ओली-प्रचण्डबीच ‘वान टु वान’ वार्ता, कस्तो छ एकताको तयारी ?


१ फाल्गुन २०७४, मंगलवार
Oli and parchanda

काठमाडौं, १ फागुन :  एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डवीचको बैठक सकिएको छ । पार्टी एकता र शक्ति बाँडफाँडमा सहमति जुटाउन बैठक बसेको थियो ।

Oli and parchanda

ललितपुरको मानभवनस्थित निर्माण व्यवसायी शारदा प्रसाद अधिकारीको घरमा दुई नेताबीच वार्ता भएको हो । अधिकारीको घरमा साँझ ५ : १० मा प्रवेश गरेका ओली र प्रचण्ड ५ बजेर ५० मिनेट जाँदा बाहिरिए । ओली र प्रचण्डविच सोमबार पनि यही घरमा पार्टी एकताको बिषयमा बैठक भएको थियो । सोमबार भएको बैठकमा तत्काल पार्टी एकता गरेर जाने प्रारम्भिक सहमति भएको थियो । मंगलबार पनि त्यही बैठकको निरन्तरता स्वारुप बैठक भएको हो ।

यस्तो तयारी :

स्रोतका अनुसार सोमबार प्रचण्डबीच एकीकृत पार्टीमा दुवै अध्यक्ष वा सहअध्यक्ष रहने र प्रधानमन्त्री पनि आलोपालो प्रणालीबाट चलाउने समझदारी भएको छ । यही बिषयमा दुई नेताबीच मंगलबार थप छलफल भएको हो । आज उनीहरूबीचको समझदारी बुधबार एकता संयोजन समितिको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ ।

स्रोतका अनुसार दुई अध्यक्षविच ‘प्रारम्भिक सहमति’ जुटेको छ । दुई नेताहरुविच भएको सहमतिको बिषयमा छलफल गर्न बुधबार २ बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाउने र पार्टी एकताको टुंगो लगाउने निर्णय भएको स्रोतले जानकारी दियो ।

पार्टी एकता संयोजन समितिको बैठक बसेर एकता र शक्ति बाँडफाँडवारे टुंगो लगाउने बताएको छ । बुधबारको बैठकले वैचारिक र सांगठनिक कार्यदल निर्माण गरिने बताइएको छ । पार्टी एकता संयोजन समितिमा अध्यक्षद्वय ओली र प्रचण्डसहित एमालेका बरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोख्रेल रहेका छन् भने माओवादी केन्द्रका तर्फबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता रामबबहादुर थापा बादल रहेका छन् ।

प्रारिम्भक सहमति
नेतृत्व : एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैजना एकीकृत पार्टीमा अध्यक्ष वा सहअध्यक्ष रहने

सरकार : आलोपालो प्रणालीअनुसार पहिले केपी ओली नेतृत्वमा र दोस्रो चरणमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार बन्ने

संगठन :  स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय कमिटी छरितो बनाउने, निर्वाचन आयोगको कानुनअनुसार महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने

नीति : जनताको बहुदलीय जनवाद र २१औँ शताब्दीको जनवादमध्ये मिल्ने विषय अहिले नै र बाँकी विषय महाधिवेशनबाट टुंग्याउने

वालकोट स्रोत भन्छ, ‘अब एकता हुन्छ’

वालकोट स्रोतका अनुसार एमाले र माओवादीविच पार्टी एकता हुने लगभग निश्चित भएको छ । स्रोतले भन्यो, ‘वैचारिक र सांगठनिक बिषयमा केही मिलाउन बाँकी छ, तर पार्टी एक हुने निश्चित जस्तै छ ।’

सरकार गठनअघि नै पार्टी एकता भएमा ओली गठबन्धन होइन, बहुमत प्राप्त दलको नेताका रूपमा प्रधानमन्त्री हुनेछन् । एकीकृत पार्टीका रूपमा उनीसँग १७४ सांसदको समर्थन हुनेछ । बहुमतका लागि जम्मा १३८ सांसद आवश्यक हुन्छ । त्यसैले, एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राखेर निर्वाचन आयोग जाने र सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दाबी गर्ने तयारी छ ।

 

यसरी बन्न सक्छ एउटै दल

KP Sharma oli and parchanda

एमाले र माओवादी केन्द्र एकीकरण भएमा राजनीतिक दलसम्बन्धी ऐन–२०७४ को प्रावधान पूरा गर्नुपर्नेछ । कानुनबमोजिमका प्रक्रिया पूरा गरेर निवेदन दिएमा बढीमा एक साताभित्रै निर्वाचन आयोगले एकीकृत नयाँ दलको मान्यता दिन सक्ने प्रवक्ता नवराज ढकालले बताए ।

यस्तो छ, कानुनी प्रावधान : राजनीतिक दलसम्बन्धी ऐन–२०७४ को दफा १० मा दुई वा दुईभन्दा बढी दलहरू एक–आपसमा सम्झौता गरी एकीकरण या गाभिन सक्ने व्यवस्था छ । सो दफाअनुसार सम्झौता भएको ४५ दिनभित्र एकीकरण हुने वा गाभिने दलले विधान, केन्द्रीय समितिको निर्णय र सम्झौताको प्रतिलिपिसहित आयोगमा निवेदन दिनुपर्नेछ । तर, ऐनकै दफा २ मा केन्द्रीय समितिबाट अख्तियार प्राप्त केन्द्रीय निकाय वा केन्द्रीय तदर्थ समितिको निर्णयका आधारमा पनि निवेदन दिन सकिने भएकाले एमालेले केन्द्रीय कमिटी वा स्थायी समिति तथा माओवादीले केन्द्रीय कमिटी वा केन्द्रीय सचिवालय, पदाधिकारीस्तरको समितिले एकताको निर्णयका आधारमा आयोगमा निवेदन दिन सक्नेछ । तर, त्यसरी निवेदन दिँदा कुन दलमा गाभिने वा नयाँ दलको नाम के हुने स्पष्ट रूपमा खुलाउनुपर्ने ऐनमा व्यवस्था छ ।

आवश्यक जाँचबुझ गरेर प्रक्रिया पूरा गरेपछि ४५ दिनभित्र प्रमाणपत्र दिनेछ । त्यसलगत्तै राजपत्रमा सूचना प्रकाशित भएपछि कानुनी रूपमा दुई दलको हैसियत एकीकृत नयाँ पार्टीको हैसियतमा हुनेछ । एकीकरण हुन चाहने दलले प्रक्रिया पूरा गरेमा आयोगले ‘फास्ट ट्र्याक’बाट हप्ता दिनभित्र पनि निर्णय गर्न सक्ने भएकाले दुई पार्टी एउटै नयाँ पार्टीको हैसियतमा बढीमा १० फागुनभित्र सरकारमा सहभागी हुन सक्नेछन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७