सरकारी जग्गा ‘हडप्दा’ पनि नगरपालिकाको रहस्मय मौनता


१ माघ २०७४, सोमबार
lalitpur godawari nagarpalika Crasar khani

ललितपुर : ललितपुरको दक्षिणी भेगमा मापदण्ड विपरीत करीब ५२ वटा क्रसर सञ्चालनको अनुमति दिएको रहस्य नयाँपेज डटकमले खुलासा गरेपछि गोदावरी नगरपालिकाले बोर्ड बैठक नै राखेर एक दैनिकमा खण्डन गरेको छ ।

खानी विभागसँग समन्वय गरेर मात्र खानी सञ्चालन गर्न दिनुपर्ने कानुनी ब्यवस्था छ । तर, गोदावरी नगरपालिकाले खानी विभागसँग समन्वय नै नगरी उद्योग सञ्चालनको अनुमति दिएको छ । खानी विभागसँगै समन्वय नगरी गोदावरी नगरपालिकाले आर्थिक प्रलोभनमा परेर विभिन्न मितिमा आफूखुशी खानी सञ्चालनको अनुमति दिएको समाचार प्रकाशित भएपछि नगरपालिकाले अमूर्तशैलीमा खण्डन गरेको छ ।

 

lalitpur godawari nagarpalika Crasar khani
खण्डनमा जमिन सम्याई कृषियोग्य बनाउन नगरपालिकाले राजश्व लिई खानी सञ्चालनको अनुमति दिएको उल्लेख छ । संसदको प्राकृतिक समितिले ६ वर्षअघि अध्ययन गरी नल्लु क्षेत्रको ढुङ्गा खानी बन्द गर्न निर्देशन दिएको थियो । तर, गोदावरी नगरपालिकाले प्राकृतिक र वातावरणीय प्रभावको मूल्याङ्कन नै नगरी खानी सञ्चालन अनुमति दिएको छ ।

मापदण्ड विपरीत खानी सञ्चालन गर्न स्वीकृति दिएकोबारे समाचार आएपछि नगरपालिकाले बोर्ड बैठक राखेर घटनाको ढाकछोप गर्न खोजे पनि थप तथ्य खुलेको छ । गोदावरी नगरपालिकाका एक सदस्यका अनुसार नगरपालिकाका प्रमुखदेखि वडाध्यक्षसम्मको क्रसर र खानीमा लगानी छ । वडा नम्बर–८ का वडाध्यक्ष सुकबहादुर लामा, ६ का बिष्णुमान महर्जन, ३ का मिलन सिलवाललगायतमध्ये कसैको क्रसर छ उद्योग छन् भने कसैको ट्रिपरहरु छन् । अरु वडाध्यक्षहरु कोही प्रत्यक्ष क्रसर उद्योगसँग जोडिएका छन् भने कसैको साझेदारी छ । एकाध वडाध्यक्ष्  बाहेक अरु सबै क्रसर, खानी र ट्रिफरसँग जोडिएका छन् । त्यसकारण सर्वसम्मतिले खानी र क्रसर सञ्चालनको अनुमति दिइएको हो ।

नगरपालिकाको वडा नम्बर–८ डुकुछापका वडाध्यक्ष सुकबहादुर लामाले सयौं रोपनी सरकारी जग्गा अतिक्रमण गरी गाईपालन गरेका छन् । सरकारी जग्गा अतिक्रमण गरी गाईपालन गर्दा पनि नगरपालिकाले हटाउन सकेको छैन । वडाध्यक्षले नै सरकारी जग्गा अतिक्रमण गर्दा पनि नगरपालिका मौन देखिएको छ । मापदण्ड विपरीत खानी सञ्चालनका लागि नगर प्रमुखदेखि नगरपालिकाका प्रशासकीय अधिकृत, महानगरीय प्रहरी आयुक्त, ललितपुरका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीदेखि सेटिङ मिलाएको समाचार नयाँपेजले उजागर गरेको थियो ।

 

नगरपालिकाको वडा नम्बर–८ डुकुछापका वडाध्यक्ष सुकबहादुर लामाले सयौं रोपनी सरकारी जग्गा अतिक्रमण गरी गाईपालन गरेका छन् । सरकारी जग्गा अतिक्रमण गरी गाईपालन गर्दा पनि नगरपालिकाले हटाउन सकेको छैन ।

मेयर महर्जनको सक्रियतामा घरेलु उद्योगमा नवीकरण नभएका दर्जनौं खानी र क्रसरलाई नगरपालिकाले नै पत्र दिई सञ्चालन गर्न अनुमति दिएका हुन् । गुण्डाहरुको भाग मिलाउन क्रसर व्यावसायी र मेयर महर्जनका कार्यकर्ता राजभाइ देसार, अमन महर्जन, बाबुकाजी महर्जनलाई दुई लाख रुपैंयाँ छुट्याइएको समाचार नयाँपेजले उजागर गरेको थियो । क्रसर व्यावसायी संघका अध्यक्ष सुदर्शन विष्ट, क्रसर व्यावसायी प्रकाश डोटेल र वडाध्यक्ष तथा क्रसर व्यावसायी विष्णुमान महर्जनले सेटिङ मिलाएको समाचार स्रोतले बताएको छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अगाडि चापागाउँ प्रहरी वृत्तका डिएसपी आभूषण तिमल्सिनाले गैरकानुनी रूपमा खानी, क्रसर, जग्गा प्लटिङमा रोक लगाएका थिए ।

६ बर्षअघि संसदको प्राकृतिक स्रोत तथा साधन समितिले लेले–नल्लु क्षेत्रको ढुङ्गा खानी बन्द गर्न निर्देशन दिएको तर, अहिले सञ्चालनमा रहेको छ । जुन कुरा नगरपालिकाले नयाँपेजले प्रकाशित गरेको समाचारपछि नगरका अध्यक्ष उपाध्यक्ष, वडा अध्यक्षहरु र नगर अधिकृत टेकराज पन्थीसहितले निकालेको विज्ञप्तीमा पनि घुमाउरो रुपमा स्वीकार गरिएको छ । यस विषयमा नगरपालिका कार्यकारी अधिकृत टेकराज पन्थीले नयाँपेजलाई भने नगरपालिकाले नल्नु क्षेत्रमा ढुङ्गा खानी सञ्चालनको अनुमति नदिइएको बताए । यस्तै उनले वडा नम्बर–८ डुकुछापका वडाध्यक्ष सुकबहादुर लामाले १ सय रोपनी भन्दा बढी जग्गा अतिक्रमण गरी गरेको विषयमा थाहा नभएको प्रतिक्रिया दिए । उनले भने–‘यस विषयमा हामीलाई जानकारी छैन्, अब बुझने छौं ।’ वडाअध्यक्ष लामाले १ सय रोपनी जग्गामा गाईपालन गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७