‘आदर्श लिलामी गर्नुपरे आत्महत्या गर्छु’


६ माघ २०७४, शनिबार
Binod Bikram KC 2

पचासको दशकदेखि कविताका पाठकहरूमा आफ्ना कविताप्रति उत्साह र चाख जगाउँदै आएका कवि विनोदविक्रम केसी कवितामा विचार, कला, आबेग र संवेगको उत्कृष्ट संयोजन हुन्छ । अहिलेका युवा कविमाझ बेग्लै उचाइ बनाएका उनका कवितामा कोरा भावनात्मक आलाप हुँदैनन् । समाज तथा सामाजिक प्राणीप्रतिको जिम्मेवारीवोध र शोषण, दमन, उत्पिडन अन्त्य गर्ने कलात्मक हुँकार बोकेका उनका कविताले समकालिन प्रगतिशिल कविताको उत्कृष्ट कोटीमा आफूलाई पार्ने ल्याकत राख्दछन् । आफू बाँचेको समयको काव्यात्मक चिरफार मात्र गरिएको हुँदैन उनका कवितामा, अपितु परिवर्तन र सुधारको आवश्यकता पनि मुखरित गरिएको हुन्छ । क्रान्तिकारी, आक्रामक र वैचारिक हुँदाहुँदै पनि कलात्मक पक्षमा रत्तिभर सम्झौता गरेका छैनन्, उनका कविताले । ‘भोकको क्षेत्रफल’ उनको अहिलेसम्म प्रकाशित एकमात्र कवितासङ्ग्रह हो । केसीको काव्यिक यात्राबारे गरिएको कुराकानी :-
Binod Bikram KC 2

विनोदविक्रम केसी
कवि

तपाईंको कविताको मुहान विचार हो कि भावना ?
– विचारयुक्त भावना अथवा भावनायुक्त विचार ।

कविता लेख्न बस्दा तपाईंमा ‘हुँदा खानेहरू’प्रति करुणा ज्यादा हुन्छ कि ‘हुने खानेहरू’विरुद्ध आक्रोश ?
– ‘हुँदा खानेहरू’ भनेका गरिखानेहरू हुन् । श्रम गरेर, पाखुरा बजारेर खानेहरूलाई कसैको करुणा या दयाको आवश्यकता छैन । म उनीहरूलाई समर्थन गर्न खोज्छु । उनीहरूका पक्षमा लेख्न खोज्छु ।  ‘हुने खानेहरू’ भनेका भ्रष्ट र त्रुटिपूर्ण राजनीतिक–सामाजिक–आर्थिक प्रणाली तथा सत्ताबाट फाइदा लिनेहरू हुन् । आक्रोश मूलतः यस्तो सिस्टमप्रति हुने हो । कुनै कशमशेर राणा अथवा खविक्रम शाहप्रति हुने होइन ।

स्टाइल भूपिबाट ‘बरो’ गर्नुभएको छ, विचार माक्र्सबाट सापट लिनुभएको छ । तपाईंका कवितामा नितान्त आफ्नो चाहिँ के छ ?

-नेपाली गद्य कविता रिमाल र भूपीले खनेकै बाटोबाट हिँडेर यहाँसम्म आइपुगेको हो । यी दुई कविको प्रभावबाट नेपाली कविहरू मुक्त छैनन् । तर, यो प्रभाव भनेको बलिउड फिल्मबाट नेपाली फिल्मले ग्रहण गर्ने खालको ‘चिप’ प्रभाव होइन । ‘स्टाइल बरो’ गर्नु भनेको ‘साँघुरो गल्लीमा मेरो चोक छ, यहा“ के छैन सबथोक छ’ लाई ‘अँध्यारो वस्तीमा मेरो घर छ, यहा“ के छैन सब कहर छ’ भनेर लेख्नु होला । यस अर्थमा एउटा कविले अर्काे कविको स्टाइल बरो गर्दैन ।

विचार सापट लिने भनेको माक्र्सजस्ता चिन्तक या विचारकबाट नै हो । सडकमा हिँडिरहेको साँढेबाट कसैले विचार या धारणा सापट लिँदैन । मेरो कवितामा नितान्त आफ्नो भन्ने के छ, मलाई थाहा छैन । मैले त्यस्तो दाबी गर्ने खालको त्यस्तो उत्कृष्ट केही लेखेको पनि छैन । कम्तीमा मसँग त्यस्तो भ्रम छैन ।

‘भोकको क्षेत्रफल’मा सङ्गृहीत कतिपय कविता र पत्रपत्रिकामा प्रकाशित केही लेख-रचनामा तपाईंले धर्मलाई सम्प्रदायको अर्थमा लिएर यसको उछित्तो काढ्नुभएको छ । तपाईंको धर्मविरोधी मतको आधार के हो ?

– धर्मका नाउँमा हुने मान्छेको शोषण र लुटको विरोध गरेको हुँ मैले । धर्मशास्त्रहरूको अध्ययन गरेको छैन मैले । अलि–अलि बाइबल पढेको छु । त्यसमा भाषाको संगीत सम्मोहक हुन्छ । वेद पढ्ने प्रयत्न गरेको थिएँ, सकिनँ । बौद्ध दर्शनका खुद्राखाद्री सामग्री पढेको छु । र, आफ्नो भुइँफुट्टापनमाथि मलाई खेद छ । ‘खराबपन या भ्रष्टताको विरोध गर्नुपर्छ’– यही नै हो, धर्मका नाउँमा हुने अत्याचार र शोषणविरोधी मतको मेरो आधार । यसलाई घुमाइफिराई माक्र्सवादसँग जोडे पनि हुन्छ होला ।

अमेरिकी अर्थशास्त्री जोन गेलब्रेइथले भन्नुभएको छ, ‘वामपन्थीहरूको समस्या के छ भने उनीहरू ‘रेड लिट्रेचर’ मात्र पढ्छन् । र, दक्षिणपन्थीहरूको समस्या यो छ कि उनीहरू केही पनि पढ्दैनन् ।’ यो भनाइ तपाईंको हकमा कत्तिको लागू हुन्छ ?

– एउटा उदाहरण दिन्छु– तपाईंले छ महिनाअघि मलाई दिनुभएको थोमस एल फ्राइडम्यानको ‘द वल्र्ड इज फ्ल्याट’ मैले जम्माजम्मी १३ पेज पढिभ्याएँ । प्रश्नको उत्तर आयो कि नाइँ ?

सिद्धान्तको बोझ होइन, टर्च बोकेको हो । टर्च भारीभरकम हुँदैन । सानो र चिटिक्क परेको हुन्छ । अँध्यारोमा साह्रै काम लाग्छ ।

तपाईंका कविता सरल हुन्छन् । तिनले दिने ‘पन्च’ भने बेजोडका हुन्छन् । पत्रपत्रिकामा प्रकाशित हुने तपाईंका हरेक कविताले सर्वत्र प्रशंसा कमाइरहेका हुन्छन् । यस्तो तारिफले तपाईंलाई कत्तिको अभिमानी बनाउँदै लगेको छ ?

– मेरो बानी के छ भने म मेरा कविताका प्रशंसक र आलोचक (प्रस्ट पार्न चाहन्छु– म त्यस्तो धेरै पढिने कविमा पर्दिनँ) दुवैलाई तीन शब्द भनिदिन्छु– थ्यांक यू बोस !

म त जहिले पनि आफूलाई एउटा ‘फेल्ड स्टेट’को ‘फेल्ड हुनबाट जोगिन खोजिरहेको लिट्रेचरको’को हिस्सा ठान्छु । अनि, के अभिमानी हुनु ?

तपाईं कविगोष्ठी या साहित्यिक कार्यक्रमहरूमा त्यति देखिनुहुन्न । किन हो ?

– गणतन्त्र आउनुपूर्वको एक याम थियो– कवि प्रकाश सिलवालले नेतृत्व गरेको नागार्जुन साहित्यिक प्रतिष्ठानमा म र केशव सिलवाल आबद्ध थियौँ । त्यतिबेला दिनमै तीन ठाउँमा गएर हामीले कविता पढ्यौँ । ‘हेर्, ज्ञानेन्द्र तँलाई नारायणहिटी दरबारबाट थुतेर सडकमा पाहा पछारेझैँ पछार्छु’ भन्ने थिमका कविता खूब पढियो । अहिले त्यस्तो जाँगर छैन । राजधानीमा हुने साहित्यिक कार्यक्रम त्यस्तो भयानक रचनात्मक हुन्छन् भन्ने पनि होइन । बोल्नेले युगौँदेखि एउटै कुरा बोलिरहेका हुन्छन्, सुन्नेले एउटै कुरा सुनिरहेका हुन्छन् । यो ‘मनोटनी’ झेल्नै सक्दिनँ म त ।

Binod Bikram KC
एउटा लेखोटमा तपाईंले ‘उसो त यौन चरित्र पनि मेरो असलै छ । कुनै स्त्रीको वक्षस्थलमा आँखा हुत्याउँछु, तर मेरी आमाको कसम खाएर भन्छु, बलात्कार चाहिँ गर्दिन“’ लेख्नुभएको छ । यसको आशय यस्तो हुन्छ– बलात्कार गर्ने क्षमता मसँग नभएको होइन, नगरिदिएको मात्र हो । आफूलाई प्रगतिशील लेखक भन्नुहन्छ । यस्तो पुरुष अहंकारवादी अभिव्यक्ति तपाईंका लागि असुहाउँदो भएन र ?

– हुने भए तपाईंको यो ‘मिसइन्टरप्रिटेसन’लाई म ‘हल अफ फेम’को भित्तामा टाँगेर राखिदिन्थेँ । ट्यागलाइन चाहिँ यस्तो लेख्थेँ– द वस्र्ट मिसइन्टरप्रिटेसन ह्युमनकाइन्ड एभर निउ ।  मैले त आमाको कसम खाएर म अपराधी हुँदिन भनेको हुँ । बस ।

तपाईंको कवित्वलाई कुन घटनाले ‘ट्रिगर’ गरिदिएको हो ?

– २०४६/४७ सालतिर होला– हाम्रो गाउँ चाल्नाखेल नजिकैको हात्तीवनमा सिपाहीँहरू क्याम्प बनाएर बसेका थिए । घट्टैचौर भन्ने फराकिलो चौरमा सिपाहीहरू भात पकाइरहेका थिए । हामी फुच्चाफाच्चीलाई तमासा भएको थियो । यत्तिकैमा कमान्डर चाहिनेले एउटा सिपाहीलाई बुटैबुटले यस्तरी कुट्यो– मैले आजका मितिसम्म क्रूरताको त्यस्तो स्वरूप देखेको छैन । डरले नीलो भएर घर पुगेको थिएँ म । अव्यक्त भय, आक्रोश के–केले मन हुँडलिरह्यो, धेरै दिनसम्म । यत्तिकै रुन्थेँ । आमा सोध्नुहुन्थ्यो । के भयो भन्नु ? त्यस घटनापछि ‘कहीँ केही गलत छ– समह्वेर समथिङ इज रङ’ भन्ने धमिलो धारणाले घर बनायो । अहिले सम्झेर ल्याउँदा त्यही कुटाइ खाने निरीह मान्छेले पो ममा कवित्व जगाइदिएको थियो कि जस्तो लाग्छ ।

अधिकांश कवि कवितामा इमानदार देखिन्छन् । वास्तविक जीवनमा भने एकदमै कुरूप हुन्छन् । तपाईंका कवितालाई कुन हदसम्म तपाईंको प्रतिविम्ब मान्न सकिएला ?

– म भरियाका दुःखमाथि कविता लेख्छु भने यति इमानदारी चाहिँ मसँग छ कि भारी बोक्न लगाएपछि म भरियालाई यथोचित पारिश्रमिक दिन्छु । उसलाई ठग्दिनँ, हेपेर बोल्दिनँ ।

व्यक्तिले रच्ने सबैभन्दा शक्तिशाली ढोँग के हो जस्तो लाग्छ ?

– खै के पो हो ? लुकी–लुकी रक्सी खानु र फलानोले रक्सी खाएर बोर गर्यो भन्नु हो कि ?

तपाईंका प्रिय कविहरू ?

– ब्रेख्त, नेरुदा, गिन्सबर्ग, धुमिल आदि । नेपाली कविहरूमा रिमाल, भूपि, विमल निभा, श्यामल, श्रवण मुकारुङ आदि ।

माक्र्सवादी आदर्श बोकेर कठोर पुँजीवादी युगमा कविको जीवन बाँचिरहनुभएको छ । कत्तिको गाह्रो छ ? आदर्शलाई बारम्बार लिलामी गर्नुपर्दो होला नि ? यदि लिलामी गर्नुपर्छ भने सिद्धान्तको बोझ बोकेर किन हिँड्ने ? बिसाए भइगयो नि ?

– सिद्धान्तको बोझ होइन, टर्च बोकेको हो । टर्च भारीभरकम हुँदैन । सानो र चिटिक्क परेको हुन्छ । अँध्यारोमा साह्रै काम लाग्छ ।
बाँच्ने सिलसिलामा झिनामसिना त्रुटि गरिएला, गरिन्छन् तर आदर्शलाई लिलामी नै गर्नुपर्ने दुर्दिन आउनेछैनन् । त्यस्तो दिन आयो भने आत्महत्या गरिन्छ ।

माक्र्सवादी कविसँग रक्सी खानु पट्यारलाग्दो लाग्छ, मलाई । कोरा आदर्श, सिद्धान्तको गन्थन गर्ने, निजी सम्पत्तिको भरमार विरोध गर्ने अनि पैसा तिर्ने बेलामा चाहिँ पिसाब फेर्न जाने अथवा मोबाइल फोनमा झुन्डिने प्रगतिशील कविहरूको फेला धेरैपटक परेको छु । रक्सी खाँदा तपाईंलाई रक्सीको मातले बढी छोप्छ कि माक्र्सवादी दर्शनले ?

– रक्सी खाँदा ‘कम्युनिस्ट म्यानिफेस्टो’को सितनसँग खाने हो र, माक्र्सवादी दर्शनले छोप्नलाई ? रक्सी त मासुसँग खाने हो । (कोही–कोही काजुसँग, स्याउसँग पनि खान्छन् क्यारे । यस्तो रक्सी खुवाइ मलाई अत्यन्त हास्यास्पद लाग्छ । नास्तिकले व्रत बस्याजस्तो ।) त्यसमाथि म सानो सर्कलका मान्छेहरूसँग मात्रै रक्सी खान्छु । नारायण ढकाल र किशोर नेपाल दाइहरूसँग रक्सी खाँदा खूब इन्जोय गर्छु । किनभने, आफूले एक सुको तिर्नुपर्दैन । हरेक पटक प्रगतिशील कविहरूको फेला परेर तपाईंले तिर्नुभएको बिलको कसम– म धेरथोर पैसा सेयर गर्ने मान्छे हुँ ।  अघि केले छोप्छ भन्नु भो नि ? मलाई त बब डिलन र बब मार्लीका गीतले छोप्छन् । मातमा यस्तो राम्रो गाएजस्तो लाग्छ नि…।

साहित्यकारहरु आ–आफ्ना गुटमा रमाएका देखिन्छन् । गुटका साथीहरुबीच सार्वजनिक ठाउँमा प्रशंसा ‘बार्टर’ हुने गरेको देखिन्छ । अवसर मिल्दा एकले अर्काको प्रशंसा गरिदिने, राम्रो भनिदिने । यो रोगबाट आफू कुन हदसम्म मुक्त छु जस्तो लाग्छ ?

– म गुटको स्थापत्यबारे जानकार छैन । यो कसरी बन्छ, कुन वास्तुशास्त्रअन्तर्गत बन्छ, मलाई थाहा छैन । न मैले कुनै गुटलाई प्रमोट गरेको छु, न मलाई कुनै गुटले प्रमोट गरेको छ । रह्यो प्रशंसाको कुरा– माक्र्सवादी या गैरमाक्र्सवादी स्कुलिङबाट आएकाले आफू जस्तैलाई मन पराउनु, सह्राउनु के अनौठो भयो र ? तर, प्रशंसा र आलोचना गर्दा कवि–लेखकले ‘बेसिक धर्म’ छोड्नु हुँदैन । तपाईंको डायग्नोसिस गलत छैन । आफ्नो सन्दर्भमा भन्नुपर्दा म धेरै हदसम्म स्वस्थ छु ।

र, अन्त्यमा, माक्र्सवादी कविहरूले ‘रेडिमेड’ उत्तर दिने गरेका छन् । कविता किन लेख्नुहुन्छ भनी सोध्दा तपाईं पनि भन्नुहोला– उत्पीडित जनताका लागि, क्रान्तिका लागि, सर्वहारा वर्गको अधिकारका लागि । तै पनि सोध्छु, तपाईं कविता किन लेख्नुहुन्छ र तपाईंले कविता नलेख्दा समाजलाई के घाटा हुन्छ ?

– आँधी, तुफान, भुइँचालो, क्रान्ति, उलटफेर ल्याउन कविता लेख्या होइन मैले । मेरो विश्वास छ– कविता सामूहिक प्रयत्न हो । देवकोटा एकजनाले वा रिमाल एकजनाले वा भूपि एकजनाले वा विमल निभा एकजनाले वा श्यामल एकजनाले वा श्रवण मुकारुङ एकजनाले राम्रो कविता लेख्दैमा केही हुनेवाला छैन । तर, सबैका कविता जम्मा गरेर एउटा सामूहिक अस्त्र बनाइयो भने त्यसले जीवनका पक्षमा, दुःखीहरूका पक्षमा केही विशाल काम गर्छ । म त्यही सामूहिक अस्त्र निर्माणको एउटा सानो हिस्सा हुन प्रयत्नरत छु । त्यसैले लेख्छु । मैले नलेखेर समाजलाई सम्भवतः केही घाटा हुँदैन । तर, मलाई घाटा हुनेछ । एक सचेत नागरिकका तर्फबाट समाजलाई सियोको टुप्पो जति भए पनि केही दिनुपर्ने दायित्वबाट म चुक्नेछु ।

(दीपक सापकोटा सम्पादित पाण्डुलिपि मासिक पत्रिकाबाट)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७