रसुवा भन्सारमा बढ्यो तस्करी


२० पुष २०७४, बिहीबार
rasuwa bhansar cruption e1515053290475

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि अर्थमन्त्रालयसम्म सेटिङ गरी रसुवा भन्सारबाट तस्करीको लाइन चलाइएको छ । भन्सार कार्यालय रसुवाका प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले अख्तियारका प्रमुख आयुक्त दीप बस्न्यातका पीए लक्ष्मण बाँस्तोलाको व्यापारिक फर्म ब्ल्याक डाइमण्ड इन्टरप्राइजेजदेखि ब्यापारीहरु बासु बस्नेत, नवराज तिमिल्सिना, फुनु शेर्पा, सविन थापा र अमृत कार्कीहरुको लत्ताकपडा लगायतका सामानको भन्सार मूल्याङ्कनको आधामात्र राजस्व लिने गरेको स्रोतले बताएको छ । rasuwa bhansar cruption
भन्सार मूल्याङ्कनमा छलेको राजस्वको ४० प्रतिशत भन्सार प्रमुख कोइराला र ६० प्रतिशत व्यापारीलाई भागबण्डा हुने गरेको छ । प्रमुख भन्सार अधिकृत कोइरालासँग सेटिङ मिलाएर रसुवाबाट मासिक बीसौं करोडका सामान आयात गरी करोडौं रुपैयाँ राजस्व मार्ने काम यी ब्यापारीहरुले गरेका छन् । यी व्यापारीले आयात गरेका कपडाको मूल्याङ्कनमा ५० प्रतिशत छुट दिई त्यसको डिफरेन्स गरेको बराबरको रकम भन्सारका कर्मचारीले घुस लिने गरेका छन् ।
उदाहरणका लागि जीन कपडामा न्यूनतम १.१८ डलर प्रति मिटर भन्सार महशुल लिनुपर्छ । तर जीनलाई कटन कपडा भनेर २६ सेन्ट मात्र लिने गरिएको छ । अर्थमन्त्रालय वा अरू सरोकारवाला निकायले छानबिन गरे जीनलाई कटन भनेर करोडौं भन्सार छली भएको पुष्टि हुने एक व्यापारीले बताएका छन् । ती व्यापारीका अनुसार भन्सारको सेटिङ अनुसार सहयोग नगर्ने व्यापारीसँग जीनको प्रतिमीटर १.१८ डलर नै लिने गरिएको छ ।
अख्तियार प्रमुखका पीए लक्ष्मण बाँस्तोलाका पीएका ५०वटा ट्रकमा आयात भएका सामानको जीन भए कटनका रूपमा मूल्याङ्कन गर्ने क्रम अहिले पनि जारी नै रहेको छ । अख्तियार प्रमुख बस्नेतका पीए लक्ष्मण बाँस्तोलाको ब्ल्याक डाइमण्ड इन्टरप्राइजेजको सामानमा भन्सार मूल्याङ्कनमा छुट नदिए १३ पन्ने भराउने भनेर तर्साएकाले कुनै पनि कर्मचारीले हिम्मत गर्न सक्दैनन् । आफूलाई सहयोग गर्ने व्यापारीको सम्पूर्ण सामान टीका रेग्मीमार्फत् जाँचपास गर्दै आएका छन् । आशिकुडा वल्र्डको अभिलेख हेर्ने हो भने भन्सार मूल्याङ्कनमा गडबड गरी भ्रष्टाचार गरेको खुलासा हुनेछ । आशिकुडा वल्र्डको रेकर्ड हेर्दा भन्सार मूल्याङ्कनमा गडबड गरेको पुष्टि हुने भएपछि भन्सार विभागका आइटी हेर्ने नासु हरिहर पौडेलमार्फत् सबै सच्याउने गरेको आरोप पनि भन्सार प्रमुख कोइरालामाथि छ ।

भन्सार मूल्याङ्कनमा छलेको राजस्वको ४० प्रतिशत भन्सार प्रमुख कोइराला र ६० प्रतिशत व्यापारीलाई भागबण्डा हुने गरेको छ । 

आशिकुडा वल्र्ड लागू भएकाले भन्सार विभाग र अर्थ मन्त्रालय दुवैतिरबाट हेर्न सकिन्छ । त्यही भएर अर्थमन्त्रालय मिलाउने जिम्मा शाखा अधिकृत कमल सुवेदीले पाएका छन् । राजस्व अनुसन्धान विभागले गल्छी, टोखा र रानीपौवा सबैतिर चेक गर्नसक्छ । त्यस कारण कोइरालाले राजस्व मिलाउन राजस्व अनुसन्धान विभागका नायब सुब्बा देवी थापालाई लगाएका छन् । अख्तियार मिलाउने जिम्मा अख्तियार प्रमुख बस्न्यातका पीए लक्ष्मण बाँस्तोलाले पाएका छन् । सामान आयात गर्ने व्यापारीसँग डिल गरी भन्सार मूल्याङ्कनमा तलमाथि गर्ने जिम्मा र चाँजोपाँजो रसुवा भन्सारकै नायबसुब्बा टीका रेग्मीले गर्दैआएका छन् ।
भन्सारमा भइरहेको तस्करी विषयमा प्रमुख अधिकृत कोइरालाले कुनै पनि किसिमको तस्करी नभएको र नगरेको दावी गरे ।
गएको मङ्सिर १० र २१ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउन भनेर भन्सार प्रमुख कोइरालाको उर्दीमा प्रत्येक व्यापारीबाट १ लाखदेखि १० लाख रुपैयाँसम्म असुलिएको थियो । चुनावमा भनेअनुसार सहयोग गरेकाले भन्सार मूल्याङ्कनमा न्यूनबिजकीकरण गर्न व्यापारी घर घरमै गएर कराउने गरेका छन् ।
स्याउ आयात र नेपालबाट निकासी हुने विभिन्न सामानको दस्तुरी करिब मासिक २० लाख रुपैयाँ भन्सारका कर्मचारीले पाउने गरेका छन् । तर व्यापारीबाट लिएको उक्त दस्तुरी भन्सार प्रमुख कोइरालाले मात्र लिने गरेका छन् । अर्थमन्त्रालयका सचिव, मन्त्री, नेता, पत्रकार मिलाउन चाहिन्छ भन्दै उक्त दस्तुरी उनले चप्काउँदै आएका छन् ।

जीन कपडामा न्यूनतम १.१८ डलर प्रति मिटर भन्सार महशुल लिनुपर्छ । तर जीनलाई कटन कपडा भनेर २६ सेन्ट मात्र लिने गरिएको छ ।

भन्सार प्रमुख कोइरालाले अर्थमन्त्री र अरू केही नेतालाई सहयोग गरे पनि काँग्रेस हारेपछि आगामी फागुनमा वाम गठबन्धन सरकार गठनपछि सरुवा हुनसक्ने त्रासमा उनी छन् । उनी रसुवा भन्सारमा सरुवा भएको २ महिनापछि फागुनमा १ वर्ष पुग्नेछ । वाम गठबन्धन सरकार बनेपछि एक वर्ष ठ्याक्कै पुग्ने भएकाले आफूलाई हटाउनसक्ने त्रासमा उनी जतिसक्दो लगानी उठाउन तल्लीन छन् ।
तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महरालाई १ खोका लगानी गरी उनी रसुवा भन्सारमा सरुवा भएका थिए । तर पछि केदार पनेरुले सर्वोच्चमा रिट हालेर मुद्दा जितेपछि २ महिनामै उनी राजस्व अनुसन्धान विभाग फर्किनुपरेको थियो । तथापि उनको दरबन्दी रसुवा भन्सारमै थियो । सरुवा भए पनि बस्न नपाएका उनी हालका मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पुनः महरालाई बुझाएजति बुझाएर गएको असोजमा रसुवामै थमौती भए । पछिल्ला दिनमा वाम गठबन्धनले जितेपछि काँग्रेस हारि गयो, अबको सरकारले सरुवा गर्छ कि, लगानी पनि नउठ्ने भयो भन्दै मदिराको सुरमा आफ्ना निकट कर्मचारीसँग गुनासो गर्दैआएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७