लच्कियो भारत, नेपाली अदुवामाथिको अवरोध हटायो


२३ माघ २०७४, मंगलवार
Ginger

इलाम, २३ माघ : अदुवा निकासीमा अवरोध पुर्‍याउँदै आएको भारत तीन सातापछि लच्किएको छ । भारतले तीन सातादेखि नेपाली अदुवा निकासीमा लगाउँदै आएको ‘अघोषित’ अवरोध हटाएको छ ।Ginger

भारतीय पक्षले सोमबार साँझदेखि नेपालको अदुवा निर्यात सहज बनाएपछि अहिले सीमा नाकामा अड्किएका अदुवा बोकेका २६ ट्रक पानीट्याङ्की भन्सार कार्यालयको जाँचपासको प्रक्रियामा छिरेका छन् । भारतले नेपाली अदुवामा लगाएको अघोषित प्रतिवन्ध हटाएपछि अदुवा लोड भएका मालवाहक ट्रक भारतको पानीट्याङ्की भन्सारमा जाँचपासको प्रक्रियामा छिरेका हुन् । अदुवा लोड भएका २६ वटा ट्रक आवश्यक जाँचपासको प्रक्रिया पूरा गरेर भारततर्फ गएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । मेची भन्सार परिसरमा अझै ५० हाराहारी लोड भएका ट्रकहरु जाँचपासको पालो पर्खेर बसिरहेको भन्सार एजेण्ट श्याम सुब्बाले जानकारी दिएका छन् ।

प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्याल भारतीय पक्षले यो सिजनमा अदुवामा अवरोध नगर्ने आश्वासन दिएको बताउँछन् । भन्सारले अदुवा निकासीका लागि भारतीय आयातकर्तालाई अनिवार्य ‘बैंक ग्यारेन्टी’ को व्यवस्था गरेको भन्सार एजेण्ट श्याम सुब्बा बताउँछन् । यो व्यवस्था अनुसार सबै आयातकर्ताले अनिवार्य दुई लाख रुपैयाँ वैंक ग्यारेन्टी राख्नु पर्ने भएका कारण कागजात मिलाउन बढी समय लागेको सुब्बाले बताए ।

विगतमा १० हजार बैंक ग्यारेन्टी राख्दा भारतीय आयातकर्ताले छुट पाउँदै आएका थिए । तत्कालका लागि अदुवामाथिको भारतीय अवरोध हटे पनि ढुक्क भएर बस्ने अवस्था भने नरहेको इलामका अदुवा व्यापारी पप्पु पेडियाल बताउनु हुन्छ । भारतीय पक्षको अवरोधका कारण झण्डै २५ दिन अदुवा निकासी ठप्प बनेको जानकारी दिंदै इलाम बिब्ल्याँटेका व्यापारी कृष्ण पौड्याल भन्छन्–‘नाकामा धेरै दिन लोड भएको गाडी रोक्नु पर्दा अदुवा कुहिएर व्यापारीलाई लाखौंको घाटा भयो ।’ अदुवा निकासी रोकिएपछि केहि व्यापारीले भन्सार छेउमै पु¥याएको अदुवा आ–आफ्नो गोदाममा फर्काएका थिए ।

अदुवा अम्लिसो, अलैंची, चियालगायतका कृषिजन्य उत्पादन निकासीको मुख्य सिजनमै भारतले वर्षेनी अवरोध गर्दै आएपछि व्यवसायी तथा किसानले आफूहरु मारमा परेको बताउँदै आएका छन् । यो वर्षको समस्या टरे पनि कृषिजन्य उत्पादनको निर्यात व्यापार सहजीकरण बनाउन सरकारको ध्यान जानु पर्ने नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका अध्यक्ष नरेन्द्रकुमार खड्का बताउँछन् । अघिल्लो वर्ष २५ करोड रुपैयाँ बराबरको अदुवा भारत निकासी भएको थियो । मेची भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा काँकडभिट्टा नाका हुँदै झण्डै ११ करोड ५६ लाख मूल्य बराबरको पाँच हजार ८४ मेट्रिक टन अदुवा भारत निकासी भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७