जटिल बिरामीले जीवन निर्वाह भत्ता नपाउने !


८ माघ २०७४, सोमबार
birami

काठमाण्डौं, ८ माघ : सरकारले काम गर्न नसक्ने गरी बिरामी भएकाहरुलाई मासिक रुपमा उपलब्ध गराउने भनेको भत्ता अर्थ मन्त्रालयले रोकिदिएको छ ।birami

सरकारले मिर्गौला फेल, क्यान्सर र स्पाइनल इञ्जुरीका कारण प्यारालाइसिस भएका बिरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय गरेको थियो । तर, अर्थ मन्त्रालयले भत्ता वितरणका लागि स्पष्ट मापदण्ड नभएको भन्दै रोकिदिएको छ । स्वास्थ्य मन्त्रालयले माघ महिनादेखि नै बिरामीलाई मासिक भत्ता दिने तयारी गरेको थियो । अर्थले कुनै पनि कार्यविधि नभएको र हचुवाको भरमा रकम दिन नमिल्ने भनेपछि भत्ता वितरण अन्यौलमा परेको छ ।

जसका कारण मासिक भत्ता पाए उपचार र जीवन बाँच्न सहयोग पुग्ने आशामा बसेका कयौं बिरामीको मन खिन्न बनाएको छ । पुस १३ गतेको मन्त्रिपरिषद बैठकले यस्ता बिरामीको दैनिक जीवनयापनलाई सहज बनाउन ५ हजार रुपैयाँका दरले जीविकोपार्जन भत्ता दिने निर्णय गरेको थियो । यस्ता रोग लागेका बिरामीको दैनिक जीवनयापन कष्टकर हुने भएकाले जीवन निर्वाहका लागि भत्ताको व्यवस्था गर्ने निर्णय भएको थियो ।

तर, अर्थले हचुवाको भरमा रकम नदिने भनेपछि स्वास्थ्य मन्त्रालय बल्ल कार्यविधि बनाउन थालेको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा यस्ता बिरामीको संख्या लगभग २ लाख जति रहेको जनाएको छ । दुई लाखलाई मासिक ५ हजारको दरले भत्ता दिँदा अर्थतन्त्रले धान्न नसक्ने र भत्ता के कस्तो आधारमा दिने भन्ने कार्यविधि तथा मापदण्ड समेत नभएको भन्दै अर्थले स्वास्थ्यको फाइल फर्काइ दिएको जनाइएको छ ।

अहिले सरकारले क्यान्सर, मिर्गौला र स्पाइनल इञ्जुरीलगायतका जटिल रोगबाट पीडित बिरामीको उपचारमा सहुलियत दिंदै आएको छ । सरकारले हाल क्यान्सर र स्पाइनल इञ्जुरीका बिरामीलाई उपचारका लागि १ लाख रुपैयाँ सहयोग गर्दै आएको छ । यस्तै, मिर्गौलाका बिरामीका लागि निःशुल्क डायलाइसिस र प्रत्यारोपण गर्नुपरेमा प्रत्यारोपण गर्ने अस्पताललाई ४ लाख र बिरामीलाई प्रत्यारोपण अगाडि परीक्षणका लागि ५० हजार र प्रत्यारोपणपछि औषधि उपचारका लागि १ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७