कवि श्यामल माथि १२ आरोप


२८ माघ २०७४, आईतवार
Shymal 2 1

कवि श्यामल नेपाली साहित्यमा स्थापित नाम हो । उनका दुई कविताकृति ‘लयब्रम’ र ‘हतारमा यात्रा’ प्रकाशित छन् । उनको नयाँ कृति ‘रित्तो बस्ती’ (निबन्ध संग्रह) हो । उनी कम लेख्छन् तर एकदमै बलियो । आलोचकहरुले उनका कवितामा उतिधेरै औला उठाउँदैनन् । तर, कविता बाहेकका सन्दर्भमा भने आलोचनाबाट उनी टाढा छैनन् । जस्तो, श्यामल घमण्डी छ, पूर्वाग्रही छ, उसमा धेरै कुन्ठा छ, रक्सीले उनलाई खाइरहेको छ आदि । यिनै आलोचनाहरु बटुलेर राजेश राईले उनलाई नयाँ पेजको कठघरमा उभ्याएका छन् ।

Shymal 2
१) तपाई आफूलाई भूपीको उत्तराधिकारी ठान्नु हुन्छ ?
ठान्दिन । कवि कसैको उत्तराधिकारी वा दक्षिणाधिकारी हुन्छ भन्नु भ्रमको खेती हो । आफ्ना सामथ्र्यवान् अग्रजहरुका उत्कृष्ट कामहरुबाट सिक्नु उत्तराधिकार प्राप्त गर्नु होइन । त्यसैले हाम्रो समयका उत्कृष्ट काव्य शिल्पी कवि भूपिबाट धेरै सिक्न सकिन्छ, उनको सिको गर्नु वा उनको ठ्याक्कै उत्तराधिकारी हुँ भन्नु पाखण्ड मात्रै हो । हो, म महाकवि देवकोटा, गोपालप्रसाद रिमाल र भूपि शेरचनजस्ता ‘ट्रेण्ड सेटर’ कविहरुले पहिल्याएको मार्गको एक यात्री भने हुँ । यसो भन्न मलाई संकोच लाग्दैन ।

२) तपाई पुराना कविताको ब्याज खाइरहनु भएको छ, ‘ब्याज’ खाने भन्दा बाहेक कवितामा तपाईको अहिले गतिलो कमाई छैन ?
कविता एक दिनमा कतिवटा लेख्नुपर्छ, कुन फम्र्याटमा लेख्नुपर्छ र कसरी माध्यममा जानुपर्छ भन्ने कुरा कवि स्वयम्ले निर्धारण गर्ने कुरा हो, अरु कसैले तय गर्ने विषय होइन । म आँशुकवि होइन । मैले गत चालीस वर्षमा सरदर दुईटा कविता मात्र लेखेको रहेछु । के कुराले म चित्त बुझाउँछु भने रिमालले अति थोरै लेखे, देवकोटा, सम, लेखनाथ, सिद्धिचरण आदिको भन्दा थोरै लेखे । भीमनिधि र व्यथित भन्दा निकै कम लेखे तर युगान्तकारी र स्वप्नशील कविता लेखे । थोरै लेखेर काव्यको महत्ता गुम्ने होइन । धेरै लेखेर काव्यको महत्ता बढ्ने पनि होइन । कविता कलाको आत्माको जरुरत हो, कविता कुनै पनि भाषाको जरुरत हो ।

कविता अन्तःप्रेरणाले लेखिने विधा हो । अन्तः प्रेरणाविहीन अवस्थामा शब्दहरू जोडजाड गरेका कवितामा काव्यको आवेग हुदैन । एक पटक मैले के सुन्नुपर्‍यो भने, कुनै एक पुरानो र प्रतिष्ठित प्रकाशन संस्थामा एक कविको कविता संग्रहको पाण्डुलिपि प्रकाशनार्थ दर्ता हुन पुग्यो । प्रकाशकका प्रतिनिधिले भनेछन्, ‘कविज्यू यत्तिको मात्रैले पुस्तक पातलो हुन्छ । तीस चालीसवटा थप्यो भने गतिलो पुस्तक बन्छ । अरु थपौं न !’कविलाई कुरा मुनासिब लाग्यो । उनले भोलि लिएर आउने बाचा गरेर रातभर पचास वटा कविता लेखे र प्रकाशकलाई पहिलेको पाण्डुलिपिमा थपेर बुझाए । संग्रह महाभारतकाय मोटो निस्क्यो । तिनको नाम मलाई लिन आउँदैन । तिनको जस्तो प्रतिभा मसंग छँदा पनि छैन । तर म कविता लेखिरहेको छु ।

कविता लेखन कलाको सिर्जन हो, आफ्नै वा अरु कसैको नक्कल वा पुनरुत्पादन होइन अनि जबर्जस्ती कला सिर्जन सम्भव हुन्न भन्ने कुरामा म विश्वास गर्छु । तपाईंलाई के थाहा म के लेखिरहेको छु ? कुन रचनात्मक प्रक्रियामा म छु भन्ने कुरा भनिरहने विषय होइन । मलाई छापामा आइरहने लोभ पनि छैन । मलाई चित्त बुझ्दो रचना निस्क्यो भने थोरै भए पनि मेरो लागि पर्याप्त हुन्छ । यो समाजका लागि म लेखिरहेको छु भन्ने खालको पाखण्डबाट मुक्त छु म । मेरा रचना समाजलाई उपयोगी लागे भने म सफल भएको भन्ठान्छु । कविताको साउँ मैले गुमाएको छैन, ब्याज चाहिँ मेरा प्रिय पाठकले मलाई दिइरहेका छन् । त्यसबाट कसैले पनि मलाई बञ्चित गर्न सक्तैन । साथै मबाट बढी कविता आउन् भन्ने मेरा प्रिय पाठकहरुको भावनाको म उच्च कदर गर्दछु ।

३) तपाईले रक्सी होइन तपाईलाई रक्सीले खाइरहेको छ ?
मैले सिरकभित्र लुकेर रक्सी खानुपर्ने के कारण छ ? जतिबेला मलाई मदिराको आनन्द दिन मन लाग्छ, जतिबेला मदिरा लिन मलाई सहज हुन्छ, जतिबेला मसँग त्यसको खर्च गर्न सक्ने क्षमता हन्छ, म कसैलाई नसोधिकन, कसैको अनुमति नलिइकन, बिना कसैको डर म मदिरा लिन्छु । यहाँ चोरले चोर आयो भन्दै अरुलाई झुक्याएर मालताल ओसार्ने चलन छ । भित्रभित्रै सडिसकेका, लुच्चा, लोभी र पाखण्डीहरूले श्यामललाई आफुजस्तै बदनाम गर्नु जरुरी ठान्छन् भने त्यो उनीहरुको रुचिको विषय हो । त्यो तिनलाई कसैले दिएको जागीर हुन सक्छ । देवकोटाका कविताका बारेमा चर्चा गर्नुभन्दा उनको चुरोट खाने बानीको चर्चा गर्नमा परपीडक स्वभावका व्यक्तिहरुलाई आनन्द आउँछ, रिमाललाई बौलाहा भन्दा तिनलाई आफु सद्दे छु भनी देखाउने ‘लाइसेन्स’ प्राप्त हुन्छ भन्ने लाग्छ, भूपिलाई स्त्रीलम्पट र हरिभक्त कटुवाललाई जँड्याहा बनाएपछि नेपाली कवितामा तिनको भन्दा ठूलो स्थान लिन सकिन्छ कि भन्ने लाग्छ । भने, तिनलाई यस्तैमा रमाउन दिनुहोस् ।

Shymal

४) तपाई आफ्नो आैंलामा गन्न सकिने मित्र बाहेक अरुलाई ‘झुर’ भन्नुहुन्छ, तपाई अत्यन्तै पूर्वाग्रही मान्छे हो ?
म आग्रही हुँ । केही सीमासम्म पूर्वाग्रही पनि हुँला । सबैका केही नजिकका साथी हुन्छन् । मेरा पनि छन् । मेरा केही साथी ‘नजिकका’ छन् भने, त्यो निकटता हाम्रा रुचि, संस्कार, सोचविचार र जीवनशैलीका कारणले हो । तिनीहरु झुर नहुनु तिनको अविचल वैचारिक निष्ठा, रचनात्मक जीवनचर्या, अध्ययनशीलता, संवेदनशीलता र खुलापन हो । जोसँग त्यो रसायन छैन, तिनीहरुलाई मैले सामान्य सम्बन्ध राखे पुुग्छ ।

सबैलाई झुर भनेर आफुलाई महान् देखाउने सामथ्र्य मसँग छैन । तथापि मेरा साथीहरु त्यति झुर कहिल्यै भएनन् । मेरा नजिकका भन्नाले विमल निभा, नारायण ढकाल, र राजव भनिएको हो भने कुरा सही ठहर्छ । अरु साथी पनि त छन् जो झुर हुनबाट अझै बचेका छन् : खगेन्द्र संग्रौला, अविनास श्रेष्ठ, शार्दुल भट्टराई, हरि रोका, झलक सुवेदी, पुरुषोत्तम सुवेदी, नयनराज पाण्डे आदि । जुन दिन म या उनीहरु एक आर्कोलाई झुर ठान्नेछौँ, यसरी नाम लिइरहनु पनि जरुरी पर्ने छैन ।

५) महिला तपाईको कमजोरी हो ?
प्रत्येक पुरुषको सबलता र कमजोरी महिला नै हो । अर्को कुरा म समलिंगी होइन । ममा उद्दाम पुंशकत्व छ । लुकाउनु जरुरी छैन । लुकाउनेले अँध्यारोमा महिला फेला पारे बलात्कार गर्छ, हत्या गर्छ । ऊ भित्र स्वाभाविक प्रेमभाव हुँदैन । म खुलेर भन्छु, महिलाको करुणा, यौवन, सौन्दर्य मलाई सर्वाधिक प्रिय लाग्छ । जुन पुरुषलाई महिलाप्रति आकर्षण छैन, म उसको पुंंशकत्वमा शंका गर्छु, उसका अप्राकृतिकतामा खिन्न हुन्छु ।

म सहज प्रकृतिको पुरुष हुँ । समाजका केही मानिसले आफ्ना अनुकूलका नियम बनाएर यो गर्, उसो गर् भन्दैमा त्यसका पछि पछि लागेर सत्यलाई लुकाउने दुश्चेष्टा मबाट हुदैन ।  तपाई आफ्नै बारे के भन्नुहुन्छ ? किन तपाईंले प्रेम विवाह गर्नुभयो ? युवाकालको उमेर कोही किन बाबुआमाले जुराइदिएकी यवतीलाई विहे गर्न राजी हुन्छन् ? सडकमा हिँड्दा कोही पुरुष महिला सौन्दर्यपट्टि किन आशक्त हुन्छन् ? म पुरुष (मेरा पिता) र स्त्री (मेरी माता) को पारस्परिक आकर्षणको उपज हुँ । मेरा छोराछोरी पुरुष (म) र स्त्री (मेरी पत्नी) को पारस्परिक आकर्षणका प्राकृतिक परिणाम हुन् । कोही पुरुष म स्त्रीप्रेमी होइन भन्छ भने सृष्टिको प्राकृतिक स्वभावलाई इन्कार गरिरहेको हुन्छ । त्यो छद्म हो । छद्मता प्रेमको विपरीत स्वभाव हो ।

६) तपाईलाई प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ हुने रहर जागेको थियो, तर रहर अपुरो छ ?
नेपालमा प्राज्ञका लागि मेरो योग्यता अझै पुगेको छैन भन्ने मलाई लाग्छ । नेपाली सन्दर्भमा योग्यता भन्नाले प्राज्ञिकता होइन, दल विशेषको कार्ड र शक्तिपीठको आशीर्वाद हुन् । दुवै मसँग छैनन् । मेरो अभ्यासको क्षेत्र भएकाले प्राज्ञ हुन रहर गर्नु मेरो अधिकारकै कुरा हो । प्राज्ञ निर्माताहरुलाई प्राज्ञ चाहिएको थिएन, केही सेवकहरुलाई पुरस्कृत गर्नु थियो, गरे । तपाईंलाई थाहा छ होला, हाम्रा क्रान्तिकारी नेताहरु विद्रोही सभामा रामेशका गीतमा उफ्रिन्छन्, प्रज्ञामा पञ्चायती प्रेतका संगीतमा झुुम्छन् । वामपन्थी दलका नेतामा यो चारित्रिक द्वैधताले वैधता पाएको छ । कार्यकर्तासँग मन पर्ने नेपाली नेताको नाम लिंदा पुष्पलालको लिने गर्छन्, मिडियामा आउँदा गिरिजाप्रसादको नाम हुन्छ । अनि मेरा रहर, मजस्ताको रहर नयाँ नेपाल बनाउने तपाईको रहरभन्दा कति नै अपुरो रह्यो र ?

८) तपाई सबैलाई गाली गर्नुहुन्छ, तपाईमा भव्य ‘कुन्ठा’ छ ?
आफुले देख्ता, व्यवहार गर्दा, पढ्दा जो जो फटाहा, बेइमान, धूर्त, हेपाहा, शोषक, जाली, स्वार्थी र झेली पाएँ, तिनलाई मैले गाली गरेँ । जो भद्र, विवेकशील, कलासचेत, मैत्रीपूर्ण, सहयोगी छन् भन्ने मैले पाएँ, तिनको तारिफ गरेँ । सबैलाई गाली गर्ने मेरो स्वभाव छैन । यस समाजका मनुष्य सबैमा केही गुण र केही दुर्गुण हुन्छन् । कसैमा गुणको आधिक्य होला, कसैमा दुर्गुणको । म मेरो नजिक आएका मानिसको व्यवहारको अध्येता हुँ । मेरो अनुभवका आधारमा म कसैको गुण खुट्याउँछु, दोष खुट्याउँछु । म पनि दुर्गुणमुक्त वा दोषमुक्त मानिस होइन । तर गलत कामको सैद्धान्तिकीकरण गर्दै आफ्नोपछाडि लफंगाहरुको लश्कर लगाएर समाजमा आफ्नो फाँसीवादी दबदबा कायम गर्न खोज्ने धूर्तहरुको म किन प्रशंसा गरुँ ? कामदारलाई ठग्ने र ठगलाई पूजा गर्ने, संसारका निर्माणकर्तालाई होच्याउने वा तिनको सोझोपनलाई हतियार बनाएर तिनकै गर्धनमा हान्ने कायरहरूलाई म गाली नगरेर के गरुँ ? तपाई गहिरिएर हेर्नोस्, त्यस्ता अधमहरु पत्रकारितामा छन्, दलहरुमा छन्, प्रशासनमा छन्, साहित्य, कला र संगीतमा छन् । ती सामाजिक सेवाको मेवा खाइरहेका छन् ।

ती ठग उद्योग खोलेर बसेका छन् । ती विश्लेषक छन् । ती धार्मिक संस्था खोलेर बसेका छन्, राजनीतिक मठ चलाएर बसेका छन् । बहुसंख्यक असल मानिसहरु यस पृथ्वी नामक ग्रहमा छन् तर तिनलाई दबाएर, बेइमानहरुले आफ्नो सिंहासन बनाएका छन्, तिनको आयु ताछेर आफ्ना परिवारको आयु थप्छन् । मानिस भएर मानिसलाई हेप्ने धूर्तहरुको म कटु अलोचक हुँ । मलाई चाकरहरुसँग अग्घोर घृणा छ ।  मलाई निजी लाभका लागि अर्काको गलत प्रयोग गर्ने प्रवृत्ति पटक्कै रुच्तैन । त्यस्तो प्रवृति थाहा पाउने वित्तिकै मलाई बान्ता आउँछ । निजी स्वार्थका लागि विचार बदल्दै हिँड्ने, आत्मा एकातिर र शरीर अर्कोतिर भएका मुर्कट्टाहरु देख्ता मलाई रिंगटा चल्छ । विचारमा महान् क्रान्तिकारी र व्यवहारमा क्षुद्र काँतर मनुष्यहरु मेरो छेउमा आउँदा मलाई भाउन्न छुट्छ ।

आफु अहोरात्र शक्तिपीठको भजन गाउने तर अरुलाई क्रान्तिकारी मानवताको पाठ पढाउन खोज्ने छुचुन्द्राहरु देखेर म व्याङ्ग्यपूर्वक मुस्कुराउँछु भने म सही नै गरिरहेको हुन्छु । तिनका अगाडि लोलोपोतो गर्ने हो भने, म बाँचेको सार हुने छैन ।  तथापि म सबैलाई गाली गर्दिन । मैले सबैलाई गाली गरेको केमा देखियो, मलाई थाहा छैन । र, ममा त्यस्तो कुण्ठा छ भन्ने पनि लागेको छैन । यस्तो खाले नयाँ प्रश्न गरेर तपाईंले मलाई आफैँतिर फर्केर हेर्न प्रेरित गर्नुभएको छ । यसका लागि तपाईंलाई धन्यवाद दिन्छु ।

९) तपाईलाई नयाँ भन्दा पुरानो नेपालको माया छ, तपाईका घनिष्ठ मित्रहरुले पनि ‘पृथ्वीनारायण शाह’को नयाँ संस्करण भनेर जिस्काउँछन् ?
नयाँ नेपाल छ कहाँनिर छ मलाई देखाइदिनोस्, म त्यसको पछि लाग्नेछु । तथापि म नेपालको त्यो पुरानो साँधसीमानाभित्रको भूगोल र त्यसभित्रका नागरिकको माया गर्छु । मेरो यो मौलिक अधिकारलाई कसैले पनि अपहरण गर्न सक्तैन । म स्वयम् मेरो स्वतन्त्रताको रक्षक हुँ । अरुले मेरो स्वतन्त्रताको रक्षा गरेको हनुपर्छ । मैले पनि अरूको स्वतन्त्रताको रक्षाखातिर काम गर्नु पर्छ । म त्यस्तो राज्य बनाउन चाहन्छु । तत्कालीन एकीकरणकर्ताले बनाएको वर्तमान नेपालको भूगोल परिवर्तन गरी विशाल नेपाल बनाउन सक्ने कोही छ भने उसका बारेमा विचार गरौँला । अर्काको जुठोपुरो खाने संस्कारमा हुर्केका

तर मैले नयाँ नेपालका नाममा पुरानै डम्फु बजिरहेको देखेको छु । हिजोको सामन्त आज लोकतन्त्रको नेता भएको छ, लुटेर खाने नयाँ नयाँ रणनीति लिएर आइरहेका छन् । हिजोको हत्यारा नेताको आवरणमा कोटभित्र छुरी राखेर संसद भवनभित्र घुसेको छ । हिजोको बलात्कारीले कहिल्यै त्यस अपराध बापत सजाय नभोगिकनै आज महिला अधिकारबारे प्रवचन गर्दै हिँडेको देख्नुपरिरहेको छ । हिजोको महापञ्च आज अमूक क्रान्तिकारी पार्टीको सिंहासनमा बसेर मजस्ता नागरिकका जत्थालाई सिध्याउने प्रपञ्च रचिरहेको छ । तिनीहरु सबै मिलेर लोकतान्त्रिक संस्थाहरूको घाँटी निमोठिरहेका छन् । ‘एकेडेमी’हरूमा चारण भाट र मण्डलेहरूलाई प्रवेश गराइएको छ । स्वार्थी, पदलोलुप, धिङ्न्याहा, नकचरा, पाखण्डी, बेइमानले राजश्व चुसिरहेका छन् । घुस्याहा कर्मचारीले संवैधानिक पद पाइरहेका हुन सक्छन् । कहाँ छ मित्र नयाँ नेपाल ? कसले नयाँ नेपालको नक्शा तयार गरेको छ ? को हुन् नयाँ नेपालका अभियन्ता ? नयाँ नेपालको सार र आकार के हो ? यसको व्यवस्था सामाजिक फाँसीवाद हो कि जिनोसाइड ?

म विकसित र स्वाधीन नेपालको परिकल्पना गर्छु । यसको भूगोल परिवर्तन गर्ने मेरो कुनै रुचि छैन । तराईको होस् वा पहाडको, म मानिसको सम्मान गर्छु । म जातका आधारमा, वर्ण र वैचारिकताका आधारमा, आध्यात्मिक आस्था र राजनीतिक प्रतिबद्धताका आधारमा, रुपरंग र नाप नक्शाका आधारमा मानिसलाई अग्लो र होचो स्थानमा राख्ने व्यवस्थाका विरुद्ध अहिलेसम्म निरन्तर लडिरहेको छु । यहाँ प्रत्येक मानिस स्वायत्त नागरिकका रुपमा रहने व्यवस्था हनुपर्छ भन्नु के पुरानै नेपालको गाथा गाउनु हो ? प्रत्येकको स्वतन्त्रताका रक्षा हुनुपर्छ, जातीगत सद्भाव बिथोल्नु हुन्न भन्ने विचार के प्रतिगामी हो ? आफ्नो विचारमा सहमत नहुनेका मुटु, कलेजो लुछेर खानेसम्मको मानवद्रोही विचार के नयाँ नेपालको उन्नत विचार हो ?

१०) तपाई भित्र एकदमै ‘बलियो बाहुन’ छ । त्यसले तपाईलाई दुःख दिन्छ ?
तपाईंभित्र एक बलियो राई छैन ? अशोक राईभित्र के बलियो मधेशी हुन्छ ? भूपिभित्र एक बलियो थकाली थिएन ? कृष्णबहादुर भट्टचनभित्र के बलियो क्षेत्री छ ? म बाहुन परिवारमा जन्मनु के मेरो दोष हो ?
हो, मेरा दोषहरु म एक्लैले निर्माण गरेका, थुपारेका र अरुमाथि थोपरेका होइनन् । ति सामाजिक, राजनीतिक र आर्थिक क्रिया प्रतिक्रियाका परिणाम हुन् । तर म आफ्नै दोषबाट मुक्त हुन प्रयासरत मानिस हुँ । मभित्रका विकारहरु, म माक्र्सवादी पाठशालाको विद्यार्थी भएकाले मैले भन्नुपर्छ, यसै समाजका उपज हुन् । तर म तिनलाई पखाल्न र अरु विदेशी विकार मेरा विवेकभित्र पस्न नदिन भगीरथ प्रयत्न गरिरहेको छु ।

म विकारमुक्त हुने प्रयासमा छु । बाहुन कुलमा जन्मेकैले र स्वतन्त्रतापूर्वक आफ्ना विचार व्यक्त गरेकैले अनि कसैलाई मेरा कुरामा विमति भएकैले मलाई बाहुन भनिएको हो त ? मैले बाहुन हुँ भन्ने अरु थप सूचकहरु के निर्माण गरेँ ? कसैको विचारप्रति अन्ध समर्थन नगर्नु हो त बाहुन हुनु ? जालझेलबाट, डरधम्कीबाट, अवाञ्छित फाँसीवादी दबाब सिर्जना गरेर, बुथ कब्जा गरेर शक्तिमा पुगेका केही स्वतन्त्रताद्रोही मानिसहरुले ट्याग लगाइदिदैमा म बाहुन होइन, लिम्बु वा शेर्पा हुँ, अथवा मुसहर र डोम हँु, अथवा कोचे र चेपाङ हुँ भनेर ती समुदायका सोझा नागरिकलाई नै ढाँटिरहनुपर्ने कस्तो खाले बाध्यताको निर्माण नयाँ नेपालवादीहरुले गर्दैछन् ? के तपाईंलाई विश्वास लाग्छ, म बाहुन होइन भन्ने बाहुनहरु साँच्चिकै बाहुन होइनन् ? म दैलेखको गन्म गाउँको अधिकारी कुलमा जन्मेकोमा गर्व गर्नु नपर्ने र तपाई भोजपुरमा राई कुलमा जन्मेको अथवा उपेन्द्रले तराईको यादव कुलमा जन्मेकोमा गौरव गर्नुपर्ने कस्तो खाले सोच हो ?

११) तपाईमा ‘माओवादीद्रोह’ छ । माओवादीका राम्रो कुरालाई पनि राम्रो भन्नुहुन्न ?
म राजनीतिक विचारका दृष्टिले माक्र्सवादी हुँ, लेनिनवादी—माओवादी, होइन भन्ने कुरा करिब ३५ वर्षदेखि भनिआएकै छु । तथापि माओवादीप्रति मेरो कहिल्यै द्रोह रहेन । यिनले साहसपूर्वक सशस्त्र युद्धको बाटो रोजे । युद्धका सन्दर्भमा गरिएको बलिदानलाई केही होइन भन्नु अति नकारात्मकता हो । म त्यसका विपक्षमा उभिन्छु । तर क्रान्तिकारी युद्धका आँखा हुन्छन्, त्यो मानवीय संवेदन सहित गतिशील हुन्छ, त्यसका हतियारको धार माक्र्सवादी विवेकले बनेको हुन्छ र त्यो शोषित दमित र निर्दोष मानवताको पक्षपोषक हुन्छ भन्ने कुरालाई उनीहरुले चटक्कै बिर्सिदिए । विडम्बनाको कुरा, युद्धका क्रममा राज्यका झैँ उसले विवेक गुमाएको थियो र निर्दोष मानवताको हत्या भएको थियो ।

यस यथार्थलाई हामीले भुल्यौं भने स्वयं माओवादी सशस्त्र युद्धप्रति पनि न्याय हुँदैन । म तिनले केही साहस गर्छन् र समाज बदल्छन् कि भन्ने आशमा थिएँ, अपशोच, तिनीहरु यसमा चुके । वर्ग संघर्षबाट च्यूत भएर जातीय संघर्षको मोर्चामा ओर्लनु उनीहरुको गम्भीर गल्ती थियो । यस्ता गल्तीबाट उनीहरुले सिक्ने प्रयास नै गरेनन्, परन्तु गल्तीलाई सही सावित गर्न त्यसको सैद्धान्तिकीकरणतर्फ उद्यत भए । उसका राम्रा पक्ष हुन्, तत्कालीन जर्जर व्यवस्थाका जरा हल्लाइदिनु र स्थानीय सत्तालाई त्यसले थेग्नै नसक्ने खाले चुनौति दिनु । यही नै माओवादीप्रतिको मेरो दृष्टिकोण हो । यसलाई माओवादीद्रोह भनेर तपाईलाई सन्चोसुविस्ता हुन्छ भने त्यसै भन्नोस् ।

१२) उपन्यास लेखिसक्न लागे भनेर पाँच बर्ष अघि अन्तरवार्ता दिनुभयो । श्यामलको उपन्यास आउँदै भनेर समाचार लेख्ने पत्रकारको समाचार फ्लप खायो ?
खाएन । उपन्यास चाँडै आउँदैछ । एउटा सानो उपन्यास लेख्न पनि लामो समय लाग्न सक्छ । मेरो सन्दर्भमा त्यही हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७