एमाले, माओवादी र नयाँ शक्तिबीच तालमेल, चुनावपछि एकता


१७ आश्विन २०७४, मंगलवार
comunist party Nepal

comunist party Nepal

काठमाडौं : एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच आगामी चुनावमा तालेमल गर्ने र लगतै पार्टी एकता गर्नेसहित ६ बुँदे सहमति भएको छ । तीनपार्टीबीच सहकार्य तथा पार्टी एकीकरणका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

आज साँझ राजधानीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले समझदारीपत्रमा हस्ताक्षर गरे ।

तीन पार्टीबीच ६ बुँदे समझदारी भएको छ । समझदारीअनुसार तीन पार्टीले आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभामा सहकार्य गर्नेछन् र चुनावलगत्तै पार्टी एकीकरणको प्रक्रिया सुरु हुनेछ । एउटै कम्युनिष्ट पार्टी निर्माण गर्न आठ सदस्यीय पार्टी एकता संयोजन समिति बनाइएको छ । सो समितिमा एमालेका चार,माओवादीका तीन र नयाँ शक्तिका एक जना नेता रहनेछन् । एमाले र माओवादीका अध्यक्ष प्रमुख नेता रहनेछन् ।

तीनै दलका अध्यक्षहरु क्रमशः केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा बाबुराम भट्टराईलगायत नेता उपस्थित पत्रकारसम्मेलनमा घोषणा गरिएअनुसार एकता संयोजन समितिमा एमालेका अध्यक्ष ओली र केन्द्रका अध्यक्ष प्रचण्ड दुवै जना प्रमुख रहने, एमालेबाट वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामेदव गौतम र महासचिव ईश्वर पोखरेल, केन्द्रबाट नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा तथा नयाँ शक्तिका संयोजक डा भट्टराई रहने छन् ।

संयोजन समतिले पार्टीको नेपाली क्रान्तिको सिद्धान्त विकसित गर्न, साझा विधान र दस्तावेज बनाउन अलग्गै संयुक्त कार्यदल गठन गर्नेछ । एकता नभएसम्म सबै पक्षले नकारात्मक आलोचना नगरी स्वच्छ वैचारिक बहस गर्न पाउनेछ ।
चुनावी तालमेलको सहमतिअनुसार नयाँ शक्ति र अन्य आउन सक्ने देशभक्त प्रगतिशील शक्तिलाई दिएर बाँकी रहेको प्रत्यक्षतर्फको स्थानमा ६० प्रतिशत एमाले र ४० प्रतिशतमा माओवादी केन्द्रलाई बाँडफाँड गरिनेछ । सकेसम्म एउटै निर्वाचन चिह्नमा लड्ने र प्राविधिक समस्या भएमा आफ्नो निर्वाचन चिह्नमा तालमेल गरेर निर्वाचनमा जाने सहमति यी दलहरुबीच भएको छ । निर्वाचनमा साझा घोषणापत्र बनाउन पनि तीन दलले समिति बनाउनेछ ।

सहमति घोषणा कार्यक्रमको हलमा अध्यक्षहरु ओली र प्रचण्ड प्रवेश गर्दा कार्यकर्ताहरुले तालीको गडगडाहटबाट स्वागत गरेका थिए । एमालेका उपमहासचिव विष्णु पौडेलले सञ्चालन गरेका थिए । केन्द्रका नेता एवं गृहमन्त्री जनार्दन शर्माले सहमतिपत्र वाचन गरे ।

सहमतिको पूर्ण पाठ :-

२००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टी वर्ग संघर्ष, विचाराधारात्मक संघर्ष र व्यवहारिक प्रयोगका अनेक शृंखला पार गर्दै आजको अवस्थामा आइपुगेको छ। नेकपा एमाले र माओवादी केन्द्रको नीतिगत र व्यवहारिक नेतृत्वमा राजतन्त्रको अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्र, संघीयता, समानुपातिक समावेशीता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समाजवाद उन्मुख संविधान निर्माण गर्न सम्भव भएको छ।

फरक–फरक पृष्ठभूमिका साथ अघि बढेका हामी राष्ट्रिय सार्वभौकिता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित एवं स्वाभिमान रक्षा गर्दै संविधानसभाबाट पारित नेपालको संविधान रक्षा र प्रयोग क्रममा देश र जनताको आवश्यकताअनुसार परिमार्जन र विकास गर्दै लोकतान्त्रिक प्रणाली र शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट सामाजिक, आर्थिक तथा सांस्कृतिक रुपान्तरण गर्ने र समृद्ध, समुन्नत एवं न्यायपूर्ण समाज निर्माण गर्दै समाजवादका आधारहरू तयार गर्ने साझा निष्कर्षमा आइपुगेका छौं।

मजदुर, किसान, श्रमजीवी, दलित, महिला, जनजाति, मधेसी, थारु, मुस्लिम, उत्पीडित समुदाय र पीछडिएका क्षेत्रको जनताको अधिकार र हितका पक्षमा संवैधानिक, कानुनी र व्यवहारिक रूपमा सम्बोधन गर्दै अघि बढ्न प्रतिबद्ध छौं।

नेपाली जनताले एकताबद्ध कम्युनिस्ट पार्टीको नेतृत्वमा मुलुक अघि बढेको देख्न चाहेका छन्। हाम्रो पृष्ठभूमिका र जनताको चाहना र राष्ट्रको आवश्यकताले पनि हामीलाई एकताबद्ध हुन र एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्न निर्देशित गरिरहेका छन्। तसर्थ हाम्रा आफ्नै अनुभव र जनता एवं राष्ट्रको आवश्यकतालाई हृदयंगम गर्दै नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालका बीचमा एकीकरण गरी एउटै कम्युनिस्ट पार्टी निर्माण गर्न सहमत भएका छौं। हामी पार्टी एकीकरण गर्ने उद्देश्यका साथ तत्काल निम्नानुसार गर्ने निष्कर्षमा पुगेका छौं।

१) नेकपा एमाले, माओवादी केन्द्र र नयाँशक्ति पार्टी नेपालका बीच एकीकरण गरी एउटै कम्युनिस्ट पार्टी निर्माण गर्ने उद्देश्यका साथ हाललाई आठ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गर्ने। उक्त समितिमा नेकपा एमालेको तर्फबाट चार जना, माओवादी केन्द्रका तर्फबाट तीन जना, नयाँ शक्ति पार्टीका तर्फबाट एक जना नेता रहने। नेकपा एमालेका अध्यक्ष र माओवादी केन्द्रका अध्यक्ष उक्त समितिमा प्रमुख नेताको भूमिका रहने। पार्टी एकता संयोजन समितिका निर्णयहरू सहमतिका आधारमा गर्ने। पार्टी एकता र संगठनात्मक एकताको विस्तृत खाका र कार्ययोजना पार्टी एकता संयोजन समितिले तयार पार्ने। सहमति हुन बाँकी विषयहरूमा आपसी छलफलद्वारा सहमति कायम गरिनेछ। वैचारिक छलफल तथा बहसद्वारा नेपाली क्रान्तिको सिद्धान्तलाई विकसित गर्दै लगिनेछ।

२) एकीकृत पार्टीको नीति तथा कार्यक्रमको घोषणापत्र र विधान तयार गर्न तीनवटै पार्टीका प्रतिनिधि सम्मिलित दस्तावेज मस्यौदा समिति गठन गर्ने। प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपश्चात् विधिवत पार्टी एकता सम्पन्न गर्ने।

३) पार्टी एकीकरणको वैचारित र संगठनात्मक काम पूरा नभएसम्म आफ्ना आफ्ना विचार व्यक्त गर्न र स्वस्थ बहस गर्न सकिने। तर, पार्टी एकीकरणको आधार सुदृढ बनाउन एकअर्काप्रति सार्वजनिक रूपमा नकारात्मक टिप्पणी र आलोचना नगर्ने। पार्टी एकीकरणको यस महान उद्देश्यअनुरुप अघि बढ्न आफ्नो आफ्नो पार्टी पंक्तिलाई आह्वान गर्ने। छरिएर रहेका सबै कम्युनिस्ट तथा वामपन्थी पार्टी तथा समूहहरूलाई एकीकरणको यही प्रवाहमा समाहित हुन अपिल गर्ने।

४) आगामी मंसिरमा सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रत्यक्षतर्फका निर्वाचनहरूमा नयाँ शक्ति पार्टी नेपाल र अन्य पार्टी एवं समूहका लागि आपसी सहमतिमा निर्वाचन क्षेत्र निर्धारण गरी नेकपा एमालेका ६० प्रतिशत र माओवादी केन्द्रका ४० प्रतिशत उम्मेदवार हुने गरी आपसी तालमेल गर्ने।

५) उक्त निर्वाचनमा साझा घोषणापत्रका आधारमा सहभागी हुने। यसका लागि तीनै पार्टीका प्रतिनिधिहरू सम्मिलित प्रतिनिधिसभा निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गर्ने। प्रदेश तहमा पनि संयुक्त घोषणापत्र तयार गर्न सकिने।

६) आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सहकार्य तथा तालेमलका लागि सम्पूर्ण लोकतान्त्रिक, प्रगतिशील तथा देशभक्त शक्तिहरूलाई आह्वान गर्ने।

UML

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७