शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण गर्छौँ : अध्यक्ष दाहाल


१ फाल्गुन २०७४, मंगलवार
Prachanda

काठमाडौं: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण गर्ने लक्ष्यका साथ नेकपा (एमाले)सँग आफ्नो पार्टीले एकता प्रक्रिया अगाडि बढाएको बताएका छन् । तत्कालीन माओवादीले ‘जनयुद्ध’ शुरु गरेको दिनको स्मरणमा मंलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २३औँ जनयुद्ध दिवस’ समारोहलाई सम्बोधन गर्दै उनले बृहद् लक्ष्य पूरा गर्नाका लागि एकता प्रक्रिया अगाडि बढाइएको बताएको हो ।

Prachanda
फाइल तस्बिर

अध्यक्ष दाहालले भने, ‘सामान्य शक्तिको भरमा समाजवादी क्रान्ति सम्पन्न हुन नसक्ने भएकाले ठूलो शक्ति जरुरी परेको छ । त्यसैका लागि हामी (एमाले र माओवादी केन्द्र) शक्तिशाली पार्टी निर्माणमा लागेका छौँ ।’

संविधानमा समाजवाद लेखेर र समाजवादको नारा लगाएरमात्रै समाजवादी क्रान्ति सम्पन्न हुन नसक्ने टिप्पणी गर्दै उनले सबै प्रगतिशील, देशभक्त र वामपन्थी शक्तिबीचमा एकता र सहकार्य जरुरी रहेको बताए । देश र जनतालाई केन्द्रमा राखेर राजनीतिक नेतृत्वले समय समयमा जोखिम लिनै पर्छ भन्दै अध्यक्ष दाहालले समाजवादी क्रान्तिका लागिसमेत आफू र आफ्नो पार्टीले पुनः जोखिम उठाएको स्पष्ट पारे ।

लहड र सनकको भरमा क्रान्ति हुन नसक्ने उल्लेख गर्दै उनले जनताको चाहना र राष्ट्रिय आवश्यकताको ख्याल गर्नसमेत आग्रह गरेका छन् । आज भोलि नै एमालेसँगको पार्टी एकताको टुंगो लाग्ने स्पष्ट पार्दै आर्थिक समृद्धि र जनताको आर्थिकस्तर उकास्न पनि मिलेर जाने जनमत आफूहरुलाई प्राप्त भएको छ भन्दै अध्यक्ष दाहालले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा जनयुद्धको महत्वपूर्ण भूमिका रहेको कुरा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेतृत्वले पनि स्वीकार गरेको दाबी गरे ।

समाजवादी अभियानलाई सार्थक निष्कर्षमा पु¥याउन अझै ठूलो दायरा चाहिएको स्पष्ट पार्दै उनले आफू र आफ्नो पार्टीले शहीद, बेपत्ता र घाइते योद्धाको सपनाविरुद्ध जाने प्रयाससमेत नगर्ने बताए । शक्तिशाली कम्युनिष्ट केन्द्र बनाएर झण्डै तीन करोड नेपालीलाई एकताबद्ध बनाएर लैजाने सोचमा आफूहरु रहेको चर्चा गर्दै अध्यक्ष दाहालले वामपन्थी शक्ति एकताबद्ध नहुन् भनेर चलखेल गर्ने शक्ति परास्त भएर जाने र जनताको सामु उनीहरुको केही नचल्ने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७