अब अनेरास्ववियु महाधिवेशनमा जान्छ : ऐन महर


१० माघ २०७४, बुधबार
ain mahar student leader

पछिल्लो समयमा नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुमा विवाद देखिएको छ । भ्रष्टचारको आरोपमा कारबाहीमा परेका उपेन्द्र शाहीलाई अध्यक्ष नविना लामा र महासचिव ऐन महरले उन्मुत्ती दिएको भन्दै पदाधिकारीले बिरोध गरेका छन् । स्थायी कमिटीको निर्णय भन्दै विवादित सचिवालय सदस्य शाही माथीको कारवाही फुकुवा फिर्ता गरेको सर्कुलरपछि बिरोध भएको हो । विवादित शाहीमाथिको कारबाही किन फुकुवा गरियो ? अखिल भित्रको पछिल्लो विवाद के हो ? अब अखिलको बाटो के हो ? अनेरास्ववियुका महासचिव महरसँग नयाँ पेजका प्रबिन कुलुङले गरेको कुराकानी : 

ain mahar student leader of nepal

अनेरास्ववियुले अहिले के गरीरहेको छ ?

अखिले अहिले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनपछि आफ्नो सांगठनिक गतिविधिहरुलाई अगाडि बढाइरहेको छ । खासगरीकन हामीले अनेरास्ववियुको विधानले एक कार्यकाल दुई वर्षको लागि तोकेको छ । २०७२ फागुनमा २२ औं महाधिवेशन सम्पन्न गरेका थियौं । त्यसैले २३ औं महाधिवेशनको तयारीमा छौं । २३ औं महाधिवेशनको संघारमा भएकाले संगठनलाई व्यवस्थित बनाउने, अध्यावधिक गर्ने, क्रियाशिल बनाउने, उद्देश्यका साथ सांगठनिक गतिविधिहरु गरिरहेका छौं । सँगसगै अरु जनजीविकाका विषय र सामाजिक जनजीवनका विषयमा पनि क्रियाशिल भइरहेका छौं । यस्तै अहिलेको राजनीति गत्यावरोध, तीन तहका सरकार निर्माणमा जुन किसिमको ढिलाइ भइरहेको छ, त्यसमा खवरदारी पनि गरिरहेका छौं ।

भ्रष्टचार जस्तो गम्भिर ‘केस’मा कारबाहीमा परेका उपेन्द्र शाहीलाई छानविन समितिको निर्णय विपरीत तपाईहरु उन्मुत्ती दिनु भयो नी किन ?
यो एकदमै गलत कुरा हो । कोही पनि छानविन समितिको निर्णय विपरीत चलेको छैन । एक विशेष समितिभित्रका सबै आर्थिक अपचलन, विकृति, विसंगतिहरुलाई चाँहि छानविन गर्ने र एउटा रिपोर्ट तयार पार्नका निमित्त एउटा छानविन समिति बनाएका थियौं । त्यसले एउटा विशिष्ट विषयमा केन्द्रित भएर आफ्नो रिपोर्ट पनि बुझायो । रिपोर्ट पेस गरेपछि सोही कुरालाई आधार बनाएर हामीले कार्यान्वयन पनि गरेका छौं । त्यो कार्यान्वयन पनि भयो । कार्यान्वयन भइसकेपछि अहिले आएर निलम्बन भन्ने कुरा सधैंभरीका लागि हुन सक्दैन । एउटा निश्चित अवधिका लागि निलम्बन हुन्छ । अहिले त्यो निश्चित अवधि पूरा गरेकाले अहिले फुकुवा गरेको छ । फेरि म एउटा कुरा चाँहि प्रष्ट पार्न चाहन्छु । त्यो निलम्बन फुकुवा गर्ने कुरा मेरो कुरा होइन । त्यो संगठनको कुरा हो । अध्यक्षले निर्देशन गर्नु भएको कुरा हो । अध्यक्षलाई क–कसले के कुरा भने त्यो उहाँको कुरा हो ।

म त संगठनको एउटा महासचिव सर्कुलरमा हस्ताक्षर गर्ने पदाधिकारी भएको हुनाले सर्कुलरमा जाने कुरा सबै मेरा हुँदैनन् । सर्कुलरमा संगठनका कुरा जाने हुन् । यो सर्कुलर सम्झौताको सर्कुलर हो । यहाँ मेरा केहि कुरा पनि छैनन् । साथीहरुले यसमा जुन आरोप–प्रत्यारोप गरिरहनु भएको छ । यो सबै कुण्ठित मानसिकता मात्र हो । यो साँघुरो मानसिकताको उपज हो । यसमा केहि भन्न चाहन्न, दुःख मात्र व्यक्त गर्न चाहन्छु । जब मान्छे राजनैतिक–बैचारिक रुपमा कमजोर हुन्छ, जब संगठनात्मक रुपमा कमजोर हुँदै जान्छ र स्खलित हुँदै जान्छ । मान्छेलाई अराजनीतिक खालका आरोप लगाउने, राजनीतिक रुपमा मुछ्ने काममा मान्छे उद्दत हुन्छन् ।

तपाईहरुले शाहीबाट पैसा लिएर उन्मुत्ती दिएको हो भन्ने आरोप छ नी ?
तपाईको मिडियामार्फत यति कुरा प्रष्ट पार्न चाहन्छु । मै एउटा यस्तो मान्छे हुँ, जसले चाँहि आर्थिक रुपमा यो संगठनलाई स्वच्छ र स्वस्थ बनाएर लैजानु पर्छ भन्ने मान्छे हुँ । मासिक रुपमा नेकपा एमाले पार्टीले ३० हजार रुपैंयाँ प्रदान गर्छ । त्यो पनि संगठन सञ्चालनका लागि चलाऊ भन्ने मान्छे हुँ म । त्यति मात्र होइन, निजी शैक्षिक संस्थाहरुका मान्छेहरुसँगको आर्थिक सम्बन्ध कटअफ गरौं र एउटा नैतिकवान संगठन अगाडि बढाऊ भन्ने मान्छे हुँ म ।

हाम्रो संगठन सञ्चालनका लागि सदस्यको लेवी प्रणालीलाई अलि व्यवस्थित गरौं र त्यहाँबाट चाँहि संगठनको आर्थिक कारोबार अगाडि बढाऊ भनेर जहिले पनि संगठनतिर बहस गर्ने मान्छे म ।  त्यसैले भन्न चाहन्छु, जो मान्छे बढी यस्ता गतिविधि संलग्न हुन्छन् ती मान्छेहरुले यी प्रश्न उठाइरहेका छन् । र, म दावाका साथ भन्छु ऐन महर यो संगठनमा क्रियाशिल भएको आर्थिक लाभका लागि होइन । मलाई केहि पनि आर्थिक लाभ लिनु छैन । आर्थिक लाभ लिने भए म व्यवसाय गर्थे होला, जागिर खान्थे होला । अरु काममा म संलग्न हुन्थे होला । विशुद्ध सामाजिक भावले न्यायको पक्षमा, अन्यायका विरुद्धमा र विद्यार्थी हकहितका पक्षमा, देश र जनताका लागि, सामाजिक परिवर्तनका लागि लागिरहेको मान्छे भएकाले कसैले एउटा प्रमाण लिएर आउन सकोस्, म आजै मेरो साधारण सदस्यता समेत त्यागी दिन्छु । म संगठनबाट राजीनामा दिएर आफ्नो ठाउँमा जान तयार छु । यस विषयमा म केहि भन्न चाहन्न, आर्थिक कुरा छानविन गर्दै गयो भने कसको के–के कुरा देखिन्छ त्यो भविष्यले बताउँछ ।

रक कुरा गरौं, दलहरुले अब राजनीतिक क्रान्ति सकियो, समृद्धिको यात्रा सुरु हुदैछ भनिरहेका छन्, परिवर्तिन सन्दर्भमा विद्यार्थी आन्दोलनको बाटो के हो ?
मैले अघि पनि भने । अबको विद्यार्थी आन्दोलन रचनात्मक र सिर्जनात्मक हुनुपर्छ । अबको विद्यार्थी आन्दोलनले युगको परिवर्तनसँगै समयसापेक्ष मुद्धाहरुलाई एड्रेस गर्न सक्ने खालको विद्यार्थी आन्दोलन हुनुपर्छ । अबका विद्यार्थीहरु निकै क्यापासिट भएको हुनुपर्छ ।

यति मात्र होइन अहिले जुन राष्ट्रिय कार्यभार छ त्यसलाई आत्मसात गर्न सक्ने खालको विद्यार्थी आन्दोलन हुनुपर्छ । त्यो भनेको विकास र समृद्धिको यात्रामा जसरी राष्ट्र अगाडि जान खोजिरहेको छ, त्यस्तमा एउटा कोसेढुङ्गा सावित हुन सक्नु पर्दछ विद्यार्थी आन्दोलन । संविधानले दिएको शिक्षाको ग्यारेन्टीलाई व्यवहारमा उतार्न दवाव र खबरदारी गर्न विद्यार्थी आन्दोलन एकजुट हुनुपर्छ । अब राजनीतिक र अधिकारका इस्यु भन्दा विकास समृद्धि र सामाजिक इस्युहरुमा विद्यार्थी आन्दोलन बढी केन्द्रित हुँदै जानु पर्छ ।

गरिबका छोराछोरी पढ्ने सरकारी क्याम्पसहरुको अवस्था नाजुक छ । फेरि तपाईहरुको राजनीतिक गर्ने थलो त्यही हो । सरकारी कलेजहरुलाई अब यस्तै छोड्ने ?
मुख्यतः यस कुरामा सरकार त दोषी छ नै । आज शिक्षा क्षेत्रमा व्यावसायिकरण बढिरहेको छ । त्यसको प्रत्यक्ष परोक्ष प्रभाव यो शैक्षिक क्षेत्रमा प¥या छ । खासगरीकन मान्छेहरुले भनिरहेका छन्–विद्यार्थी आन्दोलनकै कारण सरकारी शैक्षिक संस्थाहरुको गुणस्तर कमजोर भएको हो भन्ने यो कुरामा म सहमत छु । यहाँ कमजोर भएको भनेको सरकारको उदासीनता, विश्वविद्यालयको उदासीनता, क्याम्पस प्रशासनको उदासीनता, शिक्षकहरुको उदासीनताका कारणले आज यस्तो भइरहेको छ । यदि शिक्षकहरु सहि ढङ्गले लागे भने विद्यार्थी हामीहरुले त भनिरहेका छौं, कहाँनेर सहयोग गर्नुपर्‍यो शैक्षिक गुणस्तर अभिवृद्धि गर्न, हामीले कहाँनेर योगदान गर्नु पर्‍यो भन्नु पर्‍यो भनेका छौं । तर, यस विषयमा विश्वविद्यालय, क्याम्पस प्रशासन तयार हुनु पर्छ कि पर्दैन ? उसले यसका लागि योजना बनाउनु पर्छ कि पर्दैन ? आज विश्वविद्यालय भर्ती केन्द्र भयो ।

आज विश्वविद्यालय र क्याम्पसहरुमा विद्यार्थी होइन, शिक्षकहरु आन्दोलनमा छन् । कर्मचारी आन्दोलन भइरहेको छ । जसले पढाउनु पर्ने, जसले प्रशासनीक काम गर्नुपर्ने ती मान्छे आन्दोलन गरेर आज विश्वविद्यालयलाई धरासायी बनाइरहेका छन् । त्यसकारण विश्वविद्यालयलाई भर्ती केन्द्र, कमाईखाने भाँडो बनाउन खोजिएका कारणले आज विश्व विद्यालय, सामाजिक शैक्षिक संस्थाहरुको गुणस्तर कमजोर भइरहेको छ । तर, म भन्न चाहन्छु सधैंभरी यस्तो हुन सक्दैन । अबको हाम्रो दायित्व भनेको सामाजिक र सार्वजनिक शिक्षाको गुणस्तर सुधार नै हो । अब निजी शैक्षिक संस्थालाई मात्र गाली गरेर होइन, सरकारी–सामाजिक शैक्षिक संस्थाहरुको गुणस्तर वृद्धि गरेर अगाडि बढ्न आवश्यक छ ।

सर्टिफिकेट धितो राखेर ऋण लिने भन्ने कुरामा केहि समय अभियान चलाउनु भयो । यो एक–दुई दिन देखाउने मात्र थियो कि, के भयो ? अहिले यो कुरा कहाँ पुग्यो ?
यो एजेण्डा भुलेका छैनो र कदापी पनि भुल्दैनौं । त्यो हाम्रो एजेण्डाले स्थापित गरेको कुरा हो । त्यो समयको मागले स्थापित गरेको कुरा हो । हामीले भन्यौं केपी ओलीको सरकार थियो, विष्णु पौडेल अर्थमन्त्री हुनुहुन्थ्यो । अखिलले यो माग उठाएर गएपछि सरकारले यो माग एड्रेस गर्‍यो । यो एजेण्डा सबैभन्दा लोकप्रिय बन्यो, सबै मानिसहरु आशावादी बने । यो कार्यक्रम लागू गर्दै गर्दा राज्यको त्यति ठूलो लगानी जाँदैन । तर, लाखौं युवाहरु यो देशमा रहन्छन् । देशमा रोजगारी सिर्जना हुन्छ । लाखौं चाँहि स्वाधिन राष्ट्रतन्त्र निर्माण हुन्छ । उनीहरुको श्रम र सीप यो देशले लागू गर्ने ठाउँमा पुग्छ । त्यसैले हामी यो मुद्धालाई अझै घनिभूत रुपमा उठाउँछौं र कार्यान्वयनको चरणमा पुर्‍याउँछौं ।

तपाईहरुको कार्यकाल पनि मैजारोतिर छ, वाम एकताको प्रयास पनि भइरहेको छ । अब सम्मेलन हुन्छ कि हुँदैन ?
अवश्य पनि हुन्छ । पार्टी एकता त हुन्छ नै । तर, पार्टी एकता कहिले टुङ्गिन्छ भन्ने कुराको कुनै पनि टुङ्गो छैन । किनभने पार्टी एकता गर्ने कुरा झट्ट एकै पटक भईहाल्ने कुरा होइन । यो एकै रात, एकै दिनमा हुने कुरा होइन । यसमा पार्टी एकताको प्रोसेस हुन्छ । यो तीन महिना, चार महिना, ६ महिना पनि लाग्न सक्छ । वैधानिक व्यवस्थाका कारण पनि दुई वर्ष भन्दा बढी अनेरास्ववियुको कार्यकाल लम्बिन सक्दैन । त्यसैले पनि हामी हाम्रो महाधिवेशनमा जानु पर्नेछ । पार्टीले पनि हामीलाई महाधिवेशनका लागि अनुमति दिइसकेको छ ।

अब पार्टी एकता भयो भने तपाईहरुको स्थान कहाँ हुन्छ भन्ने चिन्ता छ होला नि ?
पार्टी एक हुँदा हाम्रो स्थान कहाँ हुन्छ भन्ने चिन्ता छैन । तपाईले हाम्रो पार्टी अध्यक्षको कुरा पनि सुनिरहनु भएको होला । यतिखेर आफ्नो व्यवस्थापनको चिन्ता होइन, देशको चिन्ता हो, जनताको चिन्ता हो, जनताको व्यवस्थापनको चिन्ता हो । स्वभाविक रुपमा पार्टी एकता भएपछि विद्यार्थी संगठनहरुको पनि एकता हुन्छ । अनेरास्ववियु र अखिल क्रान्तिकारीका बीचमा पनि एकता हुन्छ । एकता भएको अवस्थामा सबै अध्यक्ष–महासचिव हुने हो भने त किन एकताको आवश्यकता हुन्थ्यो ? जुन जरुरी नै छ । अहिलेको विद्यार्थी आन्दोलनको एकीकृत आन्दोलन निर्माण गर्ने, विद्यार्थी हकहितका लागि क्रियाशिल हुने, समस्याहरुलाई समाधान गर्ने, पछिल्लो समय विद्यार्थी आन्दोलनमाथि उठेका जुन औचित्यमाथिका प्रश्नहरु छन् त्यसको जवाफ दिने ।

अहिले पनि विद्यार्थी आन्दोलनलाई रचनात्मक र सिर्जनात्मक बनाउन सकिन्छ । अहिले विद्यार्थी आन्दोलनका माध्यमबाट विकास र सम्भावनाको खोजी गर्न आवश्यक छ । र, यो काम गर्न सकिन्छ भन्ने पुष्टि गर्नुपर्ने छ । यतिधेरै जिम्मेवारी भएकाले हाम्रो व्यक्तिगत चिन्ता, जिम्मेवारी कहाँ रहन्छ भन्ने कुराले महत्व राख्दैन । हामी विद्यार्थी संगठनको एकता कुशलतापूर्वक गर्छौ पनि ।

यस बाहेक भन्नै पर्ने केहि कुरा छन् कि ?
खासै त्यस्तो धेरै कुरा त छुटेको छैन । तर, पनि म अन्तिममा भन्न चाहन्छु, नेपाली जनताले प्राप्त गरेको संविधान कार्यान्वयनको चरणमा छौं । प्रदेश, प्रतिनिधिसभा र स्थानीय तहका निर्वाचन भएका छन् । तीन तहका सरकार निर्माण हुँदैछन् । अब देश विकास र समृद्धिको यात्रामा अघि बढ्दैछ । यस्तो बेलामा हामीले दुई–तीन वटा कुरामा ख्याल गर्नुपर्छ भन्ने लाग्छ । पहिलो कुरा चाँहि हामी विकास र समृद्धिको यात्रामा बढ्दै जाँदा यसका निम्ति युवाहरु, विद्यार्थीहरु यसमा महत्वपूर्ण फ्याक्टरहरु हुन् । उनीहरुको श्रम र सीप यहि देशमा लागू गर्नका लागि भूमिका खेल्ने कुरामा सरकारले अगुवाई गरोस् । त्यसमा साथ दिन अनेरास्ववियु र हामी तयार छौं ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७