‘एमाले यतिबेला सबैभन्दा बढी विनम्र हुनुपर्छ’

आज संयोगवस यस कार्यक्रममा सहभागी हुने मौका मिल्यो । मलाई यस कार्यक्रममा प्रेस चौतारीले बोलाएको होइन । म आज कार्यदलको मिटिङमा थिए । मिटिङ बसिरहेको बेलामा हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओलीजीले म जान पाइनँ तपाईं तुरुन्त प्रेस चौतारीको कार्यक्रममा जानू भन्नुभएकाले म मिटिङ स्थगित गरेर आएको हुँ । यस कार्यक्रमको बारेमा मलाई कसैले पनि बताउनु भएको थिएन । यहाँ आएर मात्र थाहा पाएँ । अहिले एउटा महत्वपूर्ण जिम्मेवारी हाम्रो पार्टीको काँधमा आएको छ । यो जिम्मेवारी जनताको, इतिहासको र हाम्रा पूर्खाहरुको तर्फबाट हामीले निर्वाह गर्ने हो । आजसम्म कसैले पनि निर्वाह नगरेको जिम्मेवारी हामीले निर्वाह गर्ने हो ।

यसबारेमा सबै कुरा मैले जान्दिनँ । विगतमा जे गरिएको छ, जसरी बोलिएको छ, अब त्यसरी हुँदैन । हामी अब हाम्रो दिशातर्फ विनम्र हुनुपर्छ । सबैभन्दा बढी नेकपा एमाले विनम्र हुनुपर्छ । यस मानेमा एमाले किन सबैभन्दा बढी जिम्मेवार हुनुपर्छ भने पार्टी एकतामा हामी सामेल छौं । पार्टी एकता एउटा पार्टी अर्कोमा गाभिन आएको होइन । पार्टी एकता दुईवटा मिलेर नयाँ शक्ति निर्माण गर्न आएको हुनाले त्यसमा पनि ठूलो पार्टी धेरै जिम्मेवार हुनुपर्छ । र, धेरै दिनको निम्ती तयार हुनुपर्छ ।

यो पार्टी एकतालाई जोगाउने जिम्मेवारी माओवादी केन्द्रको पनि हो, र उसको भन्दा बढी नेकपा एमालेको छ ।  नेकपा एमालेको सबैभन्दा पछिल्लो पार्टी एकिकरण २०४७ सालमा भएको थियो । त्यो ४५ औं पार्टी एकिकरण थियो । म त्यसबेला मनमोहनजीले नेतृत्व गर्नुभएको नेकपा मालेसँग आवद्ध थिएँ । अर्को कसैले कतिऔं पार्टी एकिकरण गर्यो थाहा छैन । म ४५ औं पार्टी एकतामा सामेल भएको बेला सबैभन्दा धेरै म आफैँ पनि सामेल भएको छु । म किन फर्किएँभन्दा त आफूले लगाएको विरुवा त सबै यता छ के गर्नु बाहिर बसेर ?

सबैलाई थाहा छैन मैले लुकाइरहनपर्दैन । म  आफैँ संलग्न भएर नेकपा एमाले र माओवादीबीचको पार्टी एकता गर्ने घोषणा गरेको हो । मलाई पार्टीले २०६५ सालमा पार्टी एकता गर्न जिम्मा दिएको थियो । त्यसबेला केन्द्रीय कमिटीले निर्णय गरेर मेरो संयोजकत्वमा विष्णु पौडेललगायतका केही साथीहरु सामेल गरेर वार्ता टोली बनाइएको थियो । त्यसबेला हामीलाई पार्टीले प्रचण्डजीसँग वार्ता गर्न पठाएको थियो । पछि कमरेड ईश्वर पोखरेलले ज्यादै रहर लाग्यो, त्यो वार्तामा म पनि जान्छु, मलाई पनि लैजानुहोस् भन्नुभयो । पछि उहाँलाई पनि सँगै लगियो । त्यस समयको वार्तामा प्रचण्डसँग माओवादीको तर्फबाट पनि मोहन वैद्यजी आउनुभयो । उहाँले पार्टी एकता हुनै नसक्ने कुरा गर्नुभयो । मोहन वैद्यजीले हामी कहाँ तपाईंहरु कहाँ ? न हाम्रो र तपाईंहरुको विचार, सिद्धान्त, योजना र इतिहास मिल्छ भन्नुभयो । हाम्रो महासचिवले पनि हो वैद्यजीले भनेको कुरा ठीक हो भन्नुभयो । त्यो पहिलो पार्टी एकताको निम्ति गरेको प्रयत्न थला पर्यो । पछि फेरि हामीले पार्टी एकताको प्रयत्न गर्यौं । त्यसबेला म सहभागी भएको थिइनँ । त्यसपछि जतिपटक पार्टी एकताको पहल भएका छन्, सबैमा म सामेल भएको छु । यसपटकको पार्टी एकता यदी दुर्घटना भएन र पार्टी एकता भयो भने यो छैटौं प्रयत्न हुन्छ । हाम्रो अध्यक्षले यो पार्टी एकतामा को–को कमरेड लाग्नुभएको छ भन्नुभयो ? यो एकताको निम्ति हस्ताक्षर गर्ने व्यक्तिहरु आज म भएको छु, प्रचण्डजी हुनुभएको छ । पछाडिबाट धेरै–धेरै साथीहरुले काम गर्नुभएको छ । ती साथीहरुले यसको श्रेय लिनको निम्ति यो काम गरिरहनुभएको छ । यो एकता एउटा प्रकियामा लैजाऔं । एकता हुन्छ, हुन्छ हामी भनिराखेका छौं ।

यदी भएन भने योभन्दा ठूलो दुर्घटना नेपालको कम्युनिष्ट आन्दोलनमा अर्को कुनै हुँदैन । हामीलाई फेरि उठ्नको निम्ति ज्यादै ठूलो मेहनत गर्नुपर्छ । र, गरेर पनि फेरि हुन्छ, हुँदैन त्यो भन्न सकिन्नँ । नेपालको कम्युनिष्ट आन्दोलनको आजको अवस्था चीन, भियतनाम, क्युबा, लाओस् र कोरियालाई छोडेर यो संसारभरमा सबैभन्दा सशक्त कम्युनिष्ट आन्दोलनको अवस्था हो । ल्याटिन अमेरिका, अफ्रिका, एसिया र युरोपका कम्युनिष्टहरुले यसलाई हेरिरहेका छन् । साच्चिकै अहिले हाम्रो काँधमा नयाँ किसिमले अन्तर्राष्ट्रिय जिम्मेवारी आएको छ ।

हामी अहिले माओ, लेलिन, पुष्पलाल र मदन भण्डारीले सोचेको भन्दा फरक किसिमले अगाडि बढीरहेका छौं । जसबेला जनताको बहुदलीय जनवाद मदन भण्डारीले अगाडि सार्नुभएको थियो, त्यहाँ पनि हामी छैनौं । त्यो भन्दा पनि बढी अगाडि बढेर दुनियाँलाई देखाउन चाहिराखेका छौं ।

यो नयाँ परिस्थितिमा हामी पुँजीवादीहरुसँग हिजो युद्ध गरेर लडाइँ गर्नेहरुले जसरी पराजित गरेका थिए । आज हामी शान्तिपूर्ण तरिकाले निर्वाचनको माध्यबाट पनि पराजित गरेर समाजवाद निर्माण गरेर देखाउँछौं, हामी त्यस ठाउँमा छौं, हामीले त्यो प्रयत्न गरिराखेका छौं ।

भोलि पार्टी एकतामा तलमाथि भयो भने सबैभन्दा ठूलो पार्टी, सबैभन्दा लामो इतिहास र कम्युनिष्ट आन्दोलनलाई एकिकृत गर्ने अनेकौं–अनेकौं अनुभव भएको नाताले हाम्रो पार्टीको बढी आलोचना हुन्छ ।  त्यसकारण नेकपा एमाले सबैभन्दा गम्भीर भएर लाग्नुपर्छ । अब केही समयपछि हामी शासन सञ्चालन गर्ने ठाउँमा पुग्छौं । एमालेले त्यो जिम्मेवारी पाउँछ । हाम्रो पार्टीका अध्यक्ष कमरेड ओलीजी प्रधानमन्त्री हुँदै हुनुहुन्छ ।  जनता, राजनीतिक पार्टी र विदेशीहरुले ओली प्रधानमन्त्री बन्नुहुन्छ भन्ने अनुमान गरेका छन् । त्यो जिम्मेवारी पूरा गर्नको निम्ति पार्टीको सम्पूर्ण पंक्ति लाग्नुपर्छ । सबै लागेमा मात्र जिम्मेवारी पूरा गर्न सकिन्छ । त्यो ठाउँमा पुग्नको निम्ति एमाले र माओवादी केन्द्रबीच एकता हुनुपर्छ । यो एकताको महत्व ज्यादै ठूलो छ ।

त्यसपछि हाम्रो जिम्मेवारी र अभिभाराहरु धेरै छन् । हामीले नयाँ किसिमले समाजवाद स्थापना गर्ने हो, प्रक्रिया मात्र फरक छ । लेलिनले जसरी समाजवाद निर्माण गर्ने कोशिस गर्नुभयो त्यही समाजवाद हामीले निर्माण गर्ने हो । अरुको भन्दा फरक छ ।  अरु जसरी गए समाजवादी निर्माण गर्ने ठाउँमा हामी अलि फरक किसिमले समाजवाद निर्माण गर्ने सोँचमा छौं, फरक त्यत्ति हो । त्यसकारण हामीले परिकल्पना गरेको समाजवादको बारेमा कसैले बङ्ग्याउने कोशिस नगरे हुन्छ । हामी त्यही समाजवाद निर्माण गर्नेछौं । हामी द्वन्द्व र युद्ध मात्र होइन, वार्तामा पनि फरक हुनुपर्यो, कुरामा पनि फरक हुनुपर्यो, जेमा पनि द्वन्द्व भइराखेको हुन्छ ।

त्यसकारण त्यो द्वन्द्वलाई हामीले फरक किसिमले सञ्चालन गर्न चाहीँ राखेका छौं । र, हामी त्यसमार्फत प्रतिद्वन्द्वीहरुलाई पराजित गरेर फरक किसिमले समाजवाद निर्माण गर्न चाहान्छौं । अघि हाम्रो योगेश कमरेडले भन्नुभएको जस्तै आधा शताब्दी भनेर अनुमान गर्नुभयो । आधा शताब्दीमा यो संसारको आधा राष्ट्रहरुमा हाम्रो बाटोबाट समाजवादमा पुगिसकेका हुन्छ । यो शताब्दीको अन्त्यमा संसारभर समाजवाद स्थापना हुनेछ र हामी आफ्नो–आफ्नो बाटोबाट अगाडि बढ्नेछौं । अहिले यस्तो अवस्था सिर्जना भएको छ र त्यसको श्रेय र गौरव गर्ने नेपालीहरुलाई प्राप्त हुनेछ ।  समाजवाद निर्माण सिक्नको लागि संसारभरका यहाँ आउनेछन् । अन्तिममा सबैको बाटो त्यही हो । किनकी एउटा मान्छे बाच्नको निम्ति लाखौं, करोडौं मान्छेहरुले बलिदान गरिरहेका हुन्छन् । मैले लगाएको यी कपडाहरु म एक्लैले बनाएको छैन । यी कपडाहरुमा लाखौं हातहरु संलग्न भएका छन् । एक मिनेट एउटा सिंगो समाजले ख्याल गर्दैमा एउटा व्यक्ति बाच्न सक्दैन । त्यसकारण व्यक्ति–व्यक्ति धनी हुने व्यवस्था आएको छ ।

सिंगो समाजलाई विभेदरहीत बनाउने बाटोमा समाजवाद जान्छ । त्यसको विल्कपै छैन । त्यसकारण भविष्य हाम्रो हो । वैज्ञानिक समाजवादको भविष्य छ अरुको छैन । हामी त्यही समाजवाद निर्माण गर्न चाहान्छौं । जनताको बहुदलीय जनवाद त्यतैतिर जाँदैछ । नेपालको कम्युनिष्ट आन्दोलनमा सहभागी भएका केही साथीहरुले चाँही छुट्टै पार्टी खोलेर बस्नुभएको छ । ती सबै साथीहरु आइदिएको भए मैले चुनाव हार्ने थिइनँ । हारेको मान्छेले जितेको मान्छेलाई सम्मान गर्ने कार्यक्रममा म आउनुपरेको छ । यो हार केही समयको हो किनभने म चाहीँ कहिले हार्दिनँ, मैले हारेको छैन । आज एमालेलाई आउन नदिनको निम्ति तुत्छ परिकारको अभ्यास भइरहेका छन्, संविधानको गलत व्याख्या । संविधानको व्याख्यामा विवाद भयो भने त्यसको निरुपण सर्वोच्च अदालतद्वारा हुन्छ । हाम्रो संविधानले के व्यवस्था गरेको छ ?  र संवैधानिक व्याख्यामा आएका विवादहरुलाई जबरजस्ती निर्वाचन आयोगले व्याख्या गरेर यो सरकारले यसको व्याख्या गर भन्न लगाएर हामीलाई सरकार बन्नमा रोक्यो, सरकार बन्ने प्रक्रिया तन्कियो ।

प्रतिनिधिसभाले सरकार बनाउने हो, सरकार बनाउने काममा राष्ट्रियसभाको एक प्रतिशत पनि भूमिका हुँदैन । राष्ट्रियसभाको सरकार बनाउने र गिराउने कुनै भूमिका पनि हुँदैन ।  राष्ट्रियसभाको निर्वाचनलाई देखाएर आयोगले र नेपाली कांग्रेसले सरकार बन्न रोक्यो । संसारमा नभएको प्रक्रिया नेपालमा भइरहेको छ । नत यो संविधानले नै त्यस्तो भनेको छ । मैले अध्ययन गरेअनुसार संसारमा यस्तो कहीं भएको छैन । केही देशहरुमा निर्वाचन हुँदाहुँदै र मतपत्र गिन्ति सुरु हुनेवित्तिकै सत्ताधारीहरुले तुरुन्तै वक्तव्य दिन्छन्, मैले हार स्वीकार गरें भनेर । त्यसको निम्ति ठाउँ खाली गरेर बसेका हुन्छन् । अहिले कांग्रेस चुनाव हारिसकेपछि पनि कुर्चीमा टाँसिएर बसिरहेको छ ।

लोकतन्त्रको मसिया भन्ने नेपाली कांग्रेस सत्ताबाट हट्दैन । आखिर जसरी पनि हट्नुपर्छ, उसले चुनाव हारेकै छ । उसले पार्टी एकता भएकै छैन, एमालेको बहुमत छँदै छैन कसरी आउँदो रहेछ भनेर निर्लज्ज तरिकाले भनेको छ ।  यही २४ गते राष्ट्रियसभाको निर्वाचन भइहाल्छ । २५र २६ गते रिजल्ट आइहाल्छ, २९ र ३० गते राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु गरिहाल्नुहुन्छ । प्रधानमन्त्रीको सन्देश लिएर भारतीय विदेशमन्त्री सुष्मा स्वराजजी नेपाल आउनुभयो यहाँ अनेक–अनेक कुराहरु भए ।

उहाँको स्वागतमा जाने शौभाग्य मलाई प्राप्त भएन । विशेष कारणले जान सकिनँ, पार्टीले नलगेर होइन । पार्टीमा त अध्यक्षपछिको नेता मै त हुँ । वरिष्ठ भन्नेहरु आफ्नो–आफ्नो ठाउँमा छन् । सबैले थाहा पाउनुपर्ने कुरा के हो भने विगतमा मोदीजी प्रधानमन्त्री भइसकेपछि नेपालको संसद्मा आएर पहिलोपटक सम्बोधन गर्दा जून सम्मान पाउनुभएको थियो । दोस्रोपटक त्यो सम्मान पाउनुभएन । हाम्रो सम्मान उहाँलाई पचेन ।

संविधान घोषणा गरेपछि त्यसबेलाका राष्ट्रपतिज्यूले मेरो बीचमा तीन पटक भनिसक्नुभयो । मैले त्यो संविधान घोषणा नगर्नको निम्ति कोशिस गरेँ । आखिर अन्त्यमा मलाई बाध्य गराएर मेरै मुखबाट संविधान घोषणा भएरै छोड्यो भन्नुभएको छ । उहाँले यो पनि भन्नुभएको छ केही समय संविधान घोषणा रोक्नको निम्ति पनि कांग्रेस तयार थियो ।

संविधान घोषणाको बेलामा एमालेको भूमिका महत्वपूर्ण थियो । हामीले भन्यौं, एकरात पनि संविधान घोषणा गर्न ढिलाई गर्नहुँदैन, हामीले संविधान घोषणा गर्छौं, आज भएन भने नेपालको इतिहास नहुन सक्छ भनेर हामीले शंका गर्यौं र त्यही दिन संविधान घोषणा गर्यौं । संविधान घोषणाको बदलामा एमालेले सजाय पाएको होइन ? भारतले नाकाबन्दी गरेर नेपाली जनतालाई र राष्ट्रलाई सजाय दियो । आज विगतका ती घटनाहरुमा भारत सरकारलाई गल्ति महसुश भइरहेको छ भन्ने हामीले त्यही बुझेका छौं ।

प्रधानमन्त्री भएपछि संसारमा नभएको काम त मोदीजीले गर्नुहुन्छ । एकचोटी युरोपतिर घुम्न जानुभएको थियो,फर्केर आउँदा त कसैलाई थाहा नदिइ कराँची (पाकिस्तान) गएर त्यसबेलाको प्रधानमन्त्रीलाई भेट्नुभएछ । भारत र पाकिस्तान अहिले पनि शत्रुराष्ट्र हुन् । दुई देशबीच बेला–बेलामा युद्ध भइरहेका छन् । त्यस्ता राष्ट्रहरुलाई मित्र राष्ट्र भनिँदैन । हामीले कहिल्यै भारतसँग युद्ध गरेका थिएनौं ।  हामी भारततर्फ औंलो पनि ढाडो गर्न नसक्ने अवस्थामा थियौं ।

त्यसकारण यस्तो अवस्थामा मित्रतालाई गाढा बनाउनको निम्ति, भारतीय जनता पार्टीसँगको सम्बन्ध कायम गर्नको निम्ति र नेपालको एमाले र माओवादीबीचले निर्माण गर्ने सरकारसँग भारत सरकारले राम्रो मित्रताको सम्बन्ध कायम गर्न चाहन्छ भन्नको निम्तिनै सुष्माजी नेपाल आउनुभएको थियो ।  यो देशमा सुष्माजी अचानक किन आउनुभयो ? आएपनि कसले बोलाएर आउनुभयो भन्ने छ । बहस त हुन्छ नै । तर, जतिसुकै बहस होस्, नेपालको भावी बन्ने सरकारसँग भारत सरकारले मित्रताको भाव बलियो गरी पुर्याउनको निम्ति सुष्मालाई नेपाल पठाएको थियो । भारतसँग रहेका हाम्रा जेजति समस्याहरु छन् ती समस्याहरु मित्रतापूर्ण तरिकाले नै हल हुनेछ । हामीले मित्रता पूर्ण तरिकाले हल गर्ने कोशिस अहिले पनि गरिरहेका छौं, भविष्यमा पनि गर्नेनै छौं ।

अब फेरि पार्टी एकताको सम्बन्धमा मैले भन्ने केही पनि छैन । पार्टी एकता समानता र सम्मानपूर्ण तरिकाले हुन्छ । हामी विलिन हुँदैनौं । हाम्रो इतिहास, विचार र कामहरुलाई टुङ्गोमा पुर्याउने हो । कतिपय अवस्थामा इतिहासका विषयहरु टुङ्गो नलाग्न सक्छन्, हामीले भविष्यलाई छोड्दिन सक्छौं । तर, आज गर्ने काम नेकपा एमाले र माओवादी केन्द्रको एउटै हो । कता जाने हो मुख त्यतैतिर फर्केको छ । हाम्रो उद्देश्य र भूमिका एउटै छ । यस्तो अवस्थामा हामी मिलेर जाँदैनौं भने यो भन्दा ठूलो दुर्घटना अरु के हुनसक्छ ? त्यसकारण हामी मिल्नैपर्छ, यदी मिल्न सकिएन भने धेरै ठूलो मुल्य चुकाउनुपर्ने हुन्छ ।

यो कुरा दुवै पार्टीका नेतादेखि पार्टीका सदस्यहरुले बुझेका छन् । पार्टी एकताको लागि के–के समस्याहरु उत्पन्न भएका छन् ती समस्याको बारेमा म अहिले भन्न चाहन्नँ । कुनै पनि समस्या नभएको भए आजभन्दा अगाडि नै पार्टी एकता भइसक्थ्यो । केही समस्याहरु छन्, ती समस्याहरु समाधान गर्न हामी लागिपरेका छौं, समाधान हुनेछ । हात्ती छिरेको प्वालमा पुच्छर अड्किने भन्ने सवाल हुँदैन । हामीले त्यति गरिसकेका छौं ।

यति महत्वपूर्ण घटना घटिरहेको बेला प्रेस चौतारीको स्थापना दिवस भव्य रुपमा सम्पन्न भएको छ । जसरी पार्टीमाथि जिम्मेवारी आएको छ त्यसैगरी प्रेस चौतारीमाथि पनि जिम्मेवारी आएको छ । म सबै कमरेडहरुलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु, अब चाहिँ प्रेस चौतारी र एमालेका कार्यकर्ताहरु विनम्र हुन्नैपर्छ किनकी हाम्रो काँधमा एतिहासिक जिम्मेवारी आउँदैछ ।

(प्रेस चौतारी नेपालको २० औं स्थापना दिवस २१ माघमा काठमाडौंमा आयोजित कार्यक्रममा व्यक्त विचार) 

प्रतिक्रिया दिनुहोस्