बेचिन लागेका तीन चेली भारतबाट उद्धार


१७ माघ २०७४, बुधबार
nepali cheli

चितवन, १७ माघ : एक महिनाकै अवधिमा भारतबाट तीन चेलीको उद्धार गरिएको छ ।बेचबिखन र हिंसा प्रभावितलाई उद्धार पुनःस्थापन तथा सीप सिकाएर आत्मनिर्भर बनाउने काममा सक्रिय रहेको केआइ नेपालको पहलमा भारतबाट एक महिनामै तीन चेलीको उद्धार भएको हो ।nepali cheli

उद्धार गरिएका तीनैजनालाई चितवनको भरतपुरस्थित केआइ नेपालको पुनःस्थापन गृहमा राखिएको छ । पछिल्लोपटक मंगलबाट मात्रै एकजना चेलीको उद्धार गरी चितवनमा ल्याइएको छ । यो आर्थिक वर्ष लागेपछि साउनदेखि अहिलेसम्म पाँच चेलीको उद्धार भएको केआइ नेपाल चितवनका संयोजक केमिका घिमिरेले जानकारी दिए ।

एकजनाको आफ्नै श्रीमान्ले नै भारत पु¥याएको अवस्थामा उद्धार गरिएको छ भने अर्की एक जनाको दलालमार्फत बेचिन लागेका बेला उद्धार भएको घिमिरेले बताए ।

एकजना किशोरीलाई भारत हुँदै दुबई लगेको र दुबईमा मेडिकल परीक्षणमा दाग देखिएपछि फिर्ता गरेर भारतको होटलमा राखेको अवस्थामासम्पर्कमा आउन सफल भएपछि उनको उद्धार गरिएको बताइएको छ ।

अहिले उद्धार गरिएका तीनै जनालाई भरतपुरमा मनोविमर्श सेवासँगै सीप सिकाउन थालिएको छ । अर्को एक जनालाई आफन्तमार्फत भारत पुगेका बेला उद्धार गरिएको छ । मंगलबार मात्रै चितवन आइपुगेकी उनको विषयमा आवश्यक अनुसन्धान भइरहेको केआइ नेपालले जनाएको छ ।

उनीहरुलाई भारतमा रहेको दूतावास र भारतको महिला आयोगको सहयोगमा केआइ नेपालका प्रतिनिधिमार्फत उद्धार गरेर नेपाल ल्याइएको हो ।

विभिन्न समयमा उद्धार गरिएका २१ जना अहिले भरतपुरको पुनःस्थापना गृहमा राखिएको र १९ जनाले सीप सिकिरहेको लेखा सहायक पूर्णिमा श्रेष्ठ बताउँछिन् । दुईजना भने पढ्दै छन् । गएको एक वर्षमा केआइ नेपालले हिंसा र बेचबिखन प्रभावितलाई उद्धार गरी ४७ जनालाई परिवारमा पुनर्मिलन समेत गराएको छ । जसमा ३५ जनाले सीप सिकेर व्यवसाय गर्न थालेका छन् ।

रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७