तर, सबै इमानदार छैनन् ।
४६) यदि अहिलेसम्म बाच्नुु भएको जीवनको कुनै अध्याय हटाउने मौका मिल्यो भने कुुनलाई हटाउन चाहनुहुन्छ ?
जीन्दगीका सबै समय हसी खुसी हुदैनन् ।
४७) तपाई टेम्पो चढेको समाचारहरु पढ्न पाइन्छ, तपाईको यो रहर की बाध्यता ?
बाध्यता हो ।
४८) कस्तो बाध्यता ?
साइकल बाहेक मेरो सवारी साधन छैन । त्यही भएर सार्वजनिक साधन चढ्छु । कहिलेकाही साथीहरुले लिफ्ट लिएर पुराइदिन्छ । सार्वजनिक साधनमा चढ्दा थरीथरीका मान्छे हुन्छन् । कति चिन्छन् ? कति चिन्दैनन् ? म जनता भएर चढेको कारण जनताले भोग्ने पीडाप्रति जानकार छु ।
४९) नेपाली समाजको त शक्तीप्रति ठुलो आशक्ति छ । तपाई सांसद, पूर्वमन्त्री हुनुहुन्छ । भबिष्यमा पनि मन्त्री, प्रधानमन्त्री बन्ने सम्भावना बोकेको नेता हुनुहुन्छ । सम्भावना बोकेकाहरुलाई त पुराउन नै जान्छे रे नी ? तपाईलाई चहिँ  कहाँ आउदैन त ?
त्यस्ताहरु चहिँ मेरो छेउ पर्न नै सक्दैन । मेरो राप र तापले परै हुन्छ ।
५०) फर्केर हेर्दा के लाग्छ, जीवन के रहेछ ?
सुख दुखको संगम ।
५१) सफल हुनका लागि के चाहिदो रहेछ ?
सबैभन्दा ठुलो कुरा इमानदारिता र आफ्नो कामप्रतिको विश्वास । अनि त्यो विश्वासमा अरुको साथ र सहभागिता लिएर अघि बढ्नपर्छ ।
५२) मान्छेको प्रगतिको शत्रु के हो ?
उसले लिएको बिषयबस्तुमा अबरोध पुराउने नै शत्रु हो । राजनीतिमा हेर्छु, कतिको परिवार, छोराछोरी, नातागोता आफन्ताको सबैथोक ठान्ने छन् । उनीहरुको शत्रु उनीहरु नै हुन् ।
५३) बाँकी योजना र सपना कस्ता छन् ?
सक्रिय जीवन देश र जनताको निम्ती निरन्तर समर्पित गर्नेछु । जनताले जहाँ राख्छन्, त्यही बसेर काम गर्छु ।
५४) प्रधानमन्त्री, राष्ट्रपति बन्ने सपना छैन ?
सपना त मानिसको हुदैन भन्ने होइन । समय र परिस्थीतिले सपना पुरा गर्ने हो । एकैचोट सबै खुट्किला पार हुदैन । विस्तारै पार गर्दे जाने हो । कर्म गर फल त प्राप्त हुन्छ ।
५५) तपाईलाई मान्छेहरुले के भनेर पछिसम्म के भनेर सम्झीयोस् जस्तो लाग्छ ?
देश र जनताको निम्ती सधैं सकरात्मक मात्रै सोच्ने एकजना व्यक्ति थियो भनेर सम्झीदिए पुग्छ ।
हेर्नुहोस् भिडियो :-

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७