महानगरका मेयर विद्यासुन्दरप्रति नागरिकको बुझाई र अपेक्षा फरक भयो : सानु श्रेष्ठ


१८ पुष २०७४, मंगलवार
sanu kumar shrestha

नेकपा एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य तथा उपत्यका इन्चार्ज सानुकुमार श्रेष्ठ काठमाण्डौं क्षेत्र न. २ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । २०३४ सालयता काठमाण्डौं उपत्यकालाई आधारभूमि बनाएर राजनीतिमा सक्रिय श्रेष्ठ एमाले उपत्यकाको राजनीतिमा प्रभावशाली मानिन्छन् । देशैभरी वामगठबन्धनको राम्रो नजिता आइरहँदा उपत्यकामा भने किन त्यति धेरै उत्साहजनक नतिजा आउन सकेन ? प्रदेश नम्बर–३ मा अब कसको र कस्तो सरकार बन्छ ? नयाँ पेजले श्रेष्ठसँग गरेको कुराकानी :-sanu kumar shrestha

 
देशैभरी वाम गठवन्धनले ‘क्लिन स्विप’ गरिरहेका बेला काठमाण्डौं उपत्यकामा भने त्यति सन्तोषजनक परिणाम आउन सकेन् नि ? यो नतिजा अपेक्षित थियो वा अनपेक्षित थियो ?

म एमालेको उपत्यका इन्चार्च भएको नाताले यो नतिजा तपाईले भने भन्दा विपरीत छ । उपत्यकामा वाम गठबन्धनको स्थिति निकै मजबुत र बलियो छ । हामी अत्यधिक बहुमतले विजयी भएका छौं । ललितपुरमा शतप्रतिशतले जितेका छौं । काठमाण्डौंमा प्रतिनिधिसभाका ६० प्रतिशत र प्रदेशमा ८० प्रतिशत सिट जितेका छौं । काठमाण्डौंका १० क्षेत्रमा ४ वटा मात्र हारेको हौं । यस्तै प्रदेशसभाका २० सिटमा एमाले एक्लैले १६ सिट जितेको छौं । भक्तपुरमा प्रतिनिधिसभाको २ सिटमा १ सिट जितेको छौं भने ४ वटामा ३ वटा एमालेले जितेको छ । उपत्यका वाम गठबन्धनले कब्जा जमाएको छ ।

काठमाण्डौं क्षेत्र नम्बर–१, ४, ६ र १० मा पराजय भोग्नु पर्‍यो । खास कारण कांग्रेस बलियो भएर नै हो ?
यो नतिजा नेपाली कांग्रेस बलियो भएकै कारण हो भन्ने मलाई चाहीं लाग्दैन । उम्मेद्वार छनौट प्रक्रिया नमिलेको हो भन्ने लागेको छ । काठमाण्डौंका ४ वटामध्ये ३ स्थान माओवादीलाई दिइएको थियो । टेक्निकल रुपमा केन्द्रका उम्मेद्वारहरु सबै बाहिरबाट आएको-ल्याएको भन्ने पनि रह्यो । दोस्रो, एमाले वाम गठवन्धनको लहर चलिरहेका बेला खासै धेरै अन्तरले पनि हार्नु भएको छैन् । जस्तो राजन भट्टराईले हार्नुको कारण बमकाण्ड हुनसक्छ । गगन थापाले नक्कली नै किन नहोस् घाइते भएको बहाना गरेर जनताको सहानुभूति बटुल्न सपोर्ट मिल्यो । सरसर्ती हेर्दा परिणाम सोचेको जस्तै राम्रो भएको हो । भक्तपुरमा प्रदेशमा–४ मा ३ जित्नु, ललितपुरमा सबै हारिरहेको अवस्थामा शतप्रतिशत जित्नु, काठमाण्डौंमा पनि प्रदेशमा ८० प्रतिशत जित्नु ‘डिक्सटिनसन’ आउनु हो ।

प्रदेश नम्बर–३ वाम गठवन्धनले नै सरकार बनाउँछ होला नि ?

यहाँ वाम गठबन्धनले दुई तिहाइ जितेको छ । जसमा ११० मा ५८ सिट जितेको एमालेको मात्रै पनि बहुमत छ । निश्चित रुप वामगठबन्धनको सरकार बन्छ ।

sanu kumar shrestha 1

मुख्यमन्त्री चाहीं कसको हुन्छ त ?

यहाँ खासगरी वाम गठबन्धनमा एमालेको मात्र पनि बहुमत भएका कारण एमालेकै उम्मेद्वार मुख्यमन्त्री हुन्छ भन्ने कुरामा निश्चित छ । खासमा पार्टीको स्थायी कमिटी, केन्द्रीय कमिटीले तोकेको व्यक्ति जो पनि हुन सक्ने भयो । पार्टीको निर्देशनका आधारमा चल्ने हो । तर संसदीय अभ्यासको हिसाबले प्रतिनिधिसभामा जस्तै प्रदेशसभाका निर्वाचनबाट नेता चुन्ने स्थिति रहँदाखेरी, म स्वयम् पनि उम्मेद्वार हुँ । नेकपा एमाले उपत्यका इन्चार्च, प्रदेशको सचिवालय सदस्य, २०३४-०३५ सालतिर भूमिगतकालदेखि नै उपत्यमा पार्टीको काममा निरन्तर रहेकाले म आफैलाई सशक्त उम्मेद्वारका रुपमा लिएको छु । म ०४९ सालमा महासचिव क. मदन भण्डारी हुँदाकै पार्टी केन्द्रीय कमिटी सदस्य पनि हुँ । र अहिले मुख्यमन्त्रीमा दावी गरिरहेको कुनै पनि व्यक्तिहरु भन्दा क्षमता, क्रियाशिलता दुबै हिसाबले म कमजोर छैन ।

मुख्यमन्त्रीमा तपाईको दाबेदारी त छ, तर सम्भावना चाहीं कतिको देखिरहनु भएको छ ?

निश्चित रुपमा म मुख्यमन्त्रीको दाबेदार हुँ । सम्भावनाको कुरामा गर्दा पार्टीले माथिबाटै फैसला गरेको खण्डमा कसलाई गर्छ भन्ने मात्र हो । निर्वाचनबाट दलको नेता चुन्दाखेरी ५८ जनामा ३० जनाले त काठमाण्डौं उपत्यकामा मात्रै जितेका छन् । भनेपछि स्वभाविक रुपमा अहिलेको यो क्षेत्र ताम्सालिङ–नेवाः प्रदेश आन्दोलनमा पनि रहिरहेको र उपत्यका पनि अत्याधिक जितेको हिसाबले निश्चित रुपमा जित्छु भन्ने लागेको छ ।

प्रदेश नम्बर–३ मा त एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्ने पक्का जस्तै छ होइन र ?
क्षमता र योग्यता पुगेका व्यक्तिहरुले इच्छा राख्नु स्वभाविक हो । केशव स्थापितले पनि मै हुँ भनेर इच्छा राखेर हिंडेकै छन् । यस्तै राजेन्द्र पाण्डे, पशुपति चौलागाईलगायतका व्यक्तिहरु मुख्यमन्त्री मै हुँ भनेर हिंडिरहेका छन् । तर दलको नेता चुन्ने स्थितिमा पुग्दा मात्र कसले जित्न सक्छ भन्ने अनुमान गर्न सकिन्छ ।

यदि तपाई मुख्यमन्त्री हुनु भएन भने चर्चाका नाममध्ये कुन उपयुक्त हुन सक्छ ?

को उपयुक्त ? भन्दा पनि पार्टीले कसलाई निर्णय गर्छ भन्ने कुरा रहन्छ । पार्टीको केन्द्रीय कमिटी वा स्थायी कमिटीले जसलाई निर्णय गर्छ, उ नै मुख्यमन्त्री हुन्छ । हामी एउटा अनुशासित कार्यकर्ताको रुपमा निर्णय मान्छौं ।

निर्वाचनका क्रममा नतिजा आउँदै गर्दा कार्यकर्तामा ठूलो उत्साहमा थियो तर, सरकार गठनको हल्लासँगै अलि निरासा छाउन लाग्यो नि ?

अहिले राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा कतिपय शक्तिहरु वाम गठबन्धन पार्टी एकताको स्थितिसम्म नै नपुगोस् भनेर धुप बालेर बसिरहेका पनि छन् । त्यसैले कति ठाउँमा मिडियाबाजी पनि भएका छन् । तर, यी सबले हामीलाई असर गर्दैन । सरकार निर्माण भईसकेपछि पार्टी एकीकरण हुन्छ । निर्वाचन प्रक्रियामा गईसकेपछि, संबिधान मान्ने स्थितिमा गईसकेपछि, संघीय गणतन्त्र नेपाल निर्माण भईसकेपछि एमाले र माओवादीका एजेण्डा खासै फरक छैनन् । फरक नभएपछि दुईटा पार्टी बनाई राख्नु पर्छ भन्ने छैन् । पार्टी एकीकरण हुँदै गर्दा कतिपय सैद्धान्तिक र वैचारिक कुराहरु मिलाउनु पर्छ । उहाँहरुले माक्र्सवाद, लेलिनवाद र माओवाद भनिराख्नु भएको छ, हामीले माक्र्सवाद, लेलिनवाद मानिरहेका छौं । गाइडेन्स प्रिन्सिपलका कुरा, नीतिका कुराहरु, कार्यक्रमका कुराहरु पनि हुन्छन् । यी सबै कुराहरु मिलाएर जानुपर्ने भएकाले पार्टीको केन्द्रीय नेतृत्वदेखि प्रारम्भिक कमिटीसम्म एकीकरण गर्नुपर्ने भएकाले पार्टीको मोडालिटीका विषयमा छलफल हुन समय लाग्नु स्वभाविक हो ।

तपाई एमालेको उपत्यका इन्चार्ज हुनुहुन्छ, काठमाण्डौं महानगरमा तपाईहरुकै नेतृत्व छ । सामाजिक सञ्जालमा तपाईहरुले केही गर्न सक्नु भएन भन्ने जनताको आलोचना छ । यतिका समय बितिसक्दा पनि किन केही काम भएनन् ?

खास गरी सिस्टमेटिक ढङ्गमा सञ्चालन हुन ‘सिस्टम’ नबसी हुन्न । मुखले बोलेर मात्र सबै कुरा हुने पनि होइन् । त्यसलाई कार्यान्वयन तहमा ‘एक्सन ओरियन्टेड गर्नुपर्ने हुन्छ । म जनता भन्न चाहन्छु–सरकारी तथ्याङ्क अनुसार चक्रपथ वरिपरी १० लाख भन्दा बढी गाडी गुड्छन् । यी गाडीको चाप व्यवस्थापन आवश्यक छ । यहाँ गाडी कति चाहिन्ने हो ? धुवाँ–धूलो व्यवस्थापनका लागि, सडकले थेग्छ–ठेग्दैन ? सबै कुरालाई ख्याल राख्नु पर्ने हुन्छ । मलाई के लाग्छ भने–त्रिभुवन राजपथबाट आउने यातायातलाई चन्द्रागिरी नगरपालिकामै पार्किङको व्यवस्था गर्नुपर्छ । जस्तोः रात्रिबस, ट्रकहरुलाई व्यवस्थापन गरेर लोकल बस मात्र चलाउने स्थिति भयो भने उपत्यकामा ट्राफिक समस्या धेरै हल हुन सक्छ । यस्तै अरनिको हाइवेको भक्तपुर क्षेत्रमै पार्किङ गर्दा राम्रो हुन्छ । त्यस्तै वाम गठवन्धनको घोषणा–पत्र अनुसार चक्रपथमा मेट्रो रेल चलाउने स्थिति बन्दा धेरै साना–तिना यातायातका साधन विस्थापित हुन्छन् । प्रदूषण नियन्त्रण पनि हुन्छ । यस्तै मेलम्ची खानेपानी आयोजनाको काम यथाशीघ्र पूरा गर्नुपर्छ । यसले उपत्यकालाई थप व्यवस्थित बनाउँछ ।

अहिले काठमाण्डौंका मेयरले काम मै गर्न सकेनन् भनेर तीव्र आलोचना भईरहेको छ नि ?

कोही मान्छे बोल्छन्, केही गर्दैनन् । कोही बोल्छन् तर, काम गर्छन् । हाम्रो काठमाण्डौंका मेयरको कुरा गर्दा मेरो काठमाण्डौं क्षेत्र नम्बर–२ का धेरै ठाउँहरुमा कालोपत्रे (पिच) भईसकेको छ । हिजोका दिनमा त्यहाँ खाल्डाखुल्डी मात्रै बढी थियो । यस्तै अहिले अरु वडाहरुमा पनि काम भईरहेका छन् । महानगरपालिकालाई आरोप लगाउन चाहीं सहि हो । तर महानगर क्षेत्रमा काम कति भएको छ मेयरले भनिहाल्नु हुन्छ । जस्तो ८ मिटर भन्दामाथिका सबै सडक सडक विभाग अन्तर्गत पर्छन् । त्यो कुरा जनतालाई थाहा छैन् । तर सबै काठमाण्डौं महानगरपालिकाले काम गर्नुपर्छ भन्ने सोच्छन् । गर्नुपर्ने केन्द्रीय सरकारको काम हो । जहाँ नेपाली कांग्रेस छ । केन्द्र सरकारमा बसेको नेपाली कांग्रेसले काम भएन भनेर गुनासो गरेको सुनिंदैन । दायित्व केन्द्र सरकारमा छ तर गाली चाहीं स्थानीयको अन्यत्रै छ । जनताको अपेक्षा र बुझाइमा फरक आएकाले पनि यस्तो भएको हो । अब केन्द्र, प्रदेश पनि वाम गठवन्धनको बनेमा ती समस्या तुरुन्त समाधान गर्नेछौं । वास्तवमा महानगरको मेयरको जिम्मेवारी र अपेक्षाप्रति नागरिकको बुझाई फरक भयो ।

हेर्नुहोस् पुरा संवाद :-

 

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७