शेरबहादुर देउवा : कांग्रेस सिध्याए अब देश नै सिध्याउने ?


१६ माघ २०७४, मंगलवार
Gopal Budathoki
  • गोपाल बुढाथोकी

प्रधानमन्त्री पदमा रहेका शेरबहादुर देउवालाई नेपालीले जति चिनेका थिए, चुनावपछि त्योभन्दा गज्जबसंग चिन्ने मौका पाए । शेरबहादुर लरतरा मानिस होइनन् । यी वास्तवमै शेर हुन् । यिनको दुस्साहसको कुनै सीमा छैन । हुन त शेरबहादुरको दुस्साहसको परिचय विगतमा पनि बारम्बार पाइएको हो । उहिले प्रतिनिधि सभाकालमा सांसद खरीदमा देउवा अग्रणी रहेका थिए । उनले ठाउँको ठाउँ सांसद किनेर सरकार टिकाउने गरेका थिए ।
सांसद किन्न देउवा यति माहिर कि उनलाई हटाउन भित्रभित्रै लागिपरेका गिरिजाप्रसाद कोइराला पनि हार खाएका थिए । केही सीप नचलेपछि गिरिजाले दुई जना सांसदलाई गायब गरेर देउवाको सरकार गिराएका थिए ।

Gopal Budathoki

जब्बर शेरबहादुरलाई कुनै नैतिक सीमाले छेक्दैन । अहिले उनी कामचलाउ हुन् । कामचलाउ सरकारले के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने उनलाई कसैले सिकाइरहन पर्दैन । किनभने विगतमा उनी धेरै पटक कामचलाउ बनिसकेका छन् । यसपटक पनि कामचलाउ हुन् । तर, चुनाव जितेर आएको प्रधानमन्त्री जसरी देउवाले धमाधम निर्णय ठोकिरहेका छन् । देशलाई आर्थिक भार पर्ने र दूरगामी असर पर्ने नीतिगत निर्णयहरू गरिरहेका छन् । कामचलाउ सरकारले यस्तो अनैतिक काम गर्न हुँदैन भन्ने देउवालाई थाहा छ । तर, लाज पचेपछि कसैको केही नलाग्ने रहेछ । देउवाको मनपरीतन्त्रको चरम आलोचना भइरहेको छ तर उनी अरु पनि थप निर्णयहरू गर्छु भनेर धम्काइरहेका छन् ।

एकथरी कांग्रेसीहरू भन्दैछन्, ‘कांग्रेसलाई देउवाबाट बचाइदेउ ।’ कांग्रेस भनेको एउटा पार्टी हो, एउटा पार्टी सिद्धियो भने अर्काे आउँछ । तर, देउवाले देश नै सिध्याउने खतरा भयो । राष्ट्रिय ढुकुटी स्वाहा नपारी पद छाड्दिन भनेर देउवाले भीष्म प्रतिज्ञा नै गरेका हुन् ? होइन भने यसरी मनपरी खर्च गर्न र जुवाडेले उडाए जसरी ढुकुटी सक्न लाज लाग्नुपर्ने हो । लाजको सीमा तब नाघ्यो जब देउवाका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले कमाएको हो, खर्च गर्ने नैतिक अधिकार राख्छ भने । विश्वप्रकाश युवा पुस्ताबाट उदाएका सम्भावना र आशा भएका लोकप्रिय नेता हुन् । उनले देउवाको गतिछाडा मतिछाडा प्रवृत्तिमा काँध थाप्नु अत्यन्त अशोभनीय भएको छ ।

देश भनेको घर जस्तै हो, जसले कमायो उसले उडाउन पाइन्छ भन्नु गलत हो । कांग्रेसले कमाएको हो भन्दै जे गर्न पनि पाइने ? अहँ, यो हुन सक्दैन । घरमूलीले कमाएर ल्याउँछ, परिवारले बाँडीचुडी खान्छन् । घरमूलीले मैले कमाएको हो भनेर बाहिरै उडाउन पाइन्छ ? यस्तै भयो विश्वप्रकाशको कुरा । सरकारमा बसेर मेरो पालामा यति कमाइ भयो, अब कमाइ भएजति म आफै स्वाहा पार्छु भन्न कहाँ पाइन्छ । यस्तो नियत राख्नु भनेको अपराध हो ।
शेरबहादुर देउवा जुनसुकै हदसम्म राजनीतिक इमान छाड्ने नेता हुन् । विगतमा राजा ज्ञानेन्द्रसंग मिलेर पहिले उनले आफ्नै पार्टीका सभापति गिरिजाप्रसाद कोइरालालाई घात गरे । त्यसपछि प्रजातन्त्रलाई घात गरे । अन्तिममा महाराजा ज्ञानेन्द्रले नै उनलाई घात गरे । एउटा भनाई छ, बेइमानको उपयोग एउटा सीमासम्म मात्र गर्नुपर्छ । देउवालाई राजा ज्ञानेन्द्रले यही नीति अनुसार घात गरेको हुनुपर्छ । कसैलाई बाँकी नराख्ने, जसलाई पनि बेइमानी गरिहाल्ने देउवाको चरित्र देखेपछि राजा ज्ञानेन्द्रले आफैमाथि घात हुने हो कि भनेर देउवालाई नै कू गरिदिए ।

तिनै देउवा हुन् अहिले प्रधानमन्त्री । चुनाव टार्न उनले अनेक तिकडम गरे तर सकेनन् । चुनाव भयो, उनको पार्टी परास्त भयो । सत्तामा धेरै वर्षसम्म फर्किन नसकिने अवस्था भयो । त्यसपछि देउवाले म रहँदिन भने स्वाहा पार्छु, भाँडभैलो मच्चाउँछु भन्ने नीति लिए । भटाभट राजनीतिक नियुक्ति गर्ने, ढुकुटी रित्याउने, जतिसक्दो फजुल खर्च गर्ने, नीतिगत निर्णयहरू गरेर भावी सरकारको खुट्टामा अहिले नै तगारो लगाउने काम गरिरहेका छन् । अनैतिकताको पराकाष्ठा हो यो ।

देश वर्वाद पार्ने कुनियत हो !
शेरबहादुरले देश स्वाहा नपारी सत्ता नछाड्ने भए भन्ने देशव्यापी चिन्ता छ । कांग्रेसजनहरू चाहिं कांग्रेस स्वाहा पार्ने भए भनेर चिन्ता गरिरहेका छन् । देश नै स्वाहा पार्ने, राष्ट्रिय ढुकुटी नै रित्तो पार्ने अभियानमा हिंडेका देउवाले कांग्रेस जाबोलाई बाँकी राख्दैनन् पनि । देउवाले महाराजा ज्ञानेन्द्र कालमा कांग्रेसलाई धूलोपीठो पारेकै हुन्, चुनावमा पनि स्वाहा पारे । अब पनि स्वाहा पार्ने भए । सामाजिक संजाल ट्वीटरमा एकजना कांग्रेस कार्यकर्ताले देउवाले चुनावमा कांग्रेसलाई कोमामा पुर्‍यााए, अब आर्यघाटमा पु¥याउँछन् भनेर टिप्पणी लेखेका छन् । देउवाले लोकतान्त्रिक मूल्य मान्यता सबैलाई तिलान्जली दिंदै कांग्रेसलाई अर्धमृत बनाइसकेका छन् । भोलि प्रमुख प्रतिपक्षीकारुपमा कांग्रेसले सत्तापक्षको कसरी विरोध गर्छ ? भोलि सत्तापक्षले फजुल खर्च गर्‍यो, अन्धाधुन्ध खर्च ग¥यो भने देउवाले कसरी विरोध गर्छन् ? कांग्रेसले कसरी विरोध गर्छ ? भोलि विरोध र समर्थन गर्ने लोकतन्त्र नै बाँकी नराख्ने देउवाको विचार हो कि ?

देउवा अरु कति दिन सत्तामा रहन्छन् भन्ने यकिनसाथ भन्न सकिन्न । सत्ता लम्ब्याउन उनले अझै पनि अनेक तिकडम लगाउँछन् भन्ने बुझिएकै कुरा हो । उनले केन्द्रीय संसद गठन नै हुन दिएनन्, अनेक तगारो हाले । सरकारमा बस्ने दिन लम्ब्याए । जति दिन सरकारमा बसिन्छ उति देशलाई हानी नोक्सानी पु¥याउँ भन्ने नियत देखियो । पहिले उनले सरकार नछाड्न र चुनावी जनादेशलाई मूर्तरुप बन्न नदिन अनेक उपाय लगाए । सकेनन् । त्यसपछि सरकार ढिलोचाँडो छाड्नै पर्ने देखे । अनि ढुकुटी स्वाहा अभियान चलाए ।

देउवाको ढुकुटी स्वाहा अभियानले देशलाई दूरगामी असर पर्नसक्छ । उनले भित्रभित्रै अनेक निर्णय गरेर अर्थतन्त्र भत्काउने काम गरिरहेका छन् । राजनीतिक नियुक्तिहरू दिएर भावी दिनमा द्वन्द्व मच्चाउने काम गरिरहेका छन् । नयाँ जनादेश अनुसारको सरकारले कांग्रेसको पथमा चल्नुपर्ने परिवन्द मिलाउन खोज्दैछन् । लोकतान्त्रिक व्यवस्थामा आफूलाई सबैभन्दा लोकतान्त्रिक ठान्ने पार्टीका सभापतिबाट भइरहेको यो निर्लज्ज काममा दण्ड हुँदैन ? वास्तवमा देउवालाई दण्डित गरिनुपर्ने हो ।

देउवाबाट कांग्रेसजनले कसरी जोगाउँछन् हेर्दै जाउँला, तर, तिनले कांग्रेस जोगाउनसक्ने लक्षण देखिएन । तर, देउवाबाट देशलाई नजोगाई नहुने भयो । विगतमा राजनीतिक नेतृत्वले भाँडभैलो मच्चाउँदा, लुटमार मच्चाउँदा कर्मचारीतन्त्रले रोक्न प्रयास गर्दथ्यो । अहिले त्यस्तो प्रयास भइरहेको छैन । कतिपय उच्च कर्मचारी नेतृत्व देउवाको कदममा कदम मिलाएर लुटमारमा संलग्न भएको समाचारहरू आइरहेको छ । त्यस्ता कर्मचारीहरूलाई भावी सरकारले कसरी दण्डित गर्ला ? प्रश्न उठेको छ । देउवाबाट देश जोगाउन सबैभन्दा मुख्य भूमिका कर्मचारी वर्गको हुनुपर्ने हो तर उनीहरू नै साथ लागेपछि आगामी केही दिनमा देशले लामो समयका लागि देउवाको महारोग बोक्नुपर्ने देखिएको छ ।

देउवाले लोकप्रिय हुने नाममा अझै अनेक निर्णय गरेर देशलाई अप्ठेरोमा पार्ने संकेत देखिएको छ । ध्रुवे हात्ती झैं मैमत्त भएका देउवालाई रोक्ने कसले ?

साँघु साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७