नेपालमा ८ हजार मिटर भन्दा अग्ला १४ हिमाल


२५ माघ २०७४, बिहीबार
himal

काठमाण्डौं, २५ माघ : आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या अब नेपालमै १४ वटा पुगेको छ । आठ वटा मात्र हिमाल रहेको भनि प्रचार हुँदै आए पनि पर्यटन विभागले थप ६ वटालाई सूचीकृत गरी १४ वटा पुर्‍याएको हो ।himal

थप भएका आठ हजारभन्दा अग्ला हिमालमा सोलुखुम्बुको ल्होत्सेसार (८४०४ मिटर), ताप्लेजुङमा पर्ने यालुङ काङ (८५०५ मिटर), कञ्चनजंघा साउथ (८४७६ मिटर), कन्चनजंगा सेन्ट्रल (८४७३ मिटर, ल्होत्से मिडिल (८४१० मिटर) र यालुङ काङ बेस्ट (८०७७ मिटर) छन् । यसअघिसम्म सगरमाथा (८८४८ मिटर), कञ्चनजंघा (८५८६ मिटर), ल्होत्से (८५१६ मिटर), मकालु ( ८४६३ मिटर), छ्यो यु (८२०१ मिटर), धौलागिरि प्रथम (८१६७ मिटर), मनास्लु (८१५६ मिटर), अन्नपूर्ण प्रथम ( ८०९१ मिटर) सूचीकृत भएका थिए ।

विभागले थप भएका हिमालको नामसहित अक्षांश, देशान्तर, उचाइ र हिमाल रहेको स्थानको विस्तृत विवरणसहित सूचीकरण गरेको विभागका प्रवक्ता लक्ष्मण शर्माले बताए । आरोहणका लागि खुला गरिसकेका १४ अग्ला हिमालमध्ये यालुङ काङ बेस्ट (८०७७ मिटर) बाहेक सबैमा आरोहण भइसकेको शर्माले बताए । विश्वभरमा आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या अब २० पुगेको छ ।

नेपालबाहिरका हिमालमा पाकिस्तानको केटु (८६११ मिटर), नांगा पर्वत ( ८१२६ मिटर), गसेरब्रुम प्रथम (८०६८ मिटर), ब्रोड पिक (८०४७ मिटर), गसेरब्रुम दोस्रो (८०३५ मिटर) र चीनको सिसापाङमा (८०२७ मिटर) छन् । ०७१ वैशाख २५ गतेको मन्त्रिपरिषद् बैठकले निर्णय गरी ५८०० मिटरभन्दा होचा हिमाल आरोहण अनुमति लिनु नपर्ने व्यवस्था गरेको छ । यता, सरकारले हालसम्म चार सय १४ वटा हिमाललाई आरोहणका लागि खुला गरेको छ । १६ वटा हिमाललाई हटाएको छ भने अझै ९२ वटा हिमाल आरोहण हुन सकेको छैन ।

आरोही तेन्जिङ नोर्गे शर्पा र एड्मन्ड हिलारीले २०१० जेठ १६ गते सगरमाथाको सफल आरोहण गरेपछि नेपाली इतिहासमा प्रत्यक्ष रूपमा हिमालसँग मानव सम्बन्ध जोडिएको हो । यी अग्ला हिमाललाई विश्वव्यापी मान्यता दिन मागसहित इन्टरनेसनल क्लाइम्बिङ एन्ड माउन्टेनेरिङ फेडेरेसनमा निवेदन दिइसकेको फेडेरेसनका मानार्थ सदस्य एवं हिमालविज्ञ आङछिरिङ शेर्पाले बताए ।

विभागको तथ्यांकअनुसार २०१६ सम्ममा अग्ला हिमालमध्ये सबैभन्दा धेरै आरोहण गर्नेमा सगरमाथामा ४८७९ जना, मनास्लुमा १३५९, ल्होत्से ५५९, धौलागिरि प्रथममा ४७८, मकालु ४७४, कञ्चनजंघामा ३४४, अन्नपूर्ण प्रथममा २६७, यालुङ काङमा ५३ र छ्यो यू मा १४ ले आरोहण गरिसकेका छन् । स्रोतः अन्नपूर्ण पोष्ट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७