यी हुन् ४३ औं त्रिवि दीक्षान्त समारोहमा पदकधारी विद्यार्थी (फोटोफिचर)
ललितपुर : नेपालको सबैभन्दा ठुलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका ४३औं दीक्षान्त समारोह सम्पन्न भएको छ । पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसको प्राङ्गणमाआइतबार भएको दीक्षान्त समारोहमा २०७३ असार ३ देखि २०७४ जेठ १७ सम्म त्रिविका विभिन्न अध्ययन संस्थान र संकाय अन्तर्गतका ६० आङ्गिक र एक हजार ८५ वटा सम्बन्धन प्राप्त क्याम्पसबाट उतीर्ण विद्यार्थी सहभागी भएका थिए ।
यस वर्ष स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तह उतीर्ण गरेकामध्ये आठ हजार २६७ जना सहभागी भएको त्रिवि उपकुलपति तीर्थ खनियाँले बताए । समारोहमा विभिन्न संकायबाट विद्यावारिधि उपाधि प्राप्त गर्ने ६२ जना तथा विश्व विद्यालयका विभिन्न संकायतर्फ एमफिल, स्नातकोत्तर र स्नातक तहमा उच्चतम अंक ल्याउने ३१ जना छात्रछात्रालाई विभिन्न पदक तथा पुरस्कार प्रदान गरियो ।
प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले देशको समग्र विकासका लागि आवश्यक पर्ने सक्षम जनशक्ति तयार पार्न त्रिभुवन विश्वविद्यालयले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।त्रिभुवन विश्वविद्यालयको ४३ औँ दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले भने, ‘मुलुकको जेठो यस विश्वविद्यालयले नेपालको शैक्षिक जगतमा पु¥याएको योगदान अतुलनीय रहेको छ ।’
भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति एवं समारोहका प्रमुख अतिथि जगदीश कुमारले हाम्रो शिक्षा प्रणालीबाट उत्पादित जनशक्ति राष्ट्रियस्तरमा मात्र नभएर अन्तर्रा्ष्ट्रियस्तरमा पनि प्रतिस्पर्धा गर्नसक्ने गरी पाठ्यक्रम तयार गर्नुपर्ने आजको आवश्यकता भएको बताए ।
एकै व्यक्तिले प्राप्त गरे तीन पदक
त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रशन्नकुमार तामाङले तीन वटा पदक प्राप्त गरेका छन् । स्नातकोत्तर तहको विस २०७१ तर्फ प्रशन्नकुमार तामाङले चान्सलर पदक, त्रिवि प्राध्यापक संघ स्वर्ण पदक र रामप्रसाद मानन्धर स्वर्ण पदक गरी तीन वटा पदक प्राप्त गर्नुभएको हो । स्नातकोत्तर तहको प्रथम श्रेणीमा प्रथम र सम्पूर्ण स्नातकोत्तर तहमा सर्वप्रथम भएकाले उनले उक्त तीन वटा पदक प्राप्त गरे ।
उदयपुर जिल्ला उदयपुरगढी गाउँपालिका–३ का तामाङले स्नातकोत्तर तहमा गणित विषयमा केन्द्रीय विश्वविद्यालय क्याम्पस कीर्तिपुरबाट उत्तीर्ण गरकोे हो ।
यसैगरी समारोहमा त्रिवि प्राध्यापक संघद्वारा स्थापित शहीद हरिराज अधिकारी स्वर्ण पदकबाट व्यवस्थापन संकायमा एमफिलतर्फ सर्वोकृष्ट अंक ल्याउने डम्बर सुवेदीलाई सम्मान गरिएको छ । उनी जनप्रशासन क्याम्पस बल्खुबाट एमफिल गरेका थिए । स्नातकतर्फ सर्वोकृष्ट अंक ल्याउने पुल्चोक क्याम्पस पुल्चोक ललितपुरका मणिकुमार शर्मालाई भाइस चान्सलर पदक पाए ।
सबैलाई प्रधानमन्त्री तथा त्रिविका कुलपति शेरबहादुर देउवा र भारतस्थित जवारलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्राडा एम जगदीश कुमारले पुरस्कार तथा पदक प्रदान गरे ।