के हो किरात येले संवत्, किन मनाइन्छ ?


३० पुष २०७४, आईतवार
गणेश राई
  • गणेश राई

‘जित र हारको घामछायाँ भएर अगाडि बढ्ने इतिहासमा जित्नेको इतिहास स्वर्णाक्षरले लेख्ने र हार्नेको इतिहास चपरीमुनि पुर्ने सामान्य नियत हो । यसो भनेर किरातकालीन इतिहास, सभ्यता र त्यसैसँग सम्बन्धित किरात येले संवतलाई इतिहास जनित प्रमाणको कसीमा नघोट्नु अथवा अपुष्ट प्रमाणको आधारमा मात्र त्यसलाई मानक मापन गर्नु क्षम्य हुनेछैन ।

यसर्थ किरात इतिहासलाई सही प्रमाणको आधारमा प्रामाणिकता प्रदान गरी अगाडि बढ्नु नेपाली सभ्यता र नेपाली अस्तित्वको अविच्छिन्नताको लयलाई कायम गरी घनिभूत बनाउने सम्यक कर्म हो ।’ किरात येले संवत् अभिलेख ९२०१००मा उल्लेख छ । किराती समाजमा माघ १ गते किरात येले संवत् नयाँ वर्षका रुपमा मनाइन्छ । तर, देश–विदेशबाट व्यक्त शुभकामना ९२०७३ माघ १० एकातर्फ कलिगत आधारमा ५०७७ र अर्कोतर्फ ३७९६ उल्लेख गरेको पाइन्छ । किरात धर्मअन्तर्गत सत्यहाङ्मा पन्थ मान्नेहरुले किरात येले संवत् ५०७८ मनाउँदै आएका छन् । उनीहरुले चैत १ गतेलाई नयाँ वर्ष मनाउने गर्दछन् । बहुभाषिक किरात समाजमा यो संवत्‌लाई येले तङ्बे, येले दोङ, येले थोचे भनेर बुझ्दछन् । प्रत्यक्षरूपमा तीनखाले संवत् प्रयोगले समाजमा अन्योल सिर्जना गरेको देखिन्छ ।

Paruhang

राजनीतिक इतिहासमा उल्लेख वल्लोकिरात, माझकिरात र पल्लोकिरातमा यो संवत् प्रचलनमा छ । लिम्बुवान, खम्बुवान, याक्खावान र कोइँचवानका किरातीले इतिहासमा उल्लेख प्रथम किरात हाङ (राजा) यलम्बरको नाममा प्रचलनमा ल्याएको संवत् हो । समुदायमा बहुसंख्यकले कलिगत आधारित ५०७६ चलनचल्तीमा ल्याएको पाइन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा मुन्धुमविद् बैरागी काइँलाको संयोजकत्वमा गठित किरात येले संवत् अध्ययन समन्वय समिति र किरात समन्वय समितिको आयोजनामा २०६६ कात्तिक २८–२९ गते राजधानी काठमाडौंमा सम्पन्न ‘किरात येले संवत् अन्तर्राष्ट्रिय विशेष विचार गोष्ठी’ले प्रामाणिक आधारमा संवत् घट्न गएको निष्कर्ष दियो । प्राध्यापक डा। जगदीशचन्द्र रेग्मीलगायत इतिहासविद्ले किरात येले संवत्‌लाई ‘स्मारक संवत्’का रूपमा मान्न सकिने र हाङ यलम्बरको शासनकाल गणनाले ३७९६ मात्र हुनसक्ने तथ्य सार्वजनिक गरे । उक्त निष्कर्षप्रति इतिहास तथा संस्कृतिविद् मञ्जुल याक्थुम्बा, किरात इतिहासकार दुर्गाहाङ याक्खाराई लगायतले मतैक्यता प्रकट गरेका थिए । त्यसयता ‘किरात येले संवत्’मा मत बाझिन पुगेको हो ।

गणेश राई
लेखक

समाजमा एकखाले सदस्यहरू ‘दुई हजार वर्ष’ घटन गएप्रति विनातर्क अस्वीकार गर्दैआएका छन् । अर्काखाले सदस्यहरू ‘प्रमाणको आधारमा मात्र येले संवत् मान्नुपर्छ’ भनेर इतिहासको कसीमा घोट्न चाहिरहेका छन् । यद्यपि किरात येले संवत् किरातीको साझा संवत् हो र यसलाई राष्ट्रिय संवत्‌को रुपमा संविधानमै उल्लेख हुनुपर्छ भन्नेमा एकमत छन् । संविधानतस् संघीय प्रदेश नं।१ मा यो संवत्‌ले महत्व राख्दछ ।

चार किरात संस्था किरात सुनुवार सेवा समाज, किरात याक्खा छुम्मा, किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खाले आफ्नो वार्षिक भित्तेपात्रोमा उल्लेख गर्दैआएका छन् । आफ्ना प्रकाशनहरूदेखि समाधिमा समेत उल्लेख गर्ने गरेको पाइन्छ । ‘विश्वव्यापीकरणको कुरासँगै त्यसले मिचेर निल्न लागेको हाम्रो पहिचान जोगाउनु पर्ने कामहरू, आफ्नो जडको खोजी गर्ने कुराहरू पनि आए,’ क्वाँटी राष्ट्रियताले देशमा विद्वेष बढेको उल्लेख गर्दै बैरागी काइँला भन्छन्, ‘नयाँ आधुनिक राष्ट्र निर्माणको आधार सबै पात्र, वस्तु, अस्त्र, शस्त्र जे छन् तिनलाई अलगअलग राखेर एकताबद्ध गरेर अगाडि बढ्ने हो । जसरी पाँच धातुको औंठी लगाउँदा सबै धातु अलगअलग चिन्छौं तर औंठी एउटै हुन्छ । जुन औंठी लगाएर हामीले आइपर्ने विपद्हरूलाई टार्न सक्छौं ।’

समुदायमा किरात येले संवत् पालना गर्ने उत्सुकता, जागरुकता बढेको छ । ‘धेरै कुरा यस्ता हुँदारहेछन्, जसलाई ऐतिहासिकताको कुनै तिथि, मिति, तथ्यको आधारविना पनि कतिपय कुराहरू सुरु हुँदारहेछन्,’ काइँलाको अभिमत छ, ‘पछि गएर ती स्थापित पनि हुँदारहेछन् । कतिचाहिँ तथ्यको अभावमा फेरि विस्थापित पनि हुँदारहेछन् । यो संवत् पहिचानको विषय भएकाले नेपालको संस्कृतिहरूको समग्रता निर्माणका लागि ठूलो र ज्यादै महत्वपूर्ण अंग भएकाले संवत्‌लाई अनदेखी गर्नु हुँदैन । तथ्यलाई कसैले अस्वीकार गर्नु हुँदैन ।’

संवत्‌बारे समाज तीनधारमा उभिएपछि याक्थुङ चुम्लुङले यही २०७३ पुस २६ गते सुनसरीको धरानमा सार्वजनिक अन्तक्रिया आयोजना गरेको चुम्लुङका महासचिव प्रेम यक्तेन लिम्बूले बताए । ‘संस्थागत निर्णय पुरानै कायम छ,’ पहिलो पटक सार्वजनिक बहस सुरु गरेको उल्लेख गर्दै महासचिव लिम्बूले भने, ‘किरात येले संवत् ५०७७ को आधार केके हुन् र नयाँ अध्ययनले देखाएको ३७९६ कसरी भयो रु भन्नेबारे सार्वजनिक बहस थालेका छौं ।’ त्यस्तै, यायोक्खाले पनि पुरानै संवत्‌लाई निरन्तरता दिन देश–विदेशका संगठनहरूलाई परिपत्र गरेको महासचिव जीवन हाताचो राईले बताए । ‘यायोक्खाको आठौं राष्ट्रिय सम्मेलनले ५०७७ लाई अनुमोदन गरेको छ,’ उनले भने, ‘संवत् प्रमाणिकरण खोजी अनुसन्धानको विषय हो । यो जारी हुनुपर्छ ।’

इतिहासविद् रेग्मीले गोपाल राजवंशावली उद्धृत गर्दै नेपालको प्राचीनकालमा ३२ पुस्ता किरात राजाहरूले १९०३ वर्ष ८ महिना शासनकाल रहेको उल्लेख गरेको छन् । ‘त्यसलाई इतिहासको कालगणनामा जोड्नु पर्दा राजा जय वर्माको मालिगाउँमा पाइएको सालिकको संवत् १०७ अथवा ई। १८५ लाई मिलनविन्दु मान्नुपर्ने हुन्छ,’ २०६६ सालमा प्रकाशित अभिलेखमा किरात शासनको काल निर्णयबारे भनेका छन्, ‘उक्त ई. १८५ लाई किरात राजाहरुको शासनको अन्त्यको विन्दु मानेर त्यसमा किरात राजाहरुको ज्ञान शासन वर्ष १९०३ वर्ष ८ महिना जोड्दा ई। सन् पूर्व १७१८ वर्ष ८ महिना ई.पू.का मितिमा पुगिन्छ ।

यस हिसाबले ईस्वी पूर्व १७१८।८ मा पहिला नेपाली किरात राजा एलम्को शासन सुरु भएको मान्नु पर्दछ । त्यही मितिलाई नेपाली किरातराजवंशका पहिला राजा एलम्को शासन आरम्भ भएको मान्नु परेको छ । यो गणनाअनुसार हाल सन् २००९ मा नेपालमा किरात शासन भएको ३७२७ वर्ष ८ महिना भएको बुझ्नु पर्ने भएको छ । गोपालराजवंशावलीको यही गणनामा आधारित भएर किरात येले संवत्‌को मिलान गर्नुपर्ने हुन्छ ।’ यो संवत्‌लाई जातित्वको आत्मगौरव, विश्वास तथा पुर्ख्यौली श्रद्धाकासाथ परिकल्पना गरिएको ‘किरात येले संवत्’ स्मारक संवत्का रूपमा लिनसकिने रेग्मीको मत छ ।

मुलुकमा सम्पर्क संवत्‌का रूपमा विक्रम संवत् र ईस्वी संवत् रहेका छन् भने नेपाल संवत्, ल्होछाररल्हो संवत्, बुद्ध संवत्, हिजरी संवत्, शक संवत् समेत प्रचलनमा छन् । मुलुकमा चलाइएका यी संवत्‌हरूका बारेमा प्राज्ञिक बहस जरुरी छ । समुदायबाट उठेका आवाजलाई परिस्थिति अनुकूल राज्यले यहाँ उल्लेखित संवत्‌लाई संघ वा प्रदेशको संवत्‌का रुपमा मान्यता दिलाउन सक्नुपर्छ ।

-कान्तिपुरबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७