कंगनाको कन्ट्रोभर्सी श्रृखला


१७ आश्विन २०७४, मंगलवार
Kangana Ranaut

कंगना रनावतको गत साता ‘सिम्रन’ प्रदर्शनमा आयो । फिल्म आउनु दुई दिनअघि नै उनी युट्युबमा चर्चित ‘अल इन्डिया बक्चोद’ (एआइबी) च्यानलको एक एपिसोडमा झल्किइन् । कंगानाले केही पहिलेदेखि बोल्दै आइरहेको भाइभतिजाबाद र लिंगभेदका कुराले समेत ‘सिम्रन’ इन्टरनेट सेन्सेसन भएको छ । उनी हिन्दी फिल्म परिर्वतन नचाहने भन्दै जहीँतहीँ बोल्दै आएर आफ्नो बोल्डनेस प्रस्तुत गरिरहेकी छन् ।

Kangana Ranaut

नियम कानुनमा नबाँधिई महिलाहरुको स्वतन्त्रता र अधिकारका बारेमा समेत बोलेर उनी प्रत्रकारहरुको प्रश्नमा थप प्रश्न चिह्न खडा गरिदिन्छिन् । कंगानाले लामो समदेखि बलिउडमा लिंगका आधारमा मतभेद हुँदै आएको बताउँछिन् । उनले चल्तीका फिल्म मेकर करण जोहरलाई उनकै टक सो कफी विथ करणको एक शृंखलामा ‘भाइभतिजावादको झन्डा बोक्ने मानिस’ भन्दै रोष पोखेकी थिइन् । पछि यसकै कारण २०१७ को आइफा अवार्ड समारोहमा जोहरले उनलाई छेडछाड गरेका थिए । उनले कंगनालाई महिलामैत्री फिल्म मात्रै गर्ने र आफैँ शिकार बन्ने गरेको भनी टिप्पणी गरेका थिए । तर त्यस समयमा उनले करणको कुनै प्रतिवाद गरिनन् । अघिल्लो हप्ता कंगनाले आफ्ना पूर्व प्रेमी ऋतिक रोशनलाई माफी माग्नुपर्ने भनी बताएकी थिइन् । उनको भनाइ थियो, ‘ऋतिककै कारण म मानसिक रुपमा विक्षिप्त भएँ । त्यसैले उसले माफी माग्नुपर्छ ।’

गत वर्ष ऋतिक रोशनले आफूलाई ‘पूर्वप्रेमी’ भनेर आफू लाइमलाइटमा आउन खोजेकी भन्दै ऋतिकले मुद्दा समेत हालेका थिए । पछि यही केसकै कारण उनीहरु दुवैजनालाई तनावको चाङ आइ लागेको थियो । ‘म त्यसरातभर रोएर बसें । म सुत्न पनि सकिनँ । मलाई मानसिक र भावनात्मक रुपमा निकै तनाव भयो । म ऋतिकबाटै माफी चाहन्छु । यो उनकै कारण सिर्जना भएको तनाव हो,’ कंगनाले टिभी टक शो ‘आप की अदालत’मा भनेकी थिइन् ।

कतिपय कलाकारका साथै आम मानिसहरु समेत कंगनालाई पागलको संज्ञा दिन्छन् । अझ धेरैले उनलाई खुला पत्र लेखेरै उनका यस्ता काम र व्यवहारले नारीवादलाई नै प्रश्न चिह्न खडा गर्ने बताउँछन् । धेरै प्रकाशकहरु उनको यस्तो कामलाई पिआर स्टन्ट भएको दाबी गर्छन् ।

कंगना कन्ट्रोभर्सीकी चुम्बक नै हुन् । ‘सिम्रन’ फिल्म पनि विवादको चंगुलमा फँसेको छ । ‘सिम्रन’का लेखक अपूर्व असरानीले फिल्ममा लेखकको नाममा कंगनाको नाम आउँदा विरोध गरेका थिए । न्युयोर्क फिल्म एकेडेमीमा पढेका असरानीले ‘क्वीन’मा समेत कंगनाको नाम आउँदा रोष पोखेका थिए तर कंगना बलिउडका साधारण भूमिकाहरुमा अचेल हत्तपत्त आउँदिनन् । गत साता रिलिज भएको फिल्म ‘सिम्रन’मा उनी अमेरिकाको एक होटलमा हाउसकिपिङ स्टाफ भएर खेलेकी छन्, जोपछि अपराध जगतको चंगुलमा फँस्छिन् ।

‘सिम्रन नियम कानून तोड्न हिच्किचाउँदिन । ऊ निकै साहसी छे । ऊ आफ्नो भत्केको जीवनलाई आत्मसात गर्दै अघि बढ्छे । ऊ निकै धैर्यवान पनि छे तर उसमा समयबद्धता भने छैन,’ गएको साता रनावतले फिल्ममा आफ्नो पात्रबारे ‘द हिन्दु’सँगको अन्तर्वार्तामा भनेकी छन् । कंगनाले २० वर्षको उमेरमा अनुराग बसुको ‘ग्याङस्टर’बाट डेब्यु गरेकी थिइन् । फिल्ममा उनी मानसिक रुपमा समस्याग्रस्त ग्याङस्टरकी प्रेमिकाका रुपमा प्रस्तुत भएकी थिइन् । पछि २००६ मा त उनी ‘ए’ लिस्टर अभिनेत्रीहरुमा परिन् । समस्याग्रस्त पात्रहरु र नयाँ नयाँ भूमिकाको अनुभव गर्न चाहने उनले फेसन (२००८), ओन्स अपन अ टाइम इन मुम्बई (२०१०), तन्नु वेड्स मनु (२०११), क्वीन (२०१३), रिभल्भर रानी (२०१४), रंगून (२०१७) र अन्य दर्जन फिल्ममा फेसन मोडलिङमा संघर्षरत महिला, गुन्डा चरित्र र हनिमुनका क्रममा एक्लै युरोप भ्रमणमा पुगेकी श्रीमतीका रुपमा प्रस्तुत भइन् ।

यसरी हेर्दा फर्मुला बिना पनि बलिउडमा जम्न सकिने कंगनाले देखाएकी छन् । बलिउडको वैकल्पिक बाटोलाई उनले पछ्याइसकेकी छन् । बलिउडको चलिआएको टेम्प्लेट नै परिवर्तन गरिदिएकी छन् ३१ वर्षे कंगनाले । अझ कतिपयले कंगनाको कामले बलिउडलाई अलमल पारिदिएको बताउँछन् । खाली मसला र रोनाधोनामा चल्ने बलिउडकर्मीहरुको उनको काम देखेर नचिढिएका पनि होइनन् । उनले पक्कै पनि केही नौलो र प्रशंसायोग्य काम गर्दै आइरहेकी छन् । तर उनको जस्तो हिसाबले काम गर्नेहरु भने कमै छन् । प्रतिभाशाली अभिनेत्री भएरै उनले एक्लै नेसनल अवार्ड हात पारिन्, बेस्ट एक्ट्रेसका रुपमा उनले दुई अवार्ड हात पारिन् (‘तन्नु वेड्स मनु’ र ‘क्वीन’का लागि) । त्यसभन्दा अघि ‘फेसन’का लागि बेस्ट सर्पोटिङ एक्ट्रेसको अवार्ड हात पारिन् । यसरी कंगना आफ्ना समकालीन अभिनेत्रीहरुभन्दा निकै माथि छिन् ।

तर अवार्ड मात्रैले उनको चर्चा र सफलतालाई जोड्दैन । उनले आजसम्म जति पनि अभिनय गरिन्, सबै एक से एक दमदार छन् । उनको अभिनयले बलिउडमा एक किसिमको तरंगसमेत ल्याइदिएको छ । वो लम्हे, लाइफ इन अ मेट्रो र फेसन यसका ज्वलन्त उदाहरण हुन् तर पनि कंगनाका सबै फिल्मले सबैको आँखा ठूलो पार्ने काम गरेका छैनन् । उनका सबै फिल्म मन नपराउनेहरु पनि धेरै छन् । काइट्स, उङ्ली र रंगून यसका उदाहरण हुन् । यी फिल्ममा उनको अभिनय त के उनको फिल्म भनेर चर्चासमेत गरिएन । यी फिल्मले बक्स अफिसमा असफलता पाउनुमा कतिपयले उनकै दोष देखिरहेका छन् । कंगनाले आफू स्टार हेरेर फिल्म साइन नगर्ने अनि कथा राम्रो र प्रभावशाली भयो भने सहजै अनुबन्धित हुने गरेको बताउँछिन् । ‘उनी कुनै पनि भूमिका गर्न डराउँदिनन्, उनी नियम कानुन तोड्न पनि निकै खप्पिस छिन् । उनी आफ्ना प्रतिस्पर्धीबारे वास्ता पनि गर्दिनन्,’ ‘तन्नु वेड्स मनु’का निर्देशक आनन्द एल राईले ‘आउटलुक’ म्यागजिनसँगको अन्तर्वार्तामा भनेका छन् । पछिल्ला केही वर्ष कंगानाका लागि निकै स्वादिला रहे । उनको कामको धेरैले प्रशंसा गरे । उनका तन्नु वेड्स मनु, क्वीन, क्रिस–३ र तन्नु वेड्स मनु रिटर्नस् बक्स अफिसमा मात्रै नभएर समीक्षकहरुबाट मन पराइए । यी फिल्मबाट उनको अभिनयको तारिफ समेत भयो । ‘सिम्रन’ले पनि कंगनाको अभिनयमा कोशेढुंगा साबित हुने धेरैको तर्क छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७