रिटिङ्ग–रिटिङ्ग गीत दिएँ भने त म पनि रित्तिहाल्छु निः गायक एलपी जोशी


२९ पुष २०७४, शनिबार
Lp joshi

‘रिटिङ्ग रिटिङ्ग नबजाऊ बिनायो, बिनायोले मन मेरो छिनायो साइँला दाइ’

रेडियोमा यो गीत बज्दा ७० बर्ष नेटो काटेका इलाम बरबोटेका ताराबहादुर श्रेष्ठलाई आफू लक्का जवान हुँदा यहि गीत गाएर तरुनीले कटाक्ष मारेको सम्झना ताजा बनेर आउँछ ।Lp joshi

ताराबहादुर पनि के कम ‘सरमा सर अक्षरै लेख्ने नेपाली कागजमा’ भन्ने गीत गाएर आफूलाई कटाक्ष मार्ने तरुनीलाई मुखबाट फुस्किने मायाको प्रस्तावलाई कागजमै लेखेर देखाउन आग्रह गरी हाल्थे । तर आज ताराबहादुरको हातपाउ बसिसकेको छ तर यो गीतले अझै पनि उनलाई आफ्नो रमाइलो बैशतिर तान्न भने छोडेको छैन् अरे ।

उबेलाका यो गीतका पारखीलाई मात्र होइन स्वयम् गीतका गायक लक्ष्मीप्रसाद जोशी (एलपी जोशी) लाई पनि आफैले गाएको ‘रिटिङ्ग रिटिङ्ग नबजाऊ बिनायोले नमज्जाले मन छिनाएको छ । कसरी छिनायो त जोशीको मन बिनायोले ? जोशीले भने–‘म्यूजिक नेपालले एल्बम निकाल्ने भनेर सात वटा गीत गाई दिएँ तीन वर्षपछि रोयल्टी लिन जाँदा म्युजिक नेपालले ४२ रुपयाँ रोयल्टी देखायो, यसरी नै मेरो मन छिनाएको छ मेरै बिनायोले ।’ म्युजिक नेपालले २०५३ सालमा एलपी जोशीलाई गीत गाउन लगाएर ‘रिटिङ्ग रिटिङ्ग नामको एल्बम निकालेको थियो । चार दर्जन बढी गीत गाउन भ्याए पनि जोशीको यो नै पहिलो एल्बम अनि अहिलेसम्मको अन्तिम एल्बम हो ।

उबेलाका यो गीतका पारखीलाई मात्र होइन स्वयम् गीतका गायक लक्ष्मीप्रसाद जोशी (एलपी जोशी) लाई पनि आफैले गाएको ‘रिटिङ्ग रिटिङ्ग नबजाऊ बिनायोले नमज्जाले मन छिनाएको छ । कसरी छिनायो त जोशीको मन बिनायोले ?

२०१३ सालमा ‘सरमा सर अक्षरै लेख्ने नेपाली कागज’ बोलको गीत रेडियोमा गाएर लोक संगीतमा औपचारिक प्रवेश गरेका जोशीको गायन भने २००८ सालदेखि नै शुरु भएको थियो । ‘वल्लो खोलो पल्लो खोलो कमिलाको गोलो भनेर’, ‘खिपीमा खिपी’, ‘उकाली ज्यानको’ लगायतका गीत गाएका जोशीको साँगीतिक यात्रा पनि अहिले उकालोमा आई पुगेको ।

जोशीले आफ्ना ७७ वटा सुन्दर बसन्तलाई संगीतको श्रीबृद्धिमै खर्ची सकेका छन् । कालो कपाल पाकेर सेतो हुने क्रम बढेसँगै उनका सिर्जना पनि घटेका छन् तर एउटा कुरा उनी ठाडै नकार्छन्–‘म अझै पनि मेरो बैंशमा जस्तै गीत गाउँछु । गीत गाउँदा म तन्नेरी नै छु कि जस्तो लाग्छ ।’ अहिले त अरुको गीत रिमिक्स गरेर गाउने गायक÷गायिकाहरु पनि बजारमा मज्जाले जमेका छन् नि ? मैले अर्को प्रश्न खसाएँ । ‘ठिकै छ यो साँगीतिक पुस्तामा आएको फरक हो । तर पूराना सिर्जनाको भावभङ्गी नै बिगारेर सयौ बर्ष बाँच्ने गीत संगीतलाई मार्न मिल्दैन । एउटा कुरा रिमिक्स गर्नेले जीवन भोगाईको झल्को दिनु पर्छ मेरा लागि चाँहि ।’

https://www.youtube.com/watch?v=2_sabjGVZa0

जोशी अझै जोशिए–‘अरुका कुरा म गर्दिन तर मेरा गीत रिमिक्स गरेर आधा नाफाको हिस्सेदार मलाई बनाउँछु भन्दै धेरै आए तर मेरो संगीत बुझ्ने मस्तिष्कले मलाई सम्झौतामा ओर्लिन दिएन ।’ कुन गीत माग्ने बढी थिए ? जोशीले सुनाए–‘रिटिङ्ग रिटिङ्ग’ नै धेरैले मागेका थिए । तर मैले यो गीत दिएर म्युजिक नेपालमा जस्तो अर्को भूल गर्न चाँहिन । यो गीत दिएँ भने त म मरी हाल्छु नि भनेर पठाएँ ।’

म्युजिक नेपालले रोयल्टीमा अपमान गरेको चित्त दुखाई जोशीको बोलीले ओकलेको प्रष्ट थियो यतिबेला । तर उनी नयाँ पुस्ताले संगीतबाट उठान गर्न खोजेको परिवर्तनप्रति पनि सकारात्मक नै छन् । उनले भने–‘श्रोताले चाहेको संगीत ल्याउनु त पर्छ नै, साँच्चै धेरै त छुरा जस्ता छन् आजका युवाहरु, खारिएका उनीहरुकाबीच हामी लोकभाका गाउनेलाई त बचाउँन नै हम्मे पर्न थालेको छ अहिले ।’

संगीत र सिर्जनाप्रति सचेत जोशी अहिले झापाको दमकस्थित घरमा साँगीतिक क्षेत्रको धेरै गुनासा, केहि आकांक्षा र थोरै सन्तुष्टि साँचेर बसेका छन् । जन्मथलो धनकुट्टा जिल्लाबाट रेडियोमै गीत गाउनका लागि झापालाई सहज देखेका जोशीले गीत त गाए तर गीत गाएर फुटेको कौडी हातमा थाप्न कहिल्यै पाएनन् । तर झापाले उनलाई एउटा सम्मान पक्कै दिएको छ । अहिले झापाको दमक बजारको शीरमा पर्ने एउटा चोक जोशी चोकले चिनिन्छ । यहि चोकमा गायक जोशी र श्रीमति बृन्दा, दुई छोरा र तीन नातिनाको दैनिकी सानो किराना पसलमा आउने ग्राहकसँगको भलाकुसारी र लेनदेनमा बितिरहेको छ ।

‘श्रोताले चाहेको संगीत ल्याउनु त पर्छ नै, साँच्चै धेरै त छुरा जस्ता छन् आजका युवाहरु, खारिएका उनीहरुकाबीच हामी लोकभाका गाउनेलाई त बचाउँन नै हम्मे पर्न थालेको छ अहिले ।’

झापाको छाला चर्काउने गर्मी र पाट लाग्ने ठिहीसँगै गालाको छाला मुजा पारी सकेका जोशीलाई पसलमा मात्र बसेर भने धर छैन । लोकसंगीतको मर्म खुट्याउने युवाहरुले मुख्य अतिथि बनाएर खदा लगाएर सम्मान मात्र गर्दैनन् तुनामा जतनले बाँधेर राखेको बिनायो झिकेर ‘रिटिङ्ग रिटिङ्ग नबजाऊ बिनायो’ बोलको गीतको एक अन्तरा मात्र भए पनि गाएर नसुनाएँ मञ्चबाट उम्कनै दिदैनन् । युवाहरुले दिएको यो सम्मानको चाङ्गसँगै रेडियो नेपालले एक दशक अगाडि प्रसिद्ध लोकगायक भनेर दिएको सम्मान पनि जोशीले कहिल्यै नबिर्सिने सम्मान हो । श्रोताको मायाले आफू अहिलेसम्म बाँचेको बताउँदै जोशी ठट्टा गर्छन्–‘गीताङ्गेले पाउने सम्मान नै यहि त हो नि, श्रोताको मायालाई पैसामा दाँज्ने भए त उहिल्यै ठूलै व्यापार गर्थे होला म ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७