ओलीलाई समर्थन गर्न मात्र जन्मेको हो हामी ? माग पूरा भए मात्रै सत्ताबारे सोचिन्छ : महतो


२६ फाल्गुन २०७७, बुधबार
rajendra mahato
फाइल फोटो

काठमाडौं, २६ फागुन । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संविधान संशोधनलगायत आफ्ना माग पूरा भएमा मात्रै सत्ता साझेदारीबारे सोच्न सकिने बताएका छन् ।

प्रतिनिधिसभाको आज (बुधबार) को बैठकबाट बाहिरिने क्रममा उनले वर्तमान सरकारसँग माग पूरा गराउने शर्तसहित शुरुमा सहमति गरिएकामा पूरा नभएपछि समर्थन फिर्ता लिइएको स्मरण गराउँदै ती मागबारे सबै पक्षसँग छलफल हुने जनाए ।

बुधबार संसद भवनबाट बाहिरिँदै गर्दा पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो दलले पहले पनि समर्थन गरेको र ठग्ने बाहेक अरु काम नभएको बताए ।
ओली नेतृत्वबको सरकारमा जाँदै हुनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा महतोले आफ्ना माग पूरा नभएसम्म सरकारमा नजाने बताए । उनले उधारो सहमति आफूहरुलाई मान्य नहुने बताए ।

‘केपी ओलीको सरकारलाई पहिल्यै समर्थन गरेको होइन ?, फेरि गर्ने ?, त्यसैका लागि जन्मेको हो हामी ?’, महतोले भने, ‘शासकहरुलाई सित्तैमा समर्थन गर्न जन्मेको हो हामी ?’

सत्तारुढ नेकपा (एमाले) र जसपाबीचको वार्ता टोलीबारे सोधिएको प्रश्नमा उनले हाल सत्ता साझेदारीमा नभई मुद्दाका विषयमा छलफल भएको बताए । जसपाले संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, आफ्ना कार्यकर्तालाई लगाइएका मुद्दा फिर्तालगायत माग उठाउँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७