अख्तियारले प्राधिकरणको घोटाला छानविन गर्न थालेपछि विदेश भाग्दै विचौलिया


१४ माघ २०७४, आईतवार
oil

काठमाण्डौं, १४ माघ : नेपाल आयल निगमको पेट्रोलियम पदार्थ भण्डारण गर्न खरिद गरिएको जग्गाका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेपछि विचौलीयाहरु अमेरिका र अस्ट्रेलियामा लुकेर बसेको रहस्य खुलेको छ । oil

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको नेतृत्वमा चितवन, झापा, सर्लाही र भैरहवामा किनिएको जग्गामा घोटाला भएको भन्दै अख्तियारले अनुसन्धान गरिरहेको छ । अख्तियारले जग्गा खरिद प्रकरणमा तीन सयभन्दा बढीको बयान लिएको छ । ति बयानहरुपछि अझै थप तीन जनासँग वयान लिन खोजिरहेको भएपनि उनीहरु अख्तियारबाट भाग्ने कोशिस गरिरहेका छन् ।
जग्गा खरिद गर्दाका विचौलीया र समितिका एक सदस्यसँग अख्तियारले बयान लिन खोजिरहेको हो । तर, उनीहरु अहिलेसम्म बयानका लागि उपस्थित भएका छैनन् । जग्गा खरिद प्रकरणमा मुछिएका झापाको मेचीनगरका फुर्वा लामा, झापाकै विनोद मोक्तान र काठमाडौंका विजयराज सत्याल अख्तियारले बोलाएको समयमा बयानमा उपस्थित हुन आनाकानी गरिरहेका छन् ।

लामा र मोक्तान जग्गा खरिदमा व्यवस्थापकीय जिम्मेवारी निर्वाह गरेका जग्गा दलालहरु हुन् । लामा अहिले अस्ट्रेलियामा लुकेर बसेका छन् भने मोक्तान काठमाडौंमै लुकेका छन् । यद्यपि मोक्तानले आइतबार बयानका लागि उपस्थित हुने खबर अख्तियारमा पठाएका छन् । ‘लामालाई म्याद तामेली गर्ने प्रक्रिया चलिरहेको छ,’ अख्तियार स्रोतले भन्यो, ‘मोक्तानले चाहिँ आइतबार आउने भनेका छन्, आउँछन् कि आउँदैनन्, हामी पर्खेर बसेका छौं ।’ अख्तियारले उनीहरुलाई यसअघि नै पटक–पटक बयानका लागि बोलाएको थियो ।

आयल निगमका पूर्व कर्मचारी सत्याल भने अमेरिकामा लुकेर बसेको अख्तियारले दावी गरेको छ । अख्तियारले जग्गा खरिदमा अनुसन्धान बढाएसँगै उनी अमेरिका पुगेका हुन् । उनी स्थलगत जग्गा अध्ययन समितिको सदस्य थिए । ‘सत्यालको बालुवाटारस्थित घरमा म्याद तामेल भइसकेको छ,’ अख्तियार स्रोतले भन्यो, ‘घरमा बस्नेहरुले भाइबरमार्फत अख्तियारको सूचना पठाइदिन्छौं भनेका छन् ।’

अख्तियारले अनुसन्धानको अन्तिम चरणमा मोक्तान, सत्याल र लामासँग बयान लिन खोजेको हो । तर, उनीहरुले अख्तियारलाई असहयोग गरिरहेका छन् । ‘म्याद तामेल गरेपछि अख्तियारले कानून अनुसार आफ्नो काम अघि बढाउँछ,’ अख्तियार स्रोतले भन्यो, ‘बयानको काम लगभग सकिएको छ ।’ अख्तियार स्रोतका अनुसार जग्गा खरिद प्रकरणमा मुछिएका तीन सयभन्दा बढीसँग बयान लिइसकिएको छ ।
अख्तियारले आयल निगमका निर्देशक गोपाल खड्कासँगै सुशील भट्टराई, दिवाकर मल्लिक, रविन शर्मा, पुष्कर कार्की, रविन्द्रचन्द्र अधिकारी लगायत सबैको बयान लिइसकेको जनाएको छ । आयल निगमका कर्मचारीहरु, पूर्व कर्मचारीहरु, पदाधिकारीहरु, जग्गा धनीहरु, जग्गा दलालहरु, ठेकेदारहरु लगायतसँग वयान लिएको हो । अख्तियार स्रोतका अनुसार बयान टाइप भएपछि त्यसको विश्लेषण गरेर रिपोर्ट लेख्ने काम हुनेछ । ‘अहिले पनि यो मुद्दामा अख्तियारमा विहान ६ वजेदेखि बेलुकी ७ बजेसम्म काम भइरहेको छ,’ अख्तियार स्रोतले भन्यो, ‘अब रिपोर्ट लेखेर त्यसलाई आयोगको बोर्ड बैठकमा पेश गर्ने काम हुन्छ ।’ अख्तियारका आयुक्तहरुको बैठकले निर्णय गरेसँगै यो प्रकरण विशेष अदालतमा प्रवेश गर्नेछ ।

पेट्रोलिय पदार्थ भण्डारणका लागि किनिएको जग्गामा चरम आर्थिक अनियमितता भएको अख्तियारले जनाएको छ । खोला किनारको सामान्य जग्गालाई समेत चार गुणा बढी मुल्य तिरेर जग्गा खरिद गरिएको छ । जग्गा खरिदका क्रममा राज्यलाई आर्थिकभार पारेर चरम भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।

के हो जग्गा खरिद प्रकरण ?

नेपाल आयल निगमले इन्धन भण्डारणका लागि चितवन, झापा, सर्लाही, भैरहवा लगायतका स्थानमा राज्यलाई ठूलो व्ययभार पर्नेगरी जग्गा खरिद गरेको थियो । संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले प्रचलित भाउको ४ गुणासम्म बढी हालेर जग्गा खरिद गरिएको ठहर गरेको थियो । थोरै मुल्यको जग्गालाई राज्यकोषबाट धेरै रकम तिरेर किनिएको र जग्गा खरिदका क्रममा आर्थिक अनियमितता भएको अख्तियारले जनाएको छ ।

संसदको समितिले जग्गा खरिद गर्दा एक अर्ब भन्दा बढी रकम अनियमितता भएको ठहर गरेको थियो । ‘जग्गा खरिदका क्रममा एक अर्ब भन्दा बढी रकम भ्रष्टाचार भएको देखिन्छ,’ अख्तियार स्रोतले भन्यो, ‘यसका प्रमुख मतियार कार्यकारी निर्देशक खड्का नै हुन भन्ने अख्तियारको अनुसन्धानले देखाउँछ ।’ जग्गा खरिदमा भ्रष्टाचार गरेको भन्दै खड्का लामो समयदेखि विवादमा छन् । उनलाई सरकारले निगमको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेको भएपनि उनी सर्वोच्च अदालतको अन्तरिम आदेशपछि फेरि जागिरमा फर्किएका छन् ।
आपूर्ति मन्त्रालयले उनलाई निगममा नपठाएर मन्त्रालयमै हाजिर गर्न भनेको थियो । तर उनले मन्त्रालयमा हाजिर नगरि बसेका छन् । इन्धन भण्डारणका लागि खरिद गरिएको जग्गा उचित कानूनी प्रक्रिया पूरा नगरी खरिद गरिएको समेत संसदको समितिले बताएको थियो । खड्काले आफ्नो नेतृत्वमा जग्गा प्राप्ती ऐन २०३४ र सार्वजनिक खरिद ऐनको मर्म मिचेर जग्गा गरिद गरेका थिए ।

जग्गा खरिदको विषय लामो समयदेखि विवादमा रहेको छ । जग्गा धनी, विचौलिया र आयल निगमका पदाधीकारी तथा कर्मचारीको संयुक्त सेटिङको आधारमा जग्गा खरिद गरिएको संसदको समितिले बताएको थियो । लामो विवादपछि अख्तियारले खड्का माथि विशेष अनुसन्धान प्रारम्भ गरेको थियो । करिब ४ महिना लामो अनुसन्धान पछि अख्तियारले निगमको जग्गा खरिदसँग सम्बन्धित अनुसन्धान अन्तिम चरणमा पुर्याएको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७