कठमुल्लावादी कुण्ठा र असहिष्णु गालीले जन्माएको ‘वैद्यवाद’


२ फाल्गुन २०७४, बुधबार
mohan baidya

 

 

दर्शनमा माक्र्सवाद, व्यवहारमा सुधारवाद र क्रान्तिकारी प्रवृत्तिसँग शत्रुतापूर्ण व्यवहार नै किरणप्रवृत्ति हो 

वैद्य समूहको मुखपत्र ‘माओवादी’ उनीहरूको राष्ट्रिय भेलाअगाडि नै प्राप्त भएको हो । जसमा किरणको असहिष्णु, कठमुल्लावादी कुण्ठा र गाली गलौजपूर्ण लेख । मोहनविक्रम सिंहले जनयुद्धकालमा माओवादीमाथि निर्मम आक्रमण गर्थे । भित्री कुरा बुझ्नेहरूले माओवादी र जनयुद्धप्रति नरम हुँदै गरेका दीनानाथ लक्षित आक्रमण भनेर बुझ्थे । बादल–गुरुङ समूहको प्रचण्डमा फिर्ती भएपछि क्रान्तिकारी र दक्षिणपन्थी प्रवृत्ति बुझ्न नसकेको आरोपसहित नेकपासँग पार्टी एकता गर्न दबाब परेको छ ।

आफ्ना विश्वासपात्र बादल–गुरुङको धोकाका कारण किरणमा भयानक कुण्ठा र चिडचिडाहट देखिन्छ । एकताको एकसूत्रीय दबाब तलबाट मात्र होइन, केन्द्रीय सदस्यबाटै भोग्नुपरिरहेको छ । मोहनविक्रम सिंहले माओवादीलाई प्रहार गरेझैं गरेर नाम नलिईकन दीनानाथलाई आक्रमण गरेझैं नेकपासँग पार्टी एकता गर्नुपर्छ भन्ने बहुमत सदस्यलाई ओठेजवाफ दिन किरणले सो बेला प्रकाशन गरेको देखिन्छ । नेता किरणले आफ्नो लेखमा नेकपाको नियतमै प्रश्न उठाएका छन् । नियत नै ठीक नभएको शक्तिसँग पार्टी एकताको पहल गर्नु नैतिक प्रश्न पनि हुन्छ होला कार्यकर्ताको दबाब थेग्न मात्र वार्ताको पहल गरिएको हो कि ? अन्यथा त्यसप्रकारको शक्तिसँग एकता गर्नु गलत हुन्छ ।

anil sharma
अनिल शर्मा

जनविद्रोहको नाममा बादलको प्रचण्डढलो नबुझ्ने, सुशील कोइराला देशभक्त भएकाले उससँग मिलेर सरकार बनाउनुपर्ने मत राख्ने गुरुङलाई नचिन्ने र कामीडाँडा गोष्ठीको फोटो दिल्ली पुरायाएको आरोप लागेकी पम्फालाई नचिन्ने रोगबाट ग्रसित किरणले नेकपा र उसका विचार र भावनालाई बुझ्ने र पक्षधरता देखाउने कुरै भएन । ड्यास माओवादीमा भएको दुईजिब्रो चपाएर बोल्नुपर्दैन, नेकपा ज्ञानेन्द्रसँग सत्ता बाँडफाँड गर्न चाहन्छ भन्न खोजेका छन् । यदि, त्यो स्तरको आशंका छ भने त्यस्तो पश्चगामी शक्तिसँग एकताको प्रयास गर्न लाज मान्नुपर्ने हो । हामीलाई थाहा छ, नेपालमा एमाले गठबन्धन सामाजिक दलाल पुँजीवादको रूपमा कांग्रेस लोकतन्त्रको नाममा र पश्चगामीहरू राजा–धर्मको नाममा (भारतको हिन्दू अतिवादसमेत मिलेर) दलाल पुँजीवाद आउन सक्छ । फरक–फरक रूपमा यी सबै दलाल पुँजीवादी शक्ति नै हुन् । तर, कार्यनीति बदलिइरहन सक्छ ।

उत्तर साम्राज्यवादको अर्थ किरणले मात्र पढेका छैनन् । किरणमा ‘म हुँदाहुँदै ठिटाहरू बोल्ने’ भन्ने खालको दम्भ यहाँ देखिन्छ । ख्याल गर्दा हुन्छ बाबुरामलाई तह लगाउन प्रचण्डले झैं अबको पुस्ताले किरणलाई गुरु, दार्शनिक, एक मात्र चिन्तक भनेर चुच्चेटोपी भिराइराख्नेवाला छैन । नेकपाले पुँजीवादको विकास भएको कतै भनेको छैन । उनलाई नेकपाको दस्ताबेज हेर्ने रुचि र धैर्यता पनि छैन । नेपालमा दलाल पुँजीवादको भने विकास भएको छ । ‘मध्यम वर्ग भनेको माक्र्सवादी दृष्टिकोणअनुसार सामान्यतया राष्ट्रिय पुँजीपति वर्ग हो । आफ्नो लेखमा किरण भन्छन् । यो माओ र लेनिन युगको माक्र्सवाद हो । यो आजको माक्र्सवाद होइन । मध्यमवर्ग युरोप, अमेरिका, जापानजस्ता देशमा आज राष्ट्रिय पुँजीपति होइन, श्रमिक वर्गका रूपमा झरेका छन् । ती ऋण र श्रममा बाँचेका छन् । चर्को कर घट्दो लोककल्याणकारी राज्यको कारण छटपटीमा परेका छन् । त्यसैले युरोप र अमेरिकामा सरकारविरुद्ध सडकमा मध्यम वर्ग उत्रिएको छ । नेपालमा पनि त्यसप्रकारको स्थिति बढ्दै गएको छ । किरणको समाज विज्ञान स्थिर र संकीर्ण छ ।

पार्टीमा विपरीतहरूको एकत्व बढेको बुझाइ र प्रयोग गलत भयो भन्ने हाम्रो धारणा छ । यो माक्र्सवादमा संशोधन होइन, विकास हो । भौतिक विज्ञानमा इलेक्ट्रोन, प्रोटोन र न्यूट्रोन नभई अणु हुँदैन । ती अलग हुनासाथ अर्कै अस्तित्व हुन्छ । तसर्थ ती विपरीत होइन, समरूपतामा रहन्छन् । अस्तित्वका लागि परिपूरक र फरक–फरक अस्तित्वमा संघर्षरत हुन्छन् । पार्टीभित्र आर्थत् समाज विज्ञानमा दुई लाइन (शत्रुतापूर्ण) भएपछि एकले अर्कोलाई खान्छ । एकसाथ रहन सम्भव हुँदैन । त्यसैले आधारभूत रूपमा विचारमा फरक भएपछि दक्षिणपन्थी तत्वलाई पार्टीबाट निकाल्नुपर्छ । तर, विज्ञानको अविष्कारका लागि आएका फरक धारणा र खोज अनुसन्धानलाई दुई लाइन भनेर विसर्जनकारी रणनीति अवलम्बन गर्नु हुँदैन । विश्व कम्युनिस्ट आन्दोलनमा उदारता र कट्टरताको विषयमा गाँजेमाजे व्यवहार र बुझाइ भएको छ । माओवादीमा बाबुरामलाई सधैं दक्षिणपन्थी भनियो । दक्षिणपन्थी तत्वको दलाल भन्दै सँगै बस्दै गर्नु गलत थियो । यहाँ विश्व कम्युनिस्ट आन्दोलनका ‘विपरीतहरूको एकत्व’ सम्बन्धी धारणालाई सच्याउने प्रयास गरिएको छ ।

साम्राज्यवादको सारतत्व लेनिनकै समयको र प्रविधिमा मात्र परिवर्तन आएको किरणको दाबी छ । यहाँ किरणले के बुझेनन् वा बुझ्न चाहेनन् भने प्रविधिको विकास विचार र चिन्तनकै विकास हो । विचार र चिन्तनको विकास नभई शून्यमा प्रविधिको जन्म हुँदैन । प्रविधि अर्थात् उत्पादनका साधनको विकासले विचार र चिन्तन प्रभावित हुन्छ । साम्राज्यवाद पुरानै अर्थात् लेनिनकै अवस्थामा छ भन्ने जडसूत्रवादीले समस्याबाट भोग्ने गरेका छन् ।
साम्राज्यवाद भनेको लेनिनको समयको भन्दा पछिको (मरणासन्न) पुँजीवाद हो । जसलाई मृत्युको मुखमा पुगेको बूढो बाघजस्तो सिकार खेल्न गाउँ पसेको बाघ हो । शब्दमा लेख्नु र पण्डित्याइँमा रमाउनु विसर्जनवादीको विशेषता नै हो । नेकपाले साम्राज्यवाद नै छैन भन्यो भनेर शब्द खेलाएर आत्मरती गर्नु, घाम तापेर काल पर्खने अधिकार सबैलाई छ । क्रान्तिको गफ गर्ने, दक्षिणपन्थी तŒवहरूलाई बोकेर क्रान्तिकारी प्रवृत्तिमाथि हमला गर्ने, संसदीय चुनावको भण्डाफोर भन्ने उसको कारिन्दा बन्नेहरूबाहेक हरेक क्रान्तिकारी पार्टीको सैन्य कार्यदिशा हुन्छ । त्यो क्रान्ति पूर्ण छ, त्यो अर्कै कुरा हो । नेकपाका नेता कार्यकर्ता आफ्नो कार्यदिशाबारे भ्रममा छैनन् । गुरुङ र पम्फामार्फत साम्राज्यवादको मुख्यालयमा बेच्नेका लागि नेकपाले कसैलाई सैन्य कार्यदिशा बाँड्दैन । सैन्य कार्यदिशा यज्ञ यज्ञादीको प्रचार सामग्री होइन । जसलाई क्रान्ति गर्नु छैन उनीहरूलाई सैन्य कार्यदिशा किन चाहियो ? रहस्यमा किरण होलान्, नेकपा छैन । नेकपाले स्पष्ट शब्दमा आफ्नो न्यूनतम कार्यक्रम वैज्ञानिक समाजवाद किटान गरेको छ । जसमा हाम्रो आफ्नै तर्क र दाबी छन् ।

आजको नेपालसहित विश्व परिस्थिति र चीनको नकारात्मक अनुभवसमेत आत्मसात् गरेर त्यसो भनिएको हो । एमाले, माकेजस्ता दलाल पुँजीवादका प्रतिनिधिहरूले के भन्छन् भन्ने आधारमा हेरिएको छैन । जहाँसम्म पुँजीवादको विकास भएपछि मात्र समाजवादमा जान सकिन्छ भन्ने धारणा पनि सापेक्षिक सत्य हो । सोभियत संघमा समाजवाद लागू गर्दा साइबेरियासहित ग्रामीण भेगमा सामन्ती शासन कायमै थियो । उता, सन् १९५६ मा चीनमा समाजवाद लागू गर्ने कि नगर्ने भन्ने बहस चल्दा चीनमा पुँजीवाद होइन मूलतः सामन्ती उत्पादन सम्बन्ध कायम थियो । त्यसकारण नेकपाले नयाँ जनवाद र समाजवादको बीचको संक्रमणकाल लामो हुँदा चीनमा पुँजीवादले शक्ति सञ्चय ग¥यो र प्रतिक्रान्ति लादियो भन्ने नेकपाको धारणा हो । केन्द्रीय रूपमा समाजवाद लागू गर्दै सामन्ती र पछौटे पक्षहरूलाई परिवर्तन गर्दै जान सकिन्न ? के चीन र रुसमा समाजवाद लागू गर्दा सबै क्षेत्र र पक्षमा पुँजीवादको पूर्ण विकास भइसकेको थियो ? जसको विषयमा अलग्गै छलफल आवश्यक होला ।

आलोचनाको बौछार जति गरे पनि किरण नेकपाको स्वतन्त्र वर्ग संघर्षप्रति सकारात्मक टिप्पणी गर्न बाध्य छन् । तर, लाजपचाएर क्रान्तिकारी उद्देश्यसँग नजोडिएको र अर्थवादी’ आरोप लगाएका छन्, विचरा का. किरणको मनोदसा । आफू भण्डाफोर भएको देख्दैनन्, अर्थवादी, गैरक्रान्तिकारी उद्देश्य देख्छन् । उनले न्यूनतम इमानदारी पनि गुमाउँदै गएका छन् । नेकपाले शान्ति प्रक्रियामा भाग्नासाथ सरकारमा अर्थात् उपरिसंरचनामा साझेदारी भयो, समग्र सत्तामा साझेदारी गर्नुप¥यो भन्दै आएको छ । हामी त्यो बहस दशकौंसम्म र हजारौं पटक गरिरहनेछौं । प्रतिक्रियावादी वर्गसँग वार्तामा बस्दा सरकार होइन, सत्तामा साझेदारी गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । चीनमा माओेले जनसेना र जनसत्ता विघटन गर्न मान्नु भएन । नेपालमा सत्ताको प्रश्नमा बहस गरिएन । केवल सरकारमा साझेदारी भयो । हामी भविष्यमा त्यही गल्ती दोहो¥याउन चाहन्नौं । तर, किरण आफ्नो कमजोरी महसुस गर्नुको सट्टा संसदीय चुनावी नेताले झैं फन्टुस तर्क गर्दै छन् । यो उनले प्रचण्डबाट सिकेको विभ्रम सिर्जना गर्ने, भावनामा खेल्ने शैली हो ।

पाँच महिनाअगाडि प्रदेश र केन्द्रीयसभाको चुनाव पूर्व आफ्नो लेखमा किरण भन्छन्, ‘हिजो हामीले यस समूहलाई रूपमा वाम र सारमा दक्षिणपन्थी विचलनमा फँसेको भनेर मूल्यांकन गरेका थियौं । अहिले यस समूहले आफ्नो यात्रालाई रुप र सार दुवै दृष्टिले दक्षिणपन्थी विचलनतर्फ अत्यन्तै तीव्रता प्रदान गर्दै गइरहेको देखा पर्दछ ।’ यस्तो पतनशील समूहसँग एकताको पहल गरेर किरणले कसरी वैतरणी नदी तर्लान् हँ ? चुनावमा तेह्र हजारे भएपछि बुद्धि फिरेको हो कि ? विप्लवसँग पार्टी एकता गरेर अर्को चुनावको तयारी हो कि ?

नेकपाको हालै सम्पन्न बैठकले यी बुज्रुकहरूको सन्दर्भमा पारित दस्तावेज भन्छ, ‘जसले हाम्रो कार्यदिशा सेटमा छैन, ठोस छैन भनेर कुनातिर मुख घुसार्थे तिनको सेट र ठोस आज विसर्जन र विघटनको संघारमा पुगेको छ ।’ किरण समूहका बहुमत नेता–कार्यकर्ता बादल र गुरुङलाई बोकेर विप्लवमाथि आक्रमण गरेकोमा गल्ती भएको निष्कर्षमा छन् । पार्टी एकता उनीहरूको एकसूत्रीय कार्यक्रमजस्तो लाग्छ । तर, किरण तिनीहरूलाई धारेहात लगाउँछन् । हली, गोठालालाई झंै हकार्छन् । दर्शनमा माक्र्सवाद, व्यवहारमा सुधारवाद र क्रान्तिकारी प्रवृत्तिसँग शत्रुतापूर्ण व्यवहार नै किरणप्रवृत्ति हो । जसलाई वैद्यवाद भन्नु उपयुक्त होला ।

जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७