युद्ध साहित्यमा गोरखा सैनिकहरु


५ माघ २०७४, शुक्रबार
Govinda Raj Bhattarai

-डा. गोविन्दराज भट्टराई

हालै गणेश राईको राइफलको मुच्र्छना प्रकाशित भएको छ । यसले गोरखाली सैन्यले भोगेको हवाइकाण्डको विषयलाई आख्यानिकरण गरेको छ । उता बेलायतकै टंक वनेमको संगिनको मुच्र्छना  (कविता संग्रह) प्रकाशनमा गएको छ । यो पनि युद्ध अनुभूतिकै रचना संग्रह हो । नेपाली साहित्यमा युद्धजन्य अनुभूति लेख्ने स्रष्टाको संख्या सानो छैन । तर, तिनको केन्द्रीयतामा नेपाली योद्धा, सैन्य र खासगरी लाहुरे भएकाले नेपाली समालोचक, इतिहासकारले अझै तिनीहरूलाई बुझेका छैनन् र तिनको उल्लेख कम्ती गरेका छन् । विश्वसाहित्यमा युद्ध साहित्यको ठूलो महŒव छ । प्रथम विश्वयुद्धमा सिग्फ्रिड स्यासून, विल्फ्रेड औइनलगायतका योद्धा कवि आज संसारभरि पढिन्छन् । दोश्रो विश्वयुद्धले जन्माएका कवि स्रष्टाको संख्या सानो छैन । तर, नेपालीमा युद्ध साहित्यतर्फ अर्थात् साहित्यको एक विशेष स्वरूपतिर कसैको दृष्टि नपुगेकोले यो अझै घोर अन्धकारमा छ ।

Govinda Raj Bhattarai
सर्वप्रथम हामीले युद्ध र द्वन्द्वका कथा (गोविन्दराज भट्टराई, विष्णुबिभु घिमिरे २०६३) प्रकाशित गरेका थियौँ । त्यसपछि महेशविक्रम शाह, होमशंकर बाँस्तोला, धीरकुमार श्रेष्ठ लगायत अनेकौँ स्रष्टाले कथा लेखे, कविता आख्यानमा नेपाली द्वन्द्व र युद्धका गाथा लेखे । कति विधामा गम्भीर अध्ययन हुन पनि लाग्यो । मैले आफ्नो सुकरातको पाइलालाई पनि युद्धजन्य अभिघातको कथा भनेको छु । त्यो पल्पसा क्याफेमा पनि छ । विगतको दशकमा लेखिएको कुनै कृति बाँकी छैन जसमा युद्धलाई स्थान नहोस् ।
अहिले आएर विश्वासदीप तिगेला, गणेश राई, रक्ष राई, मिजास तेम्बे यस्ता अनेक स्रष्टाहरू उदाएका छन् जसले प्रत्यक्ष रूपले युद्ध देखे, भोगे । ती अनुभवले युद्धजन्य भयावहता लेखिरहेको छ । यो सैन्यसाहित्य अझ युद्धसाहित्य भण्डार हो । नेपालीमा यस्तो साहित्य चर्चा अध्ययन काङमाङ नरेशले युद्ध बोकेको सिताङमा गरेका छन् । यसले दुईवटा महासमरमा लडेर वीरगति प्राप्त गर्ने नेपाली योद्धाको शक्ति, सौर्य र बलीदानी गाथालाई जीवन्त पाराले प्रस्तुत गरेको छ । त्यसो त मिजास तेम्बे र काङमाङ नरेशले सम्पादन गरेको सीमाहीन विम्बहरू (२०६२) तथा ग्रीनवीचका प्रतिध्वनि (२०६७) यस्ता महŒवपूर्ण कविता कृति हुन् जसमा प्रायः सबै युवा पुस्ताका योद्धा कविहरू समाविष्ट छन् । पहिलो संग्रहमा रक्ष राई, मुलिबीर राई, कुमार इस्बो, नवराज राई, जगत नवोदित, दयाकृष्ण राई, भरतमणि चोङवाङ, टंक वनेम, आनन्द रानाहोछा राई, प्रेम रिबुसाल राई, केदार सुनुवार, विश्वासदीप तिगेला, डुगेन्द्र तामाङ्ग, काङमाङ नरेश, यादव बान्तवा, मिजास तेम्बे छन् भने दोस्रामा काङमाङ नरेश, मिजास तेम्बे र अप्जसे कान्छाद्वारा सम्पादित संग्रह ग्रिनविचका प्रतिध्वनिहरूमा हरिसिं थापा, गणेश राई, ईश्वर चाम्लिङ, भगवान चाम्लिङ, रामकृष्ण सुनुवार ‘आकला’, अप्जसे कान्छा, विश्वकाजी राई, भूमिराज राई, दूतबहादुर पुन जस्ता योद्धा स्रष्टा थपिएका छन् । नेपालीमा युद्ध साहित्यको पठनपाठन र अनुसन्धान त्यहीँबाट थाल्नु पर्दछ । भर्खरै मात्र काङमाङ नरेश र अप्जसे कान्छाले सम्पादन गरेको युद्धमा हराएको प्रेम प्रथम नेपाली युद्ध कविताको संग्रह आइसकेको छ । यसको विशेषता के छ भने सर्वप्रथम यसमा तीनजना नारी स्रष्टा (मनोरमा सुनुवार, दीपा लिम्बू राई र लारा) समाविष्ट छन् । यो विशेष उल्लेख्य कुरा हो ।

त्यसो त युद्धमा नपरेका, युद्ध सुनेकाहरूले पनि युद्धको पक्ष विपक्षमा सिर्जना गरेका छन् तथापि स्रष्टाको कल्पनाले युद्ध लेख्नु र युद्ध भूमिमै परेर युद्ध मैदानमा प्रत्यक्ष सहभागी हुँदै लेख्नुमा ठूलो अन्तर छ । त्यमसा पनि नेपालका राई लिम्बू, मगर, गुरुङ, छेत्री आदि धेरै अघिदेखि अन्तर्राष्ट्रिय जगतमै कहलिएका योद्धा परिवार हुन् । कसैका घरमा बाबु बाजे, बुढा बाजे, मामा, फुपा, काका गाउँ नै सैनिकहरूको पनि रहेका छन् । त्यसकारणले त्यहाँ पुरुष मात्र होइन, नारी बालबालिका र असैनिकलाई पनि एउटा लाहुरेका सम्पूर्ण चित्र, व्यवहार र कर्तव्यको ज्ञान हुन्छ । कतिका परिवार त सैन्य शिविरमै बिताउनेहरू पनि छन् । त्यस्ता परिवारमा सचेत शिक्षित नारीलाई युद्धको संवेदनाले त्यतिकै छोएको हुने रहेछ । युद्धमा हराएको प्रेमका स्रष्टामध्ये एक दीपा लिम्बू–राईको युद्ध, सहअस्तित्व र सिर्जना शीर्षक रहेको कविता संग्रहको हालै विमोचन भयो । यो नै नेपाली नारी स्रष्टाले रचेको पहिलो युद्ध कविता संग्रह हो । युद्धसँग पुरुषले भन्दा नारीले ज्यादा लडेका छन् । एउटा पुरुषको पराजयसँगै सम्पूर्ण व्यवहार र चोट नारीमा खनिएको छ । त्यो सदा अव्यक्त थियो । आज नयाँ परिवेशसँगै शिक्षित र सचेत नारीले त्यो पीडा व्यक्त गर्न थालेका छन् ।

विगत दुई दशक यता लेखिएका प्राय जस्तो युद्ध विषयका अधिकांश कृतिका बारेमा मलाई लेख्ने बोल्ने अवसर प्राप्त भएको छ । तिनमा पाँचदशक अघि मलेसियाको जंगलमा लड्ने धनहाङ लिम्बूदेखि वर्तमान कालसम्ममा विजय हितान, दूतबहादुर पुन, मिजास तेम्बे, लगायतका अनेक स्रष्टा छन्, तिनका अनेक कृति छन् युद्ध साहित्यको मात्र अलग्गै लेखाजोखा गर्ने हो भने त्यो ठूलो सम्पदा बनिसकेको छ । यस विषयमा नयाँ पुस्तामा राम्रो समीक्षा गर्न सक्ने व्यक्तिको रूपमा धम्र्रेन्द्रविक्रम नेम्वाङलाई म प्रस्तुत गर्न चाहन्छु । नेपाली समाजको संरचना बुझेर विश्वको युद्ध मनोविज्ञान बुझेर योद्धाजातिको कम्युनिटि उनीहरूको मान्यता, परिवेश, राष्ट्रिय परिस्थिति सबै केलाएर उनले लेखेका छन् । दीपा लिम्बू–राईको पुस्तकको भूमिकाको रूपमा प्रस्तुत भएपनि “युद्ध प्रतिपक्षी कविता सहअस्तित्ववादको मातहतमा” शीर्षक रचना एक स्वतन्त्र अनि निष्पक्ष र युद्ध चेतना सम्बन्धी अत्यन्तै महŒवपूर्ण समालोचनाको रूपमा आएको छ ।
नेपाली युद्ध साहित्य लेखन ता अघि नै शुरु भएको हो । नेपाली साहित्यले आधुनिक रूप ग्रहण गर्नुभन्दा पहिलेको कुरा भएकाले ती अमूल्य तत्वहरू आज समयको गर्भमा पुरिएजस्ता भएका छन् । हालै दार्जीलिङका गुप्त प्रधानले धूमिल पृष्ठहरू (२००८) शीर्षक एक अनुसन्धानात्मक ग्रन्थ प्रकाशित गरेका छन् । त्यसमा “भारतीय क्षेत्रबाट नेपाली भाषाको उठान” शीर्षक एक रचना समावेश गरेर यस अन्तर्गत अत्यन्तै महत्वपूर्ण ‘दस्तावेज’ प्रस्तुत गरेका छन् । जस्तो कि— “भारतीय फौजको स्थापना र प्रथम नेपाली व्याकरण” शीर्षक खण्डले पाठकलाई बताउँछ— अंग्रेज भारतमा आउने बित्तिकैदेखि नेपालीलाई भर्तीमा लिएका थिए र पछि त्यही क्रम बिस्तार हुँदै जाँदा बेलायती नेपाली दुवैलाई नेपाली भाषाको ज्ञान आवश्यक परेकाले जे ए इटनले १८२० सम्ममा पहिलो नेपाली व्याकरण लेखी छपाए । यो दुई सय वर्ष अघिको कुरा हो । यो हाम्रा आदिकवि सँगैको कुरा हो । त्यस चेतनाले गोरखाली पल्टनले पनि केही भाषा ज्ञान प्रदान ग¥यो होला र परिणामस्वरूप उनीहरू पल्टने जीवनभित्र पनि भाषामा केही लेख्ने हुँदै गए ।

युद्ध साहित्यका अनुसन्धाताले धूमिल पृष्ठहरू जस्तो अत्यन्तै परिश्रमले पूरा गरिएको अनुसन्धानको प्रत्येक पृष्ठ अध्ययन गर्नु आवश्यक छ । त्यसपछि नै दार्जिलिङतिर सवाई र लहरी साहित्य आरम्भ भयो, अनुवाद कार्य आरम्भ भयो । त्यसले नै नेपाली साहित्यलाई बिस्तारै अघि बढायो । गुप्त प्रधानको उक्त ग्रन्थमा दिइएको भारतका “विभिन्न क्षेत्रहरूबाट लडाञिका सवाईहरू” शीर्षक खण्डबाट नै युद्ध साहित्यको असली प्रारम्भ भएको देखिन्छ । लडाञिका सवाईमा “भोटको लडाञिको सवाई” “मनिपुर्का लडाञिको सवाई” आदि । “लडाईंं सम्बन्धिका सवाईहरू लेखिनुको पृष्ठभूमि” अन्तर्गत उनले कारण दिएका छन्— मूलतः सन १८१४–१६ मा नेपाल र अंग्रेज माझ भएको युद्धमा नेपालको पूर्ण हार भएपछि सुगौली सन्धीका शर्त बमोजिम नेपालले ठूलो भूभाग गुमाउनु परेको थियो । त्यस पीडाले अनेक सवाई लेखायो । सन् १९५५ मा नेपाल र भोटको बीचमा भएको लडाइँमा कालीबाहादुर पल्टनका सिपाही लालबहादुर ‘आउँमासी’ ले ६१ श्लोकको “भोटको लडाञिको सवाई” लेखेका थिए । एक श्लोक यस्तो छः
अघिबाट सुद्धिबुद्धि कसैले लिएन ।
केपवाल बन्दुक पनि उसबेला थिएन ।।
नयाँ सिपाहीलाई अर्ति भयेन ।
बन्दुक भर्ने ढंग थियेन ।।
प्रधानज्यूले “मनीपुर्का लडाञिको सवाई” को पृष्ठभूमि यसरी प्रस्तुत गरेका छन्— लेन्स नायक तुलाचन आले सन् १८९१—१३ मा मणिपुरका राजा इष्ट इण्डिया कम्पनीको अधिनमा रहेका ४३ । ४४ गोर्खा पल्टनको सिपाही भएर लडेको बुझिन्छ यसै लडाञिका घाटनाका आधारमा १८९३ तिर ३२ श्लोकको यो सवाई रचेका थिए ।
त्यसैगरी धनबीर भन्डारीले १८९४ मा लेखेको “अब्बर्पहाडको सवाई” यसरी आरम्भ गरेका छन्—
तिरानब्बे दिसम्बर उनन्तिस तारिख
शुक्रबार्का दिनमहाँ छाड्नु प¥यो बारिक ।।
हुकुम ठूलो सर्कारको महारानी धन्ने
यस्तो मर्जी हुनगयो शिलाङ भयो शुन्ने ।।
(सवाई सम्बन्धी कुराको श्रोत गुप्त प्रधानको धूमिल पृष्ठहरू २००८)
यसरी हेर्दा युद्ध साािहत्यको लेखन आरम्भ भएको दुईसय वर्ष पुग्न लागेको छ । त्यस्ता कति युद्ध लडियो । झोसुवा बन्दुकदेखि लड्न थालेको नेपाली आज विश्वकै अत्याधुनिक सामग्री लिएर इराक, इरान, आफगानिस्तानमा उत्रिएर लड्दैछ । यी सबै कुराको जीवन्तता उनीहरूको साहित्यबाट मात्र हेर्न सकिन्छ । अहिलेको स्थिति भिन्न छ । प्रथम विश्वयुद्धका भयप्रद गाथालाई विषय बनाएर आख्यान लेख्ने काङमाङ नरेश, हङकङ फोकल्याण्ड, अर्जेन्टिना, हवाइ पु¥याउने गणेश राई, युद्ध अनुभवका जीवन्त कथा लेख्ने रक्ष राई— सम्पूर्ण साहित्य नै बेग्लै हो । एउटा विद्यावारिधिले पनि नभ्याउने सामग्री भइसक्यो अब हाम्रा अनुसन्धाताले यसतिर ध्यान दिनुपर्ने बेला भएको छ ।
युद्ध साहित्यको अभिलेखनतिर जाँदा विगतका २०० वर्षभित्र नेपाली कहाँकहाँ पुगे, कुनकुन सैन्यले के लेखे, आज त्यो लेखन कहाँ पुग्यो, सबैको वृत्तान्त आवश्यक छ । नेपाल भित्रका, भारतका अन्य एसियाली मुलुकका, पाश्चात्य जगतका— जर्मनी, फ्रान्स, बेलायत, नेपाली नलडेका कहाँ होला । ती सारा इतिहास र साहित्य लेखन दुवैको इतिहास सँगै जान्छ । सँगै भूगोल र जातजाति पनि जोडिन्छ । यतिखेर म सम्पूर्ण अनुसन्धाता इतिहासवेत्ता विद्वानसमक्ष अनुरोध गर्दछु— अब नेपाली योद्धाको, अझ युद्धसाहित्यको गम्भीर अध्ययन र अनुसन्धानको समय आएको छ । योद्धाहरूले नेपाली वाङमय बिस्तारमा गरेको योगदानको उच्च मूल्याङ्कन गर्नुपर्दछ । । जगतले पनि देखोस्, देख्न थालेको छ । उदाहरणका लागि हालै बेलायतबाट प्रकाशित १०० जना सैन्य स्रष्टाको रचना भएको एउटा विशिष्ट संग्रहमा हाम्रा काङमाङ नरेश र जगत नवोदितका एकएक कविता (अंग्रेजी अनुवाद) परेका छन् । यसले नेपाली जातिकै शिर ठाडो पारेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७