भारतको अवरोधले सडकमै अलपत्र बन्यो नेपालको अदुवा


७ माघ २०७४, आईतवार
truck Copy

इलाम, ७ माघ : भारतीयको अवरोधका कारण नेपालको पूर्वी जिल्लाबाट अदुवा बोकेर गएका दर्जनौं ट्रक नेपाल भारत सीमा नाका पानीट्याङ्कीमा अलपत्र परेका छन् । पूर्वका इलाम, पाँचथरलागयतका जिल्लाबाट निकासी भएको अदुवा बोकेर भारतको सिलिगुडी हिंडेका ट्रक सीमा नाकामै १० दिनदेखि रोकिंदा लोड गरिएको अदुवा कुहिन थालेको नेपाली व्यापारीहरुले बताएका छन् । निकासी अवरोधकै कारण झापाको काँकडभिट्टा नाकामा पनि सयको हाराहारीमा लोड भएका ट्रक पार्किङ्गमा रहेको इलाम बिब्ल्याँटेका व्यापारी कृष्ण पौडेल जानकारी दिए । truck Copy

पूर्वी पहाडका किसानले नगदेवालीको रुपमा खेती गरिरहेको अदुवाको मुख्य बजार भारत नै भए पनि निकासीमा वर्षेनी भारतीय अवरोध भइरहेको छ । निकासीको मुख्य सिजनमै भारतीय पक्षले अदुवा निकासीमा विभिन्न वहाना झिकेर अवरोध खडा गर्दै वर्षेनी किसान र व्यापारीले नोक्सानी खेपिरहेको पौडेलको भनाई छ । भारतीय पक्षले आफ्नैमा अदुवा बढी भइरहेको भन्दै निकासीमा दुःख दिने गरेको छ । अदुवा निकासी ठप्प भएपछि इलाम–पाँचथरका किसान बढी समस्यामा छन् । भारतीय पक्षले नेपाली अदुवा निकासीमा अघोषित रोक लगाएपछि किसानबाट खरिद गरिएको अदुवा व्यापारीको गोदाममै थन्किएको छ । अदुवा बिक्री हुन छाडेपछि कतिपय किसानको अदुवा बारीमै कुहिन थालेको छ । किसानबाट खरिद गरेको करोडौंको अदुवा बेच्न नपाउँदा समस्या भइरहेको ब्यापारी कृष्ण पौडेल बताउनु हुन्छ । जिल्लाका किसान र ब्यापारीसँग आधुनिक भण्डारणको सुविधा नहुँदा गोदामका राखिएको २० प्रतिशत जति अदुवा खेर जाने गरेको ब्यापारीको भनाई छ । Aduwa Ko Thupro

कारण नै नदेखाई नेपाली अदुवा निकासीमा भारतीय पक्षले अवरोध सिर्जना गर्दै वर्षेनी समस्या भइरहेको जानकारी दिंदै व्यापारी कृष्ण पौडेल भन्छन्–‘दुई वर्षदेखि यस्तै समस्या छ । भारतीय सरकारसँग कुटनीतिक पहल गर्न हामीले सरकारलाई आग्रह पनि ग¥यौ तर, समस्या जस्ताको त्यस्तै छ । नेपाली अदुवा निकासीमा देखिएको यो समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भिर हुनुपर्ने व्यापारीहरुको भनाई छ । उसै त भाऊ राम्रो नआएका बेला अदुवा निकासी नै रोकिएपछि झन समस्या थपिएको किसान बताउँछन् । अहिले बजारमा अदुवा प्रतिमन आठ सय रुपैंयाँमा मात्र विक्री भइरहेको छ । विगतमा यो सिजनमा अदुवाको ठूलो कारोबार गरेका इलामको बरबोटे, पुवाखोला, राँके, गोलाखर्क, आइतबारे, फिक्कल, मंगलबारेलगायतका बजार सुनसान जस्तै छन् । अहिले साह«ै कम किसानले मात्र अदुवाको माउ बेच्न ल्याइरहेको व्यापारी बताउँछन् ।

यो वर्ष नै खेती बढाउनु भएका बरबोटेका चुँडामणि अधिकारी अहिले अदुवाकै भाऊ नआउनु र भारतको अवरोधका कारण व्यापारीले किन्न नमान्ने गरेकाले अदुवाबाट आश मरेको बताउँछन् । विगतमा यहि सिजनमा दैनिक १० ट्रकसम्म अदुवा निकासी हुने गरेको बिब्ल्याँटेमा खर्च अभाव भएका किसानले मात्र फाट्टफुट अदुवाको माउ बेच्न ल्याइरहेका छन् । इलाममा उत्पादन भएको अदुवा झापाको धुलाबारी हुँदै भारतको सिलिगुडी जाने गरेको छ । अदुवाबाट इलाममा वार्षिक साढे तीन अर्ब रुपैंयाँ भित्रिने गरेको कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार इलाममा तीन हजार दुई सय हेक्टर जमिनमा अदुवा खेती हुने र सरदर ४५ हजार आठ सय ९४ मेट्रिक टन उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७