हाइटीमा डाक्टर र प्रहरी हाकिमको यस्ताे चर्तिकला

कथा–व्यथा

मान्छेका रहरहरु कहिल्यै पूरा हुँदैनन् । माया गर्ने, माया पाउने– यही न हो जिन्दगी । तर, हामी पुलिसहरु आफ्नो निजी रहर तालिमको परेडमै बिसाएर बर्दीलाई आफ्नो मान र शान मान्ने जात पर्यौँ । यतिबेला लाग्दैछ, कर्तव्यपरायण प्रहरीका लागि मात्र रहेछ, निजी जीवन, मोज र मस्ती नहुने । संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत फम्र्ड पुलिस युृनिट (एफपियु– १) को २२ औँ टोलीमा सामेल भई हाइटीमा खटिएका छौँ । देशमा गरेको सेवाको उत्कृष्टताका आधारमा तोकिने यो ड्युटीमा आएका केही अफिसर देख्दा आँखा छोपेर हिँड्नुपर्ने अवस्था छ । युएनका हाकिमहरुले भन्न थालेका छन्, ‘नेपालमा यस्ता थर्डक्लास पुलिस अफिसर देखेकै थिएनौँ ।’ यसरी मिसनमा नेपाल प्रहरीको बद्नाम गर्ने काममा सरिक भएका डिएसपी हुन्, दानबहादुर थापा ।

फाइल तस्बिर

यी हाइटी आउनुअघि लोकमानसिंह कार्कीको सेक्युरिटी अफिसर थिए । प्रहरीका हाकिमलाई समेत फोनमा धम्की दिने, विभिन्न व्यक्तिसँग असुली र महिलाहरुसँग अनैतिक सम्बन्ध राखेका दर्जनौँ अभियोग छ । आफूलाई अख्तियारको सुरक्षा सल्लाहकार पनि भन्थे । अहिले हाइटीमा पनि चारित्रिक मामिलामा एकदमै बद्नाम छन् । व्यक्तिमात्र होइन, सिंगो प्रहरी संगठन उनको आचरणबाट लज्जित छ । लोकमान अख्तियार प्रमुख हुन अयोग्य भएको ठहर अदालतले गरेपछि यिनले तत्कालिन आइजिपीको कृपामा हाइटी मिसन पाएका हुन् । अख्तियार प्रमुख रहँदा लोकमानले चलाएका मानोमानीपूर्ण क्रियाकलापका एकजना मतियार थिए, दानबहादुर । उनले त्यसबेला गरेका नैतिक र अनैतिक कामको हिसाब राख्नुपर्ने निकायले पक्कै पनि राखेको होला । त्यसमा अर्को हिसाब थप्नुपर्ने भएको छ, हाइटीमा हिजोआज देखिएको तमासा ।

हामी हाइटी आउनुअघि पुलिस अस्पतालकी डाक्टर भनेर निक्कै आदर गथ्र्यौं, दिवा शर्मा म्यामलाई । दानबहादुर हाकिम मिलाएर खान पल्किएका ब्वाँसा हुन् भन्ने पहिल्यै थाहा थियो । सोचेका पनि थिएनौँ कि, आफ्नो करिअरमा ज्यादै सम्भावना बोक्नुभएकी डा.दिवालाई पनि दानबहादुरले बद्नाम गरिदिन्छन् भन्ने । भित्री कुरा के छ, थाहा भएन । तर, बाहिरबाट देख्दा हाइटी मिसनमा खटिएका नेपाल र अरु देशका पुलिसहरुमा उनीहरुको चालचलनलाई राम्रो मानिएको छैन । कन्टिन्जेन्ट कमाण्डरको रुपमा हामीलाई नेतृत्व दिइरहनुभएका एसपी राजेशनाथ बास्तोला हत्तपत्त आफ्ना अफिसरहरुलाई नराम्रो बचन नलगाउने क्यारेक्टरको हुनुहुन्छ । तर, त्यस्ता हाकिमसँग पनि भनाभन चल्यो, डा.दिवाको विषयलाई लिएर ।

मिसनमा रहेको बेला १५–२० दिनको छुट्टी पाइन्छ । त्यसको सदुपयोग गर्दै अरु मिसनमा खटिएका प्रायः साथी आफ्नै खर्चमा घर जान्छन् । तर, हाइटीमा खटिएका प्रहरीलाई अमेरिकी भिसाको सुविधा पनि छ । त्यो सुविधाको उपयोग गर्दै अमेरिका जाने गरिन्छ । कतिपय प्रहरी यतैबाट जागिर छाडेर अमेरिका भासिएका छन् । डिसेम्बर महिनाको दोस्रो साता कल्याङमल्याङ भयो । क्रिसमस नजिकै थियो । पैसाको मतलब नहुनेहरुका लागि बिलासी पाराले क्रिसमस मनाउने अवसर पनि थियो । यसै क्रममा दानबहादुरले अमेरिका घुमेर आउने छुट्टी स्वीकृत गराए । उनलाई दिइएको छुट्टीमा शर्त थियो, डा.दिवा जानुहुँदैन भन्ने । तर, डाक्टरसा’बले त्यही समयमा छुट्टी माग्नुभयो । एसपी सा’बले ‘विदेशीले समेत तपाईंहरुमाथि प्रश्न उठाइरहेको अवस्थामा एकैचोटि, एकै ठाउँका लागि छुट्टी दिन सकिन्न’ भन्नुभयो । यसपछि डाक्टरसा’बले कुनै ट्राभल एजेन्सीमार्फत काठमाडौंको टिकट बनाउन लगाउनुभयो र त्यही देखाएर छुट्टी पाउनुभयो ।

टिकटमात्र काठमाडौंको, उडानचाहिँ अमेरिकाकै भयो । जाँदा केही दिन अघि–पछि र आउँदा पनि त्यही तरिका । दानबहादुर अमेरिकाबाट जनवरी ४ मा हाइटी फर्किए । डा.दिवाचाहिँ केही दिनपछिमात्रै । तर, पुगेको ठाउँ एउटै । फोटो खिच्दा, कतै हिँड्दा पनि सँगै हिँड्नुपर्ने । अचम्मको छ, उहाँहरुको हिँडाई, बोलाई र बसाइ । यति भएपछि एकजना महिला अफिसरसँगको निकटतालाई सम्मानपूर्वक बयान गरिदिए हुन्थ्यो नि ! ‘यत्र नार्यास्तु पूज्यन्ते रमन्ते तत्र देवता’, अर्थात्, जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता पनि रमाउँछन् । तर, दानबहादुरले केटा अफिसरहरुसँग डा.दिवाको इज्जत नै सखाप पार्ने गरी अनेकथोक भन्ने गरेका छन् ।

यस्तो काम उनले काठमाडौंमा छँदा अनेकपटक गरे । अख्तियारमा एकजना रायमाझी थरकी युवतीसँग खास निकटता थियो । यतिसम्म कि ती युवतीलाई अनेक ठाउँमा आफ्नी पत्नी भनेर पनि चिनाए । दानबहादुरका यिनै हर्कतले गर्दा ती बिचरीले खाइपाइ आएको जागिर गुमाउनुपर्यो । जागिर पनि मिडियाले लखेटी–लखेटी खाइदियो । न माया प्रेम रह्यो, न जागिर नै । प्रेमको बदलामा बदनामी कमाइन् । हिजोआज बुटिक होटल चलाएर बसेकी छन् । उनलाई ‘चिनेकी बहिनी’ का रुपमा अख्तियारका डिआइजीले एकदिन महाराजगञ्जको क्याफेमा कफी पिउन बोलाएका थिए । आफूलाई ‘माया मारेको’ रिस फेर्न दानबहादुरले डिआइजीका पत्नीलाई फोन गरेर भए, नभएका कुरा लगाइदिए । डिआइजी पत्नी क्याफेमा पुग्दा सँगै भेटिन् । आधा घण्टाजति डिआइजीपत्नीले राम्रै तमासा देखाइन् । मुख छाडेरै आफ्ना पतिलाई गाली गरिन् । तर, पतिले ती ‘बहिनी’ का बारेमा सविस्तार सुनाएपछि कुरा मिल्यो । बद्मास दानबहादुर नै रहेछ भन्ने ठहर भयो ।

त्यसपछि अख्तियारमा भर्खर लोकसेवाबाट शाखा अधिकृत उत्तीर्ण एकजना महिलाको पदस्थापन भएको थियो । जागिरमा नयाँ थिइन् । लोकमानको नजिकको इन्स्पेक्टर नजिकिन खोजेपछि उनलाई लाग्यो, ‘यसले काम सिकाउला । जागिर खान सजिलो बनाउला ।’ तर, उनलाई अख्तियारभरि ‘अर्की रायमाझी’ को नामले चिनिन थाल्यो । निजामतीकै केही हाकिमहरु एकजना नवआगन्तुक अफिसरको चरित्रमाथि प्रश्न उठ्ने अवस्थालाई राम्रो मानिरहेका थिएनन् । उनीहरुले नै पहल गरेर ती अफिसरलाई अख्तियारबाट कलंकी मालपोतमा पठाए । यसपछि दानबहादुर मालपोत धाउन थाले । अति भएपछि लोकमानले नै गाली गरेर ठीक पार्नुपर्यो । एकजना व्यापारिक क्षेत्रमा सक्रिय महिलालाई पनि यिनले त्यही तहमा बद्नाम गरिदिए । उनी बद्नाम भएपछि आफू पन्छिए । हामीलाई चिन्ता छ, नेपाल प्रहरीकी एकजना क्षमतावान डाक्टरसा’बमाथि अघिल्ला महिलाहरुमाथि भएको तहमा

केही त्यस्तो नराम्रो नहोस् । इच्छाअनुसार जो जसको पनि साथी हुन सकिन्छ । तर, मित्रताको नाममा महिलालाई अप्ठेरो पार्ने र पुरुषले पानीमाथिको ओभानो भइराख्नुपर्ने कुरा न्यायसंगत छैन । यहाँ विदेशी प्रहरीले समेत राम्रो नमान्ने तहमा कोही महिलालाई उनले प्रस्तुत नगरेको भए आज यो चिठी लेख्नुपर्ने पनि थिएन ।
चिन्तित प्रहरीहरु, २२ औँ टोली, एफपियु– १ हाइटी

जनआस्था साप्ताहिकबाट

 

प्रतिक्रिया दिनुहोस्