‘अनुहारमा धुलो छ, ऐना पुछेर हुन्छ ?’


५ माघ २०७४, शुक्रबार
हृदयेश त्रिपाठी Hridayesh Tripathi

अन्तर्वार्ता :-

लामो समय मधेसकेन्द्रित आन्दोलनको नेताको परिचय बनाएका हृदयेश त्रिपाठी यसचोटि एमालेको चिह्न सूर्यबाट जितेर संसद्मा प्रतिनिधित्व गर्दैछन् । पञ्चायतकालमै केशरजंग रायमाझी समूहबाट कम्युनिष्ट पार्टीको सदस्य बनेका र रुसमा उच्चशिक्षा हासिल गरेका हुन् । तर, ०४६ को परिवर्तनपछि गजेन्द्रनारायण सिंहले शुरु गरेको पहिचानवादी धारमा सहभागी भए । यसपालि प्रतिनिधिसभा निर्वाचनको तालिका सार्वजनिक हुँदासम्म पहिचानवादी धारकै नेताको परिचयमा थिए । अब परिचय बदलेका छन् । चुनाव चिह्न सूर्यअन्तर्गत नवलपरासी जिल्लाको निर्वाचन क्षेत्र नं. १ बाट ३८ हजार पाँच सय ९२ मतका साथ प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका हुन् । कांग्रेसका देवकरणप्रसाद कलवारलाई पाँच हजारको मतान्तरले जितेका थिए । जितेर काठमाडौं आएदेखि वामगठबन्धनलाई पार्टी एकतामा रुपान्तरण गर्ने, आफ्नो वामपन्थी छवी निर्माणका निम्ति भूमिकाको खोजी गर्ने र तद्नुकूल प्रस्तुत हुने काममा व्यस्त छन् ।

हृदयेश त्रिपाठी Hridayesh Tripathi

यसपालिको चुनावी परिणामलाई के भन्नुहुन्छ ?
– गठबन्धन निर्माण भएपछि उनीहरुलाई नीति कार्यक्रम मन पराएर कम्तीमा पाँच वर्षसम्म स्थीर सरकार चलाउने म्याण्डेटसहित मतदाताले उत्साहका साथ मत दिए । त्यसलाई स्वाभाविक रुपमा लिएको छु ।

० तर, नतिजा आएको यत्रो समय बित्दा पनि न संसद बोलाइन्छ, न अर्को सरकार बन्छ । किन होला ?
– कसैलाई दोष दिने पक्षमा छैन । संविधानकै कारण यो स्थिति आएको हो । संविधानका ती विरोधाभाषपूर्ण धारा, उपधारा र पदावलीहरु मुख्य दोषी हुन् । त्यसैमा टेकेर सबैले खेलिरहेका छन् । समस्या एकातिर छ, निकास अन्यत्रै खोजिरहेका छौँ । अनुहारमा धुलो लागेको छ, ऐना पुछिरहेका छौँ । संविधानमा कतिपय धारा एकले अर्काेलाई काटेका छन् । त्यो रहँदा यस प्रकारको जटिलता पटक–पटक आइरहन्छ । यो पहिलो होइन, दोस्रो जटिलता हो । अझै धेरै जटिलता आउँछन् । यदि बेलैमा संशोधनमार्फत् परिमार्जन नगर्ने हो वा त्यसका लागि तयार नरहने हो भने थुप्रै समस्या भोग्न बाँकी धेरै छ । त्यसप्रकारका जटिलतासँग मुकाबिला गर्न तयार भएर बस्नुपर्छ । संक्रमणकाल निर्वाचनपश्चात् अन्त्य हुनेछ भन्नेमा जनता आशावादी थिए । तर, संविधानकै कारण परिस्थिति जटिल बन्ने र निराशा बढाउने देख्दैछु । निराशाको मनोविज्ञान जनतामा बढ्ने र मुलुक दुर्घटनामा पुग्ने देख्दैछु । मुलुकलाई जोगाउने र जनतामा आशाको सञ्चार भर्ने एउटै निकास सबै राजनीतिक शक्तिहरु यो संविधानमा रहेका विरोधाभाषहरुलाई केलाएर, अन्तर्विरोधहरु हेरेर संशोधनमार्फत् परिमार्जन गर्ने हो । अन्यथा किस्ताबन्दीमा दुःख पाउँछौँ र होलसेलमा दुर्घटना हुन्छ ।

० संशोधन गरिनुपर्ने त्यस्ता धारा-उपधारा कतिवटा छन् ?
– ८८ वटा त्यस्ता धारा र उपधारा भेटेको छु, जसले हामीलाई पाइला–पाइलामा पिरोलिरहने छ । जनादेश एकातिर छ । वाम गठबन्धनको संसद, सरकार बन्न सकिरहेको छैन । प्रतिनिधिसभा–राष्ट्रियसभा गठन हुन सकेको छैन । सबैले खेल्ने ठाँउ पाएका छन् । संसदीय व्यवस्थामा संसदकै बनावट सबैभन्दा बढी महत्वपूर्ण हुन्छ, जो आत्मा हो । त्यसैमा विवाद छ । यो त ट्रेलर मात्र हो । यसैगरी अगाडि बढ्ने हो अप्ठ्याराहरु बढ्दै जान्छन् । जनमत एकातिर, घटनाक्रम अर्काेतिर हुँदै जान्छ ।

० प्रतिनिधिसभाको परिणामलाई रोकेर राख्नुको पछाडि खराब नियतले काम गरेको छ भन्ने गरिन्छ नि ?
– नीतिसँग लड्न सजिलो छ, तर नियतसँग लड्न गाह्रो छ । नीति देखिन्छ, लड्न सजिलो हुन्छ । तर, नियत आँखाले देखिँदैन । हो, नियतमै खोट देखिन्छ । नियत खराब हुनेगरी बल कसले दियो ? संविधानले नै † संविधानका प्रावधान, बनावटले नै खेल्ने ठाउँ दियो । यदि संविधानमै स्पष्ट भइदिएको भए खराब नियत भएकाहरुले खेल्ने ठाउँ पाउँदैनथे । हिजो केपी ओलीको बहिर्गमन हुँदा र प्रचण्ड सरकारमा आँउदा पनि एकप्रकारको द्विविधा थियो । एकथरिले संविधानमा अर्काे सरकार बन्ने आधार छैन भन्थे । अर्काथरि बन्न सक्छ भन्थे । अन्त्यमा केपी ओलीजीले नै राष्ट्रपतिद्वारा बाधा अड्काउ फुकाउ जारी गराएर सरकार छोड्नुभयो । सबै नेता स्वीकार गर्नुहुन्छ कि संविधानभित्र विरोधभाष र त्रुटि छन् । तर, काम अगाडि बढ्न सकेको छैन । नेपाली राजनीतिमा अर्काे खतरा के देखिरहेको छु भने, संकटकाल अहिलेलाई ट¥यो भने त्यो खतरालाई त्यहीँ छोडिदिने । समस्या जहाँको तहीँ रहने । त्यो प्रबृत्ति हावी नहोस् ।

० सरकार नछाड्ने चरित्रप्रति के भन्नुहुन्छ ?
– सत्तालिप्सा र लालच उत्कर्षमा पुगेका व्यक्तिहरु सरकारमा रहेछन् भन्ने कुरा प्रमाणित हुन्छ । सरकार कामचलाउ, चुनावसम्म गराउने काम हो । तर, पूर्णसरकारले झैँ बजेट, पूर्वसांसदहरुलाई बजेट, नियुक्तिलगायतका काम भइरहेका छन् । उसले आगामी सरकारलाई अप्ठ्यारोमा पार्न के–के गर्न सकिन्छ भनेर गरिरहेको छ । त्यो गरेर नै जाऔं भन्ने नियत रहेको बुझ्न कठिन छैन् ।

०मधेश आन्दोलनको अबको कार्यदिशा के हुन्छ ?
– राजपा र संघीय समाजवादी फोरमले दुई नम्बर प्रदेशमात्र मधेश हो भन्ने ढंगले काम–कारवाही अगाडि बढाइरहेका छन् । यही निर्वाचनमा दुई नम्बर प्रदेशमा मात्र गठबन्धन गरे । स्पष्टसाथ भनुँ, क्षेत्रीय राजनीतिले विभेदका मुद्वाहरु परिभाषित र स्थापित भए । तर, समाधान गर्न हामी तत्पर भएनौँ । ठूला राजनीतिक दलले यसलाई मधेश, जनजाति, दलित, थारु, मुस्लिमको समस्या मात्र ठाने । त्यो समुदाय पनि आन्दोलनमार्फत् हामी यो समस्याको टुंगो लगाइहाल्छौँ भनेर लाग्यो । तीन दशकदेखि हाम्रो राजनीति यसमै केन्द्रित रह्यो । मधेशको समस्या देशको समस्या बन्नु पर्दछ र त्यसलाई वाम गठबन्धनले हल गर्न सक्छ भन्ने देखेर नै मैले जोखिम उठाएँ । नेकपा (एमाले) सँग दुई बुँदे सम्झौता गरेँ । वाम गठबन्धनको एउटा अभिन्न अंग भएँ । यो एउटा प्रयोग हो । जोखिम उठाएको हुँ । सफल पनि हुनसक्छ, असफल पनि । जे भए पनि जस–अपजसको भारी मैले बोक्ने छु । उत्प्रेरकको रुपमा हाम्रो भूमिका रहन्छ भनेर मैले यो जोखिम उठाएको हुँ । वाम गठबन्धनले यी समस्यालाई हल गर्छ भन्ने मेरो विश्वास छ ।

० मधेशकेन्द्रित दलबाट यो समस्या सामाधान नहुने नै देख्नुभएको हो ?
– उनीहरु दुई नम्बर प्रदेशमा मात्र केन्द्रित रहेर आफ्नो स्पेश आफैँ खुम्च्याए । राष्ट्रिय पार्टी भनिएको छ, एउटा क्षेत्रमा सीमित रहे । थ्रेसहोल्डले प्रतिशत त तोक्यो । तीन प्रतिशत थ्रेसहोल्ड कटाएपछि राष्ट्रिय पार्टी बनिन्छ । के उनीहरु राष्ट्रिय पार्टी बने त ? क्षेत्रीय पार्टीले पनि राष्ट्रिय पार्टीको मान्यता पाए । वास्तवमा उनीहरुले पाएको राष्ट्रिय पार्टीको मान्यता कानुनी रुपमा मात्र हो ।

० लामो समय सद्भावना पार्टीमा रहेर राजनीति गर्नुभयो । संविधान संशोधनको मुद्दा हिजो निकै पेचिलो थियो । अब तिनको स्थिति के हुन्छ ?
– संविधान संशोधनमात्र होइन, सफल कार्यन्वयनको मुद्दा पनि उत्तिकै जटिल छ । संविधान संशोधनको मुद्दा मधेशी जनजातिका लागि मात्र आवश्यक होइन । अहिले जुन जटिलता देखियो, चिर्नका लागि समेत संविधान संशोधनको खाँचो छ । मेरो बुझाईमा जुन चिज जति लचिलो हुन्छ त्यति नै टिकाऊ हुन्छ । विज्ञानले पनि त्यही भन्छ, जुन पदार्थ जति लचिलो हुन्छ, त्यो भाँचिन्न । ०४७ सालको संविधान, त्यसका पात्र अर्थात् निर्माताहरु लचिलो बन्न सकेनन् । त्यसकारण त्यो भाँचिएर गयो । संविधान भनेको कुनै वेद, पुराण, कुरान वा बाइवल त होइन । तत्कालीन शक्ति सन्तुलनको दस्तावेज हो । शक्ति सन्तुलन हेर्दा कसैले स्वीकार गर्छ, कसैले अस्वीकार । प्रकट भएर आएपछि परिमार्जित गरिन्छ । हामीकहाँ त यो संविधान निर्माण गर्दा संविधानवाद्लाई पच्छाएको देखिएन । संसद्को बनावट नै अन्योलमा पर्ने स्थिति आयो । जस्तो कि, एकल संक्रमणीय निर्वाचन प्रणालीको कुरा संविधानमा कहिँ कतै छैन । भनिएको छ, प्रत्यक्ष वा समानुपातिक । एकल संक्रमण त ल्याइयो, जुन संविधानले परिकल्पना नै गरेको छैन । संविधान निर्माताहरु मौन छन् । यो द्विविधा किन ? संविधानले नचिनेको प्रणालीलाई कानुनले चिन्यो । संविधान लाचार छ किनकि संविधान निर्माताहरु लाचार छन् ।

० मधेशको मुद्दाबाट तपाईं अलग्गिनुभएको वा बाटोमात्र बदल्नु भएको ?
– विभेद, मधेशको मुद्धा सशक्त छ । यो धर्तीमा हृदयेश त्रिपाठीलाई मधेशवाद सिकाउने कोही छैन । कसैले सिकाउनु पर्दैन । मैले गरेको नयाँ प्रयोग के मात्र हो भने, मधेशको मुद्दा देशको मुद्दा बनाइनुपर्छ । तीन दशक लामो मधेश राजनीतिले मलाई के अनुभूति गरायो भने, मधेशको मुद्दा स्थापित त भयो, तर समाधान राष्ट्रिय पार्टीबिना सम्भव छैन । अहिलेको पहलकदमी त्यही हो । मुद्दाबाट म अलग्गिएको होइन । सामाधानको बाटो मात्र बदलेको हुँ । दुईवटा दलले आफूलाई प्रदेश अर्थात् क्षेत्रमा मात्र केन्द्रित गराएसँगै यिनीहरुबाट निकास सम्भव छैन भन्ने लागेको हो ।

० हिजोको कम्युनिष्ट राजनीतिबाट क्षेत्रीयतातिर खुम्चनु गलत गरिएछ भन्ने लागेको हो ?
– त्यो होइन । माक्र्सवाद–लेनिनवादले उत्पीडन, भेदभाव, शोषण जहाँ छ, त्यहाँ पुग्नुपर्दछ भन्छ । त्यो विभेदसम्म नेपाली कम्युनिष्टहरु नपुगेकै हुन् । तर, मचाहिँ पुगेँ ।
० कम्युनिष्ट आन्दोलनसँग हिजोको दिनमा तपाईंको वितृष्णाहरु के थिए र अहिले आश गर्न सक्ने ठाँउ के के हुन् ?
– माक्र्सवाद, लेनिनवादलाई नेपालमा फोटोकपी बनाइयो र धेरै अप्ठयारोमा पनि परे । अहिले भनौँ, एमाले र माओवादीबीच जुन एकीकरणको प्रक्रिया अगाडि बढिरहेको छ । उहाँहरुलाई नाम फेर्न सल्लाह दिन्छु । त्यो हिम्मत उहाँहरुले राख्नुपर्छ । सिद्धान्त र विचारबाटै हामी सबैले निर्वाचनमार्फत नै सत्तामा पुग्ने र जनताका पक्षमा काम गर्ने निश्कर्षमा पुगेका हौँ भने कम्युनिष्ट नाम राख्न कुनै जरुरी छैन । दुईजना शिखर व्यक्तिहरुले हिम्मत गर्नुभयो भने सक्नुहुन्छ । यदि त्यसो हुन सकेको खण्डमा नेपालको प्रगतिशील आन्दोलनले एउटा ठूलो फड्को मार्ने छ ।

० हिजोका तपाईंका सहयात्रीहरुले मधेश आन्दोलनलाई धोखा दिए भनिरहेको अवस्था छ । के टिप्पणी गर्नुहुन्छ ?
– उहाँहरुसँग मेरो साथ छुट्यो र धोका पाएको महसुस गर्नुभयो । उहाँहरुले मलाई कार्यकर्ता बनाएर राख्न खोज्नुभएको थियो । म उहाँहरुको कार्यकर्ता बनिरहन चाहिनँ । मधेश आन्दोलनलाई आफ्नो व्यक्तिगत सम्पत्ति ठानिरहनुभएको छ भने त्यो विश्लेषण गलत हो ।

० मधेशकेन्द्रित दलहरुलाई के भन्नुहुन्छ ?
– शुभकामना छ । दुई नम्बर प्रदेशका जनताले विश्वास गरेका छन् । त्यहाँ सरकार बनाएर जनताको विश्वासप्रति इमान्दार रहनुस् ।

० हिजो कम्युनिष्ट आन्दोलन छाडेर मधेशतिर खुम्चनुभयो । अहिले फेरि कम्युनिष्ट आन्दोलनतिरै फर्कनुभएको छ । यसरी पार्टी परिवर्तन गरिरहँदा व्यक्तिगत जीवनमा कत्तिको असर पर्दाे रहेछ ?
– उद्देश्य, गन्तव्य र लक्ष्य निर्धारित छ । कहिले पैदल, साइकल, कहिले मोटरसाइकल, कहिले कार– जहाँबाट यात्रा गरेपनि पुग्ने ठाँउ एउटै हो ।

० एमाले पार्टी प्रवेश गर्नुहुन्छ वा गर्नुहुन्न ?
– हामी एमाले पार्टी प्रवेश गरिसकेका छैनौँ । चिह्नमात्र लिएका हौँ । स्वतन्त्र राजनीतिक समूहको विस्तार भइरहेको छ । दुई नम्बर प्रदेशबाट पनि धेरै साथी यसमा समावेश हुने क्रम जारी छ ।

जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७