सरहरु ! तपाईहरु को-कोसँग छ लोकतन्त्रको ‘लाइसेन्स’ ?


११ माघ २०७४, बिहीबार
Rajesh Rai

सन् २००३ मा इराकमाथि आक्रमण गरियो । कथित लोकतन्त्र र मानवअधिकारको ‘लाइसेन्स’ कब्जा गरेर संसारलाई आफ्नो काबुमा नचाइरहेको अमेरिकाले इराकी भूमिमाथि गोला–बारुद शुरु गर्‍यो । उसको मुख्य सहयोगी थियो–बेलायत । इराकको सार्वभौमिकतामाथि आक्रमण गर्दै गर्दा इराकमाथि आरोप थियो, ‘रासायनिक एवम् जैविक हतियार राख्यो, यहि बलमा राष्ट्रपति सद्दाम हुसैनले लोकतन्त्र र मानवअधिकारमाथि गिद्देनजर लगाएको छ ।’

हामी सबैले मानेका वा मान्न बाध्य पारिएका अन्तर्राष्ट्रिय मिडियाहरुले इराक आक्रमण हुनुअघि सद्दाम हुसैनले अप्नाएको लोकतन्त्रको तीब्र भत्र्सना गरिरहेका थिए । उसले गरेको मानवअधिकार हनन् चर्को स्वरमा संसारलाई सुनाईरहेका थिए । सद्दामको दानवीकरण गरेर उसको भयनाक तस्बिरबारेमा संसारलाई ‘कन्भिन्स’ गराईरहेका थिए । यसरी प्रचार गरिरहेका थिए–‘मानौ कि सद्दाम हुसैन र उनको देश दानवहरुको देश हो । यहाँ मान्छेको कुनै मूल्य छैन ।’ सरकारको प्रोपगाण्डा एजेन्सीका रुपमा प्रस्तुत भए स्वतन्त्र भनिएका मिडियाहरु । संसारलाई सद्दाम खराब हुन् भनेर ‘कन्भिन्स’ गर्ने कोशिस मिडियाले नै गरे । संसारभरीका मान्छेहरुको दिल दिमागमा सद्दाम र इराकको यस्तो भयानक बिम्ब मिडियाले बनाई दियो । सबैले इराकमाथिको आक्रमण सही माने ।

Rajesh Rai 1024x496

जब इराकमाथि आक्रमण भयो । सैयौं इराकी निर्दोष कलिला नानीहरुमाथि बम हानियो । सुत्केरी आमाहरुमाथि बन्दुक हानियो । हजारौं निर्दोषलाई बिभत्स गरी मारियो । तर, दुई–चार जनालाई सद्दाम हुसैनले यातना दिएको समाचार दिएर सद्दामकै कारण यो धर्तीबाट मानवीयता हराउन सक्ने प्रचार गर्ने ती मिडियाहरुले हजारौं निर्दोष इराकीहरुलाई पशु जस्तै बिभत्स तरिकाले मारिएको कहिल्यै देखेनन् । सद्दामले दिएको यातना सही भन्ने होइन । गलत हो । तर, प्रश्न हो भने ‘के अमेरिका र बेलायतले मारेका हजारौं ती निर्दोष मानिसहरुका लागि चाहिँ मानवअधिकार होइन ?’ अमेरिका र बेलायतले नानीहरु, बृद्धबृद्धाहरु, सुत्केरी आमाहरु, युवा–युवतीहरु बिभत्स तरिकाले मारिरहेको दृष्यले मानवअधिकारको पाठ घोकाईरहने मान्छेहरुको आँखामा आशु किन आएन ?

इराक युद्धमा ३ हजार ८७६ जना मारिए । ५७ हजार ३५५ जना घाइते भए । उनीहरुले राम्रोसँग उपचार पाएनन् । कति मरिसके । हजारौं वेपत्ता छन् । यो युद्धको कारण अहिले ६२ हजार नागरिक भोकमरीको शिकार बनेका छन् । ३० डिसेम्बर सन् २००६ मा सद्दाम हुसैनलाई झुण्ड्याएर मारियो । यतिधेरै भयनाक युद्धको प्राप्ति के ? अमेरिका र बेलायतले दाबी गरे जस्तो इराकमा जैविक हतियार फेला परेन ।  इराक युद्धबारे अध्ययन् गर्न बनेको बेलायती चिलकोट जाँचबुझ आयोग बन्यो । यो युद्धलाई अपराध भन्यो । तत्कालीन अमेरिकी पूर्व राष्ट्रपति जर्ज डब्ल्यु बुसमाथि युद्ध अपराधको मुद्दा चलाउनु पर्ने बहस भयो । रिपोर्ट सार्वजनिक भएको भोलिपल्ट बेलायती पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले युद्धमा मारिएकाहरुका परिवारसँग माफी मागे । सद्दाम हुसैनलाई जसरी झुण्ड्याइएको थियो, त्यो भन्दा भयनाक तरिकाले जर्ज डब्ल्यु बुस, टोनी ब्लेयरहरुलाई झुण्ड्याइनु पर्ने थियो । तर, उनीहरुमाथि प्रश्न समेत गरिएन ? किन ? उनीहरुसँग मानवअधिकार र लोकतन्त्रको ‘लाइसेन्स’ थियो, छ । उनीहरुलाई लाखौंलाई मार्ने छुट छ । करोडौंलाई बेघरबार बनाउने अधिकार छ । समग्रमा उनीहरुलाई जेसुकै गर्ने छुट छ । किनभने उनीहरुले लोकतन्त्र र मानवअधिकारको ‘लाइसेन्स’ कब्जा गरेर बसेका छन् ।

अमेरिकी चिन्तक नोम चम्स्कीले त्यतिबेला भनेका थिए, ‘कथित लोकतन्त्र र मानवअधिकार अवरणमा उनीहरुलाई जे गर्ने पनि छुट छ । मिडिया तिनका सहयोगी छन् । इराक आक्रमणको घोषणा हुना साथ मिडियाले सरकारको प्रोपगाण्डा एजेन्सी (प्रचार संस्था) का रूपमा काम गर्न थालिहाल्यो । भियतनाम युद्धमै पनि यस्तै भएको थियो ।’ यो केवल एउटा प्रतिनिधि उदाहरण मात्रै हो । हामीलाई थाहा छ, लोकतन्त्र र मानवअधिकारको ‘लाइसेन्स’ प्रयोग गरेर संसारमा अमेरिका र बेलायतले के–के गर्‍यो ? यो इतिहास लामो छ । भयनाक छ ।

कोसँग छ, हाम्रो ‘लाइसेन्स’ ?
चम्स्की भन्छन्, ‘सर्वसत्तावादका लागि हिंसा र लोकतन्त्रका लागि प्रोपगाण्डा उस्तै हुन् ।’ अमेरिकामा बाराक ओबामाको शासन चलिरहेका बेला ५ बर्षअघि चम्स्कीले भनेका थिए, ‘अहिले अमेरिकाले नागरिक अधिकारमाथि घातक आक्रमण गरिरहेको छ । तर, उद्धार मिडियाले यसबारे केही बोलेका छैनन् । किनभने, आक्रमण ओबामा प्रशासनबाट भईरहेको छ । ओबामासँग लोकतन्त्र र मानवअधिकारको आवरण छ ।’

अब हामी कहाँको कुरा गरौं । जतिबेला दुई बामपन्थी दलहरु नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले चुनावी तालमेलको घोषणा गरे । ठिक त्यतिबेला हामीकहाँ पनि लोकतन्त्रको बहस असाध्यै भयो । अथवा उछालियो । गठबन्धन लगत्तै लोकतन्त्रमाथि गम्भिर खतरा भएको भन्दै बामपन्थी इतरका नेता मात्रै होइन लेखक, बिश्लेषक, सम्पादक र स्तम्भकारहरुले यतिधेरै आलेख लेखे, त्यो अहिले पनि आइकाइभमा हेरे हुन्छ । उनीहरुको लेखेका थिए, ‘कांग्रेस र माओवादी केन्द्रको सहकार्य छँदासम्म सुरक्षित रहेको लोकतन्त्र एमाले र माओवादी मिल्न साथ भयङ्कर खतरामा पर्‍यो ।’ आफूलाई स्वतन्त्र र व्यवसायिक भनेर दाबी गर्ने नाम चलेका लेखकहरुले समेत बढो याचनाको भाषामा लेखेका थिए, ‘लोकतन्त्र धरापमा परिसक्यो । नेपालका लोकतन्त्रवादीहरु छिटो एक हुनुहोस् ।’ गएको निर्वाचनमा कांग्रेसको अजेण्डा नै लोकतन्त्रको रक्षा भयो ।

लोकतन्त्र भनेको के हो ? नेपाली बृहत शब्दकोश भन्छ, ‘बहुसंख्यक जनताद्धारा छानिएका प्रतिनिधिहरुको सम्मति अनुसार कुनै देशको शासन व्यवस्था चल्ने र नीति निर्धारण आदि हुने शासन प्रणाली नै लोकतन्त्र हो ।’ कांग्रेस लोकतन्त्रको रक्षा अजेण्डासहित जनताको बीचमा गयो । एमाले र माओवादीले जिते मुलुकमा सर्वसत्तावाद आउने औंल्याए । तर, जनताले कांग्रेसको कुरा पत्याएनन् । वाम गठबन्धनले निर्वाचनमा बहुमत पायो । हामीले भनेको लोकतन्त्र अथवा संविधान अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार काम चलाऊ सरकारमा सीमित भयो । लोकतन्त्रको सबैभन्दा ठूलो सौन्दर्य नै बहुसंख्यक जनताद्धारा छानिएका प्रतिनिधिहरुको सम्मति अनुसार शासन व्यवस्था चलाउनु हो । लोकतन्त्र रक्षाको अजेण्डा लिएर चुनावमा गएका कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनपछि जे गरिरहेका छन्, त्यो लोकतन्त्रको मूल्य–मान्यता र आर्दशसँग विलकुल मेल खाँदैन । लोकतान्त्रिक मूल्य–मान्यता र आर्दशको धज्जी उडाइएको छ ।

जनताले अस्वीकृत गरेपछि शेरबहादुरले जनताद्धारा अनुमोदितहरुलाई कुर्सी हस्तान्तरणका लागि सहज बनाउनु पथ्र्यो । संविधानको आफू अनुकूल व्याख्या गरेर कुर्सी त छाडेनन् नै । अहिले सरकारमा बसेर जे गरिरहेका छन्, के यसले लोकतन्त्रको रक्षा गरिरहेको छ ? पछिल्लो समयमा देउवा सरकारले गरेका निर्णयहरु छताछुल्ल छ । केवल आफ्नो तुच्छ स्वार्थका निम्ति देशको सुरक्षा, अर्थतन्त्र र संरचनालाई समेत दीर्घकालसम्म असर गर्ने गरी धमाधम निर्णय गरिरहेका छन् । आफू अनुकूलकालाई राज्यकोषबाट पैसा खर्च गर्ने, धमाधक नियुक्ति दिइरहेका छन् । देउवाले के गरे ? के गरेनन् ? यो निकै लामो फेहरिस्त छ । निकष्र्ष यति हो, उनका कुनै पनि काम लोकतन्त्रको मूल्य–मान्यता र आर्दशसँग मेल खाँदैनन् ।’ देउवाले यस्ता काम गरिरहेका छन्, जो प्रश्नका लागि पनि लायक छैनन् ।

यहाँ मैले प्रश्न गर्न खोजेको कुरा हामीकहाँ आफूलाई स्वतन्त्र मान्ने मिडिया, बिश्लेषक, बुद्धिजीविहरुलाई हो । जसले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले चुनावी तालमेल गरे लगत्तै लोकतन्त्रमाथि भयनाक खतरा देखेका थिए । के आज प्रधानमन्त्री शेरबहादुर देउवाले जे गरिरहेका छन्, त्यसले लोकतन्त्रको रक्षा भईरहेको छ ? कि शेरबहादुर देउवासँग लोकतन्त्रको त्यस्तो ‘लाइसेन्स’ छ ? उनले जे गरे पनि हुन्छ । उनलाई यी सब काम गर्न छुट छ ? हामीकहाँ एउटा ठूलो मिडिया, बिश्लेषक, बुद्धिजीविहरुको समूह त्यस्तो छ, जसले कांग्रेससँग लोकतन्त्रको ‘लाइसेन्स’ छ भन्ने ठान्छ । अथवा कांग्रेसलाई त्यो ‘लाइसेन्स’ भिराउन चाहन्छ ।

के लोकतन्त्र त्यस्तो चिज हो, जसको ‘लाइसेन्स’ कब्जा गरेपछि जसलाई जेसुकै गर्ने छुट हुन्छ ? जसको आवरणमा मच्चाइएका लुट र गरिएका कुकर्महरुलाई सबैले मानी दिनुपर्छ । यसबेला मेरो मनमा एउटा प्रश्न छ, ‘आज प्रधानमन्त्री शेरबहादुर देउवाले जे गरिरहेका छन्, त्यही कुर्सीमा बसेर केपी ओली अथवा प्रचण्डले त्यही गर्ने हो भने हाम्रा बिश्लेषक, लेखक, बुद्धीजीवि र पत्रकारहरुले के–के लेख्ने थिए । के–के भन्ने थिए ?’ सायद यसो भनिने थियो, ‘सर्बसत्ताबादीहरुले नेपाली धर्तीबाट लोकतन्त्रलाई सदाका लागि समाप्त गर्दैछन् ।’ हामीकहाँको लोकतन्त्र, यसको इतिहास र अभ्यास आफ्नै छ । हामीले अहिले शब्दको परिभाषा भन्दा पनि यसको इतिहास र अभ्यास पल्टाउनु जरुरी छ ।

लोकतन्त्रका लागि कहिले को लड्यो ? कुन पार्टीले पार्टीभित्र र बाहिर कस्तो अभ्यास गरिररहेको छ ? हाम्रो विगत घाम जस्तै छर्लङ्ग छ । तर, लोकतन्त्रका ‘लाइसेन्स’ धारीहरुको मनोविज्ञान त्यो अभ्यास र इतिहासले अझै परिवर्तन गर्न सकेको छैन । यसको काफी उदाहरण यहि पछिल्लो घटना हो । शेरबहादुर देउवाले यतिका लोकतान्त्रिक मूल्य–मान्यता र आर्दश विपरीतका नाङ्गो कामहरु गर्दा समेत उनीहरुले प्रश्न गर्ने आँट गरेका छैनन् । गरेनन् । बरु, उल्टै केपी ओली र प्रचण्डमा अंहकार पो देखिरहेका छन् । फेरि पनि मेरो मनमा उही प्रश्न आउँछ, ’आज देउवाले जे गरिरहेका छन्, केपी ओली र प्रचण्डले त्यही गर्ने हो भने कस्ता आलेख आउने थिए, कस्ता सम्पादकीयहरु लेखिने थिए ?’ के सरहरु यो प्रश्नको उत्तर दिन तयार हुनुहुन्छ ?

लेखकलाई पछ्याउनुहोस्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७