रौतहटमा बन्यो एकीकृत बस्ती : मुसहरहरुले भने,’धुर्मुस-सुन्तली हाम्रो लागि भगवान हो’


९ माघ २०७४, मंगलवार
Dhurmus and suntali

सपनामा पनि पक्की घरमा बस्ने नसोचेका रौतहट, सन्तपुरको दलित बस्तीका बासिन्दाले २१ माघदेखि वास्तवमै सुविधासम्पन्न घरमा बस्न पाउने निश्चित भएको छ । सधैँ ज्यालादारी र परिश्रमबाट बिहान–बेलुकाको छाक टार्ने दलित बस्तीका बासिन्दालाई सुविधासम्पन्न घर बनाइदिएका हुन्, हास्यकलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले । धुर्मुस सुन्तलीले उनीहरूको सपना विपनामा परिणत पारेका छन् ।

रौतहटको चन्द्रपुर नगरपालिका– ८ को सन्तपुरमा धुर्मुस–सुन्तली फाउन्डेसनको चौथो परियोजनाअन्तर्गत ४७ घर बाढीपीडित दलित समुदायका लागि एकीकृत नमुना सन्तपुर बस्ती निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गत असोज ४ गतेबाट सुरु भएको सो परियोजना माघको २१ गते हस्तान्तरण गर्ने लक्ष्यका साथ तीव्रताका साथ काम भइरहेको छ ।

Dhurmus and suntali

पक्की घरमा बसिन्छ भनेर कल्पनासमेत नगरेका सो बस्तीका बासिन्दा बस्ती निर्माणसँगै निकै उत्साहित भएका छन् । नमुना बस्तीको ९० प्रतिशत निर्माण कार्य पूरा भएको धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीतारामले जानकारी दिएका छन् । उनले बस्ती निर्माणमा आफूहरूले स्थानीय स्तरबाट सहयोग नपाएका कारण समस्या परेको बताए । बर्दिवासको तुलनामा रौतहटबाट आर्थिक सहयोग नपाएको उनको गुनासो छ ।

निर्माण सुरु गर्दा धुर्मुसले माघ २४ गते बस्ती हस्तान्तरण गर्ने लक्ष्य लिएका थिए । सोहीअनुरूप बस्ती निर्माण पनि अघि बढ्यो । बस्ती निर्माणका लागि ५ करोड ९५ लाख लागत अनुमानित गरिए पनि २ करोड अपुग रहेको धुर्मुसले बताए । ‘मलाई आशा छ, अपुग रकम अवश्य जुट्नेछ,’ उनले भने। उनीहरूले साउदी अरब र अस्ट्रेलियामा कार्यक्रम गरेर संकलित रकमबाट बस्ती निर्माण सुरु गरेका हुन् । उनीहरूलाई कतिपयले बस्तीमै पुगेर रकम सहयोग गरेका पनि छन् । सहयोग आउने क्रम जारी भएकाले निर्धारित मितिसम्म रकम पुग्नेमा उनी विश्वस्त देखिन्छन् ।

पछिल्लो समय तराईमा चिसो बढेको छ । चिसो बढेकाले बस्ती निर्माणको काम गर्न अलि असहज भइरहेको छ । बस्ती हस्तान्तरणको मिति नजिकिएकाले कामको तीव्रता अझै बढेको उनले बताए । बस्ती निर्माणमा दुई सय ६१ जना कामदार खटिइरहेका छन् । हालसम्म ४७ वटै घर निर्माण भइसकेको छ । छानामा जस्तापाता हाल्ने काम पनि सकिएकोे छ । अहिले भ्यु टावर र मन्दिरबाहेकका अरू संरचना सबै अन्तिम चरणमा पुगेका छन् । बस्तीको बाटो, बिजुली, खानेपानीलगायतका काम बाँकी रहेको जानकारी धुर्मुसले दिए । तर, पनि हस्तान्तरण गर्नेभन्दा १० दिनअघि नै बस्ती निर्माण पूरा हुने विश्वास उनको छ ।

बस्तीमा एउटा बालउद्यान, एउटा भ्यु टावर, मन्दिर, सामुदायिक भवन, अपांगतामैत्री, बालमैत्री र वातावरणमैत्री संरचना बनाइएको समेत उनले बताए । बस्तीका घर पूर्ण रूपले भूकम्पप्रतिरोधी भएको धुर्मुसको दाबी छ । धुर्मुसले आफ्नो जन्मदिनको अवसर पारेर गत असोज ४ गते बस्ती निर्माण शिलान्यास गरेका हुन् । तर, निर्माण कार्य भने असोज २८ गतेबाट मात्रै सुरु भएको हो ।

Suntali

सो बस्तीमा एउटा घर निर्माणमा झन्डै १० लाख रुपैयाँ लागेको अनुमान गरिएको छ । एउटा घरको लगभग साढे तीन धुर जग्गामा निर्माण भएको छ । बस्ती कुल १२ कठ्ठा क्षेत्रफलमा रहेको छ । आफूले सपनामा पनि पक्का घरमा बस्ने नसोचेका दलित समुदायका लागि धुर्मुस–सुन्तली भगवान् बनेर प्रकट भएको स्थानीयको प्रतिक्रिया छ । वर्षौंदेखि पुरानो र जीर्ण झुपडीमा बस्दै आएका ४७ घर दलित परिवारले माघ २१ गतेपछि सुविधायुक्त घरमा बस्न पाउनेछन् ।

गरिबलाई सहयोग गर्न र घर नै बनाइदिन आएका धुर्मुस–सुन्तली मानिस नभएर भगवान् नै भएको बस्तीका शैलेन्द्र माझी मुसहरले बताए । बस्तीका बासिन्दाले आफूहरूलाई बस्ने वासको प्रबन्ध गर्न लागेकोमा धुर्मुस–सुन्तली र सहयोगी सबै हातहरूलाई आभार प्रकट गरेका छन् ।

जीर्ण झुपडीमा बस्दै आएका माझी मुसहर, दुसाद, लोहार र हजामका ४७ परिवारका लागि फाउन्डेसनले घर निर्माण गरेको छ । नमुना बस्ती बनाउनका लागि जमिन, बाटोलगायत सबै पूर्वाधार भएकाले सन्तपुरको दलित बस्ती नै छनोट गरिएको धुर्मुसले बताए । अहिले आफूहरूको सम्पूर्ण ध्यान सन्तपुर नमुना बस्तीलाई सम्पन्न गरी समुदायलाई हस्तान्तरण गर्नमा मात्रै केन्द्रित भएको कुञ्जनाले बताइन् । उनले आफ्नो ज्यान अन्य ठाउँमा भए पनि मन भने सन्तपुरको बस्तीमै भएको सुनाइन् ।

अचेल धुर्मुस र सुन्तली तराईका विभिन्न जिल्लामा विपन्न परिवारलाई न्यानो कपडा वितरण गर्नमा समेत लागिपरेका छन् । अधिक चिसो र शीतलहरले गर्दा तराईको जनजीवन निकै कष्टकर बन्दै गइरहेको छ । जनताले आफूलाई सहयोग गर्छन् भनेर जिताएका जनप्रतिनिधिले कुनै काम नगरी रहेको अवस्थामा कलाकार धुर्मुस र सुन्तली बारा, महोत्तरी, सर्लाही, धनुषालगायतका तराईका जिल्लामा सिरक, ब्ल्यांकेट, न्यानो कपडा बाँड्दै हिँडेका छन् । आफूहरू अरूको दुःख टुलुटुलु हेरेर बस्न नसक्ने भएकाले समाजसेवामा जीवन समर्पित गरेको धुर्मुस सुन्तली बताउँछन् ।

-नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७