प्रगति गर्न शहर पसेको छोरो

जतिखेर म अफिस जानलाई
हतार–हतार दोब्रिसकेको जुत्तामा
बुरुस घोट्दै हुन्छु
छेवैमा आएर आमाले भन्नु हुन्छ
कत्ति दुःख गर्छस् हौ छोरा ?

हो आमा !
शहरमा यस्तै त हो नि
सटिक जवाफ दिन्छु ।
तर, आज किन हो
एक्कासी यो कुराले मन पोल्यो ।
केही महिना पहिले घर जाँदा
भकारो सोहोर्दै थिएँ
उही बुढा आप्पा
अनि जाँतोमा घिसिँदै थिइन्
उही बुढी आमा ।
खै म नि एकछिन सघाउँछु भन्दा
पर्दैन–पर्दैन
बल्ल घर आ’को
आराम गर
गाउँतिर घुम्न जा भन्नु हुन्थ्यो ।
र म पनि
सोही आदेश पालना गर्थेँ ।
एकदिन सुने
आप्पाको गुनासो रे
अन्तरे काका भन्दै हुनुहुन्थ्यो
म भन्दा पछि जन्मेका
तल्लो टोले रामेका छोरो
सेतो नम्बर प्लेटवाला गाडीमा
अफिस जान्छ रे ।
आमाको पनि त्यस्तै गुनासो सुने
काकी भन्नु हुन्थ्यो
स्वबितेम्मा काकीको गला भरिको गहना छ रे
नाक कान पूरै सुनले छोपेको छ रे ।
ह्या हुँदो नहुँदो नकुरा सुन्नुप¥यो ।
साँझपख घर पुग्छु
र त्यहाँ पनि सुन्छु
आप्पा–आमाका वार्तालाप
मसँगै एसएलसी दिँदा
कम्पाट पाउने साथीले कोरिया गएर
इटहरी बसाइँ सारिसकेछ ।
निक्कै दिमाग रन्थनिन्छ ।
अनि फेरि आफ्नो कर्मथलो भन्दै फर्किन्छु
उही नेपाल शहर ।
आज केही दिन भो
आप्पा–आमालाई शहर घुम्न बोलाको
यहीं पाचँ हजारे कोठामै थुनिराछु ।
एकदिन अलिक छिटो अफिसबाट फर्केर
सिधै छिमेकी कोठा–कृृत्रिम आफन्तकोमा पसें
त्यहींबाट फेरि सुने आप्पा–आमाका वार्तालाप
प्रगति गर्न शहर पसेको छोरो
उमेर घर्किन लाग्यो
अहिलेसम्म यस्तै छ
अझै एक्लै छ
जागिरको हालत यस्तो छ ।
हत्तपत्त कोठा पस्दा
दुवै जना अत्तालिएका थिए ।
ए छोरा !
यी किताबहरू किन्न कति लाग्यो ?
हतारमा सोध्दै आप्पाले कुरा मोड्नु भाथ्यो ।
एक लाख जतिको हो आप्पा
छोटो जवाफ दिएको थिएँ ।
दुवै जना एक आपसमा हेर्दै
थोरै हाँसेको थिए ।
र बुझाउन खोज्नु हुन्थ्यो
छोराको प्रगतिले हामी खुश छौँ ।
तर, म स्पष्ट बुझ्थें
मेरो प्रगतिप्रति उहाँहरूको भाव ।
मैले अझै केही गर्न सकेको छैन
प्रगतिको त अर्थै बुझेको छैन ।
केवल मेरो अगाडि केही बोल्नु हुन्न ।
ऋणले निक्कै थिचिसकेको पनि चाल पाउनु भएछ ।
यस्तै बेला मौकामा
मप्रतिको उहाँहरूका बेखुशी
थोरै–थोरै चियाउन पाउथेँ ।
तर कदापि मेरो बेखुशी
उहाँहरु सहनु हुन्नथ्यो ।
चाहे नदेखे जस्तो गरेर होस्
चाहे फुङ्ग उडेको हाँसो हाँसेर होस्
या त केही रुपैयाँ खाजा खा भन्दै दिएर ।
अनि सम्झन्थेँ
आप्पा, कोप्पाहरुले दिएका आशिष
ठूलो निधार
निश्चल आँखा
छोटो गर्दन ।

भाग्यमानी भएस्
पक्कै लाहुरे हुनेछस्
दयालु र दिमाखिलो हुनेछस् ।
अझै तँलाई ढिलो भएन ?
आप्पाको आवाजले झस्किन्छु
कतिखेर कतिखेर ऐना अगाडि आएर
एकोहोरिएको हुँदो रहेछु ।
हतार–हतार टिल्पिलाएको आँखा पुछ्दै
भयो भयो भनेर हातेझोला बोकेर कुद्छु
उही एक घण्टा टाढाको अफिस ।
पैदलै पैदल ।

बाटोमा भक्कानिंदै
छिटो छिटो पाइला चाल्छु पिल्सिँदै
आज पनि मलाई आप्पा–आमाले
दुःखी देख्न चाहनु भएन ।
र त हप्काउनु भयो
अझै तँलाई ढिलो भएन भनेर ।
आखिर त्यस्तै गरी गला रोक्किएर ।

प्रतिक्रिया दिनुहोस्