के फकल्यान्ड युद्धका कारण मेस्सीकाे देश अर्जेन्टिनाले नेपाललाई घृणा गर्छ ?


७ असार २०७५, बिहीबार

फकल्यान्ड युद्धमा ब्रिटिसको तर्फबाट बार्सिलोनाका स्टार तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीकाे देश  अर्जेन्टिना विरुद्ध गोरखाहरूले लडाइँ गरेका थिए । यो त्यही युद्ध थियो, जहाँ गोरखाहरूकै कारण १४ जुन १९८२ कै मितिमा ब्रिटिससामु अर्जेन्टिना आत्मसमर्पण गर्न बाध्य भयो । यही घटनालाई कहिलेकाहीँ अर्जेन्टिनाले फकल्यान्ड युद्धकै कारण गोरखा र नेपाललाई घृणा गर्छ भन्ने मनसायले नेपाल तथा नेपाल बाहिर पनि बहसमा ल्याइने गरिएको छ । यो प्रसङ्ग विश्वकप फुटबल २०१४ आयोजना भइरहेको बेला अधिक चर्चामा ल्याइयो ।

 

falklands war 1

अर्जेन्टिनाले घृणा गर्छ भनेर दृष्टिकोण फैल्याउनेहरूले अर्जेन्टिनालाई तीन वटा आरोप लगाउने गरेका छन् । पहिलो, अर्जेन्टिना एक मात्र देश हो, जसले नेपालीलाई प्रवेशाज्ञा दिँदैन । दोस्रो, फकल्यान्ड युद्धका कारण अर्जेन्टिनीहरूले नेपालको झन्डा जलाएका थिए । तेस्रो, उनीहरूको विद्यालयको पाठ्यक्रममा गोरखाहरू हाम्रा शत्रु हुन् भनेर लेखिएको छ ।

यी सत्य हुन् वा हल्ला ? राम्रो प्रश्नको राम्रो उत्तर दिने नारा रहेको क्युओरा डटकममा यही प्रश्नबारे स्वयम् अर्जेन्टिनीहरूले भने अनभिज्ञता रहेको र प्रसङ्गले आफूलाई आश्चर्य लागेको लेखेका छन् । त्यसमध्ये रोड्रिगो हेरान्जले गोरखाहरूलाई आफूहरूले घृणा गर्न नसक्ने लेखेका छन् । यसै गरी लुइस गोन्जालेजले भने अर्जेन्टिनी युवाहरू गोरखाहरूबारे अपरिचित रहेको भन्दै गोरखाहरू किन अरुका लागि लड्न गर्व गर्छन् भनेर चाहिँ आश्चर्य लागेको लेखेका छन् ।

फकल्यान्ड युद्धका अर्जेन्टिनी योद्धाको कुरा लेख्दै उनले शत्रुको रुपमा लडाइँ मैदानमा डरलाग्दा ‘जापानी’ (गोरखाहरूको अनुहार जापानीहरूसँग मिल्ने भएकोलेहरू देखेको बताएको उल्लेख गरेका छन् ।  यसै गरी याहु उत्तरमा लेख्दै अर्का अर्जेन्टिनी इलाइजरले गोरखाहरूबारे आफूलाई थाहा नभएको र उनीहरूलाई घृणा नगर्ने लेखेका छन् ।

Rodrigo Herrainz

रोड्रिगो हेरान्ज, उसुइया, अर्जेन्टिना
म अर्जेन्टिनाको हुँ र मेरो शहर फकल्यान्ड(जसलाई यहाँ मालभिनास भनिन्छ)बाट पाँच सय मिटर टाढा छ । मैले गोरखाहरूको बारेमा कहिल्यै सुनेको थिइनँ । त्यसकारण उनीहरूका बारे मैले गुगलमा खोज्नुपर्यो ।  त्यसैले मैले के भन्न सक्छु भने मेरो देशका बहुसङ्ख्यक जनताले गोरखा को हुन् भनेर जानेका छैनन् । त्यसैले हामी उनीहरूलाई घृणा गर्न सक्दैनौँ ।

Luis M. Gonzalez
लुइस एम गोन्जालेज

म अर्जेन्टिनी हुँ, र म के भन्न आँट गर्दैछु भने देशका धेरै जनता त्यसमा पनि फकल्यान्ड युद्धपछि जन्मिएकाहरू गोरखाहरू को हुन् ? कहाँबाट आएका हुन् भन्ने चाल पाउँदैनन् । म सम्झन्छु, एक अर्जेन्टिनी सिपाही जसलाई ब्रिटिस कमाण्डोले ‘ज्यान सजाय’ दिएका थिए, तर जादुयी तरिकाले बाँचेका थिए, उनले भने अनुसार दोहोरो भिडन्त हुँदा चारैतिर हिंस्रक ‘जापानी’हरू देखेका थिए ।  रानीको लागि लड्ने बहादुर नेपाली लडाकुहरू धेरै अनौठा छन्, र तिनिहरूलाई बुझ्न गाह्रो छ । मैले बुझ्न नसकेको के हो भने अन्तर्राष्ट्रिय नियम अनुसार उनीहरू लड्न किन गर्व गरिरहेका छन् ? म के बुझ्छु भने उनीहरू आफ्नो लडाइँ कौशलका लागि चाहिँ गर्व गर्छन् ।
गोरखा भन्ने शब्द कसैलाई असावधान तरिकाले आक्रमण गर्नेलाई यहाँ जनाइन्छ ।

लुइस एम गोन्जालेज
इलाइजर

म अर्जेन्टिनाको हुँ, र म त के पनि जान्दिनँ भने गोरखाहरू के हुन् ? खासमा मैले नेपाल पनि कहाँ पर्छ भनेर जाँच गरेँ । भारतको नजिक रहेछ ।  यसले के प्रष्ट पार्दछ भने अर्जेन्टिनाले नेपाललाई घृणा गर्छ भन्ने आरोपको आधार छैन । वास्तवमा यो हल्ला नेपालमा विश्वकप फुटबलमा ब्राजिल समर्थकहरूको भीडले बढी उच्चारण गरेकोले घनीभूत भएको हो । यो हल्ला नेपालमा पछिल्लो विश्वकपमा नै किन बढी चर्चामा थियो भने अर्जेन्टिना र ब्राजिल फाइनलमा भिड्नेछन् भन्ने फुटबल पण्डितहरूको आँकलन थियो ।

सुमधुर छ नेपाल—अर्जेन्टिना सम्बन्ध

falklands war
नेपाल र अर्जेन्टिनाबीच कूटनीतिक दौत्य सम्बन्ध १ जनवरी १९६२ मा नै स्थापित भएको हो । दुई देशको सम्बन्ध आपसी हित, समझदारी र मित्रतामा आधारित छ । नेपालका लागि अर्जेन्टिनाका राजदूत आवासीय रुपमा दिल्लीमा रहन्छन् भने आवासीय रुपमा न्यूयोर्कमा रहने संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधिले अर्जेन्टिनाको राजदूतको काम गर्दछन् ।

नेपालका पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्ट अर्जेन्टिनी राष्ट्रपति कार्लोस सउल मेनेमको शपथ समारोहमा सन् १९८९ मा अर्जेन्टिना भ्रमणमा पुगेका थिए । संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संगठनहरू र अन्तराष्ट्रिय सभासम्मलेनहरूमा दुई देशले धेरै मात्रामा साझा मुद्दा उठाउने गरेका छन् । अर्जेन्टिनी सरकारले अहिले नेपालमा छाला प्रशोधनको प्राविधिक सहयोगलाई बढावा दिन चासो लिइरहेको छ ।
सन् २०१० मा एघार सय दुई जना र २०११ मा बाइस सय छब्बीस अर्जेन्टिनी पर्यटकहरू नेपाल आएको परराष्ट्र मन्त्रालयको वेभसाइटमा उल्लेख छ ।

प्रस्तुती : निराजन बतास

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७