स्वभाव, शैली, अभिरुची र सपना बारे माधव नेपाललाई ५० प्रश्न


२ माघ २०७४, मंगलवार
Madav Kumar Nepal

नेपालमा प्रजातन्त्र स्थापना भएयता एमाले नेता माधवकुमार नेपाल राजनीतिको केन्द्र भागमा छन् । हस्तक्षेपकारी भूमिका छ, उनको । पूर्वप्रधानमन्त्री नेपालले एमालेभित्रको समीकरणमा पनि किनारामा बस्नुपरेको छैन । ‘सधैं सक्रिय’ नेताका रूपमा परिचय बनाएका नेता नेपाल समयसँगै सधैं ‘अपडेट’ रहन्छन् । उनी समयको असाध्यै ख्याल गर्छन् । सबै विषय र घटनालाई मसिनो गरी केलाएर हेर्छन्, प्रतिक्रिया दिन्छन् । नेपाली, हिन्दी, मैथिली र अंग्रेजी भाषामा राम्रो दख्खल छ, उनको ।  अन्तर्वार्ताका लागि उनकै निवास कोटेश्वर पुग्दा उनी कार्यकर्तासँग भेटघाटमा व्यस्त थिए । हामीलाई दिएको समय हुनासाथ हामीलाई कुराकानीका लागि बोलाए । निकै हँसिलो मुद्रामा प्रस्तुत नेपाल आफ्नो व्यक्तिगत स्वभाव, शैली, रुचि र सपनाबारे राजेश राईसँग यसरी खुले :

Madav Kumar Nepal 11024x512

१) तपाईं कस्तो परिवारमा जन्मनु भयो ?
– हाम्रो परिवार सुरुमा मध्यमवर्गीय हो । त्यसपछि निम्नमध्यमवर्गीय भयो । ठूलो परिवार भएकाले सुरुमा मध्यमवर्गीय परिवारबाट आइयो । अझ भन्ने हो भने उच्चवर्गबाटै आइयो । हाम्रो हजुरबुवाहरू त्यस्तो किसिमको हुनुहुन्थ्यो । पछि बुवाको पालामा आएर हामी निम्नमध्यम वर्गीय भयौँ ।

२) बाल्यकाल कहाँ, कसरी बित्यो ?
– मेरो बाल्यकाल रौतहट जिल्लाको गौरमा बित्यो ।

३) राजनीतितिर हजुरलाई केले आकर्षित गर्यो ?
– राजनीतिमा समाजका विकृति, विसंगति, जनतामाथिका छुवाछूत र भेदभाव, जनतामाथिका शोषण र दमनले मलाई राजनीतितर्फ आकर्षित गर्यो । बिस्तारै प्रगतिशील पुस्तक, क्रान्तिकारी सिनेमा, माक्र्सवादी पुस्तक अध्ययन गर्दै जानेक्रमममा मलाई कम्युनिस्ट पार्टीतर्फ ढकेल्दै, तान्दै लग्यो ।

४) नेताभन्दा अरू केही हुने रहर थियो कि ?
– बाल्यकालमा यस्तै बन्छु भन्ने त्यस्तो ठोस रहर केही थिएन । बैंकमा काम गरेँ । पछि समयले राजनीतिमा ल्यायो ।

५) आफ्नै नजरमा माधव नेपाल को हो ?
आफ्नै नजरमा माधव नेपाल राष्ट्र र जनताप्रति समर्पित भएको एउटा मानिस हो ।

६) मानिसले तपाईंलाई कसरी चिनोस्जस्तो लाग्छ ?
मानिसले मलाई असल मानिसका रूपमा, दयालु हृदय भएको मानिसका रूपमा चिनून् भन्ने चाहन्छु । अडानमा दह्रो, व्यवहारमा लचिलो त्यस्तो मानिसका रूपमा चिनियोस्जस्तो लाग्छ ।

७) आफ्ना सवल पक्ष के–के ठान्नुहुन्छ ?
–मेरा सवल पक्ष म बढी संवेदनशील छु । (लामो हाँसो) । अब यसलाई सवल पक्ष भन्ने कि दुर्बल पक्ष ? मानिसका समस्या र पीडाले तान्छ । तर, मचाहिँ मूल अडानबाट कहिल्यै पनि विचलित हुन चाहन्न । राष्ट्रहितमाथि कुठाराघात हुन दिन्न र कसैले हल्ला गरेको भरमा कहीँ चल्न चाहन्न । म हल्लाबाट प्रभावित भएर चल्ने मानिसचाहिँ होइन ।

८) अनि कमजोर पक्षचाहिँ नि ?
– लचिलोको नाममा चाहिँ बदमासी गर्ने मानिसलाई पनि छिटो माफ गरिदिने बानी ।

९) कसैलाई हेर्ने धारण कसरी बनाउनुहुन्छ ?
– उसको काम, दृष्टिकोण, व्यवहारका आधारमा ।

१०) तपार्इंको आफ्नो स्वाभाव निर्माणमा कुन–कुन पक्ष हाबी छन् ?
– मेरो व्यक्तित्वमा मेरो परिवारको बुवा र आमाको ठूलो भूमिका छ । सामाजिक परिवेशको छ । केही मूल्य र मान्यतामा म दृढतासाथ उभिन चाहन्छु । म दुनियाँसँगै बगेर जान चाहन्न । आफूलाई ठीक लागेको कुरामा दृढतासाथ चट्टानझैँ उभिन चाहन्छु ।

(११) तपाईंलाई कति खेर रिस उठ्छ ?
– मलाई रिस उठ्ने भनेको जब ममाथि व्यक्तिगत रूपमा आइलाग्छ भने मलाई पनि रिस उठ्छ । त्यसबाहेक अरू कुराले मलाई त्यति प्रभाव पार्दैन । अर्को कुरा भनेको गरिबमाथि अन्याय हुन्छ, निर्धामाथि अत्याचार हुन्छ भने त्यतिबेला पनि म सहन सक्तिनँ ।

१२) अनि कतिखेर भावुक हुनहुन्छ ?
– मलाई मानिसको दुःख र पीडाले, कसैगरी धोका र बेइमानी भोग्नुपर्यो भने त्यस्ता कुराले भावुक अवश्य बनाउँछ ।

१३) कस्तो परिस्थितिले हजुरलाई उत्तेजित बनाउँछ ?
– सीमा नाघेर कसैले निजी जीवनमा प्रहार गर्छ भने म सहन सक्तिनँ ।

१४) तपाईं आफैँ कति संयमित हुनुहुन्छ ?
– आम रूपमा म संयमित नै छु ।

१५) तपाईंको खुसीको स्रोतचाहिँ के हो ?
– जब खुसीका खबर, खुसीका समाचार अनि जब राम्रा कुरा हुन्छन् त्यतिबेला म खुसी हुन्छु ।

१६) माधव नेपालको दुःख के हो ?
– निजी रूपमा मेरा आफ्ना दुःख केही पनि छैनन् ।

१७) अनि सुखचाहिँ नि ?
– सुख भनेको राजनीतिक उपलब्धि हुन थाल्यो भने, समाजको उन्नति हुन थाल्यो भने, दुःखी मानिसको अनुहारमा उज्यालो देखिन थाल्यो भने, मैले सहयोग गरेका मानिसले तरक्की गर्न थाले भने म खुसी हुन्छु ।

Madhav kumar nepal
१८) तपाईंको जीवनको सबैभन्दा दुःखद क्षण कुन थियो ?
– मेरो जीवनको सबैभन्दा दुःखद क्षण भनेको आफन्त र प्रियजनको निधनमै हुन्छ । जननेता मदन भण्डारीको दुःखद निधनको क्षण असाध्यै दुःखको क्षण थियो । मेरो आमाबुवाको निधनको खबरले मलाई दुःखी बनायो । मेरी बहिनीलाई क्यान्सर भएको खबरले बढ्दा दुःखित बनायो । अझै धेरै वर्ष बाँच्न सक्ने मानिस यस्तो कुनै विपत्तिमा पर्यो भने मलाई दुःख लाग्छ ।

१९) तपाईंको सबैभन्दा सुखको क्षणचाहिँ कुन हो ? जीवनको ?
– सुखको होइन, आनन्दको क्षण भनौं न । यस्तो क्षणचाहिँ जब ०४६ सालमा….. आनन्दका धेरै क्षण आए ….. केन्द्रको स्थापना गर्न सकियो, नेकपा मालेको स्थापना गर्न सकियो । माक्र्सवादीलाई मिलाएर नेकपा एमाले बनाउन सकियो । पार्टी एकता गर्न सकियो । ०४६ सालको आन्दोलनलाई सफलताको बिन्दुमा पुर्याउन सकियो ।  ०६२/०६३ सालको जनक्रान्तिलाई सफलताको बिन्दुमा, अनेक बाधाव्यवधानका बाबजुद पनि चुनौतीको स्वीकार गरेर भए पनि त्यसलाई सफलताको बिन्दुमा पुर्याउन सकियो । त्यसपछि राजतन्त्रलाई ढालेर गणतन्त्र स्थापना गर्न सकियो र ०६७ सालको संविधान बनाउने जिम्मेवारी पाएर त्यसलाई कुशलतापूर्वक सम्पन्न गर्न सकियो । अनि पछिल्लो अवधिमा प्रधानमन्त्री बन्ने मौका पाएँ । संविधानसभाको सदस्य बन्ने मौका पाएँ, त्यसपछि यता के लाग्यो भने मानिसको योगदानको कदर गर्ने मानिस हुन्छन् भन्ने लाग्यो ।

२०) तपार्इंको जीवनको सबैभन्दा अप्ठेरो मोड कुन थियो ?
– जीवनको अत्यन्तै अप्ठेरो मोड भनेको ….. मलाई सबैभन्दा गाह्रो अवधि भनेको जब मैले आफ्नो सार्वजनिक जीवन परित्याग गरेर भूमिगत जानुपर्यो, मेरो सबैभन्दा अप्ठेरो कुरा थियो त्यो, के गरौँ कसो गरौँ … बुवाआमाको जेठो छोरा पारिवारिक दायित्व थियो । घर फर्कौं त राष्ट्रको निम्ति, जनताका निम्ति आफ्नो जीवन समर्पित गर्नुपर्ने, यो चीजले मलाई धेरै दिनसम्म द्वन्द्व र अन्योलमा मलाई पुर्याएको हो ।

२१) अहिलेसम्म गर्नुभएको सही निर्णय कुन जस्तो लाग्छ ?
– एमालेको नौमहिने सरकारको समयमा वृद्ध भत्ता व्यवस्था, आफ्नो गाउँ आफैँ बनाऔँ, ‘नौ स’ का अभियानजस्ता कार्यक्रम ल्याएर कमसेकम नेकपा एमालेको प्रतिष्ठा राख्ने काम गरियो । त्यो सही निर्णय थियो ।
म आफैँ प्रधानमन्त्री भएका बेलामा पनि सडकका गुणस्तर, फास्ट ट्रयाकका कुरा, दूरगामी महत्वका वृद्धाआवास कार्यक्रमदेखि लिएर यस्ता कार्यक्रमको तर्जुमा गरिने काम, त्यसैगरी अपांगता भएकाका लागि, बालबालिकाका लागि, महिला हिंसाविरुद्धमा महिलाका लागि गरिएका काम सही निर्णयजस्तो लाग्छ ।

२२) गलत निर्णयचाहिँ ?
– गलत निर्णय नै चाहिँ नभनिहालूँ । त्यो समयको बाध्यताजस्तै थियो । राजालाई दाम चढाएको विषयमा चाहिँ निकै टिकाटिप्पणी भयो । तर परिस्थिति, परिवेश र परिबन्धलाई हेर्दाखेरि त्यो बाध्यता थियो । लोक भनेको हाम्रो सोचका आधारमा मात्रै चल्दैन ।

२३) हजुरलाई एकदम पछुतो लागेको क्षण छ, कुनै त्यस्तो ?
– मानिसलाई चिन्ने कुरामा घरिघरि गल्ती भएको छ ।

२४) जिन्दगीको कुन क्षणमा रुनुभयो ?
– त्यतिधेरै रोएकै भनेको त धेरै छैन, तर स्तब्ध भएको क्षण भने छ । हाम्रै पार्टीका नेता सीपी मैनाली केन्द्रीय कमिटी बैठकमा जाँदाखेरी भीरबाट खस्नुभयो । म रुने क्षणमै पुगेको हुँ । दोस्रो स्तब्ध नै बनाएको मदन भण्डारीको निधनका बेला, तेस्रो मेरी बहिनीलाई क्यान्सर भएको खबरले मलाई धेरै भावुक बनायो ।

२५) हजुर अन्तिमपटक कहिले रुनुभएको थियो र किन ?
– अन्तिम फिल्म हेरेर रोएँ कि ! म कुनै फिलिम सिरियल हेर्दाखेरि, त्यस्तै घटनाक्रम आउँदाखेरि मलाई छोइहाल्छ ।

२६) हजुरलाई कस्तो मानिस मन पर्छ ?
– मलाई बडो दृढसंकल्प भएको, मानव जातिलाई माया गर्ने, सेवा गर्ने भावना बोकेको, देशभक्तिको भावनाले ओतप्रोत भएको र अरूको सेवा गर्ने भावनाबाट अभिप्रेरित भएको मानिस मलाई मनपर्छ ।

२७) कस्तो मानिसचाहिँ मन पर्दैन ?
– अत्यन्तै कपटी । जनताको परपीडक । अत्याचारी । त्योचाहिँ बलात्कारी, शोषक, सामन्तलाई चाहिँ घृणा गर्छु ।

२८) यदि अहिलेसम्म बाँच्नुु भएको जीवनको कुनै अध्याय डिलेट गर्ने मौका मिल्यो भने कुुनलाई हटाउन चाहनुहुन्छ ?
– यदि त्यस्तो भए विरोधीले उछालेका विषय राजालाई दाम चढाउने विषयलाई डिलेट गर्ने थिएँ ।

२९) अहिलेसम्म तपाईंले जसरी बाँच्नुभो, जसरी बिताउनुभयो समय र देशका लागि आफैँप्रति केही गुनासो छ कि ?
– न बिराउनु न डराउनु भन्ने मान्यता बोकेको मानिस हुँ । र त्यति सजिलै कुनै कुरामा बहकिने मानिस पनि होइन । सजिलैसँग चल्ने मानिस पनि होइन, सोचविचार गरेर, उचित–अनुचित विचार गरेर अगाडि बढ्न चाहन्छु ।

३०) समाजप्रति चाहिँ तपाईंको केही गुनासो छ कि ?
– छैन, समाजप्रति केही छैन । समाज बदलिनुपर्छ । समाज बदल्न सकिरहेका छैनौँ भन्ने कुरामा आफैँप्रति नै गुनासो छ ।

३१) फुर्सदको क्षण भयो भने कसरी सदुपयोग गर्नुहुन्छ ?
– फुर्सदको क्षणमा मचाहिँ चेस खेल्छु । रिफ्रेस हुनका लागि पनि चेस खेल्छु । अलिक समय निकाल्दाखेरि किताब पढ्ने कुरालाई बढी जोड दिन्छु ।

३२) तपाईंलाई मन पर्ने किताब कुन हो ?
– मलाई बढीजसो मनपर्ने किताब भनेको राम्रा मानिसका बायोग्राफी ।

३२) मनपर्ने लेखकचाहिँ ?
– थुप्रै छन्, लेखक महेश पाल हुन्, त्यसपछि राहुल साङ्कृत्यान, जीवनको यथार्थ बुझ्न अभिप्रेरित गर्ने, समाजलाई रूपान्तरण गर्ने दिशामा अघि बढ्नलाई मानिसलाई उत्प्रेरित गर्ने लेखक ।

३३) फिल्म कत्तिको हेर्नुहुन्छ ?
– उतिधेरै हेरिँदैन । अपवाद हो कहिलेकाहीँ, घरमा त फुर्सदै हुँदैन । बाहिर पनि त्यस्तो हुँदैन । अलिकता चाहिँ समय निकाल्नुपर्छ भन्ने लागेको छ । कोहीकोही समय खेर गएकोजस्तो पनि लाग्छ । त्यो पनि हो ।

३४) तपाईंलाई मन पर्ने कुनै फिल्म छ ?
– मैले आफ्नो जीवनमा धेरै फिल्म हेरेको मानिस हुँ । जब म आईएससीमा पढ्थेँ, त्यतिबेलासम्म मैले धेरै फिल्म हेर्थें । एसएलसी दिइसकेपछिको मेरो अवधि धेरै फिल्म हेर्ने थियो । गौरमा बस्ने मानिस, दोस्ती भन्ने फिल्मको नाउँ मलाई याद छ । कसम भन्ने फिल्मको नाउँ मलाई याद छ ।

३५) हजुरलाई मनपर्ने हिरो–हिरोइन चाहिँ को हो ?
– नेपाली फिल्म जगत्को नाउँ लिइहालौँ । यहाँ पनि छन्– राम्रा–राम्रा कलाकार । भारतीय फिल्मको कुरा गर्ने हो भने मलाई दिलिपकुमारको राम्रो लाग्ने गर्छ । त्यसैगरी, सुनील दत्तको राम्रो लाग्ने गथ्र्याे । राज कपुरको राम्रो लाग्थ्यो । अहिले आएर अमिर खानको भूमिका सामाजिक जीवनसँग जोडिएको हुनाले त्यो राम्रो लाग्छ ।

३६) गीत कत्तिको सुन्नुहुन्छ ?
म पनि मुडी मानिस हुँ । मुड चल्यो भने गीत पनि सुनिहाल्छु । कहिल्यै मन लगाएर पढेको पढ्यै गर्छु । कहिल्यै मन लाग्यो भने खेलेको खेल्यै गर्छु । कहिले मन लाग्यो भने योगा गरेको गर्यै गर्छु । हा..हा..हा.. एकचोटि मुड चल्याथ्यो ब्याडमिन्टन खेलेको खेल्यै गरिन्थ्यो । हा..हा..हा..

Madav Kumar Nepal1
३७) हजुरलाई मन पर्ने गायक–गायिका नि ?
मलाई मनपर्ने देशभक्तिपूर्ण गीत चाहे त्यो नारायण गोपालको होस्, चाहे त्यो टीका भण्डारीको होस्, आनी छोइङ डोल्माको होस् मलाई मन पर्छ । एकचोटि खासखास गीत पेनड्राइभमा लिएर सुन्ने गर्थें । मोटरमा चढ्दै सुन्दै सुन्दै जान्थेँ । यो एउटा फेज हुँदो रै’छ । यो दिमागमा फेज हुँदो रै’छ, त्यो फेज चल्यो भने सुनेर.. ।

३८) तपाईंको दिमागमा कुनै गीत छ एकदम मन परेको ?
… यो देश डुब्नै लाग्यो किनारा लगाइदेऊ । यो गीत मलाई धेरै मन परेको छ । त्यो व्यक्तिको खोजी गर्दै छु यो राष्ट्रले ।

३९) तपाईंले दोहोर्याएर पढेको कुनै पुस्तक छ ? कसैलाई सिफारिस गर्नुपर्ने भयो भने कुन पुस्तक गर्नुहुन्छ ?
वीरगन्जका एकजना राठीको किताब…. दुईचोटि चाहिँ पढेँ नै मैले …..धेरैलाई मैले त्यो किताब पनि दिएँ । एउटा मानिस विपन्न भएको अवस्थामा कसरी उद्यमी बन्छ र सम्पन्न हुन सक्छ र वास्तवमा उसले कसरी दुःख–कष्ट भोग्नुपर्छ ? समाजका अनेक प्रताडना सहेर पनि कसरी अगाडि बढ्न सकिन्छ ? भनेर एउटा ज्ञानवद्र्धक उपन्यास लेखेका छन्, उनले ।

४०) हजुरको राजनीतिमा आदर्श व्यक्ति को हो ?
– राजनीतिमा आदर्शकै कुरा गर्ने हो भने मैले खासगरीकन माक्र्सवादी नेता, स्टालिन, माओत्सेतुङ, फिडेल क्यास्त्रोलाई नै प्रेरणा मानेको छु ।

४१) नेपालमै जन्मेका नेतामध्ये तपाईंलाई मनपर्ने नेता ?
अब नेपालमै जन्मेकामध्ये मनपर्ने नेतामध्ये ज–जसले वास्तवमा देशका निम्ति योगदान पु¥याएका छन् । ती सबैप्रति मेरो आदर भाव छ । मनमोहन अधिकारी र मदन भण्डारीप्रति ज्यादा आदर छ ।

४२) हजुरलाई एकदम मनपर्ने पोसाक के हो ?
मलाई अत्यन्तै मनपर्ने पोसाक भनेको सर्टपाइन्ट हो ।

४३) मन पर्ने ठाउँ ?
मन पर्ने ठाउँ भनेको घुमिफिरीकन आफ्नै जिल्ला रौतहट गौर ।

४४) मन पर्ने खाना ?
सागभात, दालभात, तरकारी, सादा ।

४५) अहिले फर्केर हेर्दा के रहेछ जिन्दगी ?
– जिन्दगी संघर्षको अर्को नाम हो । जिन्दगी हो, हारजित चलिरहन्छ । बाधा पन्छाउँदै नदी बगिरहन्छ । हार भयो भनेर दिक्क नमान । हारपछि जित हुन्छ, हुन्छ बिहान भन्ने गीतले पनि मानिसलाई अघि बढ्न प्रेरणा दिइरहन्छ । यस्तैबाट प्रेरणा प्राप्त गर्दै म अघि बढिरहन्छु, म कहिलेकाहीँ सम्झीसम्झी गुनगुनाउँछु । साथीले कसैले धोका दियो, साथ दिएन भने पनि म हिन्दी र नेपाली गीत गाउँछु आफैँ पनि ।

हिन्दी गीत छ मलाई याद छ ……. राही मन, दुःख कि चिन्ता क्योँ सताती हे, सुख एक छाओ न थी आति हे जाती हे, दुःख तो अपना साथी हे … । दुःख भयो भने किन पीर मान्ने ? दुःखपछि फेरि सुख हुन्छ । सुखकै खोजीमा मात्र नलाग । दुःखको सामना गर । सुख त तिमीले प्राप्त गर्छौ । यसर्थ बेलाबखत गीताका केही सार ‘कर्म गर, फलको आशा नगर ।’ परिणामका निम्ति, मैले यो पाउनुपर्छ, त्यो पाउनुपर्छ भनेर परिणामका निम्ति नबढ । उद्देश्यका निम्ति, समाजका निम्ति, जनताको जीवनको सुधारका निम्ति, परिवर्तनका निम्ति लाग्नुपर्छ ।

४६) तपाईको अबको सपना के हो ?
-अहिलेको एउटै सपना छ । यो देश बनाउने, निर्माण गर्ने नेताहरू भएनन् । यो देशलाई छोटो समयमा आर्थिक विकासको लिकमा लैजानुपर्छ । मुलुकमा देखापरेका जति पनि विकृति, विसंगति छन्, यसको हल गर्नुपर्छ । र यो मुलुकलाई रूपान्तरणको दिशामा, आर्थिक विकासका दिशामा डोर्याउने काम गर्नुपर्छ । त्यसमा मेरोतर्फबाट जे गर्न सकिन्छ, सामाजिक, आर्थिक रूपान्तरणको लागि मेरो ज्ञान अनुभव, मेरो अनुभूति यी सबै चीज लगाउनुपर्छ भन्ने लाग्छ ।

४८) आममानिसले तपाईंबाट चाहिँ के सिकून् जस्तो लाग्छ ?
आम मानिसले मबाट के सिकून् भन्ने भन्दा पनि, आममानिस सबैले आफ्नो कर्तव्यको पालना गर्नुपर्छ । अधिकारका कुरा धेरै भए, अब अधिकारका निम्ति कर्तव्यको कुरा सम्झाउने अरूलाई दोषारोपण होइन आफूले के गरियो ? के गर्नुपर्ने हो, त्यो कुरा सम्झौँ भन्ने हो । यति नै भन्न चाहन्छु ।

४९) तपाईंलाई आममानिसले अब कसरी सम्झिऊन्जस्तो लाग्छ ?
आम मानिसले एउटा गतिशील मानिसका रूपमा, असल मानिसका रूपमा, एउटा इमानदार मानिसका रूपमा ठानून्, सम्झिऊन ्भन्ने लाग्छ ।

५०) मैले सोध्नुपर्ने केही छुट्यो कि ?
–अहँ ? त्यस्तो केही छुटेजस्तो लागेन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७