कर्मचारीले विदेश घुमेर सके जनताबाट जम्मा भएको दुई अर्ब


२२ माघ २०७४, सोमबार
kar

काठमाण्डौं, २२ माघ : विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीले विदेश भ्रमण जानेक्रममा करोडौं रुपैयाँ अनियमितता गरेको खुलासा भएको छ । कर्मचारीको विदेश भ्रमणमै वार्षिक दुई अर्बभन्दा बढी खर्च हुने गरेको अर्थ मन्त्रालयले जनाएको छ । kar

त्यसमध्ये करोडौं रुपैयाँ अनियमित किसिमले खर्च भएको भेटिएको हो । सरकारले अवलोकन तथा अध्ययन भ्रमणका लागि विनियोजन गरेको रकम दुरुपयोग गर्दै कर्मचारीले थाइल्यान्डको बुरफा विश्वविद्यालयमार्फत करोडौं रकम अनियमित किसिमले खर्च गरेका हुन् ।
विदेश भ्रमणका लागि विभिन्न देश जाँदा व्यवस्थापन गर्न तथा खाना र बासको प्रबन्ध गर्न भन्दै विभिन्न मन्त्रालय र निकायले बुरफा विश्वविद्यालयलाई सिधै व्यवस्थापन खर्चका नाममा हजारौं डलर दिने गरेका छन् । ती कर्मचारीले सरकारी कोषबाट दैनिक भ्रमण, आवास र खाना खर्चबापत छुट्टै रकम पनि लिइरहेका छन् । विदेश जाँदा खाने, बस्ने खर्च पहिला नै बुरफालाई दिने र सोही शीर्षकमा कर्मचारीले पुनः टीएडीएबापत दैनिक दुई सयदेखि दुई सय ५० डलरमा रकम बुझ्ने काम भइरहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवले मन्त्रालयमातहत रहेका कर्मचारी विदेश भ्रमण जाँदा धेरै विश्वविद्यालयसँग समन्वय गरेर जाने गरेको स्वीकारे । विभिन्न विश्वविद्यालयसँग समन्वय गरेर भ्रमणमा जाने भए पनि के(कसरी जान्छन् भन्ने विषयमा आफूले पनि थप बुझ्नुपर्ने उनले बताए । ‘के कसरी उहाँहरू विदेश जानु हुन्छ भन्ने मलाई त्यति धेरै जानकारी भएन’, उनले भने, ‘यसबारेमा विभागीय प्रमुखहरूसँग बुझ्नु पर्छ ।’

सरकारले अध्ययन(अवलोकन भ्रमण भन्दै प्रायः सबै मन्त्रालय र निकायलाई वार्षिक दुई करोडदेखि पाँच करोड रुपैयाँसम्म विनियोजन गर्दै आएको छ । त्यही रकममा कर्मचारीहरू विभिन्न टोली बनाएर विदेश भ्रमण जान्छन् । सरकारले विदेशमा अध्ययन(अवलोकनबापत विनियोजन गरेको रकम नसकिँदासम्म कर्मचारीहरू विभिन्न समूह बनाएर विदेश दौडिइरहन्छन् । अहिले पनि विभिन्न मन्त्रालयका दर्जनौं टोली विदेशमै छ ।

अध्ययन–अवलोकनका नाममा विदेश गएको बताइए पनि उनीहरू फर्केपछि त्यसको कुनै उपयोग भएको देखिँदैन ।
कृषि विकास मन्त्रालयका सहायक प्रवक्ता उपसचिव शंकर सापकोटाले विदेश जाँदा विश्वविद्यालयहरूसँग सम्बन्ध राखेर जानु स्वाभाविक भएको बताए । सरकारसँग नै अनुमति लिएर जाने र अर्थ मन्त्रालयबाट सहमति लिएर कर्मचारी विश्वविद्यालयमार्फत विदेश जाने भएकाले प्रश्न गर्न नमिल्ने उनले जनाए । सरकारले भ्रमणका लागि भन्दै पहिले नै रकम बुझाए पनि कर्मचारीले भ्रमण भत्ता भन्दै छुट्टै रकम समेत बुझ्ने गरेका छन् ।

स्रोतका अनुसार अहिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सिँचाइ मन्त्रालय, स्टाफ कलेज, डोलिडार, आयल निगम, विद्युत प्राधिकरण, सहरी विकास, स्वास्थ्य र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सयौं कर्मचारी बुरफा विश्वविद्यालयमार्फत नै विभिन्न देश पुगेका छन् । सातदेखि दस दिनसम्मको भ्रमणमा विदेश जाने गरेका कर्मचारीले खाने, बस्नेलगायतका व्यवस्थापन खर्च पहिला नै कार्यालयबाट बुरफालाई दिइने हुँदा उनीहरूले दैनिक भ्रमण भत्ता र आवासबाट पाउने सबै भत्ता गरी डेढ लाखदेखि दुई लाखसम्म बचाउने गरेका छन् । भ्रमण नियमावलीले कर्मचारीलाई दिइने दैनिक भ्रमण भत्ता र आवास भत्ताबाट नै विदेश जाँदा लाग्ने सबै खर्च कर्मचारी स्वयंले नै व्यहोर्नुपर्ने व्यवस्था गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सहन्यायधिवक्ता पद्मप्रसाद पाण्डेयले कुनै विश्वविद्यालयलाई विदेश भ्रमणको व्यवस्थापन गर्न पहिला नै रकम दिएर त्यसबापत फेरि कर्मचारीले रकम लिनु अनियमितता भएको बताए । भ्रमण नियमावलीविपरीत त्यसरी कुनै पनि मन्त्रालय र निकायका कर्मचारीले राज्यलाई दोहोरो मार पर्ने गरी रकम खर्च गरेको पाइए गम्भीरतापूर्वक छानबिन गरिने जानकारी दिए । ‘अनियमितता भएको खण्डमा गम्भीरतापूर्वक छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउँछौं’, उनले भने ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव डिल्लीराम शर्माले पनि कर्मचारीले राज्यलाई दोहोरो मार पर्ने गरी विदेश भ्रमण गर्नु गलत भएको बताए । ‘कर्मचारी त्यसरी राज्यलाई दोहोरो मारमा पार्ने गरी विदेश गएको पाइए त्यो छानबिनको विषय हुन्छ’, उनले भने ।

भ्रमणको लर्को

– कृषि विकास मन्त्रालयका सचिव डा. सुरोज पोखरेलको नेतृत्वमा आठ सदस्यीय टोली फागुन पहिलो साता अस्ट्रेलिया जाँदै छ । कृषिकै सहसचिव नेतृत्वको विभिन्न टोली भने भियतनाम भ्रमणमै छन् ।

– पर्यटन मन्त्रालयका सहसचिव डन्डु घिमिरे नेतृत्वको टोली अस्ट्रेलिया जाँदै छ । मन्त्रालयकै सहसचिव आलोक श्रेष्ठ नेतृत्वको टोली न्युजिल्यान्डबाट भर्खरै फर्किएको छ ।

– युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहाल नेतृत्वको टोली अमेरिका, शिक्षा सचिव मधुप्रसाद रेग्मीको टोली फ्रान्स, सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीको टोली अस्ट्रेलिया भ्रमणमा छ ।

– परराष्ट्र सचिव शंकरदास वैरागी र मन्त्रालयका सहसचिव नेतृत्वको फरक(फरक टोली ब्राजिल घुमेर भर्खरै फर्किएको छ ।

– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवको टोली चीनमा छ ।

–लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली सउदी अरब, सदस्य अशोक झा ब्राजिल र वृन्दा हाडा अफ्रिका जाँदै छन् ।

– महालेखा परीक्षक कार्यालयका कर्मचारी पनि अडिटको नाममा विभिन्न देश घुमिरहेका छन् ।

– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सबै सचिव विभिन्न देशमा दोहो¥याइ(तेह¥याइ धाइरहेका छन् ।

– अर्थ, स्वास्थ्य, सहरी विकास, वातावरण मन्त्रालयका दर्जनौं कर्मचारी विदेश जाने तयारीमा छन, कोही भर्खरै फर्किएका छन् । स्रोतः अन्नपूर्ण पोष्ट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७