गति लिंदै राष्ट्रिय गौरवका आयोजना


३० पुष २०७४, आईतवार
Gautam

पोखरा : राष्ट्रिय गौरवका आयोजनाले सोंचे अनुसार रफ्तार लिन नसकेको आरोप लागिरहेका बेला भैरहवास्थित गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले आशा जगाएको छ ।Gautam

पटक–पटकको आन्दोलन र अवरोधले निर्माण कार्य पछि धकेलिंदै आएको आयोजनाले अहिले गति लिएको छ । अहिले आयोजनाले नेपाली ठेकेदारलाई विदा गरिसकेको छ । गएको गत वर्ष मधेस आन्दोलन, नाकाबन्दी, आयोजना र ठेकेदार कम्पनीबीचको विवादका कारण देखिएको अवरोध अहिले पूर्णरुपमा हटेको छ । जसका कारण निर्माणले गति लिने अपेक्षा गरिएको छ ।

अब चिनियाँ कम्पनी एक्लैले जनशक्ति थपेर कामलाई तीव्रता दिने बताएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाले २०७१ माघ १ गते गरेका थिए । तीन वर्ष अर्थात २०७४ पुस मसान्तभित्र निर्माण कार्य सम्पन्न भइसक्नु पर्ने गरी आयोजना र ठेकेदार कम्पनीबीच सम्झौता भए पनि विभिन्न अवरोधका कारण अहिलेसम्म समग्रमा ३५ प्रतिशत मात्रै काम सम्पन्न भएको आयोजनाका प्रमुख इन्जिनियर ओम शर्माले जानकारी दिएका छन् ।

विमानस्थलको निर्माण कार्यले अहिले सन्तोषजनक गति लिएका कारण आगामी एक वर्षभित्र आयोजनाको सबै काम पूरा हुने उनले बताएका छन् । ‘निर्माणाधीन विमानस्थलभित्रको सबैजसो अप्ठेरा कामहरु सकिएको छ, त्यसैले अबको एक वर्षभित्र विमानस्थलको काम सकिने शर्मा बताउँछन् ।

निर्माण कार्यअन्र्तगत अहिलेसम्म प्रशासनिक भवन, इलेक्ट्रिक सवस्टेशन, सुरक्षा भवनको ‘फिनिसिङ’ बाहेकको निर्माण कार्य सकिएको छ भने अन्तर्राष्ट्रिय टर्मिनल भवनको पहिलो तल्लाको काम लगभग सकिएको छ । टर्मिनल भवनको पहिलो तल्लाको ढलान एक महिनाभित्र सकिने आयोजना प्रमुख शर्माले जानकारी दिए । अहिले ३ किलोमिटर लम्बाइ रहेको धावन मार्गको निर्माण कार्यअन्तर्गत सव बेस लेयर हाल्ने काम शुरु भएको छ । धावन मार्गको ३५ प्रतिशतभन्दा बढी काम सकिएको छ भने माटो फिलिङसहित दुई फुट बाक्लो प्रि–सव बेसको काम सम्पन्न भएको छ । अब वेस र पीचको काम मात्रै बाँकी छ । शाक्यका अनुसार विमानस्थल निर्माणमा अहिले एक सय ५० देखि २ सय जना दक्ष जनशक्तिले काम गरिरहेका छन् । विमानस्थल निर्माण कार्यअन्र्तगत अहिले निर्माण भइरहेको धावन मार्ग १ दशमलव २५ मिटर उचाइ, ३ हजार मिटर लम्बाइ तथा ७० मिटर चौडाइको हुनेछ । चौडाइतर्फ दुबै किनारमा १५÷१५ मिटर छाडिने छ । तीन हजार मिटर लामो धावन मार्गको दुवैतिर ३ सय–३ सय मिटर विमान सुरक्षाका लागि रन वे एण्ड सेफ्टी एरिया (रेसा) निर्माणको पनि काम भइरहेको छ । जुन काठमाण्डौंमा अहिले आएर मात्रै बनाइँदैछ ।

स्तरोन्नतिपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डाँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बलियो विकल्पको रुपमा प्रयोग गरिने आयोजनाको दावी छ । अहिलेको विमानस्थलको धावन मार्ग १ हजार ५ सय २४ मिटर लामो र ३० मिटर चौडा छ । आयोजना निर्देशक शर्माका अनुसार अहिलेको गौतमबुद्ध विमानस्थलमा एटिआर, बीचक्राफ्ट जस्ता साना हवाईजहाजहरुका लागि हो भने स्तरोन्नति पछि बोइङ्ग, एयरबस जस्ता ठूला विमानहरुलाई पनि काठमाण्डौँको विकल्पको रुपमा भैरहवा उतार्न सकिने छ । यस्तै अग्नि नियन्त्रण कक्षको पहिलो तल्लाको काम पनि भइरहेको छ । आठ तल्ला अग्लो कन्ट्रोल टावरको काम पनि तीव्र गतिका साथ भइरहेको र वैशाखभित्र यी सबै भौतिक संरचनाको काम ५० प्रतिशतभन्दा बढी सकिसक्ने इन्जिनियर विजय शाक्यले बताएका छन् ।

दक्षिण एशियाकै पर्यटन प्रवद्र्धनका लागि भौतिक पूर्वाधार आयोजनाअन्तर्गत एशियाली विकास बैंकको अनुदान तथा कर्जामा गौतमबुद्ध विमानस्थलको स्तरोन्नति गर्न नेपाल सरकारले चिनिया कम्पनी नर्थवेस्ट सिभिल एभिएशन विमानस्थल निर्माण समूहलाई ग्लोबल टेण्डरमार्फत ठेक्का दिएको हो । मूल्य अभिवृद्धि करसहित कूल करार मूल्य ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २८ रुपैयाँ रहेकामा एशियाली विकास बैंकको १८ प्रतिशत अनुदान तथा ४० दशमलव ५ प्रतिशत कर्जा रहेको छ । त्यस्तै अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोषबाट प्राप्त ३० दशमलव ५ प्रतिशत कर्जा र नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानीबाट विमानस्थल निर्माण हुँदैछ । ११ हजार रोपनीमा निर्माण भइरहेको यो विमानस्थलको सम्पूर्ण निर्माण कार्य आगामी एक वर्षभित्र पूरा गर्ने गरी काम भइरहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७