ठगीमा सक्रिय व्यवसायी डा. रूपज्योति


२ फाल्गुन २०७४, बुधबार
rupjyoti

काठमाडौं, २ फागुन । चर्चित व्यवसायीको परिचय बनाएका डा.रूपज्योति पछिल्लो समय विवादमा परेका छन् । आफूलाई विपासनाको आचार्य बताउने र समग्र जगतको हित मात्र सोचेर काम गरेको भनेर प्रवचनसमेत दिने उनीमाथि पछिल्लोपटक ठगीको आरोपमा लागेको छ ।

कान्तिपथस्थित ज्योति भवनबाट थुप्रै व्यापार व्यवसाय सम्हाल्ने ज्योति परिवारले पछिल्लो समय हाउजिङको काम पनि गरेको थियो । तर, सो हाउजिङमा प्रतिबद्धताअनुसार काम पूरा नगरेको र पैसा भने चार वर्षअघि नै लिएको भन्दै विज्ञेन्द्रकृष्ण मल्लले गुनासो गरेका छन् ।

rupjyoti

आजभन्दा करिब चार वर्षअगाडि बाँसबारीस्थित बाँसबारी कोलनीले घर निर्माण गरी बिक्रीवितरण गर्ने निधो गरेर बैना रकम लिएको थियो । त्यसरी दिनेमध्येका एक थिए मल्ल । मल्लले आफ्ना लागि घर बुकिङ गरेका थिए १० लाख रकम दिएर ।

२० देखि २२ वटा घर बनाउने लक्ष्य राखेर ल्यान्ड मार्क डेभलपर्स प्रालिको जग्गाामा सी कन्सट्रक्सन कम्पनीले घर निर्माण गर्ने जिम्मा लिएको थियो । उक्त प्रोजेक्टअन्तर्गत ग्राहकहरूमध्येका एक मल्लले पनि २०७१ जेठ २ मा पुरै उत्साहका साथ १० लाख रुपैयाँ तिरी बुकिङ गरेका थिए । तर, बुकिङअनुसार उनले ल्यान्ड मार्क डेभल्पर्सले काम नगरेपछि उनी पीडित बनेका छन् ।

करिब सात आना जग्गामा कमर्सियल घर बनाइदिने वाचा गरेका सी कन्सट्रकसन कम्पनीले अहिलेसम्म पनि न त जग्गा उनको नाममा पास गरेका छन् न त अहिलेसम्म घर निर्माण गरेका छन् । अहिलेसम्म जग्गा पनि उनको नाममा नामसारी गरिएको छैन । पटकपटक ल्यान्ड मार्क डेभलपर्सलाई उनले अनुरोध गर्दा पनि ‘आज गर्छु भोलि गर्छु भन्दै बेवास्ता गर्दै आएको बताइएको छ । सो डेभलपर्सको प्रमुख व्यक्ति डा. रूपज्योतिलाई भेटे कुरा राख्दा पनि कुनै निकास नपाएको मल्लको गुनासो छ ।

पीडित मल्लका अनुसार जग्गा उनको नाममा नामसारी नभएका कारण घरको नक्सा पनि पास हुन सकेको छैन । आजभन्दा चार वर्षअगाडि बुकिङबापत दिएको १० लाखको धेरै महत्व थियो । अहिले भने पुरानै मूल्य मात्र फिर्ता गर्न खोज्ने र घर पनि नदिने कुरा उक्त कम्पनीले गरेपछि मल्ल चिन्तित बनेका हुन् । मल्लले जग्गा पास गर्ने बेलामा बाँकी रकम तिर्न आफू राजी भएको तर चार वर्षअघिको उक्त रकम फिर्ता लिन तयार नभएको बताए । यसअघि उक्त कोलनीमा मल्ल जस्तै अन्य व्यक्तिहरू पनि ज्योतिबाट पीडित भइसकेका छन् । उनीहरूले धेरैपटक गुहार गरेर दौडधुप गरेपछि बल्लतल्ल आ–आफ्नो घर पाएको बताइएको छ ।

ल्यान्डमार्क डेभलपर्सका सञ्चालकहरूले २२ वटा घर बनाएर बिक्रीवितरण गर्ने कुरा गरेका थिए । पछि त्यसमध्ये घरहरूको डिजाइन मन परेकाले सातवटा जति घर मापदण्ड मिची आफ्नै लागि बनाउन लगाएका थिए । १४ वटा मात्र घर अरूलाई बिक्री–वितरण गरेको बताइएको छ ।

२०७१ सालमा घर बनाउने काम सुरु भए तापनि २०७२ वैशाखमा महाभूकम्प गएको कारणले एक वर्षसम्म निर्माण कार्य अवरोध भएको थियो । बल्लतल्ल २०७४ मा घरहरू ग्राहकहरूलाई वितरण गरिएका छन् । मल्लबाहेक सबै जनाले आफ्नो घर पाइसकेका छन् । तर, उनलाई विगत डेढ वर्षदेखि सी कन्सट्रक्सन र ल्यान्डमार्क डेभलपर्सका सञ्चालकहरूले ‘तपार्इं पनि हामीसँग पाटर्नर भएर पाटर्नरसिपमा काम गरौं भनेर झूटा आश्वासन’ दिँदै घर भने नदिने काम गर्दै आएको उनले बताए ।

त्यसो त सी कन्सट्रक्सनका महाप्रबन्धक शम्भु फुयाँल पनि ल्यान्डमार्क डेभल्पर्सका सञ्चालक रूपज्योतिको रवैयाबाट असन्तुष्ट देखिन्छन् । मल्लले राखेको माग जायज भएको र तत्कालै उनको नाममा जग्गा पास गरी घर बनाउने कार्य थाल्नुपर्ने फुयाँलको भनाइ छ । ल्यान्डमार्क डेभपलर्स प्रालि तथा रूपज्योतिको व्यक्तिगत नाममा १० देखि १५ ठाउँमा घर रहेको र मान्छेहरूलाई विभिन्न बहानामा अल्मलाई सम्पत्ति आर्जन गरेको बताइएको खबर बुधबार साप्ताहिकमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७